भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला

काठमाडौं । टेस्ला भारत प्रवेशको दिशामा सावधानीपूर्वक अगाडि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनीले बिक्रीमा गिरावट र भन्सार शुल्कको खतरा सामना गरिरहेको बेला टेस्लाका प्रमुख वित्त अधिकृत (सीएफओ) वैभव तनेजाले कम्पनी भारतमा प्रवेश गर्न लागेको बताएका हुन् ।  कमाइको रिपोर्ट सार्वजनिक गर्ने क्रममा तनेजाले कम्पनी भारतमा विस्तार गर्ने तयारीमा रहेको पुष्टि गरे । उनले भारत 'ठूलो मध्यवर्गीय जनसंख्या' भएको कारण राम्रो बजार हुने बताएका छन् । तर, भारत 'एकदमै कठिन बजार' पनि भएको तनेजाले बताए । भारतमा ईभी आयात गर्दा ७० प्रतिशत भन्सार शुल्क र करिब ३० प्रतिशत लक्जरी कर लाग्ने उनले जनाए । यसले गर्दा भारतमा बेचिने टेस्लाका गाडीको मूल्य झन्डै दोब्बर हुन सक्ने उनले बताए। 'त्यसैले हामीले कहिले प्रवेश गर्ने भन्ने निर्णयमा निकै सावधानी अपनाएका छौं । यस्ता कुराले केही तनाव पनि उत्पन्न गर्छ, जुन हामी समाधान गर्न प्रयासरत छौं,' तनेजाले थपे । भारतले टेस्लालाई आफ्नो उत्पादन आधार स्थापना गर्न संकेत दिएको भए पनि देशको संरक्षणवादी नीतिहरूले टेस्लाका लागि केही चुनौतीहरू सिर्जना गर्ने सम्भावना उत्तिकै छ । तनेजाको यो अभिव्यक्ति टेस्लाका सीईओ एलन मस्कले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रविधि र नवप्रवर्तन सम्बन्धी सहकार्यका विषयमा कुरा गरेको केही दिनपछि आएको हो । फेब्रुअरीमा मोदीले मस्कलाई वाशिंगटन डीसीमा भेटेका थिए, जसले टेस्लाको भारत योजनाबारे अड्कलबाजी बढाएको थियो । त्यही महिना सीएनबीसीलाई स्रोतले जानकारी दिएको थियो कि कम्पनीले बर्लिन प्लान्टबाट भारतमा अप्रिलदेखि नै गाडी आयात गर्ने योजना बनाइरहेको छ । भारत सरकारले पनि एक नयाँ नीति प्रस्ताव गरेको छ, जसअनुसार केही उत्पादन भारतमै गर्ने प्रतिबद्धता जनाउने कम्पनीका लागि ईभी भन्सार शुल्क करिब ७० प्रतिशतबाट घटाएर १५ प्रतिशत पुर्‍याइनेछ । तर पनि विज्ञहरूले सीएनबीसीलाई भनेअनुसार यस्तो योजनाले टेस्लामाथि मूल्य प्रतिस्पर्धाको दबाव बढाउनेछ र कम्पनीले थप नीतिगत सुधारको माग गर्न सक्नेछ । तर अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित अमेरिकी व्यापार साझेदारहरूमाथि लगाएका नयाँ भन्सार शुल्कले टेस्ला र नयाँ दिल्लीबीच हुने सम्भावित वार्तामा असर पार्न सक्नेछ । वाशिंगटनले भारतमाथि १० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाएको छ, जुन ९० दिनको 'पारस्परिक शुल्क' विराम सकिएपछि अमेरिका–भारत व्यापार सम्झौता नभएमा २६ प्रतिशतसम्म बढ्न सक्नेछ । सोमबार उपराष्ट्रपति जेडी भान्सले भारतमा मोदीसँग भेट गरे र दुवै देशबीचको व्यापार वार्तामा 'महत्त्वपूर्ण प्रगति' भएको बताए । टेस्लाले मंगलबार सार्वजनिक गरेको पहिलो त्रैमासिक नतिजामा कम्पनीको अटोमोबाइल आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशत घटेको र शुद्ध आम्दानीमा ७१ प्रतिशत गिरावट आएको उल्लेख गरिएको छ। सान्दर्भिक सामग्री शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा  

