काठमाडाैं । अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भन्सार सहजिकरणकाे लागि विभागसँग अनुराेध गरेकाे छ ।
साेमबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको टाेलीले भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईसँग भन्सार मूल्याङ्कन पद्धतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गरि दिनु हुन आग्रह गरेकाे हाे।
छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको वर्गिकरणमा केही परिमार्जन गरिनु पर्ने बताउँदै आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढिलाई भइरहेकोले त्यसको समाधानका लागि अनुरोध गरे ।
यस्तै, अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा एउटै वस्तुमा भिन्नभिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, ब्रेक लाइनिङ्ग जस्ता अत्यावश्यकिय वस्तुमा पनि सतप्रतिशत नगद मार्जिन राखि एलसी खोल्नु पर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले त्यसको समाधानका लागि पहल गरिदिन अनुरोध गरे ।
त्यसैगरी महासचिव उप्रेतिले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरु बढ्दै गएको क्रममा सबै किसिमका सवारी साधनहरुमा प्रयोग हुने ब्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सवै प्रकारका कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्थाका लागि अनुरोध गरे ।
छलफलमा महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नु परेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने र प्राप्त नयाँ सुझावहरुका विषयमा पनि आवश्यक पहल गरिने बताए ।