‘राष्ट्र बैंकको नीतिकाे प्रतिवाद गर्छौं, मूल्य बढ्ने, लाखौंको रोजगारी गुम्ने’

काठमाडौं । नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरुको आयातमा कडाई गरेपछि व्यवसायीहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्र बैंकको यस्तो नीतिले वस्तुको मूल्य बढ्ने सँगै लाखौं मानिसको राजेगारी गुम्ने पनि प्रतिक्रिया दिएका छन् । सोमबार नेपाल राष्ट्र बैंकले अब बैंकहरूमा प्रतितपत्र (एलसी) खोल्दा आयातकर्ताले अधिकांश वस्तुमा शत प्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले वस्तुको प्रकृति अनुसार र वस्तुको मूल्यमा शत प्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको यो व्यवस्थाले व्यवसाय धरासाय हुने मात्रै होइन लाखौं मानिसको रोजगारी गुम्ने खतरा रहेको पनि व्यवसायीले प्रतिक्रिया दिएका छन् । राष्ट्र बैंकले १९ प्रकारको हार्माेनिक कोड भएका वस्तुको आयात गर्दा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्था गरेको छ भने एउटा हार्माेनिक कोड भएका वस्तुको आयातमा ५० प्रतिशत रकम राखेर आयात गर्न पाइने भनेको छ । राष्ट्र बैंकले चार पाँग्रे सवारी साधनमा अब ५० प्रतिशत मार्जिन राखेर गाडी आयात गर्न सकिने व्यवस्था गरेको हो । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुब थापाले राष्ट्र बैंकको यो नीतिले अटो व्यवसायी व्यवसायबाट नै पलायन मात्रै होइन लाखौं मानिसको रोजगारी पनि गुम्ने बताए । उनले नेपाल राष्ट्र बैंकले आयात रोक्न नमिलेको कारण अप्रत्यक्ष रुपमा आयात रोक्नको लागि यो निर्णय गरेको बताए । ‘राष्ट्र बैंकको यो निर्णय प्रति हाम्रो आपत्ति छ, यसलाई तत्काल सच्याइनु पर्छ, सरकारले जुन रुपमा लिए पनि सवारी साधन मानिसको अत्यावश्यक वस्तुको रुपमा जोडिसकेको छ, गाडीमा ५० प्रतिशतको मार्जिनको व्यवस्था गर्नु आयात रोक्नु नै हो,’ उनले भने । उनका अनुसार एलसी खोलेपछि पनि गाडी आयात गर्न ३ महिना लाग्ने बताउँदै अब अटो बजार नै धरासायी हुने अवस्थामा पुगेको बताए । यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले पनि सरकारको यो निर्णयले २ लाख मानिसको जागिर धरापमा रहेको बताए । उनले सरकारले गरेको निर्णयले गर्ने असरको अध्ययन पनि महासंघले गरिरहेको पनि बताए । ‘राष्ट्र बैंकले चाँदीको आयतमा निरुत्साहित गरेको हाम्रो बुझाई छ, चाँदीबट पनि विभिन्न सामानहरु बन्छन्, अब चाँदी आयात नहुँदा देशलाई नै धेरै घाटा हुन्छ, ३ लाख मानिसमो रोजगारी गुम्न सक्ने चिन्ता हुन्छ, पहिलो हजार/हजार केजी आउँथ्यो, अहिले थोरै मात्रै आयात हुन्छ, यसमा पनि कडाई गरेपछि अब चाँदी आयात ठप्प हुन्छ,’ उनले भने । हालसम्म एलसी खोल्दा मार्जिन राख्ने/ नराख्ने सम्बन्धमा बैंकहरुले आफैं निर्णय गर्दै आएका थिए । कतिपयले विश्वासका आधारमा मार्जिन नै नलिई पनि एलसी खोलिदिने गरेका थिए । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि आयातमा कडाइ गर्ने नीतिअनुरुप नै एलसी खोल्दा अनिवार्य मार्जिनको व्यवस्था गरिएको हो । यसले आयातकर्तालाई वस्तु आयात गर्नका लागि पहिले नै रकम जोहो गर्नुपर्ने अवस्था आएको छ । राष्ट्र बैंकले सवारी साधनको आयातका लागि विद्युतीय सवारीसाधनलाई भने प्रोत्साहन गरेको छ । विद्युतीय सवारीका हकमा यो व्यवस्था लागू हुने छैन । राष्ट्र बैंकले मदिरा तथा सुर्तिजन्य पदार्थ, फर्निचर, चिनी तथा मिठाइजन्य वस्तु, ग्लुकोज, मिनरल वाटर, इनर्जी ड्रिङ्क, ककटेल ड्रिङ्स, मेकअपका सामान, स्याम्फू, कपालमा लगाउने तेल तथा कलर, टोपी, जुत्ता, छाता लगायत वस्तु आयातमा शत प्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ । सम्बन्धित सामग्री:  राष्ट्र बैंकको निर्देशनले ३४५ प्रकारका वस्तु आयातमा कडाई, करिब १५० अर्बको टीआर कर्जा रोकिने

