कनेक्ट आइपिएसमा एकैदिन सवा खर्ब रूपैयाँ कारोबार, गत वर्षकाे काराेबार ९७ खर्ब
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारलाई प्राेत्साहन गरेसँगै कनेक्ट आइपिएस मार्फत हुने कारोबारमा पनि वृद्धि हुँदै गएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपिएस प्रणालीमा गत वर्षभन्दा २२.२ प्रतिशतले कारोबार संख्या वृद्धि भएको छ । एनसीएचएले कनेक्ट आइपीएस, आइपीएस र चेक क्लियरिङ गरी आर्थिक वर्ष २०७६/०७७ मा २ करोड ६ लाख २४ हजार वटा कारोबार गरेको छ । त्यसमा ९.७ ट्रीलियन अर्थात ९७ खर्ब रूपैयाँ काराेबार भएकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले बताए । ‘आर्थिक वर्ष २०७६/०७७ मा आर्थिक वर्ष २०७५/७६ भन्दा २२.२ प्रतिशतले कारोबार संख्या बढेको छ, त्यसमा कारोबार मूल्य भने ५.५ प्रतिशतले वृद्धि भएको छ,’ उनले भने । २०७५ बैशाखबाट सञ्चालनमा आएको कनेक्ट आइपिएसको कारोबार नियमित रूपमा बढ्दै गएको उनले बताए । गत आर्थिक वर्ष २०७५/७६ मा कुल कारोबार संख्या १ करोड ६८ लाख कारोबार भएको थियो भने ९.२ ट्रिलियन अर्थात ९२ खर्ब २० अर्ब रूपैयाँ कारोबार भएको उनको भनाई छ । आर्थिक वर्ष २०७६/७७ को अन्तिम दिन अर्थात हिजो मात्रै कनेक्ट आइपिएस मार्फत १ लाख ७७ हजार संख्या कारोबार भएको उनले बताए । त्यसमा कारोबार मूल्य भने १ खर्ब १७ अर्बको रहेको उनको भनाई छ । प्रधानका अनुसार मासिक रुपमा कनेक्ट आएपिएसको कारोबार बढ्दै गएको छ । लकडाउनको समयमा बैंकका ग्राहकले घरैबाट कारोबार गर्ने भएकोले कारोबार बढेको उनको भनाई छ । ‘पहिले कनेक्ट आइपिएसमा दैनिक एक अर्ब कारोबार हुन्थ्यो, अहिले पछिल्लो समयमा असारको मध्यतिर सवा दुई अर्बदेखि साढे दुई अर्ब जति कारोबार भइरहेको छ’ उनले भने । कनेक्ट आइपिएस प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गतेदेखि दैनिक २ अर्ब नाघेको छ । विगत तीन महिनाको लकडाउन अवधिमा कनेक्ट आइपिएसको मासिक कारोबारमा संख्या र मूल्यको आधारमा क्रमशः वृद्धि हुँदै गएको उनले बताए । उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरूको कुल मासिक कारोबार क्रमश १३.८ अर्ब रुपैयाँ, २४ अर्ब रुपैयाँ र ३९.५ अर्ब रुपैयाँ रहेको सिंहले बताए । कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीको मोबाइल एप, वेब र बैंक शाखाजस्ता वैकल्पिक च्यानलहरू बाहेक एनपिआइले पनि कनेक्ट आइपिएसको कारोबार बढाउन निकै महत्वपूर्ण भूमिका उनको भनाई छ । कम्पनीमा हालसम्म चेकमा ७० वटा बैंक तथा वित्तीय संस्था, आइपीएसमा ६५ र कनेक्ट आइपीएसमा ५७ वटा बैंक तथा वित्तीय संस्थाहरु आवद्ध छन् । यसमा अन्य वालेट कम्पनीहरु पनि आवद्ध भइहरेको उनले बताए । एनपिआइले बैंक तथा वित्तीय संस्थाहरूको मोबाइल, इन्टरनेट, कर्पोरेट बैंकिङजस्ता वैकल्पिक च्यानलहरू, पिएसपिएसरपिओएस, सरकारी निकायहरू र अन्य ठूला संस्थाहरूबीच इन्ट्रिगेसन र इन्ट्रोपेरियाविलिटीका लागि स्थानीय भुक्तानी च्यानलको रुपमा काम गर्दछ । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित यस एनसीएचएलले एनसिएचएल इसिसी, एनसिएचएल आइपिएस, कनेक्ट आइपिएस ई(पेमेन्ट, कनेक्ट आरटिजिएस र एनपिआइ प्रणालीहरू सञ्चालन गर्दै आएको छ। हाल यो ६ वटा मोबाइल वालेट (अन्य ८ जोडिने प्रक्रियामा), प्रायः सबै बीमा कम्पनी, रेमिट्यान्स कम्पनी, नेप्से, सेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोष र लगभग सबै बैंक तथा वित्तिय संस्थाहरूमा जोडी प्रयोगमा आइसकेको छ । मोबाइल, वेब, गेटवे र एपिआईजस्ता मल्टिपल च्यानलहरू मार्फत सदस्य बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवाप्रदायक, भुक्तानी प्रणाली संचालक तथा अन्य संस्थाहरूले उक्त प्रणालीमा भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ । यस प्रणालीमा सम्पूर्ण कारोबारहरू सिधै बैंक खाताबाट हुने गर्दछन् ।
