कृषि विकास बैंक र राष्ट्रिय कृषक समूहबीच कर्जासम्बन्धी सम्झौता
काठमाडौं । कृषि विकास बैंक र राष्ट्रिय कृषक समूह महासंघ नेपालबीच कर्जा कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले राष्ट्रिय कृषक समूह महासंघ नेपालसँग गरिएको यस प्रकारको सम्झौताले नेपालको ग्रामिण क्षेत्रहरुमा रहेका कृषक समूह तथा कृषि सहकारीमा आबद्ध विशेष गरी सिमान्तकृत, भूमीहिन तथा महिला कृषकहरुलाई कृषि तथा पशुपालन परियोजना संचालनका लागि बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने बताएका छन् । साथै, विभिन्न सामाजिक सामुदायिक कार्यक्रम संचालन गरी स्थानीय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छन् । उपाध्यायका अनुसार कृषि विकास बैंक सदैव कृषकको बैंक रही आएको र आगामी दिनमा समेत बैंकले कृषि तथा पशुपालनको व्यवसायिकीकरण र आधुनिकीकरणमा अग्रणी भुमिका निभाउने प्रतिबद्धता व्यक्त गरे । यस्तैगरी, राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले बैंकसँग गरिएको सम्झौताबाट दूरदराजमा रहेका उपेक्षित गरीब कृषकहरुलाई बैंकको सहुलियतपूर्ण कर्जाको माध्यमबाट उनीहरुको आर्थिक स्तर माथि उठाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरे । बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार बैंकले राष्ट्रिय कृषक समूह महासंघ नेपालमा आबद्ध देशका ५७ जिल्लाका करिब ५ हजार २ सय कृषक समुह तथा सहकारीका १ लाख कृषकहरुलाई कृषि तथा पशुसँग सम्बन्धित परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा उपलब्ध गराउने बताएका छन् । साथै, महासंघको सिफारिसमा स्थानीय कृषकहरुलाई आवश्यकता अनुसार सहुलियतपूर्ण कर्जाका अतिरिक्त उद्यमशीलता विकासका लागि तालिम, बाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कार्यक्रम संचालन समेत गर्ने छ ।
एनआईसी एशियाको नयाँ शाखा ललितपुरको सानेपामा
काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरस्थित सानेपामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बिहीबार आयोजित उक्त सानेपा शाखाको उद्घाटन महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन् । बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । यस बैंकको मुलुकभर ३ सय १३ शाखा कार्यालयहरु, ४सय ५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
सनराइज बैंकको १२९औं शाखा ताप्लेजुङको फुङलिङमा
काठमाडौं । सनराइज बैंकले ताप्लेजुङस्थित फुङलिङमा १२९औं शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित कार्यक्रममा फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा क्षेत्रपटी प्याकुरेलले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउनुका निमित्त बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । साथै, डोरेन्द्र निरौलाले कृषि क्षेत्रलाई बैंकले सधैँ प्राथमिकतामा राख्दै आएको र आर्थिक विकासलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि यस क्षेत्रमा अझै बढी लगानी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । हालसम्म सनराइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा दिंदै आएको छ ।