लक्ष्मी बैंकको नाफा ९० करोड, गत वर्षभन्दा २५ प्रतिशत धेरै

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्मी बैंकले ९० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको ६ महिनामा लक्ष्मीले ७३ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको थियो गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्मी बैंकले खुद नाफा २४.७६ प्रतिशतले बढाएको हो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ७ करोड ८३ लाख रुपैयाँ संचालन नाफा गरेको लक्ष्मीले यो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ संचालन नाफा गरेको छ । बैंकमा सर्वसाधारणको निक्षेप ८८ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप छ । यस्तै, कर्जा तथा लगानी ८५ अर्ब ५ करोड २५ लाख रुपैयाँ छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको निक्षेप ८० अर्ब ३२ करोड ४६ लाख रुपैयाँ थियो भने ७४ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ कर्जा तथा लगानी थियो । लक्ष्मीले १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ व्याज आम्दानी गरेको । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो । बैंकको वितरण योग्य नाफा भने ५९ करोड १८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ शेयरधनी कोषमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ सञ्चित छ । यस्तै, बैंकको खराब कर्जा अनुपात ०.८८ प्रतिशत, कष्ट अफ फण्ड ७.२१ प्रतिशत, प्रतिसेयर आम्दानी १८.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको छ । साथै पुस मसान्तसम्म बैंकको आधार दर १०.०९ प्रतिशत र स्प्रेड दर ४.२३ प्रतिशत छ ।

वैदेशिक रोजगार विभाग तथा एनसीएचएलबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं । वैदेशिक रोजगार विभाग तथा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । एनसीएचएलको कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली मार्फत विभागको अनलाइन भुक्तानी संकलनका निम्ति उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाइँ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा विभागका महानिर्देशक भीष्मकुमार भुसाल र एनसीएचएलका पदाधिकारीहरूको उपस्थितिमा रहेको थियो । उक्त सम्झौता पश्चात वैदेशिक रोजगार विभागका सम्पूर्ण भुक्तानीहरु कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली मार्फत वैदेशिक रोजगार कर्मीहरु तथा अन्य संस्थाहरुका बैंक खाताबाट सोझै तोकिएको बैंक खातामा प्राप्त गर्न सकिनेछ । कनेक्ट आईपीएस इपेमेन्ट प्रणालीमा आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ग्राहकहरुले कनेक्ट आईपीएस र विभिन्न बैंकिङ च्यानलहरुबाट यी भुक्तानीहरु गर्न सक्नेछन् । प्रारम्भिक रुपमा प्रणाली मार्फत वैदेशिक रोजगारकर्मीहरुले तोकिएका बीमा कम्पनीहरुमा अनिवार्य आवधिक बीमाका निम्ति बुझाउनुपर्ने बीमा प्रिमियम शुल्क सोझै बैंक खाताबाट जम्मा गर्न सक्नेछन । साथै, पछिल्लो तहमा कल्याणकारी कोषमा अनिवार्य जम्मा गर्नु पर्ने रकम, भाषा परीक्षण शुल्क, कम्पनी नवीकरण शुल्क लगायतका विभिन्न भुक्तानीहरु पनि अनलाइन मार्फत भुक्तानी गर्न सकिने छ ।

मेगा बैंकबाट पर्सामा आँखा शिविर, सयौं लाभान्वित

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा मेगा बैंकले पर्सा जिल्लाको बेल्वामा निःशुल्क आँखा शिविर आयोजना गरेको हो । शिविरमा २ सय ७५ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये एक सय जनामा रक्तन्धो भेटिएको थियो । त्यसमध्ये केही बिरामीको शिविरमै निःशुल्क शल्यक्रिया गरिएको थियो । नेपालकै अग्रणी बैंकको रुपमा स्थापित मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशका विभिन्न भागमा विविध कार्यक्रम गर्दै आएको छ ।