नयाँ शोरुम उद्घाटन गर्दै टीभीएसले सार्वजनिक गर्यो ‘रेडर’ मोटरसाइकल

अत्तरिया । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले अत्तरियामा नयाँ शोरुम उद्घाटन गरेको छ । कम्पनीले एक्स्क्ल्यूजिव थ्री एस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) सुविधा सम्पन्न नयाँ शोरुम बागेश्वोरी मल्टी मोटर्सको उद्घाटन गरेको हो । नयाँ शोरुमको उद्घाटनसँगै कम्पनीले टीभीएस रेडर पनि सार्वजनिक गरेको छ । कम्पनीले यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गतको अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । यो स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट-ईन-क्लास फिचर्सका साथै फर्स्ट-ईन-सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ । कार्यक्रममा बोल्दै बागेश्वोरी मल्टी मोटर्सका प्रबन्ध निर्देशक प्रेम साउदले भने, ‘ग्राहकले अत्याधिक रुचाएको ब्राण्ड, टीभीएसको थ्रीएस सुविधा सम्पन्न नयाँ शोरुम अत्तरियामा खोल्न पाउँदा हामी निकै हर्षित छौं । नयाँ शोरुमले टीभीएसका बाईक तथा स्कुटरको खरिदका साथै सर्भिसमा समेत ग्राहकलाई थप सहजता प्रदान गर्नेमा हामी आशावादी छौं ।’ शोरुम उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा कैलाली गोदावरीका उप-मेयर रत्ना कदायर, उद्योग बाणिज्य संघ-अत्तरियाका अध्यक्ष अशोक देवकोटा, वडा अध्यक्ष शर्मान्द भट्ट, अत्तरिया प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेल, अत्तरिया ट्राफिक प्रमुख बाम देव गौतम, टीभीएस मोटर्स कम्पनीका कन्ट्री हेड दीपक मक्कर, जगदम्बा मोटर्सका उप सभापति/निर्देशक दीपक कुमार अग्रवाल, जगदम्बा मोटर्सका बिक्री महाप्रबन्धक दीपक रौनियार को उपस्थिती रहेको थियो ।

स्प्राइट प्रोमो क्याम्पेनक ३ विजेताले पाए पल्सर मोटरसाइकल

काठमाडाैं । स्प्राइट प्राेमाे क्याम्पेनक ३ विजेताले १२५ सिसिकाे पल्सर माेटरसाइकल पाएका छन् । बाेटलर्स नेपालले क्याम्पेनक ३ विजेतालाई १२५ सिसिकाे पल्सर माेटरसाइकल हस्तानतरण गरेकाे हाे । १२५ सिसिकाे पल्सर माेटरसाइकल जित्नेमा सन्ताेष खनाल, तिल कुमाी बस्नेत र मुकेश सिंह रहेका छन् । उनीहरुलाई कम्पनीका सेल्स म्यानेजर दिपक प्रधानले माेटरसाइकल र चाबी हस्तानतरण गरेका थिए ।