लक्ष्मी बैंकको १५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ९ अर्ब ८१ करोड नाघ्यो

काठमाडौं । लक्ष्मी बैंकको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । आइतबार(पुस ६ गते) सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । आ.व. २०७५/७६मा ८० अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ७७ अर्ब ८४ करोड कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १०६ अर्ब रुपैयाँ रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । साथै, साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

सिभिल बैंकको साढे ६ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रस्तावित ६.५७ प्रतिशत नगद लाभांश पारित भएको छ । आइतबार डिल्लीबजारको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न बैंकको नवौं वार्षिक साधारण सभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७ प्रतिशतका दरले हुन आउने ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । साथै सभाले आ.व. २०७६/०७७को लेखापरिक्षण गर्नको लागि एनबीएसएम एण्ड एशोसियटस्लाई लेखापरिक्षकमा नियुक्त गरेको छ । साथै, सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन ( मर्जर ) वा प्राप्ति (एक्विजिसन ) गर्ने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ । बैंकले नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । हाल बैंकको शाखा संख्या १०२ र एटिएम संख्या ७६ पुगेको छ ।

गरिमा विकास बैंककाे नयाँ शाखा धादिङमा

काठमाडौं । गरिमा विकास बैंकले आईतबार धादिङको धादिङ्गवेसीमा नयाँ शाखा सञ्चालनमा  ल्याएकाे छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले गरेका हुन् । उद्घाटन कार्यक्रममा निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना निलकण्ठ नगरपालिकाका वडा नं.–३ का वडाध्यक्ष होमनाथ रिजाल, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विकास बैंकका सञ्चालक विमल पाण्डे, नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय लगायतले मन्तव्य राखेका थिए । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटिएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।