जिपको ‘प्रिमियम’ सोरुम अब पोखरामा
पोखरा । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पोखरामा नयाँ विश्वस्तरीय सोरुमको शुभारम्भ गरेको छ । प्रिमियम अटो ग्रुपले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिने कम्पनी बताउँछ । बुधबार गण्डकी प्रदेशको पहिलो जिप सोरुमको उद्घाटन गर्दै नेपाली कंग्रेसका नेता प्रदिप पौडेलले स्वतन्त्रतासँग जोडिएको विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड पोखरामा आउनु उल्लेखनीय कुरा भएको बताए । एमएडब्लु लाइफका सिइओ अनिश लामिछानेले चार वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सोरुमको अपेक्षा गरिरहेको र उनीहरुको अपेक्षा पूरा गर्न पाउँदा निकै खुसी महसुस गरिरहेको बताए । ‘हामीलाई विश्वास छ कि यो डिलरसिपले जिप लाइफमा आवद्ध हुन चाहने ग्राहकलाई सहज बनाउनेछ,’ उनले भने । प्रिमियम अटो ग्रुपका संस्थापक सन्तोष बास्तोलाले ग्राहकलाई निकै विश्वास गरेको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा आफू निकै उत्साहित भएको बताए । जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबिसै घन्टा र ३६५ दिन सेवा दिइरहेको छ । यो वर्ष चुनौतीपूर्ण बजार अवस्थाका बाबजुत जिपले ‘इम्प्रेसिभ ग्रोथ’ गरिरहेको सिइओ लामिछानेले बताए ।
नेपालमा इन्धन प्रभावकारी पारिवारिक कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक
काठमाडौं । नेपालको सबैभन्दा इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक सिजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक गरेको हो । सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्टका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको जनाएको छ । कम्पनीको अनुसार नयाँ सेलेरियोमा नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा जस्ता सुविधाहरु छन् । कम्पनीका सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्त सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी रहेको बताउँछन् । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, सुरक्षा र सुविधाजनक फिचर रहनुको साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित गर्ने उनी बताउँछन् । पन्तका अनुसार नयाँ सेलेरियोमा थप आरामको लागि फराकिलो क्याबिन डिजाइन गरिएको र स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम महसुस गराउँदछ ।
नाडाले भन्योः अत्यावश्यक वस्तुमा पनि शतप्रतिशत मार्जिन राख्दा समस्या सिर्जना भयो
काठमाडाैं । अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भन्सार सहजिकरणकाे लागि विभागसँग अनुराेध गरेकाे छ । साेमबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको टाेलीले भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईसँग भन्सार मूल्याङ्कन पद्धतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गरि दिनु हुन आग्रह गरेकाे हाे। छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको वर्गिकरणमा केही परिमार्जन गरिनु पर्ने बताउँदै आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढिलाई भइरहेकोले त्यसको समाधानका लागि अनुरोध गरे । यस्तै, अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा एउटै वस्तुमा भिन्नभिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, ब्रेक लाइनिङ्ग जस्ता अत्यावश्यकिय वस्तुमा पनि सतप्रतिशत नगद मार्जिन राखि एलसी खोल्नु पर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले त्यसको समाधानका लागि पहल गरिदिन अनुरोध गरे । त्यसैगरी महासचिव उप्रेतिले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरु बढ्दै गएको क्रममा सबै किसिमका सवारी साधनहरुमा प्रयोग हुने ब्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सवै प्रकारका कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्थाका लागि अनुरोध गरे । छलफलमा महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नु परेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने र प्राप्त नयाँ सुझावहरुका विषयमा पनि आवश्यक पहल गरिने बताए ।