ग्राहककाे मर्कालाई न्यूनिकरण गर्न प्रयास थालिएकाे एनएमबी बैंकका सीईओकाे भनाइ
काठमाडाैं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकका ग्राहकलाई परेकाे पीर मार्कालाई कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा यथासम्भव उपायहरू अवलम्बन गरिने बताएका छन् । प्रमुख कार्यकारी अधिकृत केसीले काेराेना महामारीको कारणले अर्थतन्त्रमा पर्न गएको प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै कर्जाको रकम भुक्तानि गर्दा विभिन्न प्रकारको छुट प्रदान गरिएको तथा जरिवाना मिनाहा गरिएको उल्लेख गर्दै यस सम्बन्धी विस्तृत जानकारी यस बैंकको नजिकको शाखामा सम्पर्क गरि प्राप्त गर्न सकिने बताएका छन् । ग्राहकमा एक सन्देश जारी गर्दै डिजिटल बैकिङ संरचनाहरू (मोबाइल र इन्टरनेट बैंकिङ्ग ) प्रयोग गर्न अनुराेध गरेका छन् । उनले बैंकको डेबिट कार्ड र अन्य कार्डहरू प्रयोग गरि नेपालभरि कुनै पनि बैंकको एटिएमबाट पैसा झिक्दा लाग्ने अतिरिक्त शुल्क हाललाई मिनाहा गरिएकाे बताएका छन् । बैंकका बचत खाताका ग्राहकहरुले नेपालभर यस बैंकको कुनै पनि शाखामा पैसा राख्दा र झिक्दा लाग्ने एबीबीएस शुल्क मिनाहा गरिएकाे उनले उल्लेख गरेका छन् । ‘यस प्रतिकुल घडीमा तपाईंको आवश्यकता परिपूर्ति गर्ने हाम्रा आपतकालीन कार्ड सेन्टर सेवा, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटिएम सेवाहरू पूर्ण रूपमा परिचालन गरेका छौं । बैंकले वर्तमान विषम परिस्थितिमा ग्राहक महानुभावको लागि आफ्ना तोकिएका शाखा कार्यालयहरू मार्फत विदाको दिन बाहेकका दिनमा बैंकिङ्ग सेवा सुचारू राख्दै आइरहेका छौ । साथै, बैंकिङ्ग सेवा अति आवश्यक भई ग्राहकहरूबाट अनुरोध भई आएमा कुनै पनि शाखा खोलि सेवा प्रदान गर्न सकिने छ’ उनले भनेका छन् । उनले काेराेना महामारीको प्रभाव न्युन हुन समय लाग्ने र यसको असर पछिसम्म पर्नसक्ने जनाउँदै यथास्थानमै सुरक्षित बसी डिजिटल संरचनाहरूको प्रयोग गर्नुहुन, सुरक्षा सबन्धि नियम पालना गरी आफु र आफ्नो परिवार यस महामारीबाट सुरक्षित हुने उपायहरू अवलम्बन गर्न अनुराेध गरेका छन् । हाल देखा परेको संक्रामक रोग कोभिड १९ का कारण विश्वका अधिकांश भाग लक डाउनको अवस्थामा एनएमबि बैंकले आफ्ना ग्राहकवर्गको स्वास्थ्य र सुरक्षाका लागि नविनतम उपायहरू अवलम्बन गरेको उनले बताए । विभिन्न शाखाहरूबाट स्थानिय सरकारको रोहबरमा औषधी तथा औषधीजन्य सामाग्रीहरू, खाद्यान्न, मास्क, स्यानिटाईजर लगायतका वस्तुहरू वितरण गरिराखेकाे उनले बताएका छन् । ‘संक्रामक रोग कोभिड १९ का कारण उत्पन्न कठीन परिस्थितिमा यहाँहरूसंग सहकार्य गर्न हाम्रा प्रदेश प्रमुख, शाखा प्रमुख तथा सम्पर्क अधिकृतहरू यहाँहरूको सम्पर्कमा रही आवश्यक सहयोग प्रदान गर्नुहुने छ । साथै, आवश्यक परेको खण्डमा ग्राहक माहानुभावहरुले व्यवस्थापन समितिका पदाधिकारीहरूलाई पनि बैंकको वेवसाईटमा राखिएको हट लाईन नम्बरहरूमा सम्पर्क गर्न सकिने उनले भनेका छन् । एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाईरस (कोभिड १९) को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न तथा सोबाट उत्पन्न परिस्थितिको सामना गर्नका लागि नेपाल सरकारबाट स्थापना गरिएको कोरोना संक्रामक रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ५१ लाख रूपैयाँ योगदान गरेको छ । साथै, संक्रामक रोग नियन्त्रणका लागि देशका विभिन्न अस्पतालहरूमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्न व्यक्तिगत सुरक्षा उपकरण(पीपीई)को अभाव देखिएकाले ७ वटै प्रदेशका स्वास्थ्य संस्थाहरूमा प्रत्येक प्रदेशमा १०० थानका दरले ७०० थान पीपीई वितरण गरेकाे छ ।
स्मार्ट बैंकिङ्गमा फड्को मार्दै एनएमबि बैंक, अब म्यासेन्जरबाटै खाता खोल्न सकिने
