काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्ना पूर्वअध्यक्ष एवं प्रतिष्ठित उद्योगी शेखर गोल्छामाथि भइरहेको पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्ति जारी गर्दै नाडाले गोल्छा नेपालको औद्योगिक एवं व्यावसायिक जगतको एक सम्मानित व्यक्तित्व भएको र उनले समग्र निजी क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरेको छ ।
यस्तो गरिमामय इतिहास बोकेको व्यक्तित्वमाथि गरिने 'अन्यायपूर्ण व्यवहार'ले समग्र उद्योगी व्यवसायीहरूमा नकारात्मक सन्देश जाने नाडाको ठम्याइ छ ।
नाडाले राज्यको अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्ने स्पष्ट पार्दै अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानीकर्ताहरूको आत्मविश्वास घटाउने बताएको छ ।
‘निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानी भित्र्याउनुपर्ने समयमा प्रतिष्ठित व्यवसायीमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रासको वातावरण सिर्जना गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।
नाडाले सरकार र सम्बन्धित निकाय समक्ष शेखर गोल्छालाई पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । दोषी प्रमाणित नभएसम्म प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यावसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको दायित्व भएको नाडाको भनाइ छ ।
निजी क्षेत्रलाई सुरक्षित र सम्मानित महसुस गराउँदै मुलुकको आर्थिक समृद्धिको यात्रामा हातेमालो गर्न नाडाले सरकारसँग जोडदार माग समेत गरेको छ ।