विवादबाट निस्कदै बैंकर, भुवनको ‘स्माईलिङ फेस विथ स्ट्रङ टीथ’ सिद्धान्तले ल्यायाे परिवर्तन
काठमाडौं । गत आर्थिक वर्षमा उद्योगी व्यवसायीको एउटा टोली प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेट्न पुग्यो । बैंकको व्याज असाध्यै महंगो भएकोले उद्योग व्यवसाय नै गर्न नसक्ने अवस्था सिर्जना भएको, आफ्नो समस्या नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय र बैंकहरुले नसुनेको उनीहरुको आरोप थियो । प्रधामन्त्रीमन्त्री ओलीसम्म पुगेर बैंकप्रति गुनासो गर्ने उद्योगीहरुको नेतृत्व पवनकुमार शारडाले गरेका थिए । उनी मोरङ उद्योग वाणिज्य संघको अध्यक्ष हुन् । मोरङ उद्योग वाणिज्य संघकै अगुवाईमा बैंकको व्याजदर विरुद्ध उद्योगीबाट एक प्रकारको विद्रोह नै भएको थियो । सोभन्दा अगाडि पनि बैंकको व्याजदरलाई लिएर प्रश्न उठ्ने गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छ बैंकर उपस्थित प्रायः सबै कार्यक्रममा व्याजदरको विरोध गर्थे । बैंकको व्याजदर चर्काे भएर उद्योग व्यवसाय गर्नै नसक्ने अवस्था आएको गोल्छाको प्रतिक्रिया हुने गथ्र्याे । उद्योग व्यवसायीले आपत्ति जनाउने गरेका कर्जाको व्याजदरको विषय थियो । यता बैंकहरु भने निक्षेपको व्याज अचाक्ली बढेको भन्दै एउटा सीमामा राख्न ‘भद्र सहमति’ गरिरहेका थिए । बैंकहरुको यो सहमतिलाई ‘कार्टेलिङ’ भनेर बजारमा चर्काे आलोचना हुने गरेको छ । नेपाल राष्ट्र बैंक यी सबै घटनामा सार्वजनिक रुपमा मौन थियो । तर, राष्ट्र बैंक उच्चअधिकारीको ‘रहर’मा आएको बिग मर्जरका विषय भने बैंकर र राष्ट्र बैंकबीच पनि विवाद थियो । राष्ट्र बैंकका उच्च अधिकारी बैंकबीच मर्जर गराएर संख्या घटाउन चाहन्थे, नेपालमा ठूलो बैंक चाहिएको कि प्रुडेन्ट बैंकिङ भन्दै बैंकर प्रश्न गरिरहेका हुन्थे । सरकारले तोकेको आयकर र कर्पाेरेट करका विषयमा कर प्रशासन र बैंकबीच पनि विवाद थियो । रक्सी, चुरोट क्यासिनो जस्ता नकारात्मक सुचीका व्यवसायलाई जस्तै बैंकलाई पनि ३० प्रतिशत कर लगाएकोमा बैंकरको विरोध थियो । यस्ता सबै घटना सार्वजनिक मञ्चमै सुनिन्थ्यो । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) र उद्योगी व्यवसायीहरुको संघ संस्थाबीच दोहोरी नै चल्यो । र, यही परिवेशमा बैंकका अध्यक्षहरुको संस्था नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ दर्ता भयो । बैंकका अध्यक्षहरु नै उद्योगी व्यवसायी पनि भएकोले परिसंघ स्थापनाले बैंकिङ क्षेत्रमा ठूलै तरंग ल्यायो । तर, अहिले परिवेश बदलिएको छ । एनबीएको अध्यक्ष भुवन दाहाल भएका छन् । उद्योगी व्यवसायीले व्याज चर्काे भयो भनेर आलोचना गरिरहेका छैनन् । कर लगायतका नीतिगत विषयमा अर्थमन्त्रीसँग एनबीएले छलफल गरेको छ । बैंकिङ क्षेत्रका समस्याका बारेमा एनबीए र नेपाल राष्ट्र बैंकबीच पटक पटक छलफल भएको । परिवेश कसरी वदलियो त ? सरकार, नियामक निकाय वा बैंकका सरोकारवालासँगको सम्बन्धमा एकाएक कसरी सुधार आयो त ? ‘मलाई वादविवाद धेरै गर्न मन लाग्दैन, सँगै बसेर छलफल गर्यो भने समस्याको समाधान निस्कन्छ भन्ने मलाई लाग्छ, काम पनि त्यसैगरी गर्ने गरेको छु,’ एनबीए अध्यक्ष दाहाल भन्छन् । समन्वयकारी भूमिकामा विश्वास गर्ने दाहाल सकेसम्म सबैलाई समेटेर लानुपर्नेमा विश्वास गर्छन् । आफ्नो यो सिद्धान्तलाई दाहालले एनबीएमा लागू पनि गरिसकेका छन् । एनबीएको पहिलो बैठकबाट ३ समिति गठन गरियो । