सुरेन्द्रकुमार उप्रेतीले सम्हाले नाडाको नेतृत्व

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) मा नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ । नाडाको नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गर्दै पद तथा गोपनीयताको सपथ लिएका छन् । फागुन २८ गते बसेको नाडाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई विधिवत रूपमा पदभार हस्तान्तरण गरेका थिए । सो अवसरमा चौधरीले उप्रेतीलाई सफल कार्यकालको शुभकामना दिँदै नाडाको संस्थागत विकास र अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । पदभार ग्रहणपछि अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य–मान्यताअनुसार संस्थालाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । उनले सदस्य व्यवसायीहरूको हकहित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । बैठककै क्रममा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ (ङ) बमोजिम महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरीलाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका छन् । मनोनित सदस्यहरूलाई स्वागत गर्दै उनले संस्थाका आगामी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । त्यसैगरी, केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ । नाडाले आगामी दिनमा अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।

चांगानको 'गोल्डेन शिल्ड' ब्याट्री : भविष्यको ईभी पावर स्टोरेजको नयाँ परिभाषा

काठमाडौं । विद्युतीय सवारीसाधन (इभी) को तीव्र रूपमा विकसित भइरहेको संसारमा, ब्याट्री प्रविधि नै सबैभन्दा निर्णायक क्षेत्र बनेको छ । यही प्रविधिगत प्रतिस्पर्धाको केन्द्रमा, चांगान अटोमोबाइलले ब्याट्री क्षेत्रको दिग्गज कम्पनी सीएएलटी सँगको सहकार्यमा आफ्नो नयाँ पुस्ताको ऊर्जा समाधान गोल्डेन शिल्ड ब्याट्री प्रस्तुत गरेको छ । यो केवल एउटा ऊर्जा स्रोत मात्र होइन, मार्केट जानकारहरूका अनुसार यसले भविष्यमा इभीले कसरी प्रदर्शन गर्छ, कति टिकाउ हुन्छ र प्रयोगकर्तासँग कसरी अन्तरक्रिया गर्छ भन्ने कुरा नै बदल्न सक्छ।  गोल्डेन शिल्ड ब्याट्रीलाई सुरक्षा, दीर्घायु र छिटो ऊर्जा रिफिल गरी तीन प्रमुख कुराहरूलाई ध्यानमा राखेर विकास गरिएको छ। यसको संरचनामा उन्नत सामग्री र स्मार्ट इन्टरनल डिजाइन प्रयोग गरिएको छ, जसले प्रदर्शनलाई उद्योगका सामान्य मापदण्डभन्दा धेरै माथि पुर्‍याउँछ । उदाहरणका लागि, विशेष मल्टी-फंक्सन कोटिङ, परिष्कृत इलेक्ट्रोलाइट र नानो–फाइबर सेपरेटरले ताप प्रतिरोध क्षमता उल्लेखनीय रूपमा बढाउँछन् । यसले ब्याट्रीलाई सामान्य सीमाभन्दा धेरै उच्च तापक्रममा पनि क्षति वा सुरक्षा जोखिम बिना नै काम गर्न सक्षम बनाउँछ । यसरी सुरक्षामा दिइएको प्राथमिकताले व्यवहारिक फाइदा पनि दिन्छ । कडा परीक्षण प्रक्रियामा यो ब्याट्रीले आगोको सम्पर्क, पानीमा डुबान तथा शक्तिशाली झट्का लगायत अत्यन्तै कठिन अवस्थाहरू सामना गर्दा पनि आफ्नो संरचना र कार्यक्षमता कायम राखेको देखाएको छ । यस्ता परिणामहरूले इभी प्रविधिमा इनर्जी भोल्युम मात्र होइन, वास्तविक प्रयोगमा भरपर्दो सञ्चालन क्षमता पनि उत्तिकै महत्वपूर्ण भएको संकेत गर्छन् ।  सुरक्षाबाहेक, गोल्डेन शिल्ड ब्याट्री टिकाउपन र प्रयोगकर्ताको सुविधामा पनि अग्रणी छ । यो ५,००० भन्दा बढी चार्ज साइकलका लागि डिजाइन गरिएको छ, जुन सामान्य इभी प्रयोगमा करिब १०–१५ वर्ष बराबर हुन्छ । यसले वर्षौँसम्म नियमित चार्जिङ हुँदा पनि ब्याट्रीको मूल क्षमता धेरै हदसम्म जोगाइराख्न मद्दत गर्छ । साथै, थ्रीसी अल्ट्रा–फास्ट चार्जिङ प्रविधिका कारण करिब १० मिनेटमै २० प्रतिशत देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिने क्षमता रहेको बताइन्छ । यसले भविष्यमा चार्जिङ स्टेसनमा लामो समय कुर्नुपर्ने अवस्थालाई धेरै हदसम्म हटाउने सम्भावना देखाउँछ ।  योसँगै चिसो मौसमका लागि पल्स हीटिङ प्रविधि पनि समावेश गरिएको उन्नत ताप व्यवस्थापन प्रणालीले विभिन्न तापक्रममा ब्याट्रीको कार्यक्षमता स्थिर राख्छ । क्लाउड–आधारित एआइद्वारा हजारौँ डेटा बिन्दुहरू निगरानी गर्ने इन्टेलिजेन्ट डायग्नोस्टिक प्रणालीले ब्याट्री हेल्थलाई वास्तविक समयमा अत्यन्तै सटीक रूपमा मूल्याङ्कन गर्न सक्षम बनाउँछ ।  चांगान र सीएएलटीद्वारा विकसित गोल्डेन शिल्ड ब्याट्री केवल अर्को इभी ब्याट्री मात्र होइन । यो भविष्यको इलेक्ट्रिक मोबिलिटीको लागि तयार गरिएको एउटा प्लेटफर्म हो, जसले सुरक्षा, प्रदर्शन, दीर्घायु र स्मार्ट प्रविधिलाई एउटै समग्र प्रणालीमा समेट्दै आगामी दशकका सवारी साधनहरूलाई शक्ति दिने दाबी गर्दछ ।   

