एक दर्जन वाणिज्य बैंकका सीईओको सघन अनुसन्धान गर्दै सम्पत्ति शुद्धीकरण विभाग

काठमाडौं । कर्जा अनियमितता बढ्दै गएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वाणिज्य बैंकका एक दर्जन प्रमुख कार्यकारी अधिकृत (सीईओ) माथि सघन अनुसन्धान अघि बढाएको छ । विभागले सबै वाणिज्य बैंकका सीईओ छानविन गरी करिब एक दर्जन सीईओको भने सघन अनुसन्धान शुरु गरेको हो । कर्जा अनियमितता गर्नेमा नाम चलेका सीईओ समेत रहेको विभागले जानकारी दिएको छ । विभागले पहिलादेखि नै बैकिङ क्षेत्रमा काम गर्दै आएका सीईओदेखि नयाँसम्म रहेको जनाएको छ । बैंकका कर्जा शाखामा काम गर्ने उच्च अधिकृतसम्मको विवरण संकलन गरेर विभागले अनुसन्धान कार्य अघि बढाएको हो । सीईओहरूले पदीय दायित्व र जिम्मेवारीको दुरुपयोग गर्दै कमसल धितोमा माथिनै फाइल तानेर ऋण दिने, ऋणीसँग अनुचित लाभ लिने तथा कर्जा दुरुपयोगसमेत गरेको अनुसन्धानको क्रममा पाइएको विभाग स्रोतले बताएको छ । बैंक तथा वित्तीय संस्थाले खराब धितोमा ऋण प्रवाह गरी अवैध कारोबारलाई वैध बनाउन सहयोग गरेको आशंकामा विभागले गरेको छ । यसैको आधारमा अनुसन्धान कार्य अघि बढाइएको हो । बैंकहरुले ऋण दिएका ठूला फाइलको अनुसन्धान भने विभागले अनुसन्धान गरिसकेको छ । यो पुष्टि हुने वित्तिकै हामी पत्रकार सम्मेलन गरेर सबैलाई जानकारी दिन्छौ,’ विभाग उच्च स्रोतले भन्यो ‘जति सक्दो छिटो सत्य तथ्यलाई बाहिर ल्याउने तयारीमा हामी लागि परेका छौं ।’ सम्पत्ति शुद्धीकरणको विषय भनेको अन्य निकायले अनुसन्धान गरेको जस्तो विषय होइन । कहाँ कहाँबाट सूचना आउँछ, सबैको सुक्ष्म अध्ययन तथा अनुसन्धान गरेर तेस्रो पक्षसम्म पनि पुग्नुपर्ने हुन्छ । त्यसैले समय लाग्छ ।’ बैंकका सीईओहरू अनुसन्धानमा परेका छन्, हामी हेर्दै छौं,’ यति मात्रै भन्न सकिन्छ,’ ती अधिकारीले भने ।

विश्व बैंकले प्रक्षेपण आर्थिक वृद्धि ७.५ प्रतिशत, अर्थमन्त्रीले भने तथ्यांक अझै अनुमानको भरमा

काठमाडौं । सेवा तथा कृषि क्षेत्र विश्व बैंकले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले भने चालु आवमा साढे ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य तय गरेको छ । सेवा तथा कृषि क्षेत्रको योगदानका कारण नेपालको अर्थतन्त्र द्रुत गतिमा सुधार हुन थालेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले प्रतिवेदन सार्वजनिक गर्दै सेवा क्षेत्रमा मात्रै ७ दशमलव ५ प्रतिशतले विस्तार हुने भन्दै खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्टलगायतको उपक्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको जनाएको छ । विश्व बैंकले सन् २०२० मा नेपालमा भने आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । नेपालमा अझै पनि कतिपय तथ्यांक अनुमानको भरमा आउने गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । विश्व बैंकको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले तथ्यांकको बढी विश्वासनिय बनाउन आधार वर्ष परिवर्तन गर्न लागेको उनले बताए । विश्व बैंकले सन् २०१९ का लागि नेपालसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । नेपालको आर्थिक वृद्धिदर अहिले पनि मनसुन र सेवा क्षेत्रमा निर्भर रहेको विश्व बैंकले उल्लेख गरेको छ । पछिल्लो समय पर्यटन आगमन बढेको तथा त्यसले सेवा क्षेत्रको विस्तारमा योगदान दिएकाले समग्र आर्थिक विकासमा सुधार आएको विश्व बैंकले जनाएको छ । देशमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल देखि ठूला ठूला होटल निर्माण हुनुका साथै अन्य देशसँग पनि हवाइ कनेक्टिभिटी जोडिदै जाँदा यसको सुधार आएको छ । गरिबी न्यूनीकरण तथा साझा समृद्धिमा भएको प्रगतिका कारण नेपालको आधारभूत आर्थिक सूचकहरू समग्रमा राम्रो भएको विश्व बैंकले जनाएको छ । विश्व बैंक बिहीबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार बढ्दो व्यापारीकण, मल तथा बीउको सहज उपलब्धता, सिँचाइ पूर्वाधारको विस्तारले कृषि क्षेत्रमा सुधार आएको हो । यति हुँदा हुँदै पनि व्यापार घाटा कम गर्न भने नेपाललाई चुनौती देखिएको रिपोर्टमा उल्लेख गरिएको छ । बिहीबार विश्व बैंकद्वारा राजधानीमा आयोजित नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रममा अर्थमन्त्री खतिवडाले उनले नेपालको राष्ट्रिय तथ्यांक गणना हुने आधार वर्ष परिवर्तन हुन लागेको पनि जानकारी दिए ।

महालक्ष्मी विकास बैंकद्वारा पानी ट्याङकी वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको निजगढ र बानेश्वर शाखाले शनिबार पानी ट्याङकी वितरण  कार्यक्रम सम्पन्न गरेका छन् । उक्त शाखाले कार्यक्रमको आयोजना गरी दुई स्थानमा पानी ट्याङकी वितरण गरेको हो । निजगढ शाखाले निजगढ न.पा. वडा नं १० लालस्थित पल्युल साम्तेन्लिर्ङ गुम्बामा अध्ययनरत विद्यार्थीहरुका साथै आगन्तुकहरुलाई खानेपानीको सहज उपलब्धता होस् भन्ने उद्देश्यले गुम्वा व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर भोलनलाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो ।  यस्तै, बानेश्वर शाखाले भने बानेश्वर स्थित कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्ध पिउने पानी. उपलब्ध गराउने उद्देश्यले कुशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव सुदर्शन कोइरालालाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेका हुन् ।