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ संयोजकत्वमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनलगायतमा गर्नुपर्ने कानुनी सुधारको विषयमा सुझाव दिन समिति, एनबीलाई अवका दिनमा कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा सुझाव दिन नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुलन भट्नागरको संयोजकत्वमा समिति र बैंकका कर्मचारीको तलब भत्ता, बैंकको व्याज अन्तर, कमिसन, फि जस्ता कुराहरु अन्य देशमा के कस्तो छ, नेपालमा के कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा सुझाव दिन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको संयोजकत्वमा समिति । यी तीनवटै समितिमा ५/५ जना सदस्य छन् । समितिलाई प्रतिवेदन पेश गर्न २ महिनाको म्याद दिइएको छ । बैंकिङ सम्बन्धी कानुनले कतिपय सन्दर्भमा गलत नगर्नेलाई पनि फसाएको बैंकरको बुझाइ छ । बैंक अफ काठमाडूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेपछि बैंकर झस्किएका थिए । ‘गल्ती गर्नेले सजाय पाउनै पर्छ, तर कतिपय अवस्थामा गलत नगर्नेहरु पनि कानुनी झमेलामा पर्ने अवस्था देखियो, त्यसैले कानुनमा के कस्तो सुधार आवश्यक छ भनेर प्रतिवेदन पेश गर्न समिति बनाइएको हो,’ दाहालले भने । बैंकर्स परिसंघ बनेपछि एनबीएको भूमिकामाथि नै प्रश्न उठेको छ । यसअघि एनबीएको धारणा नै बैंकिङ क्षेत्रको धारणाको रुपमा बुझ्ने गरिएपनि अब त्यस्तो नहुने अवस्था परिसंघको गठनले देखाएको छ । ‘परिसंघले नीतिगत सुधारका लागि उच्चस्तरको समन्वय गर्ने भन्नुभएको छ, बैंकिङ क्षेत्रको बारेमा आमधारणा सार्वजनिक गर्ने र समन्वय गर्ने भनेको एनबीएले नै हो, परिसंघसँग पनि कसरी सहकार्य र समन्वय गरेर अगाडि बढ्न सकिन्छ भनेर नै भट्नागर संयोजकत्वको समिति बनाइएको हो,’ अध्यक्ष दाहालले भने । बैंकका कर्मचारीको तलब तथा सेवा सुविधाको विषयमा पनि प्रश्न उठ्ने गरेको छ । कर्मचारले धेरै तलब खान्छन्, बैंकले धेरै शुल्क तथा फि लिन्छन्, बैंकको व्याज अन्तर (स्प्रेड) पनि धेरै छ भन्ने जस्ता आरोप लाग्ने गरेका छन् । एनबीए यस्ता आरोपका विषयमा पनि अध्ययन गर्ने अभियानमा छ । ‘आरोप नै लागिसकेपछि त्यसको यथार्थ तथ्य सार्वजनिक गर्नु नै पर्छ, कहि कतै गलत भएको रहेछ भने सुधार गर्ने हो, गलत भएको छैन भने यथार्थ यो हो भनेर सबैसामु भन्ने हो, यथार्थ सार्वजनिक गर्ने र गलत भए सुधार गर्ने अभिप्रायले नै अनिल उपाध्याय संयोजकत्वको समिति बनाएका हौं,’ अध्यक्ष दाहालले थपे । सिद्धान्तमा सम्झौता नगर्ने र व्यवहारमा लचकता अपनाउने दाहालको अर्काे एउटा पनि सिद्धान्त छ– स्माइलिङ फेस विथ स्ट्रङ टीथ । दाहालको यही सिद्धान्तले एनबीएलाई विवादमुत्त बनाउने र बैंकरलाई आरोपबाट केहीहदसम्म भएपनि पर राख्ने सम्भावना छ । तर, आगामी दिनका उनका कदम पनि हेर्नै पर्ने हुन्छ ।
राष्ट्र बैंकमाथि लाइसेन्स बेचेको आरोप र लघुवित्तका लगानीकर्ताको भविष्य
