सिजी मोटर्सले ल्यायो किङलङको १६ सिटे मिनीबस, सुरुवाती मूल्य साढे ७२ लाख

काठमाडौं । नेपालका लागि किङलङ गाडीको आधिकारिक विक्रेता सिजी मोटर्सले नयाँ १६ सिटे इलेक्ट्रिक मिनीबस बजारमा सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको महाराजगञ्जस्थित शोरुममा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त गाडीको अनावरण गरिएको हो ।

सिजी मोटर्सले यस १६ सिटर ईभी मिनीबसको बजार मूल्य ७२ लाख ५० हजार रुपैयाँ तोकेको छ । गाडी सार्वजनिक गरिएको अवसरमा कम्पनीले ग्राहकहरूका लागि विशेष छुटको समेत घोषणा गरेको छ । लन्चिङ अफर अन्तर्गत गाडी खरिद गर्ने ग्राहकले २ लाख ५० हजार रुपैयाँ नगद छुट पाउनेछन् ।

null

कम्पनीका अनुसार नेपाली सडक र भूगोललाई ध्यानमा राखेर ल्याइएको यस मिनीबसमा ७५.४ किलोवाट क्षमताको ब्लेड ब्याट्री जडान गरिएको छ । जुन सुरक्षा र टिकाउपनका लागि विश्वभर प्रसिद्ध छ । यसले एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

गाडीमा १२० किलोवाटको शक्तिशाली मोटर र २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले गर्दा नेपालका कच्ची र पहाडी सडकमा पनि यात्रा सहज हुनेछ ।  गाडीमा आरामदायी फोल्डिङ सिटहरू र उभिन मिल्नेगरी पर्याप्त इन्टेरियर हाइट रहेको छ ।

गाडी सार्वजनिक कार्यक्रममा बोल्दै सिजी मोटर्सका कमर्सियल सेग्मेन्टका बिजनेस हेड बद्री भट्टराईले गाडीलाई बजारमा ल्याउनुअघि नेपालका विभिन्न दुर्गम पहाडी क्षेत्रहरू डडेलधुरा, कालीकोट, मुस्ताङ र सोलुखुम्बुमा दुई महिनासम्म परीक्षण गरिएको जानकारी दिए ।

null

गाडी बेच्ने मात्र नभई बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिएको उनको भनाइ छ ।

कम्पनीले यस गाडीमा ७ वर्ष वा ४ लाख किलोमिटरको वारेन्टी प्रदान गरेको छ । साथै चौधरी ग्रुपको भिजन अनुसार नेपालभर हरेक २५ देखि ५० किलोमिटरको दूरीमा चार्जिङ स्टेशन र सर्भिस नेटवर्क विस्तार गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि एवं काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले सिजी मोटर्सलाई बधाई दिँदै विद्युतीय सवारी साधन नै भविष्य भएको बताए । 

null

विगत दुई वर्षदेखि आफैले ईभी गाडी प्रयोग गरिरहेको अनुभव सुनाउँदै उनले भने, ‘ईभी गाडी वातावरणमैत्री मात्र होइन, सञ्चालन खर्चका हिसाबले पनि अत्यन्तै किफायती र चलाउन सजिलो हुन्छ ।’

उनले इन्धन आयात घटाएर देशको अर्थतन्त्रमा टेवा पुर्याउन ईभीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

कार्यक्रममा सिजी मोटर्सका कर्मचारीहरूका साथै चीनबाट आएका किङलङका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । यो नयाँ मिनीबस सार्वजनिक भएसँगै नेपालको सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारीको प्रयोग थप बढ्ने अपेक्षा कम्पनीले गरेको छ । 

Share News