ग्लोबल आइएमई बैंकको नाफा पौने एक अर्ब
काठमाडौं । ग्लोबल आइएमई बैंकले पहिलो त्रैमासमा ७५ करोड ३१ लाख नाफा कमाएको छ । चालु आवको पहिलो ३ महिनामा बैंकले कमाएको नाफा गएको आवको तुलनामा करिब २० करोडले बढी हो । बैंकले गएको आवको सोही अवधिमा ५३ करोड ५८ लाख नाफा आर्जन गरेको थियो । बैंकले पहिलो ३ महिनामा वितरण योग्य नाफा २८ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकले असोज मसान्त अवधीमा १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब १८ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ७८.३६ प्रतिशत पुगेको छ । आधार ब्याज दर ९.४४ प्रतिशत रहेको छ । बैंकको कष्ट अफ फण्ड ७.१३ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २८.८७ रुपैयाँ छ । प्रति सेयर नेटवर्थ १६५.७० रुपैयाँ छ भने खराव कर्जा एक प्रतिशतभन्दा कम रहेको छ । बैंकको स्प्रेड दर भने सार्वजनिक गरिएको छैन् ।
नेपाल इन्भेष्टमेण्ट बैंक र चाईनाको युनियन पे बीच सहमति
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियन पे अन्तर्राष्ट्रिय कम्पनी लि.का अध्यक्ष चाय जियाङबो बीच सहमति भएको छ । एनआईबिएल युनियन पे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको हो । नेपाल इन्भेष्टमण्ट बैंकले आफ्ना चाईना भ्रमणमा जाने ग्राहकहरु र चाईनाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी युनियन पे डेविट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ भने क्युआर कोड मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको जानकारी गराएको छ । नेपाल इन्भेष्टमेण्ट युनियन पे कार्डमार्फत सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेण्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ । यस अवसरमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नेपाल सरकारद्धारा आयोजित नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरी एनआईबिएल युनियन पे अन्तर्राष्ट्रिय कम्पनी लि.ले सहकार्य प्रारम्भ गर्न लागेको जानकारी गराए ।
झापा जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
काठमाडौँ । प्रभु बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सोमबार उक्त एक्स्टेन्सन काउन्टर उद्घाटन गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुले अब बिना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले झापा जिल्ला प्रशासन कार्यलयमा पनि सेवा विस्तार गर्न सफल भएको जनाएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।