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले आगामी तीन वर्षसम्ममा लघुवित्त संस्थाहरुको संख्या २५ देखि ३० वटाको संख्यामा झार्नु पर्ने बताएका छन् । उनले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिकोत्सवको समारोहमा उक्त कुरा बताएका हुन् । राष्ट्र बैंकका अनुसार हाल ८९ वटा लघुवित्त कम्पनीहरु सञ्चालनमा छन् । उनीहरुले नेपाल राष्ट्र बैंकबाट लाईसेन्स लिएका छन् । राष्ट्र बैंकको मापदण्ड अनुसार पुँजी पुर्याएका छन् र आधारभूत रुपमा राष्ट्र बैंकका नीति नियम पालना गरेर सेवा सञ्चालन गरिरहेका छन् । यदि उनीहरुले राष्ट्र बैंकले जारी गरेको नीति निर्देशन पालना गरेका छैनन् भने राष्ट्र बैंकले सर्वसाधारणका लागि भ्रम छरिरहेको छ । यहि राष्ट्र बैंक हो जसले एक वर्षमा २५ भन्दा बढी लघुवित्तलाई लाईसेन्स बाँढ्यो र ९० वटा भन्दा बढी पुर्यायो । अहिले केही मर्ज भएका छन्, केही मर्जको क्रममा छन् । यहि राष्ट्र बैंक हो जो आज लघुवित्तको संख्या अब २५ वटामा झार्नु पर्ने तर्क गरिरहेको छ । केन्द्रीय तहमा बाहेक जिल्ला तहमा खुलेका लघुवित्तमा साना लगानीकर्ता छन् । नेप्सेमा सूचिकृत लघुवित्तको संख्या ५० वटा छन् । समूहगत परिसूचकमा लघुवित्त समूहको परिसूचक करिव २१०० छ । नेप्से परिसूचक १३०० नजिक हुँदो लघुवित्त समूहको परिसूचक २१०० हुनु भनेको लघुवित्त कम्पनीहरुको सेयर मूल्य उच्च छ भन्ने नै हो । बैंक, डेभलपमेन्ट बैंक, फाइनान्स, ट्रेडिङ, जलविद्युत तथा अन्य समूहको परिसूचक भन्दा लघुवित्त समूहको परिसूचक बढी छ । यसको अर्थ हो यो बजारमा साना साना लगानीकर्ता धेरै छन् । भविष्यप्रति बढी आशावादी भएर लघुवित्तको सेयरमा प्रतिकित्ता औषतमा २१०० रुपैयाँ हालिरहेको छन् । नेपाल राष्ट्र बैंक नेपालका सरकारी निकायमा औषतभन्दा राम्रो संस्था मानिन्छ । तर पनि यो संस्थालाई दुईवटा गम्भीर आरोप लाग्दै आएको छ । कहिले लाईसेन्स बेच्ने, कहिले आफ्नै सन्तान रेट्ने । कहिले भटाभट लाईसेन्स वितरण गर्ने, कहिले लाइसेन्स प्राप्त संस्था खारेज गराउन दवाव दिने राष्ट्र बैंकको नीतिमा धेरैले प्रश्न गर्दै आएका छन् । २०६० को दशकमा वाणिज्य बैंक ३२ वटा, विकास बैंक ८८ वटा र वित्त कम्पनी ७९ वटा थिए । अहिले वाणिज्य बैंक २७ वटा, विकास बैंक २५ र वित्त कम्पनी २२ वटामा सीमित हुनु र ८९ वटा लघुवित्तलाई २५ वटामा झार्ने लक्ष्य लिनुले राष्ट्र बैंक माथि लागेको लाईसेन्स बेच्ने र सन्तान रेट्ने आरोपमा आधार थपेको छ । गरिबी निवारण लघुवित्त बहुउपयोगि संस्थाको रुपमा यसका प्रवद्र्धकहरुले प्रचार प्रसार गरेपनि यो क्षेत्र बहुत नाफामूखी व्यवसाय बनेको छ । सहकारीले १५ प्रतिशतभन्दा बढी लाभांश बाढ्न पाउँदैनन, व्यापारिक कम्पनीले २० प्रतिशत भन्दा नाफा लिन पाइदैन भन्ने नीतिगत व्यवस्था छ । तर गरिबी निवारणमा काम गर्ने भन्ने लघुवित्त संस्थालाई ५०÷१०० प्रतिशतसम्म लाभांश वितरण गर्न राष्ट्र बैंकले स्वीकृत दिन्छ । लघुवित्तहरु बढी नाफा मुखी हुँदा यो क्षेत्रमा बेथिति पनि व्यापाक नै भएको छ । तर व्यथिति निवारण गर्नुभन्दा राष्ट्र बैंक यी संस्थाहरुलाई नै उन्मुलन गर्ने दिशामा जान लागेको देखिएको छ, जुन सहि नीति होइन ।
बिग्रिएका बैंक-फाइनान्सलाई जीवन दिने प्रभु बैंककाे ‘हुटहुटी’, ओशो भने जस्तै ‘प्रभु शरणम्’