सीएटीएलको नयाँ सोडियम-आयन ब्याट्री ब्रान्ड सार्वजनिक, ईभीमा आगलागीको जोखिम घटाउने

काठमाडौं । चीनको सीएटीएलले सोमबार आफ्नो सोडियम-आयन ब्याट्रीहरूको लागि नयाँ ब्रान्ड ‘न्याक्स्ट्रा’ सार्वजनिक गरेको छ । जुन कम्पनीले आगामी डिसेम्बरदेखि ठूलो परिमाणमा उत्पादनमा लैजाने जनाएको छ । साथै विद्युतीय सवारीसाधन (ईभी)का लागि दोस्रो पुस्ताको फास्ट चार्जिङ ब्याट्री पनि प्रस्तुत गरेको छ । सीएटीएल सन् २०११ मा सोडियम-आयन ब्याट्री सार्वजनिक गर्ने पहिलो प्रमुख अटोमोबाइल ब्याट्री निर्माता बनेको थियो । अन्य ब्याट्री सामग्रीको तुलनामा सोडियम सस्तो र प्रशस्त मात्रामा पाइने भएकाले यसले ईभीमा आगलागीको जोखिम घटाउन सक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् । न्याक्स्ट्रा ब्रान्डअन्तर्गत पहिलो उत्पादन १७५ वाट घण्टा प्रति किलोग्रामको ऊर्जा घनत्व भएको नयाँ सोडियम-आयन ब्याट्री हुनेछ, जुन अहिले प्रचलनमा रहेको लिथियम-आयरन-फस्फेट ब्याट्री सरह हुनेछ- जुन ईभी र ग्रिड-ऊर्जा भण्डारण प्रणालीमा प्रयोग हुन्छ । सीएटीएलका अनुसन्धान तथा विकास विभागका सह-अध्यक्ष ओउयाङ चूयिङ का अनुसार, 'प्रविधि र आपूर्ति शृंखला विकसित हुँदै गएसँगै सोडियम-आयन ब्याट्रीहरूले लिथियम-आयन ब्याट्रीभन्दा सस्तो विकल्प बन्न सक्ने सम्भावना छ ।' सीएटीएलका अरबपति संस्थापक रोबिन झेङ ले पनि सोडियम-आयन ब्याट्रीहरूले कम्पनीले अहिले नियन्त्रणमा लिएको एलएफपी ब्याट्री बजारको आधा हिस्सा प्रतिस्थापन गर्न सक्ने देखिएको बताएका छन् । न्याक्स्ट्राबाहेक सीएटीएलले आफ्नो शेनजिङ ब्याट्रीको दोस्रो पुस्ता पनि सार्वजनिक गरेको छ, जसले ५ मिनेटको चार्जमा ५२० किलोमिटरसम्म ड्राइभिङ रेञ्ज दिन सक्छ र चिसो मौसममा १५ मिनेटमै ब्याट्री ८० प्रतिशत चार्ज गर्न सकिन्छ । सीएटीएलका प्रमुख प्राविधिक अधिकारी गाओ हुआनले शाङ्घाईमा आयोजित कार्यक्रममा भनेअनुसार यस वर्ष ६७ भन्दा बढी नयाँ ईभी मोडलहरू शेनजिङ ब्याट्रीबाट चल्नेछन्, तर कुन मोडलमा पहिलो पुस्ता र कुनमा दोस्रो पुस्ता प्रयोग हुनेछ भन्ने खुलाइएको छैन । सीएटीएलका ब्याट्रीहरू जडान गरिएका १.८३ करोडभन्दा बढी सवारीसाधनहरू हाल ६६ भन्दा बढी देशहरूमा सञ्चालनमा छन् । सीएटीएलले एक नयाँ ब्याट्री संयोजन प्रणाली पनि सार्वजनिक गरेको छ, जुन दुई इन्जिन भएको विमानको प्रणाली जस्तै हो र यसले ईभीको सुरक्षा अझ बढाउने बताइएको छ । गएको महिना मात्र सीएटीएलले २०२४ को नाफा १५ प्रतिशतले वृद्धि भएको जनाएको थियो, जुन छ वर्षको सबैभन्दा ढिलो वृद्धिदर हो- किनकि चीनको ईभी बजारमा मूल्य प्रतिस्पर्धाका कारण कम्पनीमा दबाब परेको थियो । शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला

शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला

काठमाडौं । यही साता शाङ्घाई अटो शोको आयोजना हुँदैछ । अटो शोमा ७० भन्दा बढी चिनियाँ तथा अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरूले १०० भन्दा बढी नयाँ वा परिमार्जित मोडलहरू प्रदर्शन गर्ने जनाइएको छ । शोले संसारकै सबैभन्दा ठूलो विद्युतीय तथा हाइब्रिड सवारीको बजारमा चर्को प्रतिस्पर्धा अझ तीव्र बनाउनेछ । चीनका अग्रणी ब्रान्डहरू जस्तै बीवाईडी र जीली अप्रिल २३ देखि मे २ सम्म सञ्चालन हुने शोमा मुख्य आकर्षण बन्‍ने अपेक्षा गरिएको छ । साथै फक्सवागन, निसान, टोयोटा र जनरल मोटर्सको क्याडिल्याकजस्ता विदेशी कम्पनीहरूले पनि ध्यान तान्ने प्रयास गर्नेछन् । चीनमा लामो समयदेखि जारी मूल्य प्रतिस्पर्धाको बीचमा अब चालक-सहायता प्रविधि (अटोमेटेड ड्राइभिङ फिचर्स) नयाँ प्रतिस्पर्धाको क्षेत्र बन्न थालेको छ । तर मार्चमा साओमी एसयू सेभेनको दुर्घटनापछि चिनियाँ सरकारले 'स्मार्ट' वा 'स्वचालित' जस्ता शब्दहरू प्रयोग गरेर प्रविधिको प्रचार गर्न प्रतिबन्ध लगाएपछि अटो शोमा अगिल्लो पुस्ताको चालक-सहायता प्रणालीहरू प्रस्तुत गर्ने योजनामा बाधा पुगेको छ । एसयू सेभेन पोलमा ठक्कर खाँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो । चालकले कारको सहायक प्रणालीबाट नियन्त्रण लिन खोजेपछि दुर्घटना भएको हो । त्यसैले चीनले 'स्मार्ट' र 'स्वचालित' शब्द प्रयोगमा रोक लगाएको हो । गत वर्षको बेइजिङ अटो शोअघि लन्च भएको एसयू सेभेनले निकै चर्चा पाएको थियो र हालसम्म यो ईभी २ लाख १५ हजारभन्दा बढी बिक्री भइसकेको छ, जसले टेस्लाको मोडेल थ्रीलाई मासिक बिक्रीमा पछि पारेको छ । यस घटनापछि सरकारले थप निगरानी बढाएसँगै बीवाईडी र जीक्रजस्ता कम्पनीहरू चालक–सहायता क्षमताको प्रचार कम गर्दै सुरक्षित र जिम्मेवार ड्राइभिङको सन्देश दिन थालेका छन् । चीनको भिडन्तपूर्ण ईभी बजारमा कम्पनीहरूले आफूलाई भिन्दै देखाउन चालक–सहायता प्रणाली महत्त्वपूर्ण उपकरण बनेको छ । बीवाईडीले 'गड’आइज' नामक चालक-सहायता प्रणालीलाई सबै मोडलहरूमा निःशुल्क उपलब्ध गराउने घोषणा गरेपछि यो प्रविधिमा प्रतिस्पर्धा अझ तीव्र बनेको हो । यसले सस्तो मूल्यका (१० हजार डलरजति) मोडलहरूमा पनि यो सुविधा ल्याउनेछ । जाटो डाइनामिककी विश्लेषक बो युले भनिन्, ’धेरै कम्पनीहरूले बीवाईडीलाई मूल्य युद्धको लागि आलोचना गर्छन् । अब 'गड’आइज’ प्रणालीमार्फत पनि बीवाईडी सबैलाई असहज बनाइरहेको छ ।’ फेब्रुअरीमा नियामकहरूले सरकारको अनुमतिबिना चालक-सहायता सफ्टवेयरमा ओटीए अपडेटहरू निषेध गरेपछि टेस्लाले चीनमा आफ्नो 'फूल सेल्फ ड्राइभिङ’ प्रणालीको निःशुल्क परीक्षण बन्द गर्‍यो । हुवावेले पनि सावधानी अपनाउन आग्रह गर्दै आफ्ना सिस्टमहरू प्रयोग गर्दा सुरक्षा मनन गर्नुपर्ने सन्देश फैलाएको छ । शोमा जीलीको जीक्र ब्रान्डले लेभल थ्री चालक-सहायता प्रविधिसहितको पहिलो मोडल सार्वजनिक गर्ने योजना बनाएको भए पनि अब त्यसको सट्टा हाइब्रिड तथा ब्याट्री प्रविधिमा ध्यान केन्द्रित गरिनेछ । चिनियाँ नियामकहरूले आगलागी तथा विस्फोटको जोखिम घटाउनका लागि ईभी ब्याट्री मापदण्ड पनि कडा बनाउँदै लगेका छन् ।  टेस्लालाई लक्षित गर्दै नयाँ मोडेलहरू नियमसम्बन्धी चुनौतीहरूका बाबजुद चीनको 'नयाँ ऊर्जा सवारी’ क्षेत्र (विद्युतीय तथा ग्यासोलिन–इलेक्ट्रिक हाइब्रिड सवारी) को बिक्री तीव्र गतिमा बढ्दो छ । चीनमा अहिले नयाँ सवारी बिक्रीको आधाभन्दा बढी हिस्सा विद्युतीय वा हाइब्रिड सवारीहरूले ओगटेका छन् जुन अमेरिका, युरोप वा अन्य देशहरूसँग तुलना गर्दा धेरै अगाडि छ । यस हप्ताको शोमा सार्वजनिक हुने दर्जनौं नयाँ मोडलहरू टेस्लाको मोडेलसँग प्रतिस्पर्धा गर्न मिल्ने मूल्यमा ल्याइनेछ । टेस्लाले यसबारे कुनै टिप्पणी गरेको छैन । चीनमा टेस्लाको बजार हिस्सा २०२० मा १५ प्रतिशतबाट घटेर यो वर्षको पहिलो त्रैमासिकमा ९ प्रतिशतमा झरेको छ । गत वर्षदेखि यसको वार्षिक बिक्री पनि घटेको छ । अमेरिका तथा युरोपमा बिक्री घट्नुमा सीईओ एलन मस्कको राजनीतिक भूमिकाको आलोचनालाई पनि कारण मानिन्छ । टेस्लाले सन् २०२१ यता चीन अटो शोहरूमा भाग लिएको छैन । चिनियाँ प्रतिस्पर्धीहरूसँग तुलना गर्दा टेस्लाले नयाँ मोडलको गति निकै ढिलो राखेको छ । यस पटक सार्वजनिक हुने मोडेल वाईका प्रतिस्पर्धीहरूमा एक्सपेङको जी सिक्स र  जिक्रको ई सिक्स छन्, जसले सस्तो मूल्यमा उन्नत ब्याट्री चार्जिङ, सहायक ड्राइभिङ र इन-कार मनोरञ्जन सुविधा दिनेछन् । साओमीले आफ्नो बहुप्रतीक्षित वाईयूसेभेन क्रसओभर ल्याउने अपेक्षा गरिएको भए पनि अब यसले केवल एसयू सेभेन र एसयू सेभेन अल्ट्रा देखाउनेछ र कुनै प्रेस सम्मेलन गर्ने छैन । चिनियाँ अटो उद्योगका स्वतन्त्र विश्लेषक लेई जिङले यस्ता क्रसओभरहरूलाई 'मोडेल वाई किलर' भनेका छन् । 'यो टेस्लाको लोकप्रिय मोडलमा ठूलो दबाव हो,' उनले भने, 'मोडेल वाईलाई हराउने एउटा मात्रै सवारी होइन- यो १२ वा १३ वटा सवारीहरू हुन् ।' सान्दर्भिक सामग्रीहरू ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा