लक्ष्मी बैंकको डिबेञ्चर बाँडफाँड, १०% ब्याजदर, २०८६ मा परिपक्व हुने

काठमाडौं । लक्ष्मी बैंकले जारी गरेको डिबेञ्चर बाँडफाँड भएको छ । बैंक निष्कासन गरेको २ अर्ब रुपैंया बराबरको १०% लक्ष्मी बैंक डिबेन्चर आइतबार बाँडफाँड गरिएको हो । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शतप्रतिशत आवेदन प्राप्त भएको थियो । आइतबार बिहान लक्ष्मी बैंक लिमिटेडको केन्द्रिय कार्यालय हात्तीसारमा एक कार्यक्रमका बीच सो बाँडफाँड सम्पन्न भएको थियो । कार्यक्रमा दुवै कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कूल निष्कासित २०,००,००० कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९,९९६ कित्ता र प्राइभेट प्लेसमेन्ट तर्फ २३ जना आवेदकलाई माग भएको थियो । यो ऋणपत्रका लगानीकर्ताले वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्नेछन् । सो ऋणपत्र २०८६ मा परिपक्व हुनेछ । लक्ष्मी बैंक सन् २००२ मा स्थापना भइको ‘क’ वर्गका वित्तीय संस्था हो । बैंकले आफ्ना शाखा एवं आईटी च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका नेपाल अधिराज्यभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

एडिबीको सहुलियत ऋणमा छनाेट भए तीन अर्बका योजना

कञ्चनपुर । एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिमा रु तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन् । नगरपालिकामा पूर्वाधार निर्माण र संस्थागत सृदृढीकरणका लागि क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत विकास निर्माणका योजना कार्यान्वयनमा ल्याइन लागेको हो । नगरपालिकामा आयोजनाअन्तर्गत ढल विकास, शहरी सडक निर्माण र फोहर व्यवस्थापन प्रणाली सुधारका लागि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका योजना छनोट गरिएका छन् । आयोजनाअन्तर्गत भीमदत्तमा सञ्चालन हुने योजनामा तीन अर्ब रकम खर्च हुनेछ । शहरी सडक निर्माणअन्तर्गत ३६ दशमलव छ किलोमिटर नालीसहित पक्की सडक निर्माण हुने योजना छ । नगरपालिकामा शहरी सडकको ३६ दशमलव छ किलोमिटरमध्ये पहिलो चरणमा १३ दशमलव ८५ किलोमिटर सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्रका सबै गल्लीका सडक निर्माणका लागि गत महिना रु एक अर्ब ७६ करोडको ठेक्का आह्वान गरिएको थियो । सर्वदलीय सर्वपक्षीय बैठकमा आयोजनाअन्तर्गत छनोट गरिएका सबै योजना सफल बनाउन सबै दलहरु एक भएर जाने निर्णयसमेत गरिएको नगरप्रमुख सुरेन्द्र विष्टले बताएका छन् । नगरपालिकासहित सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालनमा रहेको छ । आयोजना लागू भएका चार नगरपालिकाको कूल लागत २१ करोड ४० लाख अमेरिकी डलर रहेको छ । सरकारले आयोजनामा लगानी गर्न एडिबीको साधारण पूँजीगत स्रोतबाट शर्तहरु बमोजिम विभिन्न मुद्रामा १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण लिएको छ । यस ऋणको अवधि आठ वर्षको ग्रेस अवधिसहित ३२ वर्षको हुनेछ । यसैगरी ऋणको वार्षिक ब्याजदर ग्रेस अवधिभर एक प्रतिशत र त्यसपछि एक दशमलव पाँच प्रतिशत रहनेछ । रासस

एनसीसी बैंकका ग्राहकलाई नेपाल मेडिसिटि अस्पतालमा विशेष छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकका कर्मचारी तथा ग्राहकहरूले नेपाल मेडिसिटि अस्पतालका सेवाहरूमा विशेष छुट पाउने भएका छन् ।उक्त बैंक र नेपाल मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहररूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल मेडिसिटि अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका ग्राहकहररूले उक्त छुट बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।