काठमाडाैं । थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाएका छन्। स्वादिलो खाना खुवाउने भएकाले सानो समुदाय भए पनि उनीहरुको आफ्नै शान र नाम छ। देशभरी थकालीको जनसंख्या १० हजार हाराहारी छ। भूपि शेरचनले देश विदेशमा चिनाएको मुस्ताङको थाकखोलालाई थकालीको पुस्तौनी थलोको रुपमा नै चिनिन्छ। होटल व्यवसायमा रमाउन नसक्ने लाहुर जान्छन् पैसा कमाउन। सामूहिक भावनाका कारण उनीहरुले विगत लामो समयदेखि ढुुकटी खेले र आर्थिक रुपमा सबैलाई सबल बनाउने लक्ष्यसमेत राखे। केहीले यसलाई अवैध पनि माने। ग्रामीण अर्थतन्त्रको विकासमा त्यसले महत्वपूर्ण योगदान दियो। एकाधबाहेक धेरै जसो थकाली सम्पन्न छन्, आर्थिक रुपमा। लाहुरे हुने र होटल व्यवसाय गर्न छाडेर अन्य पेशामा रमाउन खोज्ने थकाली कमै भेटिन्छन्, ती मध्येका एक हुन् अशोक शेरचन। लाहुरे हुने मोह त्याग्दा बैंक तथा वित्तीय संस्थाको प्रमुख हुने मेसो मिलेको हो, उनलाई। विसं २०२९ सालमा धौलागिरिको फेदमुनि बाग्लुङमा जन्मिएका अशोकलाई शङ्करदेव क्याम्पसमा पढ्न आउनु नै सफलताको पहिलो खुट्किलो बन्न पुग्यो। बागलुङ बजार आफैँमा राम्रो र सुन्दर परिचय बोकेको स्थानका रुपमा परिचित छ। उत्तरतिर देखिने धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रेको छायाँले पनि धेरैलाई सफल बन्न प्रेरित गरिरहेको छ । शंकरदेवमा व्यवस्थापन विषय पढ्न बागलुङबाट काठमाडौँ हान्निएको ठिटो आज प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत बनेको छ । “के यो सफलता होइन र ? मेरा लागि शेरचनले विगत सम्झिए। राष्ट्र बैंकका उच्च तहका कर्मचारी थिए, गोविन्दबहादुर थापा । नाताले अशोकको सानिमाका श्रीमान् (सानाबा) । कालीगण्डकी तरेर काठमाडौँ झरेको युवालाई बैंकर बन्न सुझाउने र प्रेरणा दिने उनै थापा थिए । साथीभाइले पनि सुनाए, नेपाल बंगलादेश बैंकमा जागिर खुलेको छ । खाने कि नखाने एउटा प्रश्न भने मनमा द्विविधाको रुपमा उभिएको थियो । तलब थियो, मात्र रु चार हजार ३०० । यो कुरा सन् १९९५ को हो । परीक्षाका सबै चरण पूरा गरेर म बैंकिङ क्षेत्रमा प्रवेश गरेको हो । नरेन्द्र भट्टराईले तातेताते गराएर बैंकका ल्याएको अशोक यतिखेर सक्षम र सवल बैंकरको रुपमा स्थापित छन् । “मेरो जागिर खाने कुरा त थिएन, तर अकस्मात बैंकको जागिरे भइयो । विदेश गएको भए राम्रै कमाइ हुन्थ्यो होला भन्ने शुरु शुरुमा त लाग्थ्यो । किनकी सेवा सुविधाका हिसाबले आकर्षक क्षेत्र थिएन त्यतिखेर”, शेरचनले सुनाए। प्रभु फाइनान्सबाट शुरु भएको वित्तीय क्षेत्रको व्यवसाय यतिबेला प्रभु बैंकमा परिणत भएको छ । त्यसका पछाडि मेहनत, प्रतिबद्धता अनि लगनशीलताले काम गरेको छ । कुनै बेलाको सबल र सक्षम संस्थाको रुपमा चिनिएको ‘क’ वर्गको वाणिज्य बैंक किष्ट बैंक समस्यामा पर्यो। सम्हाल्न प्रभु समूह नै आइपुग्यो । यस्तै अर्को ग्राण्ड बैंक समस्याको भूमरीमा फस्यो, समाल्ने जिम्मेवारी प्रभु समूहले नै पायो । समस्यामा परेका बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभेर ठूलो संस्था बनाउने ‘हुटहुटी’ले नै काम गर्यो। समस्या भएकालाई लिँदा राम्रो गर्ने प्रेरणा मिल्दो रहेछ । राम्रा त राम्रा नै भए । नराम्रालाई राम्रो बनाउन सजिलो हुँदो रहेछ, प्रमुख कार्यकारी अधिकृत शेरचनले भने, “बैंक तथा वित्तीय संस्था गाभ्दा सकार र नकार दुवै प्रकारको परिणाम प्राप्त हुँदो रहेछ ।” समस्यामा फसेका संस्था उद्धार गर्दा गर्दै सबल संस्थाको रुपमा प्रभु बैंक स्थापित