कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

काठमाडौँ । प्रभु बैंकले मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा काउण्टर सञ्चालन गरेको छ । उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन काउण्टर सञ्चालन गरेको हो । कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा कोशी अस्पतालका तर्फबाट प्रमुख सुपरिटेन्डेन्ट डा. गुणराज लोहनी र प्रभु बैंक लि.का तर्फबाट प्रदेश नं. १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात् प्रभु बैंकले आवश्यक पूर्वाधार निर्माण गरी सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकको काउण्टर सञ्चालन गरी सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने जनाएको छ ।

कुमारी बैंकको नाफा १४ प्रतिशतले बढ्यो

काठमाडौं । कुमारी बैंकको नाफा १४.२६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको बैंकले चाुल आर्थिक वर्षको सोही अवधिमा ४० करोड १९ लाख रुपैयाँ कमाएको छ । त्यस्तै, बैंकको निक्षेप ५ अर्ब १० करोड रुपैयाँले बढेर ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि ५ अर्बले बढाएर ७७ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ । बैंकको प्रतिसेयर आम्दानी १६.८३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२६.३९ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको खराब कर्जा घटेर १.०५ प्रतिशतमा झरेको छ । कष्ट अफ फण्ड ७.९१ बाट ७.२२ प्रतिशतमा पुगेको छ । पुँजी प्रयाप्त अनुपात घटेर ११.५७ प्रतिशत छ । बेसरेट ११.०९ बाट घटेर १०.६८ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ३.७५ प्रतिशत रहेको छ ।

हिमालयन बैंकको नाफा ६९ करोड, निक्षेप बढेर एक खर्ब नाघ्यो

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढी हो । बैंकले गत आवको पहिलो तीन महिनामा ६४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७९ करोड रुपैयाँ संकलन भएको छ । जुन अघिल्लो वर्षको तीन महिनामा ५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । साउनदेखि असोजसम्ममा बैंकले निक्षेपमा ६ अर्बले वृद्धि गरी एक खर्ब १५ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा सापटी ५ अर्बले वृद्धि गरी ९७ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ । बैंकले खुद आम्दानी ३ अर्ब १४ करोड रुपैयाँ पुर्याउँदा एक अर्ब ८२ करोड रुपैयाँ बराबरको खर्च गरेको छ । त्यस्तै, बैंकको खराब कर्जा घटेर १.१६ प्रतिशतमा झरेको छ । कष्ट अफ फण्ड ६.१४ बाट ६.४२ प्रतिशतमा पुगेको छ । पुँजी प्रयाप्त अनुपात बढेर १४.०८ प्रतिशत छ । बेसरेट ९.२२ बाट घटेर ८.९३ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको स्प्रेड दर बढेर ५.३६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३२.५९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९५.८३ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर मूल्य आम्दानी अनुपात १५.४० रहेको छ ।