सानिमा बैंकले घर बनाउन चाहने ग्राहकलाई निर्माण खर्चको शतप्रतिशतसम्म ऋण दिने
काठमाडौं । सानिमा बैंकले आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै “सानिमा प्रथम घर कर्जा” को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउने छ । यस योजना अन्र्तगत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने छ । साथै, ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न “सानिमा प्रथम घर कर्जा” अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको सुरुवाती समयको लागि यथावत् राखिने छ । आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले “सानिमा प्रथम घर कर्जा”को आकर्षक फाइदाहरु तथा सानिमा बैंकको अन्य सरल कर्जा सुविधाको लाभ लिन सक्नेछन् । यो कर्जा लिन इच्छुकले सानिमा बैंकको जुनसुकै शाखाहरुबाट लिन सक्नेछन् । सानिमा बैंकले हाल ७९ वटा शाखाहरु, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
एनबीआईले सिभिल बैंकका कर्मचारीलाई विभिन्न तालिम दिने
काठमाडौं । सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई)बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ । सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै दक्ष जनशक्तिद्धारा ग्राहकसेवालाई चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०१ र एटियम संख्या ८० पुगेको छ ।
कृषि विकास बैंकले होमस्टे एशोसियसनमा आवद्ध एक हजार सञ्चालकलाई कर्जा दिने
काठमाडौं । कृषि विकास बैंकले होमस्टे (घरवास) एशोसियसन नेपालमा आवद्ध रहेका करिब एक हजार होमस्टे सञ्चालकलाई परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा दिने भएको छ । बुधबार कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपालबीच वित्तीय तथा सामाजिक/सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएसँगै होमस्टे सञ्चालकहरूले उक्त सेवा सुविधा पाउने भएका हुन् । साथै, बैंकले एसोसियसनको सिफारिसमा स्थानिय कृषकहरुलाई आवश्यकता अनुसार बाख्रापालन, तरकारी खेती, स्थानिय कुखुरापालन, पशुपालन आदि जस्ता परियोजनामा सहुलियतपूर्ण कर्जा समेत दिने बैंककाे कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाले बताएका छन् । थापाका अनुसार कर्जाका अतिरिक्त बैंकले उनीहरुलाई उद्यमशीलता विकासका लागि तालिम, वाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम/सहयोग समेत गर्नेछ । बुधबार भएकाे सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र होमस्टे (घरबास) एशोसियसन नेपालका अध्यक्ष केशव प्रसाद बडालले संयूक्त रुपमा हस्ताक्षर गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले होमस्टे (घरबास) एशोसियसन नेपालसंग गरिएको यस प्रकारको सम्झौताले नेपालका ग्रामिण क्षेत्रहरुमा रहेका होमस्टेहरुको पहिचान, प्रवद्र्धन, बजारीकरण, स्थानिय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान पुग्ने अपेक्षा गरेका छन् । यस सम्झौताले नेपाल सरकारले ल्याएको भ्रमण बर्ष २०२० को कार्यक्रम सफल पार्न महत्वपूर्ण योगदान पुग्नुका साथै समृद्ध नेपाल सुखी नेपालीको नारा सफल पार्न समेत सहयोग पुग्ने उनले बताएका छन् । उक्त अवसरमा होमस्टे (घरवास) एशोसियसन नेपालका अध्यक्ष केशव प्रसाद बडालले यस प्रकारको सम्झौताबाट दरुदराजमा रहेका होमस्टेहरुमा प्रकृति तथा स्थानिय संस्कृतिसंग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भई स्थानिय रितिरिवाज, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, पर्यापर्यटन, जैविक विविधता, दुर्लभ बन्यजन्तु संरक्षण गर्न र दिगो जिविको पार्जनमा ठुलो सहयोग पुग्ने अपेक्षा गरेका छन् ।