ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा

काठमाडौं । जनरल मोटर्स (जीएम) अन्तर्गतको ब्रान्ड बुइकले राम्रो प्रदर्शन गरिरहेको थियो । इनभिजन, इनकोर जीएक्स र इनभिस्टाजस्ता नयाँ डिजाइनमा आधारित सस्तो एसयूभीहरूको कारण कम्पनीको बिक्री पहिलो त्रैमासिकमा ३९ प्रतिशतले वृद्धि भएको थियो । इनभिस्टा त ३० हजार डलरभन्दा सस्तोमा पाइने बुइकको सबैभन्दा धेरै बिक्री भएको एसयूभी बनेको थियो । तर त्यसपछि पूर्वराष्ट्रपति ट्रम्पको ट्यारिफ नीति लागू भयो । ब्युइकका ती तीन सबैभन्दा लोकप्रिय मोडलहरू अमेरिकाबाहिर निर्माण गरिन्छन्- इनभिस्टा र इनकोर जीएक्स दक्षिण कोरियामा बनाइन्छन् भने इनभिजन एसयूभी चीनमा निर्माण गरिन्छ । त्यसैले यी सबै मोडलहरू अहिले भारी ट्यारिफको चपेटामा परेका छन्, जसले अमेरिका भित्रको बिक्री मूल्यमा हजारौं डलर थप्न सक्छ । बारक्लेसको विश्लेषण अनुसार बुइकका कोरियामा बनेका मोडलहरूमा २७.५ प्रतिशत ट्यारिफ लाग्छ । चीनमा बनेको इन्भिजनमा भने कुल ४७.५ प्रतिशत ट्यारिफ लाग्छ- जसमा २५ प्रतिशत अटो ट्यारिफ, २० प्रतिशत चीन फेन्टानिल ट्यारिफ र पहिल्यै रहेको २.५ प्रतिशत अटो कर समावेश छ । यो बुइकका लागि नराम्रो खबर हो । वर्षौंसम्म ’पुरानो शैलीको गाडी’ को छवि बोकेको ब्रान्डले अन्ततः नयाँ र आकर्षक मोडलहरू ल्याएर छवि परिवर्तन गरिरहेको थियो तर अहिले त्यो प्रगति जोखिममा छ । विश्लेषकहरू भन्छन्- मूल्य वृद्धि हुने हो भने बुइकको बजार गति थुनिन वा अन्त्यतिर धकेलिन सक्छ । अटोफोरकास्ट सोलुसन्सका उपाध्यक्ष साम फिओरानी भन्छन्- 'बुइकका पछिल्ला गाडीहरू सस्तो, राम्रो गुणस्तरका र राम्रो डिजाइनका छन् । तर उत्पादन लागत बढ्दा यी गाडीहरूलाई बजारमा टिकाइ राख्न गाह्रो हुन्छ ।’ पोर्टफोलियो पुनर्मूल्यांकन ट्रम्पले ल्याएको ट्यारिफका कारण अटो उद्योगका उच्च अधिकारीहरू अहिले आफ्नो उत्पादन पोर्टफोलियोको समीक्षा गर्दैछन्- 'के विदेशी उत्पादनलाई अमेरिकाभित्र ल्याउने खर्च दीर्घकालीन रूपमा उचित छ?’ भन्ने प्रश्न उठेको छ । यस महिनाको सुरुमा लागू भएको ट्यारिफले पहिले नै केही परिवर्तन गराइसकेको छः जीएमले इन्डियानामा रहेको ट्रक उत्पादन प्लान्टको उत्पादन बढाएको छ । स्टेलान्टिस (राम र जीप निर्माता) ले मेक्सिको र क्यानडाका दुई प्लान्टहरूमा अस्थायी रूपमा उत्पादन रोकिदिएको छ । बारक्लेसको १५ अप्रिलको नोटमा भनिएको छ- 'अब अटो कम्पनीहरूले लाभ नहुने गाडीहरू बेच्ने छैनन्, विशेषगरी चीन र कोरियाबाट आयात गरिएका मोडलहरू ।’ जीएमले चीन र कोरियाबाट ४.५ लाख गाडी आयात बन्द गर्ने अपेक्षा गरिएको छ । बारक्लेसले जीएमको २०२५ को आम्दानी पूर्वानुमान ४० प्रतिशतले घटाएको छ- ९.५ अर्ब डलरको ट्यारिफ असरका कारण । फोर्डका लागि ६० प्रतिशत गिरावटको पूर्वानुमान गरिएको छ- फोर्डले लिनकोन नटिलस चीनबाट ल्याउँछ । इनभिस्टा र सेभरोलेट ट्र्याक्सजस्ता सस्तो मूल्यका गाडीहरू (दुबै दक्षिण कोरियामा बनाइएका) मा ट्यारिफको सबैभन्दा ठूलो असर पर्नेछ, किनभने यी सवारीहरू धेरैजसो अमेरिका बाहिर बनाइन्छन् । कक्स अटोमोटिभका अनुसार अहिले नयाँ गाडीको औसत मूल्य ४८ हजार डलर माथि छ । ट्यारिफका कारण प्रभावित मोडलहरूको मूल्य १०-१५ प्रतिशतले बढ्न सक्छ । बाँकी मोडलहरूमा पनि ५ प्रतिशतसम्म मूल्य वृद्धि हुन सक्छ । बुइकको गति रोकिँदै बुइकले पछिल्ला २० महिनामा सबै मोडलहरू नयाँ लुकमा ल्याएको छ, जसले बिक्रीमा उल्लेखनीय वृद्धि गरेको हो । २०२५ को पहिलो त्रैमासिकसम्म बजार हिस्सा ०.८ प्रतिशतबाट बढेर १.६ प्रतिशत पुगेको छ । इनभिस्टाको (सुरुवाती मूल्य २३ हजार ८००) ले ब्रान्डलाई नयाँ उचाइमा पुर्‍यायो । इनभिजन (सुरुवाती मूल्य ३६ हजार ५००) मा पनि नयाँ स्टाइल ल्याइएको थियो, जसले बिक्री बढायो । डिट्रोइटका बुइक-जीएमसी डिलर जेफ लेथम भन्छन्- 'इनभिजन अहिलेको सबैभन्दा बिक्री हुने मोडल हो । जब इनभिस्टाको डिजाइन त्यसमा लागू गरियो, त्यसपछि बिक्रीमा उछाल आयो ।’ एडमन्डका विश्लेषक इभान ड्रुरी भन्छन्– 'बुइकले दशकौंपछि सबैभन्दा राम्रो गति लिएको छ । यो गति रोकिएमा ब्रान्ड मर्दैन तर एउटा ऐतिहासिक सपना भने टुट्न सक्छ ।’ एडमन्डका अनुसार २०२५ अप्रिलको सुरुमा बुइकका डिलरहरूमा ५३ दिनको स्टक थियो, जुन उद्योग औसत ४७ दिनभन्दा धेरै हो । चीनमा पनि चुनौती बुइकका लागि चीन बजार अत्यन्तै महत्त्वपूर्ण हो, तर त्यहाँ पनि समस्या देखिएको छ ।  जीएम र अन्य विदेशी अटो कम्पनीहरू चीनमा बनेका विद्युतीय गाडीहरूसँग प्रतिस्पर्धा गर्न नसकेर संघर्ष गरिरहेका छन् । टेलिमेट्रीका अनुसार बुइकको चीनमा बिक्री २०२० देखि २०२४ सम्म ६५ प्रतिशतले घटेको छ । टेलिमेट्रीका उपाध्यक्ष साम अबुलसामिद भन्छन्- 'चीनको बजारमा अनिश्चितता र अमेरिकी ट्यारिफका कारण बुइक ब्रान्डकै अस्तित्व जोखिममा छ ।’ सम्बन्धित समाचार  ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा  

नेपालमा लोकप्रिय बन्दै इनड्राइभ, यात्रुले आफैं तय गर्न सक्छन् भाडा र चालक

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुको स्वतन्त्रता र पारदर्शितामाथि आधारित सेवा मोडेलमार्फत गतिशीलताको नयाँ परिभाषा दिएको छ । 'आफ्नो यात्राको भाडा आफैं तय गर्नुहोस् र मनपर्ने चालक छान्नुहोस्' भन्ने मोडेलमा इनड्राइभ नेपाली बजारमा अग्रणी राइड–हेलिङ सेवा प्रदायक बन्न पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इनड्राइभको याे मोडेलले यात्रुहरूलाई आफैंले गन्तव्य अनुसार भाडा प्रस्ताव गर्ने, उपलब्ध चालकहरूमध्ये छनोट गर्ने र सवारी साधनको प्रकार समेत रोज्ने स्वतन्त्रता दिन्छ । यो सुविधा परम्परागत एपहरूभन्दा भिन्न छ, जहाँ मूल्य निर्धारण एआई एल्गोरिदमको भरमा हुन्छ । इनड्राइभले यात्रु र चालकबीच पारदर्शी सहमतिको आधारमा मूल्य निर्धारण हुने सुविधा दिएको छ । यस मोडेलले ग्राहक सन्तुष्टि, सुलभ भाडा दर, र पारस्परिक समझदारीलाई प्राथमिकता दिएर नेपाली बजारमा नयाँ मानक स्थापित गरेको छ । कम्पनीले आफ्नो सफलता र लोकप्रियताको मूल कारण प्रयोगकर्तामैत्री सेवा मोडेललाई मानेको छ । इनड्राइभले अन्य परम्परागत राइड–हेलिङ एपहरूभन्दा बढी लचिलोपन र प्रयोगकर्ताको स्वतन्त्रता सुनिश्चित गर्दै आएको छ । इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पवित्र नन्द आनन्दका अनुसार, 'सन् २०२२ मा नेपालमा यो सुविधा सुरु गरिएको हो । नेपाली बजारमा यात्रुहरूलाई आफूले भाडा निर्धारण गर्न दिने सुविधा ल्याउने पहिलो एप इनड्राइभ नै हो ।' यात्रुहरूले मूल्य, सवारी प्रकार, दूरी, र पिकअप समयका आधारमा आफूलाई उपयुक्त चालक छनोट गर्न सक्ने सुविधा पाइरहेका छन् । इनड्राइभ निष्पक्षता र पारदर्शितामा आधारित मूल्य निर्धारण मोडेलका कारण विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गएको छ । हाल इनड्राइभ विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड भएको राइड–हेलिङ एप बनेको छ र पछिल्ला तीन वर्षदेखि यस स्थानमा कायम रहन सफल भएको छ । सेन्सर टावरका अनुसार, इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा नेपालमा पहिलो स्थान हासिल गरेको छ । यो तथ्यले इनड्राइभको नेपाली बजारमा बलियो उपस्थिति र ग्राहकबीचको विश्वासलाई पुष्टि गर्छ । इनड्राइभ एप २०२४ को डिसेम्बर महिनामा मात्रै विश्वभर ६१ लाखभन्दा बढी पटक डाउनलोड भएको छ । यसले इनड्राइभको अन्तर्राष्ट्रिय सफलता र प्रयोगकर्तामाझको लोकप्रियतालाई स्पष्ट देखाएको छ । पवित्र नन्द आनन्दका अनुसार, इनड्राइभले यात्रु र चालक दुवैको हितलाई ध्यानमा राख्दै सन्तुलित र आत्मनिर्भर इकोसिस्टम निर्माण गरेको छ । 'यहाँ प्रत्येक सवारी गन्तव्यसम्मको यात्रा मात्र होइन, आपसी समझदारी र सन्तुष्टिको अनुभव पनि हो,' उनले भनिन् । यात्रु र चालकबीचको सीधा संवादमार्फत भाडा निर्धारण हुने यो मोडेलले दुवै पक्षको आवश्यकता र सुविधाअनुसार यात्रा सम्भव बनाएको छ ।

नाडा र बीमा प्राधिकरणबीच विद्युतीय सवारीसाधनको बीमाबारे छलफल

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग उनकै कार्यकक्षमा भेट गरी विद्युतीय सवारीसाधनहरूको बीमा नीतिका सम्बन्धमा छलफल गरेको छ ।  सो भेटघाट तथा छलफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतिय सवारीसाधनहरूको सन्दर्भमा हालसम्म बीमा नीति तयार नभईसकेकोले विद्युतीय सवारीसाधनको बीमा सम्बन्धमा स्पष्ट, पारदर्शी र सुसंगत नीति निर्माणको आवश्यकता रहेको भन्दै विद्युतीय सवारीसाधनको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनका विषयमा समेत प्राधिकरणले आवश्यक नीति बनाउनु पर्ने धारणा राखे । छलफलको क्रममा प्राधिकरणले सो नीतिमा विद्युतीय सवारीसाधनहरूको स्पेयर पार्ट्स, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण समेत समावेश गरिने, क्लेम प्रक्रियामा सुधार ल्याउने, बीमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको जानकारी दिएको छ ।  त्यसैगरी, प्राधिकरणले नाडालाई समेत उक्त बीमा नीति निर्माण कार्यमा प्रत्यक्ष संलग्न गराउने छ । विद्युतीय सवारीसाधनहरूका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नु पर्ने आवश्यकता देखिएकोले न्यूनतम रूपमा दक्षिण एसियाली राष्ट्रहरूमा प्रयोगमा रहेका नीति र अभ्यासहरूको अध्ययन गरी ततसम्बन्धमा नाडाले प्राधिकरणलाई आवश्यक जानकारी प्रदान गर्नेछ ।  प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, तथा बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारी समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र नाडाका साधारण सदस्य महेश पाल समेतको उपस्थिति रहेको थियो ।