हजारको नोटमा अमेरिकी डलरको थ्रेड, हरेक दरका ४० करोड थानसम्म नोट छाप्दै राष्ट्र बैंक
काठमाडौं । बजारमा नक्कली नोटको बिगबिगी बढेसँगै नेपाल राष्ट्र बैंकले हजारको अब छापिने हजारको नोटमा अमेरिकी डलरमा प्रयोग गर्ने थ्रेड (धागो) प्रयोग गर्ने भएको छ । ठूला दरका नोटलाई बढी सुरक्षित बनाउन बैंकले अब छाप्न लागेको नयाँ नोटमा अमेरिकी डलरमा प्रयोग भएको जस्तो थ्रेड प्रयोग गर्न लागेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । हजारको नोट अमेरिकी कम्पनीलाई छाप्न दिने तयारी गरिएको छ,’ उनले भने-‘अन्य नोट अन्य देशका कम्पनीले पनि साट्न सक्छन् ।’ यो नोट विशेष तरिकाले छाप्न लागिएकोले अन्य देशका कम्पनीलाई नदिइ अमेरिकी कम्पनीलाई दिन लागिएको हो । राष्ट्र बैंकले ५ देखि एक हजार डेनोमिनेशनको नोट छपाउन लागेको हो । एक र दुई दरका नोट भने राष्ट्र बैंकले यसअघि नै छपाउन छाडिसकेको छ । नेपाली चलनचल्तीमा रहेका नयाँ नोट छाप्नका लागि ६ वटा विदेशी कम्पनीले चासो देखाएको उनले बताए । यसअघि नोट छाप्दा विभिन्न १० कम्पनी आएका थिए । बजारमा भएको नोटको पर्याप्तता, नष्ट गरिएको नोट र तीन वर्षमा भएको खर्च र आगामी वर्षमा हुन सक्ने खर्चको अनुमान गरी नोट छाप्ने गरिने प्रचलन छ । राष्ट्र बैंक हरेक अढाई वर्षमा आवश्यकताअनुसार विभिन्न दरका नोट छाप्ने गर्दछ । एक पटकमा २१ करोड थानदेखि ४० करोडसम्म नोट छाप्ने गरेको डेपुटी गर्भनरले बताए । साधारणतया नोटको आयु ३ वर्षको हुन्छ । राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा बनेको मुद्रा व्यवस्थापन समितिले अध्ययन गरी नोट छाप्ने प्रस्ताव राष्ट्र बैंक संचालक सञ्चालक समितिबाट स्वीकृत भएपछि ग्लोबल बिडिङ गरिन्छ,’ उनले भने-‘गुणस्तरीय नोट छाप्न सक्ने कम्पनीलाई यसको यसको जिम्मा दिने गरिएको छ ।’ देशमा आर्थिक कारोबार बढेसँगै राष्ट्र बैंकले नोट छाप्ने दर पनि बढाउन थालेको छ । तीन वर्षअघि २० करोड थान १ हजार दरका नोट छपाएको राष्ट्र बैंकले यो वर्ष करिब ३१ करोड थान छपाउने तयारी भएको छ । राष्ट्र बैंकले ५०० र १०० दरका नोटको छपाइ बढाउन थालेको छ । २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र आव्हन गरेको छ । यहि कार्तिक ९ गते आव्हान गरिएको उक्त बोलपत्रको समयावधि मंसिर २४ गतेसम्म रहेको छ । इच्छुक कम्पनीले यो अवधिभित्र राष्ट्र बैंकले तोेकेको सेवा शर्त पुरा गरी टेण्डर हाल्नु पर्नेछ । राष्ट्र बैंकले चार अर्ब ८० करोड रुपैयाँ बराबरका २० डेनोमिनेशनको नोट छाप्न बोलपत्र आह्वान गरेको हो । यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो । राष्ट्र बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छाप्न बोलपत्र आह्वान गरेको छ। २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र खोलिएको हो । यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो ।राष्ट्र बैंकले हरेक नोट एकपटकमा ३ वर्षका लागि पुग्ने गरी छपाउँछ । यसलाई नोटको आयु पनि भनिन्छ । यसको अर्थ एउटा नेपाली नोट ३ वर्षसम्म टिक्छ भन्ने पनि हो । अहिले बजारमा २० दरका नोट बढी चलनचल्तीमा रहेको छ । यसअघि ५ दरका नोट बढी चल्ने गर्दथ्यो । पछिल्ला वर्षमा २० रुपैयाँको नोट सबैभन्दा बढी अभाव हुने नोटमा पर्ने गरेको छ । बजारमा २० रुपैयाँ दरका नोटको चाप बढी भएपनि राष्ट्र बैंकले भने साना दरका नोटको साटो ५० र १०० अंकित दरका नोटको छपाइ बढाउने नीति लिएको छ । अब ५०० र १०० दरका नोट करिव ३१/३१ करोड थान छाप्ने भएको छ । यसअघि राष्ट्र बैंकले २० करोड थान १ हजार दरका नोट छपाएको थियो । तीन वर्ष अघि नै वित्तीय बजारलाई डिजिटलाइजेशन लैजाने रणनीति सरकारले अवलम्वन गरेपनि अहिले सम्म पुरा नहुँदा नोट छपाइमा ठूलो रकम बाहिरिने गरेको छ । राष्ट्र बैंकले यस अघि नोट छाप्दा औसतमा दुई रुपैयाँ पर्न आएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । उनले भने-‘अब कति लाग्छ थाहा छैन, यस अघि भने ५ देखि १ हजार दरका नोट छाप्दा औसतमा प्रति नोट २ रुपैयाँको दरले खर्च भएको छ ।’
नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, लगानीकर्तालाई मंसिरभित्रै नगद र बोनस सेयर
