सामाजिक सञ्जालमार्फत १७ बैंकबाट पौने १५ करोड ठगी गर्ने गिरोह पक्राउ
काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याक गरी करोडौं रकम लुट्ने लुटेराहरूमध्ये तीन जनालाई प्रहरीले आज बुधबार सार्वजनिक गरेको छ । कृषि विकास बैंकको सिस्टम ह्याक गरी विदेशी ह्याकरहरूले करोडौं रकम लुटेका थिए । गत असाेजमा उनीहरुले ४१ जनाभन्दा बढी नेपालीहरुलाई एजेन्ट बनाएर कृषि विकास बैंक र पानस रेमिटबाट सिस्टम ह्याक १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ लुटेका हुन् । पक्राउ पर्नेमा दोलखा फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र संदीप कलवार रहेका छन् । उनीहरूले १७ वटा बैंकमा कारोबार गरेको देखिएको छ । उनीहरूले गत असोजमा कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम झिक्नेहरु पक्राउ पर्ने समूहकै रहेको भेटिएपछि प्रहरीले उनीहरुमाथि अनुसन्धान अगाडि बढाएको हो । लुटेराहरूले नविल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, प्रभु, सिद्धार्थ बैंक अफ काठमाण्डू, सनराइज, सिटिजन्स, माछापुच्छ्रे, एसबिआई, एनबी, ग्लोबल, एनआईसी एशिया, लक्ष्मी र एनएमबी बैंकबाट कारोबार गरेका थिए । ह्याक र ठगी गरिएको रकम नेपालका एजेण्टहरू प्रयोग गरी १५ देखि २० प्रतिशत कमिशन दिएर विभिन्न माध्यमबाट भारत पठाउने गरेको पाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार नेपाली एजेण्टहरूलाई उक्त कार्य गर्नको लागि विभिन्न बैंकमा खाता खोल्न लगाएको र एउटै एजेण्टबाट ६ वटा भन्दा बढी बैंक खाताबाट कारोवार भएको देखिएको छ । प्रहरी यस अघि १० जना यस्ता कारोबारीलाई मुद्दा हालेको थियो । अहिले तीन जना थपिएका १३ जना पुगेका छन् । अनुसन्धानको क्रममा प्रहरीले विभिन्न २९ जनालाई शंकाको दायरामा राखेको थियो ।
लक्ष्मी बैंकले शुरु गर्यो एनिमेटेड भाइबर सेवा
काठमाडौं । लक्ष्मी बैंकले नेपाली एनिमेटेड प्याकको शुरु गरेको छ । भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यले सोमबारदेखि भाइबरमा १६ प्रकारका स्टिकर रहेको एनिमेटेड भाइबर–स्टिकर सेटको प्रारम्भ गरेको हो । भाइबरमा भएका स्टिकरहरु रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम भएकाले लक्ष्मी बैंकको “ग्रिटिङ्स फ्रर्म लक्ष्मी” प्याकले पनि त्यसलाई सघाउने अपेक्षा गरिएको छ । भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देशहरु आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिनेछ । उक्त प्याकले बैंकको ग्राहसँगको सम्बन्धलाई थप मजबुत बन्नुका साथै यो स्टिकरमार्फत् नयाँ र विद्यमान ग्राहकहरुलाई हाम्रो भाइबर खाताद्वारा थप नजिक ल्याउन सक्ने अपेक्षा गरिएको लक्ष्मी बैंककी रणनीति तथा बजार विभाग प्रमुख भारती पाण्डेले बताइन् ।
संशोधन हुँदै राष्ट्र बैंक छानबिन समितिको प्रतिवेदन, आजै अर्थ मन्त्रालयलाई बुझाउने तयारी
