कोरोना कहरमा कृषकलाई राहात, सिभिल बैंकले दिने भयाे ५ लाखसम्म ऋण
काठमाडौं । सिभिल बैंकले किसानहरुको समृद्धिको लागि ‘किसान समृद्धि कार्ड’को सुबिधा सञ्चालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अनुरुप सम्पूर्ण कृषकहरुको समृद्धिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो । कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाको रुपमा बढी रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुबिधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार पाँच लाख रुपैयाँसम्मको ऋण सुबिधा उपलब्ध गराईन्छ । यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी बचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको वचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको बचत भन्दा बढि रकम झिकेमा बैकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खूद व्याज रकमको गणना हुनेछ । यो ऋण सुबिधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरुलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने छ जुन आफूलाई रकम आवश्यक परेको बखतमा सजिलै उपयोग गर्न सकिनेछ । यो ऋण सुबिधाको लागी कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार यस सुविधाको ब्याजदरमा ५ प्रतिशत अनुदान प्राप्त हुने भएकोले न्युन ब्याजदर मै यो सुबिधा उपभोग गर्न सकिनेछ । हाल कोरोनाको कारणले सिर्जित बिषम परिस्थितिमा कृषि स्वरोजगार मार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधा ल्याएको हो । हालसम्म ४ लाख ७० हजारभन्दा बढी ग्राहकहरु रहेको यस बैंकमा करिब ६८ अर्ब ६० करोड रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ५५ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेकोे छ । बैंकले हाल ११४ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखा रहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
अब सनराइज बैंकबाट पैसा झिक्न चेक तथा एटिएम कार्ड नचाहिने
काठमाडौं । सनराइज बैंकबाट पैसा झिक्न चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैंकले डिजिटल टेलर सेवा सुरु गरेसँगै अब चेक तथा एटिएम कार्ड नभएपनि बैंक खाताबाट नगद झिक्न सकिने भएको हो । बैंकले आफ्नो काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ । यस सेवाको सुरुवात सँगै अब उप्रान्त बैंकमा खाता हुने सबै ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् । यो सेवा मार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोडस्क्यान गरी एक दिनमा १ लाख रुपैंया र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् । पेपरलेस बैंकिङ्ग तर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास छ ।
लघुवित्तका सञ्चालकलाई राष्ट्र बैंकको पाठः शिष्ट बोल्नु, घृणा उत्पन्न हुने काम नगर्नु
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई शिष्ट बोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज लघुवित्तहरुका लागि एकिकृत निर्देशन जारी गर्दै लघुवित्तका सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार,कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्ने जनाएको हो । निर्देशिका भनिएको छ, ‘सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्नेछ । संस्थाको कार्य वातावरण बिग्रने, घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु /गराउनु हुँदैन ।’ यस्तै बैंकले घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु /गराउनु नहुने पनि उल्लेख गरेको छ ।