भएको छ । निजी क्षेत्रको अग्रणी बैंकको रुपमा स्थापित प्रभु बैंकले डोल्पा, हुम्लालगायत कर्णालीमा समेत शाखा विस्तार गरेर राज्यको आँखाभन्दा पर परेका दूर्गम बस्तीलाई राजधानीसँग जोडेको मिठो सफलताको कथासमेत उनले सुनाए। “सबै काम राज्यले मात्रै गर्छ भनेर सोच्नु पनि भएन नी, हामीले पनि केही न केही योगदान त गर्नैपर्छ”, शेरचनले भने, “एकले थुकी सुकी, सयले थुकी नदी भन्ने त हाम्रो लोकोक्ति नै छ नी !” बिग्रिएकालाई जीवन नेपालको बैंक तथा वित्तीय संस्था गाभ्नेमा प्रभु बैंक अग्रणी संस्थाको रुपमा स्थापित छ । समस्यामा फसेका, झण्डैझण्डै अस्तित्व नै सकिन लागेका संस्थालाई प्राण भरेर, नयाँ जीवन दिएर, ती संस्थाका लगानीकर्ता बचाउने संस्थाको रुपमा अग्रपंक्तिमा नाम आउँछ, प्रभु बैंक । समस्यामा फसेका बैंक तथा वित्तीय संस्थालाई लिँदा कसरी राम्रो गर्ने भन्ने हुटहुटीले काम गर्दोरहेछ, शेरचन केही आशावादी देखिए। समस्यामा फसेर प्रभुले जिम्मा लिएको तत्कालीन किष्ट बैंक र ग्राण्ड बैंकको डुबेको ऋण उठाउन आफूहरु आक्रामक रुपमा लागेको उहाँले सुनाउनुभयो । “हामीले खराब ऋणीलाई समय दियौँ, उनीहरुसँग छलफल मात्रै गरेनौँ, सम्झौता पनि गर्यो । सधैँ त्यसरी सुविधा दिन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ”, शेरचनले भने। प्रभु बैंकले अब रणनीति बदलेको छ । “धमाधम पूराना डुबेको र बिग्रिएका ऋण उठाउन लागि पर्ने योजना बनाएका छौँ । किष्ट र ग्राण्डका समस्यामा परेका धेरै जसो ऋण उठिसकेको भए पनि अझै रु दुई अर्ब जति बाँकी छ । समस्यामा परेका संस्था लिँदा के होला, कस्तो होला भन्ने चिन्ता त अवश्य नै थियो”, उनले भने “तर, बिग्रिएका संस्था लिएर पनि सकरात्मक सन्देश दिन हामी धेरै सफल भएका छौँ । जुन सकारात्मक सन्देश हाम्रा लागि चुनौतीपूर्ण यात्राको लागि एउटा कोशेढुंगा बनेर स्थापित भएको छ ।” बैंक विश्वासमा चल्ने संस्था हो । निक्षेपकर्तादेखि लगानीकर्ताको समेत विश्वासले त्यस्ता संस्था चल्छन् । सोही आधारमा प्रभु बैंकले खराब ऋणीलाई ऋण तिर्न प्रोत्साहन गरेको उनले सुनाए । “हामीले धेरै सहज वातावरण पनि बनाइदियौँ, सोही वातावरणको उपयोग गरेर धेरैले तिरे पनि तर केहीले भने अझै अटेर गरेर बसेका छन् । उनीहरुप्रति अब हामी आक्रामक रुपमा प्रस्तुत हुन्छौँ”, शेरचनले भने, “अब हामी खराब ऋण उठाउन कानूनी प्रक्रिया शुरु गर्छौं ।” समस्यामा फसेको भनिएको किष्टमा भन्दा ग्राण्ड बैंकको जटिलता देखिएको प्रभु बैंकको बुझाइ छ । डेढ दर्जनभन्दा बढी त्यस्ता ऋणी छन् । बैंकले त्यस्ता खराब ऋणीको ऋणको ‘प्रोभिजनिङ’ गरेको छ । शेरचनका अनुसार एउटै ऋणीको मात्रै रु ३० करोड बढी ऋण उठाउन बाँकी छ । जुन ऋण उठेको खण्डमा बैंकको मुनाफामा मात्रै नभइ ऋण लगानीमा समेत ठूलो राहत मिल्छ । समस्यामा परेका संस्था स्याहार्दा शुरु शुरुमा त धेरै समस्या भोग्नुपरेको उनले सुनाए। खराब कर्जाको मात्रा बढी हुँदा राष्ट्र बैंकले पनि प्रश्न गर्ने अवस्था थियो । दुःखले सुख दिन्छ भने जस्तै भयो, प्रभु बैंकलाई । जोखिमको भूमरीमा फसेका किष्ट र ग्राण्डलाई जोगाएर ती बैंकका लगानीकर्तालाई हामीले ठूलो आड भरोसा दियौ भन्न पाउँदा गौरवको महसुस नै हुन्छ, शेरचन विगतमा फर्किए । उनले भने “ठूला समस्यामा परेका वाणिज्य बैंक गाभेर