एनएमबि बैंकले सार्वजनिक गर्यो गण्डकी प्रदेश केन्द्रित ‘एनएमबि समृद्ध गण्डकी बचत’ खाता

काठमाडौँ । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकबीच भएको बृहत मर्जरका अवसरमा गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता ‘एनएमबि समृद्ध गण्डकी बचत’ को घोषणा गरेको छ । एनएमबि र ओमबीचको संयुक्त कारोबार ११ असोज २०७६ बाट सञ्चालन भइसकेको छ । यो बचत खाताले खातावालाको श्रीमान/श्रीमती र निजको दुई जनासम्म बालबालिकाका लागि १ लाख रुपैयाँ सम्मको औषधी उपचार बिमा र थप १० लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बिमा सहितका आकर्षक विशेषताहरूको प्याकेज उपलब्ध गराउने छ । यस खातामा एनएमबि डिलाइट डेबिट कार्ड पनि उपलब्ध गराइनेछ, जसबाट देशभरिका कुनै पनि बैंकका एटीएमबाट निःशुल्क रकम झिक्न सकिनेछ । यो बचत खाताअन्तर्गत विभिन्न बिक्री केन्द्रहरूमा एनएमबि डिलाइड डेबिट र क्रेडिट कार्डबाट छुट प्राप्त हुनेछ । एनएमबि बैंकबाट घर कर्जा सुविधा लिँदा ब्याजदरमा १ प्रतिशतको छुटसहितका अन्य लाभहरू प्राप्त हुने बैंकले जनाएको छ ।

न्यू होलण्डका निर्माण उपकरण किन्दा ज्योति विकास बैंकबाट कर्जा पाइने

काठमाडौँ । ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच सम्झौता भएको छ । सम्झौतापछि राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ज्योति विकास बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा राशी अटोमोबाइल्सका अध्यक्ष अर्जुन रानाभाटले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुने जनाइएको छ । राशी अटोमोबाइल्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहीलाई सेवा दिंदै आएको छ ।

सानिमाले शुरु गर्यो दीर्घायु बचत तथा तलब खाता, ५ हजारको स्वास्थ्य परीक्षण सुविधा पाइने

काठमाडौँ । सानिमा बैंकले बचतकर्ताहरुका लागि स्वास्थ्य परीक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले रु. ५ हजारको बार्षिक स्वास्थ्य परीक्षण सुविधा लिन सक्नेछन् । साथै, नेपाल र भारतमा हुने उपचारमा रु. १ लाख सम्मको औषधि उपचार बीमा सुविधालिन सक्ने बैंकले जनाएको छ । त्यसैगरी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ रु. २० लाख बीमा रकम दावी गर्न सक्नेछन् । यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको रु. ३ लाख रुपैयाँ बीमा तथा रु २५०००/– को मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ । बैंकले आफ्ना ग्राहकहरुका लागि उपयुक्त हुने बिभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको जनाएको छ ।