काठमाडौं । राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका कार्य सम्पादनका विषयमा छानबिन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन आज संशोधन पछि अर्थ मन्त्रालयमा बुझाउने तयारी भएको छ । आज बिहानैदेखि छानविन समितिका सदस्यहरूले हिजो मंगलबार राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबि नेपाललाई बुझाएको प्रतिवेदनमा संशोधन गरी अर्थ मन्त्रालयलाई बुझाउने तयारी भएको हो । छानबिन समितिले हिजै गभर्नरलाई प्रतिवेदन बुझाएको माइनुट भएको छ । यसमा आज संशोधन गरेर पुनः गभर्नरलाई प्रतिवेदन बुझाइने छ । हिजो अबेरसम्म उक्त प्रतिवेदन अध्ययन गरी केही संशोधन गर्नुपर्ने देखिएकोले आज बिहानैदेखि साे तयार पार्न समिति जुटेको छ । त्यसपछि गभर्नर कार्यालयले अर्थ सचिव डा.राजन खनाललाई उक्त प्रतिवेदन बुझाउने छ । राष्ट्र बैंकका सञ्चालक समेत रहेका डा. खनाल र गभर्नर कार्यालयले अर्थ मन्त्री डा. युवराज खतिवडालाई उक्त प्रतिवेदन बुझाउने छ । ‘आज अर्थमन्त्री डा.युवराज खतिवडालाई प्रतिवेदन बुझाउने तयारीका साथ उहाँहरू विहानैदेखि प्रतिवेदन संशोधनको तयारीमा लाग्नु भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । मूल कुरा प्रतिवेदनमा आएपनि केही संशोधन गर्नुपर्ने देखिएको छ ।’ प्रतिवेदन सरकार समक्ष पेश भएपछि सम्भवत डेपुटी गभर्नर श्रेष्ठ दोषी ठहरिने छन् ।’ दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाभांश लैजाने दिनेदेखि कर्जा घोटाला काण्डसम्म जोडिएका डेपुटी गभर्नर श्रेष्ठलाई सरकारले बर्खास्त गर्न सक्ने गरी छानबिन प्रतिवेदन तयार पारेको छ । कर्जा घाटोलामा बैंकलाई बचाउन सहयोग गर्नेदेखि ग्रान्ड बैंक (मर्जर भएर हाल प्रभु बैंक) को कर्जामा भएको घोटाला लुकाउन, तत्कालीन एपेक्स डेभलपमेन्ट (एनसीसीमा मर्जर) बैंक कर्जा घोटालाका दोषी बचाउन सहयोग गरेको ठहर समितिले गरेको छ । १० करोड चुक्ता पुँजी भएको एनसेललाई १ अर्ब ९१ करोडभन्दा बढी लाभांश लैजान दिएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तान लिएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै, डेपुटी गभर्नर श्रेष्ठले नेपाल बंगलादेश बैंकको कर्जा प्रकरण लुकाउनसमेत सघाएको समितिको ठहर छ । यसका साथै कैलाश विकास बैंकको केशमा पनि डेपुटी मुछिएका छन् । यी दुबै केशको अध्ययन तथा छानबिन गर्न समितिले राष्ट्र बैंक सुपरिवेक्षण विभागलाई जिम्मा दिएको छ । निलम्बन परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ग्रान्ड बैंकको २ अर्ब ६० करोड कर्जा अपचलनको घटना लुकाएको घटना बाहिर आएको छ । उनले एपेक्स बैंकको २ अर्ब ३ करोड कर्जा घोटालाका दोषीलाई कारबाही गर्नुनपर्ने सिफारिस गरेको थिए । यी सबै घाटोलालाई एकीकृत गर्दा श्रेष्ठले करिब पौने ५ अर्ब कर्जा अपचलन गरेको देखिएको छ । राष्ट्र बैंक सञ्चालक समितिले गत कार्तिक १९ गते डेपुटी गभर्नर श्रेष्ठको नाममा छानबिन समिति गठन गरेको थियो । ३० कार्यदिनको हिसाव गरेर छानबिन समितिले हिजो अबेर गभर्नरलाई प्रतिवेदन बुझाएको हो । अर्थ मन्त्रालय हुँदै उक्त प्रतिवेदन मन्त्री परिषदमा पेश गरिने छ । सरकारले प्रतिवेदन अध्ययन गरेपछि दोषी ठहर भएका तत्काल बर्खास्त गर्न सक्ने छ । राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिका सदस्यहरूमा रामजी रेग्मी र सुबोधकुमार कर्णले १ महिनाको कार्यपदिन लगाएर उक्त प्रतिवेदन तयार पारेको हो ।