ठूलो जोखिम उठाएका थियौँ । शुरुआती चरणमा त हामीलाई निकै गाह्रो भयो, खराब कर्जाको मात्रा निकै उच्च थियो । व्यवसायको सम्भावना पनि असाध्यै कम थियो ।” अस्तित्व नै रहने कि नरहने भन्ने अवस्थाबाट उठेर हाल शीर्ष दशभित्र प्रभु बैंक पुगेको शेरचनको भनाइ छ । “हिसाब किताबका आधारमा हामी शीर्षभित्र परेका छौँ । कुनै संस्था समस्यामा पर्यो भने पनि त्यसलाई सबल र सुदृढ बनाएर लेजान सकिन्छ भन्ने हामीले सन्देश दिएका छौँ । जुन हाम्रा लागि चुनौतीपूर्ण यात्रा त छँदै थियो, आज आएर हेर्दा गौरवपूर्ण इतिहाससमेत भएको छ”, उनले भने, “सरकारी निकायले दिएका निर्देशन तथा नीति नियमलाई अक्षरशः कार्यान्वयन गर्यौं भने पनि त्यसले सार्थक परिणाम दिन सक्छ भन्ने स्पष्ट भएको छ ।” बैंकको हाल खराब कर्जाको मात्रा ३.३२ प्रतिशत मात्रै छ । गत असोज मसान्तसम्मको हिसाब हेर्ने हो भने बैंकले रु ९१ अर्ब ६८ करोड ऋण प्रवाह गरेको छ । शेरचनका अनुसार समस्यामा परेका संस्थामा पनि ठूलो सम्भावना रहन्छ भन्ने स्थापित भएको छ । उनले भने, “सबल र बलिया ठानिएका संस्था त आफैँ बलिया भइहाले नी, कमजोरलाई माथि उठाउन सकिन्छ भन्ने हामीले सन्देश दिएका छौँ ।” शेरचनका अनुसार पहिलो कुरा समस्यामा परेका संस्था ‘मर्ज’ गर्दा आफ्नो नाम राख्न पाइन्छ । र, त्यतिमात्रै होइन, कतिपय बिग्रेका संस्थामा ठूलो सम्भावना पनि हुन्छ भन्ने हाम्रो सोच हो । बलिया त आफैं बलिया भइहाल्छन् नि । उनले नकारात्मक विरासत एकाध वर्षमा हट्ने र प्रभु बैंक नेपालको सबल बैंक बन्ने विश्वास व्यक्त गरे। प्रभु बैंक सफल हुँदै जानुको पछाडिको भेद पनि खुलाए शेरचनले । “हामीले हरेक निर्णय सही समयमा छिटोछिटो गरेका छौँ । कोही कसैले पनि आजको काम भोलि भनेर सारेका छैनौँ । सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, तथा अन्य विभागीय प्रमुख तथा सबै कर्मचारीले इमान्दार प्रयत्न गरेका छौँ”, उनले भने, “यो सामूहिक काम हो । आज भोलि भनेनौँ । तत्काल गर्नुपर्ने निर्णय तत्काल गर्यौै । जुन हाम्रो सफलताको प्रमुख श्रेयका रुपमा स्थापित छ ।” मर्जरकै यात्रामा सानो संस्थाबाट फैलदै ठूलो संस्था बनेको प्रभु बैंकले अझै केही बैंक तथा वित्तीय संस्थालाई गाभ्ने रणनीति बनाएको छ । वार्षिक साधारणसभाले प्राप्ति गर्ने विषयलाई खुल्ला छाडेको छ । प्रमुख कार्यकारी अधिकृत शेरचन यो विषयमा भने केही कूटनीतिक देखिए। “सबल संस्था बनाउने यात्रामा निस्केपछि हामी केही न केही त गरिहाल्छौँ नि !”, शेरचनले भने, “धेरैसँग छलफल चलिरहेको छ । निर्णय आउन समय त लाग्ला तर हामी छिट्टै अर्को एक वाणिज्य बैंक गाभ्ने प्रक्रियामा छौँ ।” पछिल्ला दिनमा बजारमा प्रभु बैंकले नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभ्ने विषयले चर्चा पाएको छ । धेरै चरणमा दुई संस्थाबीच छलफल पनि भइसकेको छ । प्रभु बैंकको रणनीति के छ भने आफूभन्दा बलियो संस्थासँग गाभिएर आफ्नो पहिचान मेटाउने पक्षमा छैन । उसले प्राप्तिको लक्ष्यलाई केन्द्रमा राखेको छ । “त्यसका पछाडि पनि केही कारण छन्”, शेरचनले भने, “विगतमा किष्ट र ग्राण्डलाई लिँदा लामो समयसम्म शेयर कारोबार हुन पाएन । लगानीकर्तालाई मर्का पर्यो । सोही तथ्यलाई केन्द्रमा राखेर हेर्दा ‘एक्वायर’ मात्रै हाम्रा लागि उपयुक्त हुन