काठमाडौं । नेपाल बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । गत विहीबार बसेको सञ्चालक समितिको बैठकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्ने र त्यसको व्याज वार्षिक १० प्रतिशत तोक्ने निर्णय गरेको हो । सबै वाणिज्य बैंकहरुले चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने नेपाल राष्ट्र बैंकको नीति पालना गर्ने क्रममा उक्त ऋणपत्र जारी गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए । नेपाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ । उसले निष्काशन गर्न लागेको ऋणपत्र चुक्ता पुँजीको साढे २५ प्रतिशत हुनेछ । बैंकले मंसिर मसान्तअघि नै वार्षिक साधारणसभा गर्न लागेको उनले जानकारी दिएका छन् । गत वर्षको नाफाबाट बैंकले १५ देखि २० प्रतिशत लाभांश दिन सक्ने र त्यसमा बोनस सेयर र नगद लाभांश दुबै हुने जानकारी उनले दिए । असार मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार सेयरधनीलाई वितरणयोग्य नाफा ३ अर्ब ४५ करोड रुपैयाँ छ । ‘कति लाभांश दिने भनेर सञ्चालक समितिले निर्णय गरिसकेको छैन । हामी स्टेवल लाभांश नीतिमा जानेछौं । लाभांशमा बोनस सेयर र नगद दुबै हुनेछ । १५ देखि २० प्रतिशतसम्म दिन सकिन्छ’ विकासन्युजको नियमित स्तम्भ ‘विकास वहस’मा उनले भने । २०५८ देखि थालिएको वित्तीय क्षेत्र सुधार कार्यक्रममा नेपाल बैंकलाई निजीकरण गर्ने उदेश्य राखिएको थियो । तर वर्तमान सरकार नेपाल बैंकलाई निजीकरण गर्ने पक्षमा नभएको उनले बताए । उनले नेपाल बैंकमा ट्रेड यूनियनको संख्या घट्न थालेको र बैंकले दिने सेवाको प्रभावकारीता बढेको बताएका छन् । तर नेपाल बैंकको प्रभाव बाजेको पुस्तामा जस्तो नातिको पुस्तामा नभएको उनले स्वीकार गरेका छन् । यद्यपी आफ्नो कार्यकालमा वार्षिक २५ प्रतिशतको ग्रोथ हासिल गर्ने बताएका छन् । उनीसँग गरिएको ‘विकास वहस’ भिडियो यूट्युवमा गई विकासन्युजमा हेर्न सकिने छ ।
कृषि विकास बैंक र हेफरबीच वित्तिय सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता
काठमाडौं । कृषि विकास बैंक र हेफर ईन्टरनेशनल नेपालबीच मुल्य श्रृंखलामा आधारित वित्तिय सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । हेफर ईन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको उपस्थितीमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र हेफर ईन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हेफर ईन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले आगामी दिनमा यस्तो कार्यक्रम थप विस्तार गर्दै लैजाने साथै बैंकले सहयोग गर्ने अपेक्षा रहेको बताए । त्यसैगरि हेफर ईन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले २५ बर्ष पहिले २५ जना नेपाली महिलाबाट शुरु गरिएको परियोजना हाल लाखौं नेपाली महिला उद्यमीबीच पुगेको र कृषि तथा पशुको लघु व्यवसायमा बैंकले गर्न लागेको वित्तिय सहयोग कोशेढुंगा सावित हुने जानकारी दिए । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हेफर नेपालसंग गरिएको यस प्रकारको सम्झौताले वित्तिय सहयोगको अभावमा आफ्नो व्यवसाय विस्तार गर्न नसकिरहेका मुल्य श्रृंखलामा आधारित साना÷मझौला महिला व्यवसायीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न बैंकले प्रदान गर्ने कर्जाले ठुलो सहयोग पुग्ने आशा गरेको बताए । यस कर्जाको कार्यान्वयन पक्ष हेर्ने बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार हेफर ईन्टरनेशनल नेपालले सहकारी/कृषक समुह मार्फत रौतहट, धादिङ्ग, पाल्पा, रुपन्देही अर्घाखांची, लमजुंग, प्युठान र नुवाकोट जिल्लामा प्रवद्र्धन गरेको महिलाहरुलाई बाख्रा, तरकारी, स्थानिय कुखुरा र दुग्ध परियोजनामा बैंकले १ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जनाएका छन् । थापाका अनुसार कर्जाका अतिरिक्त बैंकले उनीहरुलाई उद्यमशीलता विकासका लागि तालीम, वाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम समेत संचालन बताए । सो कार्यक्रममा बैंकका उपमहा प्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दिर्घबहादुर अर्याल, परामर्शदातामा घुरन ठाकुर, विभागीय प्रमुखमा बाशु अधिकारी, विना शर्मा तथा विभागका शा.प्र. प्रेम खनाल तथा सि.ए.कृष्ण निरौलाको उपस्थिति रहेको थियो । सो अवसरमा हेफर ईन्टरनेशनल नेपालको तर्फबाट कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मी, प्रकाश कटवाल, अदिस कार्की रविन निरौला लगायतको समेत उपस्थिति रहेको थियो ।