उपत्यकामा दिगो यातायात र फोहर व्यवस्थापनको नयाँ खाका तयार हुँदै

काठमाडौं । उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरिएको छ । उपत्यका मेयर्स फोरमको बुधबार काठमाडौंमा बसेको १३औँ बैठकले फोहर व्यवस्थापन र सार्वजनिक यातायात सञ्चालनलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको हो । ललितपुर महानगरपालिकाका प्रमुख एवं फोरमका अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकले फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिले फोहर व्यवस्थापनका विधि र प्रविधि अध्ययन गर्नुका साथै उपत्यकाभित्रका स्थानीय तहबीच आवश्यक समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका लागि काम गर्नेछ । बैठकले सार्वजनिक यातायात सञ्चालनलाई दिगो बनाउन यसअघि तयार गरिएका अध्ययन प्रतिवेदनका तथ्य र सिफारिसहरूको विश्लेषण गरी उपयुक्त ढाँचामा नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । साथै गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेन निर्माणका लागि कानुन तयार गरी गुरुयोजना बनाउने तथा पूर्वाधार निर्माण र सञ्चालनमा संघीय सरकारसँग सहकार्य गर्ने निर्णय गरिएको छ । बैठकपछि अध्यक्ष महर्जनले उपत्यकाको एकीकृत विकासमार्फत नागरिक जीवन सहज बनाउन स्थानीय तहहरूबीच समन्वय आवश्यक रहेको बताए । उनले मेट्रो रेलको अवधारणा कार्यान्वयनका लागि संघ सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तह तयार रहेको उल्लेख गर्दै पूर्वाधार निर्माण अवधिमा सहज सार्वजनिक यातायात सञ्चालनमा पनि सहयोग गर्ने बताए । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, बस्तीको मौलिकता तथा सामाजिक–सांस्कृतिक विशेषताअनुसार उपयुक्त प्रणाली छनोट गर्नुपर्नेमा जोड दिइन् । विगतमा भएका अध्ययनहरूको पुनरावलोकन गरी ठोस निष्कर्षमा पुग्नु आवश्यक रहेको उनको भनाइ थियो । उनले फोहर व्यवस्थापन, सार्वजनिक यातायात, खानेपानी वितरण, नदी सभ्यता संरक्षण, खाद्य स्वच्छता, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनजस्ता समस्या सीमाविहीन भएकाले स्थानीय तहहरूबीच समन्वयात्मक सहकार्य आवश्यक रहेको बताइन् । बैठकअघि काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको वर्तमान अवस्था तथा दिगोपनाका लागि आवश्यक कदमबारे प्रस्तुति दिएकी थिइन् । हाल ल्याण्डफिल साइटमा काठमाडौंसहित ६ जिल्लाका २४ स्थानीय तहबाट फोहर व्यवस्थापन हुँदै आएको छ । ढुवानी कार्य नगरपालिका र निजी क्षेत्रबाट हुने गरेको छ भने साइट व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले सम्हाल्दै आएको छ ।