सक्छ ।” प्रभुले आफूभन्दा कमजोर क्षमता भएका अन्य बैंक तथा वित्तीय संस्थासँग पनि कुरा चलाएको सगौरव सुनाए। प्रभु बैंक नै किन ? वित्तीय कारोबार गर्न अरु धेरै बैंक तथा वित्तीय संस्था छन् । हाम्रो स्वभाविक प्रश्न थियो । “एउटा नेपाली नागरिक अरु बैंक छाडेर किन प्रभु बैंकमा आउने ?” यो प्रश्न सोध्दा शेरचनको मुहारमा एक प्रकारको सकारात्मक आशा देखियो । उनले आफ्नो बैंकको उपस्थिति उपल्लो मुस्ताङ, शे–फोक्सुन्डो, हुम्लाको खार्पुनाथमा समेत रहेको सुनाए । उनले भने, “हामी शहरमा मात्रै होइनौँ, ग्रामीण जो राज्यको आँखामा नपरेका स्थानमा समेत पुगेका छौँ । ग्राहक बैंकमा होइन, बैंक ग्राहकमा जानुपर्छ भन्ने मान्यताका साथ हामीले काम गरेका छौँ ।” बैंक तथा वित्तीय संस्थामा एकै प्रकारका सुविधा उपलब्ध हुने भए पनि विप्रेषण भित्र्याउनेतर्फ अग्रणी संस्थाको रुपमा प्रभु नै रहेको छ । हरेक गाँउका हरेक घरका कोही न कोही वैदेशिक रोजगारीमा गएकै छन् । उनीहरुले आफ्ना परिवारका लागि पठाउने विप्रेषणले मुलुकको अर्थतन्त्र मात्रै होइन, दूरदराजका नागरिकका चुल्होसमेत बलेका छन् । उनी भन्छन्, “हामीले त्यो समुदाय र वर्गलाई समेत आफ्नो सञ्जालमा जोडेका छौँ । जुन हाम्रो ठूलो सम्पत्ति हो ।” त्यसकारणले पनि आज हरेकको मन मतिस्कमा प्रभु बैंक ‘प्रभु’ बनेर स्थापित भएको छ । सङ्ख्यात्मक रुपमा पनि १२ लाख बढी ग्राहक भएको बैंक हो, प्रभु । सङ्ख्याले पनि ठूलो भूमिका खेल्छ व्यवसायमा । एक अर्कामा कारोबार गर्न पनि राम्रो र सजिलो बनाइदिन्छ । प्रभुमा गएपछि अन्यत्र जानै पर्दैन भन्ने मान्यता स्थापित छ । नेपालका सबै भागलाई बैंकिङ सेवा तथा सुविधासँग जोडिएको छ । सहज रुपमा आफ्ना आफन्तले पठाएको पैसा आफ्नै गाउँघरमा पाउँदा को खुसी नहोला र ? शेरचनले भने, “हजारौँ माइल टाढा रहेका आफ्ना आफन्तले पठाएको पैसा आउँदा दूरदराजका बासिन्दाको मुहारमा देखिने खुसीको मूल्य कति हुन्छ ? कुनै गणितले पत्ता लगाउन सक्ला र ?” उनी भन्छन्– डोल्पाको शे–फोक्सुण्डोमा बैंकको शाखा खोल्न मात्रै हेलिकोप्टरमा सामान लैजाँदा रु ५० लाख खर्च भएको छ । त्यहाँबाट हामीले ठूलो व्यवसायको अपेक्षा पनि गरेका छैनौँ । फाइदा पनि हुँदैन । त्यहाँका मासिनले पनि नेपालको अत्याधुनिक बैंकिङ सुविधा पाउन् भन्ने जिम्मेवारी बोधका कारण शाखा खोलेका हौँ । यो आर्थिक वर्षभित्र बैंकका शाखा खुलिसक्छ । राष्ट्र बैंकले तोकेभन्दा पनि धेरै ठाँउमा प्रभुले शाखा खोलेको छ । हामीले मासिक रुपमा एक हजार ५०० जति नयाँ बैंक खाता खोलेका छौँ । सामाजिक सुरक्षा कोषका लागि एउटै शाखाले मात्रै पाँच हजार खाता खोले । वडावडामा बैंकका शाखा खुलेका छन् । सामाजिक सुरक्षा भत्ता लिने सबै बैंकको पहुँचमा पुगेका छन् । सरकारलाई महिला, दलित, आदिवासी, जनजातिको पक्षमा काम गर्न सहज रुपमा तथ्याङ्क प्राप्त हुने अवस्थामा पुगेको छ । एउटै ‘क्लिक’मा हेर्न सकिने अवस्थामा पुगेको छ । “वार्षिक दुई लाख खाता खोल्ने लक्ष्य लिएका छौँ । हामीले शून्य लगानीमा बैंकका केहीमा दोहोरोपना पनि आएको छ । नेपालभर ६० प्रतिशत बढी खाता खुलेको छ । अन्य बैंकका गरी १५ लाख जति नयाँ खाता खुलिसकेको छ”, उनले भने। सामाजिक सुरक्षा कोषमा सहभागी हुन केही कानूनी जटिलता देखिएको छ । कतिपय बैंक सहभागी