राष्ट्र बैंकले आज १० अर्ब २३ करोडको ट्रेजरी बिल निष्कासन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँ ट्रेजरी बिल बिक्री गर्ने भएको छ । मंसिर १६ गते ३ अर्ब १३ करोड रुपैयाँ बराबरको बिल बिक्री गरेको बैंकले आज मंसिर ३० गते फेरि उक्त मूल्य बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आज निष्कासन गर्ने ट्रेजरी बिलमध्ये आठ अर्ब २३ करोड चैत ४ गते र वाँकी दुई अर्ब २०७७ मंसिर ३० गते परिपक्क हुनेछ । ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा यही मंसिर ३० गते सोमवार दिउँसो २ बजे विक्री गरिने छ भने बिलको निष्कासन पुस १ गते मंगलवार हुनेछ । यस अघि राष्ट्र बैंकले मंसिर २३ गते २ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल निष्कासन गरेको थियो । राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउनका निम्ति यसपटक ९१ दिनकोे ट्रेजरी बिल विक्री गर्न लागेकोे हो ।

१० प्रतिशत ब्याजमा २० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन, ६/६ महिनामा ब्याज पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्षका लागि उक्त वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न लागेको हो । पुस १ गतेदेखि २१ गतेसम्म खुला हुने बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले खरिद गर्न पाउने छन् । मुलुक बाहिर रोजगारीमा रहेको वा नेपाल फर्केको ४ महिना नपुगेको व्यक्तिले यो बचतपत्र किन्न पाउँछन् । विदेश बस्दै आएका गैर–आवसीय नेपालीका बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीको नाममा समेत उक्त बचतपत्र खरिद गर्न पाउने छन् । १० प्रतिशत ब्याजदर रहेको बचतपत्रको व्याज हरेक छ महिनामा भुक्तानी हुनेछ । बचतपत्र खरिदकर्ताले चाहेको समयमा बिक्री गर्न वा धितो खारी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत सकिने सुविधा छ । पाँच वर्षमा साँवा पनि फिर्ता पाइन्छ । बचतपत्र किन्न कहाँ दिने आवेदन ? सिटिजन्स बैंक कमलादी, नबिल बैंक तिनधारा दरबारमार्ग, माछापुच्छे« बैंक लाजिम्पाट, प्रभु बैंक अनामनगर, सन्राइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरबाट आवेदन दिन सक्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।

प्राईम बैंक र सेलपेबीच सहकार्य, खाता आवद्ध गर्ने ग्राहकले १०० रुपैयाँको रिचार्ज पाउने

काठमाडौं । प्राईम कमर्सियल बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप-महाप्रबन्धक भाई राजा तुलाधार र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवनप्रधानले हस्ताक्षर गरेका हुन् । प्राईम कमर्सियल बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने बित्तिकै १०० रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् । सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्धारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । सन् २००७मा स्थापना भएको यस बैंकले ९९ शाखाहरु र ५४ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।