नेपाली सेनालाई वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक
काठमाडौँ । मेगा बैंक नेपालले नेपाली सेनाका लागि सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक बिक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी विशाल सिंहले सेनालाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरी बैंकिङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराए । कार्यक्रममा नेपाली सेनाका बिभिन्न दर्जाका एक सय जनाको सहभागिता थियो ।
एनआईसी एसिया बैंकले ‘इन्ड टू इन्ड सोलुसन’ प्रणाली खरिद गर्ने, भयाे त्रिपक्षीय सम्झौता
काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी रोक्न एनआईसी एसिया बैंकले थप कदम चालेको छ । यस्तो कार्य प्रभावकारी बनाउन बैंकले भारतको इन्फ्रासफ्ट टेक्नोलोजी तथा नेपालको एम्निल टेक्नोलोजीसँग ‘इन्ड टू इन्ड सोलुसन’ नामक प्रणाली खरिद गरेको हो । एनआईसी एसिया बैंक तथा नेपाल र भारतका दुई कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजी का तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा तथा एम्निल टेक्नोलोजीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरे । सो सम्झौताअनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्निल टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड टू इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र सो प्रणाली कार्यान्वयनमा ल्याएपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरु फाइनान्सियल एक्सन टास्क फोर्स (एफटीएफ), एसियन प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) लगायतले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने बैंकको भनाइ छ । यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले जनाएको छ । बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको बैंकको भनाई छ । नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने बैंकको उद्देश्य अनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको जानकारी दिएको छ । जस अन्तर्गत हस्ताक्षर गर्नको लागि सिग्नेचर प्याड, ल्याप्चे क्याप्चर गर्नको लागि बायोमेट्रिक डिभाइस र फोटो खिच्नको लागि क्यामेरा जडानसहितको सुविधा उपलब्ध रहेको छ । यो प्रविधि मार्फत ग्राहक अनबोर्डिङ गर्दा अहिले कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अबलम्बन हुने र यसबाट बैंकको एएमएल/सीएफटी (आतंकारी गतिविधिमा वित्तीय लगानी निवारण) र ग्राहक परिचान (केवाईसी) व्यवस्थापन कार्यलाई थप टेवा पु¥याउने बैंकले विश्वास लिएको छ । साथै निकट भविष्यमै बैंकका सबै शाखाहरुमा सो प्रविधि राखिने योजना बैंकको छ । नियमनकारी निकायले तोकको व्यवस्था अनुसार सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने र ग्राहक महानुभावहरुले बैंकको वेभ साइटमा रहेको इ–केवाईसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । बैंकले सो इ–केवाईसी पोर्टल मार्फत आफ्नो विवरण अद्यावधिक गर्न पनि ग्राहकसँग अनुरोध गरेको छ । बैंकको देशभर ३ सय १३ शाखा कार्यालयहरु, ४ सय २६ एटिएम, १ सय ४ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको २१ लाखभन्दा बढी ग्राहक रहेका छन् । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व सरकारलाई बुझाइ सकेको छ । साथै, वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
सिद्धार्थ बैंकद्वारा टिच फर नेपाललार्ई ५ लाख सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले टिच फर नेपाललाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । मंगलबार एक कार्यक्रमबीच बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह-संस्थापक स्वस्तिका श्रेष्ठलाई सो सहयोग रकम दिएका हुन् । बैंकले ग्रामिण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त रकम टिच फर नेपालले विभिन्न ग्रामिण जिल्लाका सार्वजनिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान कार्यका लागि उपयोग गर्ने छ । यस अभियान अन्तर्गत संस्थाले देशका विभिन्न ग्रामिण जिल्लाको सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षका लागि स्वयंमसेवी शिक्षक मार्फत गणित, विज्ञान र अंग्रेजी विषयमा अध्यापन गराउने छ यसबाट ग्रामिण जिल्लामा रहेका बालबालिकाहरुले गुणस्तरीय शिक्षाको अवसर पाउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटीएम र १,६०० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।