काठमाडौं । एनएमबि बैंकले स्मार्ट बैंकिङ्ग तर्फ फड्को मार्दै गएको छ । बैंकले अब घरमै बसी फेसबुकको म्यासेन्जर बाटै खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो । डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं । आफ्ना मूल्यवान ग्राहकलाई बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकै प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो । हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय कारोबारहरु सम्पादन गर्न सहयोग पुर्याउने बैंकको एक महत्वपूर्ण योजना हो ।
बैंक तथा वित्तीय संस्थाले तीन महिनामा १६ अर्ब ६ करोड गुमाउने, निक्षेपको व्याजदर घटाउने गृहकार्य
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को कारण भएको लकडाउनले देशको अर्थतन्त्र ठप्प छ । बन्द तथा सुस्त भएका ती उद्योगधन्दालाई पहिलेकै स्वरुपमा ल्याउन वा चलायमान बनाउन सरकारसँग गुहार पनि गरिरहेका छन् । मंगलबार मात्रै नेपाल राष्ट्र बैंकले बैंकले ठूला ऋणीलाई २ प्रतिशत व्याज छुट दिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । कोरोना भाइरसले पार्ने असर र त्यसको समाधानका लागि राष्ट्र बैंकले जारी गरेको त्यो निर्देशनमा कतिपय बैंकर्स अन्योलमा परेका छन् । उनीहरु अरुलाई बचाउने नाउँमा बैंक नै नोक्सानीमा जाने त होइन भन्ने दोधारमा पनि देखिन्छन् । बैंकले तोकेको २ प्रतिशत बिन्दुमा उनीहरु अहिले अंकगणितको हिसाब गरिरहेका छन् । त्यतिमात्र हाेइन, राष्ट्र बैंकले जारी गरेको निर्देशन मान्नै पर्ने भएकोले पनि उनीहरु अहिले त्यसको विकल्प खोजिरहेका छन् । स्रोतका अनुसार अहिले बैंकर्सहरु अनौपचारिकमा बसेर निक्षेपको व्याजदर घटाउने कि भन्ने योजनामा पनि छन् । राष्ट्र बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले १४ प्रतिशत व्याजदरमा प्रवाह भएको कर्जामा १२ प्रतिशत, १३ प्रतिशत व्याजदरमा प्रवाह भएको कर्जामा ११ प्रतिशत, १२ प्रतिशत व्याजमा प्रवाह भएका कर्जामा १० प्रतिशत, वा १० प्रतिशत व्याजदरमा प्रवाह भएका कर्जामा ८ प्रतिशत मात्र व्याज लिन पाउनेछन् । फागुन मसान्तसम्मको वित्तीय अवस्था अनुसार नेपाली बैंक तथा वित्तीय संस्थासँग स्वदेशी मुद्रामा प्रवाह गरेको कुल ऋण ३२ खर्ब १३ अर्ब १९ करोड ९१ लाख रुपैयाँ रहेको छ । यसका आधारमा बैंक तथा वित्तीय संस्थाहरुले २ प्रतिशत व्याज दियो भने तीन महिना अर्थात बैशाखदेखि असारसम्म १६ अर्ब ६ करोड रुपैयाँ आम्दानी गुमाउने छन् । वाणिज्य बैंकहरुको मात्र कुरा गर्ने हो भने कुल २७ खर्ब ४८ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ । यसका आधारमा बैंकहरुले दुई प्रतिशत व्याज छुट दिने हो भने वैशाखदेखि असार मसान्तसम्म १३ अर्ब ७४ करोड रुपैयाँ व्याज आम्दानी गुमाउनेछन् । समग्रमा भन्ने हो भने एक वाणिज्य बैंकले तीन महिनामा करिब ५१ करोड रुपैयाँ आम्दानी गुमाउनु पर्ने छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्ताेष कुमार काेइरालाले यसको वर्कआउट गर्न एकदमै गाह्रो भएको बताए । ‘कसैलाई छुट दिनु पर्नेछ, कसैलाई छुट दिनु पर्ने छैन, क्षेत्रगत रुपमा पनि विभाजन गरेकोले यो गाह्रो विषय छ, यसको बारेमा तथ्याकं निकाल्न एक हप्ता लाग्छ,’ उनले भने । बैंकको नाफा घटेपछि बैंकले लगानीकर्तालाई दिने लाभाशं पनि स्वतः घट्ने बैंकर्सको धारणा छ । यस्तै, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुवर क्षेत्रीले पनि बैंकको नाफा घटेपछि लाभाशंमा पनि कमी आउने बताए । ‘वाणिज्य बैंकमा मात्रै १३ अर्ब रूपैयाँ जति असर पर्छ, यो भनेको धेरै हो, यसले स्वभाविक रुपमा लाभाशंमा पनि असर पर्छ,’ उनले भने । निक्षेपकर्ताको व्याज पनि घट्न सक्ने उनको भनाइ छ । यस्तै, अब २ प्रतिशत व्याज घटाउनु पर्ने भएपछि बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा पनि बढ्न सक्ने अनुमान बैंकर्सले गरेका छन् । कोरोना भाइरसले सम्पूर्ण क्षेत्रमा ल्याएको आर्थिक संकटले गर्दा बैंकहरुमा पनि त्यति धेरै आर्थिक कारोबार नहुने र ऋण लिएकाहरुले पनि समयमै नतिर्दा खराब कर्जा बढ्ने उनीहरुको भनाइ छ । राष्ट्र बैंकले खाद्यान्न प्रशोधन तथा बिक्री वितरण, ग्यास उत्पादन तथा बिक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेको जलविद्युत आयोजनाको हकमा भने २ प्रतिशत व्याज घट्दैन ।