खातामा पैसा जम्मा गर्ने भौचर भर्न एनआईसी एशिया बैंक धाउनै नपर्ने, अब अनलाईनबाटै भर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने भएको छ । बैंकले देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको एनआईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणालीको शुभारम्भ गरेको छ । यसअन्तर्गत ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत www.iserve.nicasiabank.com लिंकमा गई नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्नेछन् । उक्त लिंक भित्र पुगेपश्चात् सेवाग्राहीहरुले भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिनेछ र उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस मार्फत डिपोजिट कोड पठाईने छ । र, त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै नगद भौचर सोझै नगद काउण्टरमार्फत आफुले नगद जम्मा गर्न चाहेको खातामा नगद जम्मा गर्न सकिने बैंकले जनाएकाे छ । यसरी नगद जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि नगद बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा नगद रकम जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ । बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिनको निमित्त सहयोग हुनेछ भने वहाहरुलाई काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ । नगद जम्मा गर्ने सेवाको अलावा बैंकले मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई-कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबीबीएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत यस आईसर्भ मार्फत सेवा दिईरहेको छ र उक्त सेवाहरू आईसर्भ मार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको छ ।
असार मसान्तमा कर्जा असुली ७५ प्रतिशत मात्रै, पहुँचवालाले कुरे मौद्रिक नीति
काठमाडौं । गत आर्थिक वर्षको अन्तिम दिनसम्ममा बैंकिङ क्षेत्रमा उठ्नु पर्ने कर्जाको व्याज तथा किस्ता ७५ प्रतिशत मात्रै उठेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण आर्थिक गतिविधि ठप्प भएकोले व्याज तथा किस्ता असुली कम भएको हो । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उठ्नु पर्ने व्याज तथा किस्ता करिब ७५ प्रतिशत उठेको जानकारी दिए । उनले ठूला ऋणीले किस्ता र व्याज तिरेपनि साना, पर्यटन क्षेत्र र गाडी कर्जा केही कम उठेको जानकारी दिए । ‘ठूला ऋणीले किस्ता तथा व्याज तिरेका छन्, मासिक किस्ता बुझाउने साना, हायरपर्चेज (गाडी कर्जा), पर्यटन जस्ता क्षेत्रले बुझाएका छैनन्, ऋण तिर्न सक्ने केही ऋणीले मौद्रिक नीतिले केही राहत देला कि भनेर पनि पर्खिएका पाइयो,’ प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले पनि उठ्नुपर्ने रकमको ७५ प्रतिशत जति मात्रै उठेको जानकारी दिए । हायरपर्चेज, पर्यटन र रियलस्टेट क्षेत्रका ऋणीले किस्ता र व्याज बुझाउन नसकेको उनको भनाइ छ । ‘हाम्रो ऋणी भनेका मध्यम तथा साना व्यवसाय गर्ने र सानो सानो परिमाणमा कर्जा उपभोग गर्नेहरु हुन्, उनीहरुले सकेसम्म किस्ता र व्याज तिर्ने प्रयास गरेको पाइयो, केही ऋणीले भने मौद्रिक नीतिमाफृत राहत कार्यक्रम आउने अनुमान सहित पर्खिए जस्तो देखियो,’ डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्षसमेत रहेका ढकालले भने । फाइनान्स कम्पनी एसोसिएसनका अध्यक्ष सरोजकाजी तुलाधर असार मसान्तमा किस्ता र व्याज गरी ८० प्रतिशत जति असुल हुने आफूहरुले अनुमान गरेको भएपनि ७५ प्रतिशत जति मात्रै उठेको बताउँछन् । ‘सामुहिक सौदाबाजी गर्न नसक्ने, नीति निर्माणतहसम्म पहुँच नभएका साना तथा मझौला उद्यम व्यवसाय गर्नेहरुले किस्ता र व्याज तिरेका छन्, ठूलो ठूलो उद्योग व्यवसाय चलाउने उद्योगी व्यवसायीले भने मौद्रिक नीतिसमम्म पर्खने सोच बनाएको देखियो,’ गुडविल फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष तुलाधरले भने । फाइनान्स कम्पनीहरुमा पनि सार्वजनिक सवारी साधान, होटल तथा पर्यटन लगायत सेवा क्षेत्रले किस्ता र व्याज तिर्न नसकेको अध्यक्ष तुलाधरको भनाइ छ ।