पनि भए । भएका कतिपय कुरामा केही प्रष्टताको जरुरी रहेको उनको भनाइ छ । कुनै सोचमा लगानी गर्ने कि नगर्ने भन्ने अवस्था छ । राष्ट्र बैंकले नीगित गत प्रष्टता गरिनु जरुरी छ । बैंक पनि व्यापार गर्न गरेको संस्था हो । जानीजानी जोखिम हुने क्षेत्रमा त लगानी गरिँदैन । नयाँ कुरा आयो, चल्छ कि चल्दैन भन्ने कुरा हेर्नुपर्छ । सरकारले सुरक्षा दियो भने लगानी गर्न समस्या होइन, बैंकले लगानी नगरेका होइनन्, गरेका छन् । ओशोले दिएको नाम प्रभु बैंकको नाम कसरी राखियो ? शेरचन केही समय मुस्कुराए। प्रभु समूहका अध्यक्ष छन् देवीप्रकाश भट्टचन, ओशोका अनुयायी । ओशोले आफ्ना सबै अनुयायीलाई अर्कै नाम दिन्थे । पोल्ट्री व्यवसायमा नाम कमाएका गुणचन्द्र विष्टलाई ओशोले स्वामी कृष्ण भारतीको नाम दिएका थियो । देवीप्रकाशलाई ओशोले दिएको नाम थियो प्रभु शरणम् । देवी नाम भएकाले पनि त्यस्तो उपनाम दिएको आफूलाई अध्यक्षले सुनाएको शेरचनले बताए। छोटो पनि छ नाम । जनजिब्रोमा सहजै झुण्डिने खालको छ । सुख–दुःखमा पनि मिल्ने, ‘प्रभुको जय होस्’ भन्न पनि मिल्ने भएकाले प्रभु नाम रहन गएको हो । थकाली समुदाय सामूहिकतामा विश्वास गर्छन् । सामाजिक रुपमा समान हुनुपर्छ भन्दै आर्थिक रुपमा कमजोर भएकालाई माथि तान्ने प्रयास गर्छन् । व्यवस्थित रुपमा बस्नुपर्छ भन्ने उनीहरुको मान्यता छ । “मलाई पनि बेला बेलामा सोही मान्यताले काम गर्छ, किनकी थकालीको रगतमा नै सामूहिकताको भावना बगेको हुन्छ” शेरचनले आफ्नो समुदायप्रति गौरव गर्दै भने, “सोही भावनाले गर्दा राम्रो प्रस्ताव लिएर आउनेलाई हामीले सहज रुमपा ऋण दिएर उद्यमी बनाएका छौँ ।” विगतमा बैंकमा जागिर खाने कुरा सजिलो थिएन । आफ्ना दिन सम्झनुभयो, उहाँले । तर, अहिले बैंकमा आउने नयाँ कर्मचारी ‘हाइटेक’ खालका छन् । “उनीहरु छोटो बाटोबाट अगाडि बढ्न खोज्छन् । छोटो बाटोले सफलता त देला तर टिकाऊ भने हुँदैन”, उहाँले अनुभव सुनाउनुभयो । “नयाँ पुस्ता गहिराईमा जान खोज्दैनन् । उनीहरुमा कुनै भावना छैन । कुनै लगाव पनि छैन, यसलाई भने हामी सबैले मिलेर सुधार गर्नुपर्छ”, उनले भने। राजनीतिमा जाने सोच शेरचनको कार्यकाल अब तीन वर्ष बाँकी छ । बैंकले अन्य संस्थालाई प्राप्ति तथा गाभेको अवस्थामा थप केही समय उनले बैंकको नेतृत्व सम्हाल्ने मौका पाउने छन् । बैंकको जागिर सकिएपछि के गर्ने सोचमा होलान्, शेरचन? आम मानिसको मनमा एक प्रकारको जिज्ञासा स्वभाविक छ । उनले एकदैम सहज उत्तर दिए, “अब म राजनीतिमा जाने सोचमा छु ।” बाग्लुङ वा देशका जुनसुकै स्थानबाट भए पनि राजनीति गर्ने इच्छा पलाएको छ, शेरचनलाई । सामाजिक रुपमा परिवर्तन ल्याउने एउटा ठूलो माध्यम भनेकै राजनीति हो । राजनीति सबैं नीतिको पनि नीति हो । “म बैंकको उच्च तहमा पुगिसके । शून्यदेखि सिकेर आज यो तहसम्म आइपुग्दा धेरै कुरा जानेको छु । यो ज्ञान र अनुभवलाई देश सेवामा लगाउने सोच छ” उनले भने। नीति निर्माणमा जान पाइयो भने अझै ठूलो क्षेत्रमा सेवा दिन सकिन्छ भन्ने आफूलाई लागेको उनले सुनाए । यसलाई तपाईं लोभ पनि भन्न सक्नुहुन्छ वा अरु केही, शेरचनले कुराको बिट मार्दै भन्नुभयो, “म सानाभन्दा साना कामलाई पनि अगाडि बढाउनुपर्छ भन्ने सोच राखेर अगाडि बढ्ने गरेको छु । मलाई आगामी दिनमा पनि सफल बनाउनेछ ।” रासस