गरिमा विकास बैंकको जोरपाटीमा शाखा कार्यालयको उद्घाटन

काठमाडाैं । गरिमा विकास बैंकले शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं.–५, जोरपाटीमा स्थापित जोरपाटी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्य सम्पन्न गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेज्यूले गरेका हुन् । कार्यक्रम विकास बैंकका अध्यक्ष श्री चन्द्रकान्त बरालज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकालज्यूले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जोरपाटी शाखा कार्यालयले त्यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ कार्तिक २५ गतेसम्म ३७ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब ९० करोड कर्जा लगानी गरेको छ ।

सानिमा बैंककाे कार्ड प्रयोग गर्दा ब्लु क्रस अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं। सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पतालबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख डिजिटल बैंकिङ, विक्रम श्रेष्ठ र ब्लु क्रस अस्पताल लिमिटेडको तर्फबाट सदस्य सचिव कार्यकारी व्यवस्थापन समिति रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । साथै प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा १० प्रतिशतसम्म छुट पाउँन सक्नेछन् । विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको ब्लु क्रस अस्पताल लिमिटेड, काठमाडौँको त्रिपुरेश्वरमा अवस्थित छ ।

एकीकृत कारोबारको २० दिनमा पनि खुलेन ग्लोबल आईएमईको सेयर किनबेच, अर्काे साता खुल्छः बैंक

काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जर सम्पन्न भएर एकीकृत कारोबार सुरु भएको २० दिन नाघिसकेको छ । गत २० मंसिरमा एकीकृत कारोबार सुरु भएको थियो । मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई नै राखिएको छ । तर, एकीकृत कारोबार सुरु भएको २० दिन वितिसक्दा पनि सेयर खरिद विक्री भने शुरु भएको छैन । पुँजी बजारको नियामक निकायले जारी गरेको निर्देशिका अनुसार भने सेयर कारोबार शुरु भइसक्नुपर्ने थियो । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले १२ साउन २०७४ देखि लागू गरेको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका–२०७४ अनुसार ग्लोबल आईएमई बैंकको सेयर कारोबार भइसक्नु पर्ने हो । निर्देशिकाको नियम ४७ को (४) मा एकीकृत कारोबार शुरु भएसँगै सेयर कारोबार पनि शुरु हुने व्यवस्था मिलाउन भनिएको छ । ‘सूचिकृत संगठित संस्थाहरु गाभ्ने वा गाभिने कार्य सम्पन्न भए पश्चात एकीकृत कारोबार शुरु भएसँगै सेयरको कारोबारसमेत शुरु हुने व्यवस्था गर्नुपर्नेछ,’ बोर्डले लागू गरेको निर्देशिकामै उल्लेख गरिएको छ । तत्काल सेयर कारोबार शुरु गर्न नसक्नेहरुका लागि पनि बोर्डले सुविधा दिएको छ । ‘तर एकीकृत कारोबार शुरु भएसँगै सेयरको कारोबारसमेत शुरु हुने व्यवस्था गर्न नसकिने भएमा एकीकृत कारोबार शुरु भएको बढीमा १५ दिनभित्र सेयरको कारोबार शुरु गर्नुपर्नेछ,’ भनिएको छ । ग्लोबल आईएमई बैंकले भने नियामकले तोकेका दुबै समयसीमा कटाएको छ । एकीकृत कारोबार सुरु भएको २० दिन वितिसक्दापनि कारोबार शुरु भएको छैन । सेयरको कारोबार शुरु नहुँदा दुबैं बैंकका गरी करिब १ लाख सेयरधनीले आफ्नो सम्पत्ति विक्री गर्न पाएका छैनन् । अर्काे सातादेखि खुल्छः बैंक बैंकले भने अर्काे सातादेखि सेयर कारोबार खुल्ने जानकारी दिएको छ । बैंकको प्रबन्धपत्र, नियामावली बनाउने जस्ता कामले केही ढिलाई भएको बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले वताए । ‘प्रबन्धपत्र र नियमावली बनाउन बाँकी थियो, यसका लागि कम्पनी रजिष्टारको कार्यालयमा पनि केही समय लाग्यो, अब त्यो काम सकिएको छ, सेयर कारोबार शुरु गर्नको लागि सीडीएसमा निवदेन दिएका छौं, अर्काे साताबाट कारोबार खुल्छ,’ ढकालले भने ।