नाडा अटो शो आजदेखि, दीपलको उड्ने ट्याक्सी देख्न पाइने

काठमाडौं । अटो व्यवसायीहरुको छात्ता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आजदेखि सुरु हुँदैछ । राजधानीको भृकुटीमण्डपमा  ‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीको उद्घाटन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।  नाडाका अनुसार यस अटो शोले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्णलाई एकै छानामुनि ल्याउने विश्वास गरिएको छ । कुनै समय आयातमा मात्रै केन्द्रित रहेका नेपाली अटो व्यवसायीहरूले पछिल्लो समय उत्पादन र एसेम्बलतर्फ ध्यान केन्द्रित गरेका छन् । नाडा शोमा यसको प्रत्यक्ष झलक देख्न सकिन्छ । नेपालमै बनेका हेल्मेट, लुब्रिकेन्ट्स, ब्याट्री र तीन पाङ्ग्रे सवारी साधन पनि प्रदर्शनीमा राखिने छन् । भाद्र ८ गतेसम्म आयोजना हुने नाडा अटो शोको यो संस्करण ‘फ्युचर मोबिलिटी’ मा पनि केन्द्रित छ । शोको सबैभन्दा ठूलो आकर्षण फ्लाइङ कार र ह्युमनोइड रोबोट हुनेछ । नाडा अटो शोमा १९ चारपाँग्रे, १३ लाइट कमर्शियल र ४ दुईपाङ्ग्रे सवारी ब्राण्डले सहभागिता जनाउने छन् । त्यस्तै, ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहने छन् । नाडा अटो शो करिब डेढ दर्जन (चारपाङ्ग्रे/दुईपाङ्ग्रे) नयाँ सवारी मोडल सार्वजनिक हुने छन् । यस्तै मिडिया, ट्राफिक सूचना डेस्कको पनि व्यवस्था गरिएको छ । अटो शोमा सवारी साधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिने नाडाको भनाइ छ । आकर्षण मानिएको नेपालकै पहिलो उड्ने ट्याक्सी दिपलको ईभीटोललाई प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने नाडाले जनाएको छ ।

नाडा अटो शोलाई इतिहासकै आकर्षक बनाउने रणनीति, यी ब्राण्डबीच हुँदैछ प्रतिस्पर्धा

काठमाडौं । नेपाली अटो क्षेत्रको महाकुम्भका रुपमा लिइने नाडा अटो शो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । आयोजक नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले स्टल निर्माण लगायतका कामहरू तीव्र गतिमा अगाडि बढाएर तयारी अन्तिम चरणमा पुर्याएको छ ।  नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पहिलो पटक गत साउनमै नाइमा मोबिलिटी एक्स्पो सम्पन्न गरिसकेको छ । नाडाले पनि यस पटकको अटो शो विगतको भन्दा भव्य, फरक र आकर्षक हुने दाबी गरिरहेको छ ।  ‘हाम्रो तयारी सकिसकेको छ । बाहिरी संरचना तयार भइसकेको छ र भित्री स्टल निर्माणको काम रातभर चल्छ,’ नाडा अटो शोका संयोजक अनुप बरालले विकासन्युजसँग भने ।  नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।  नाडा अटो शो आयोजना हुनुभन्दा एक साताअघि मात्रै नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सोही ठाउँमा अटो शो आयोजना गरेको थियो ।  ‘हामीले नाइमाले आयोजना गरेको एक्स्पोलाई चुनौतीका रूपमा लिएका छैनौं । उहाँहरूले एउटा इभेन्ट गर्नुभयो, त्यो राम्रो हो,’ बरालले भने, ‘नाडा अटो शो हाम्रो वार्षिक क्यालेन्डरको इभेन्ट हो । हामी आफ्नो पूर्ण तयारीका साथ अघि बढेका छौं । उहाँहरूले गरेर हामीलाई चुनौती हुने भन्ने नै हुँदैन ।’ ‘नाडा भनेको एउटा ‘होल बडी’ जस्तै हो, जहाँ एउटा गाडीमा चाहिने स–साना पाट्र्स, लुब्रिकेन्ट्स, टायरदेखि लिएर ठूला गाडीसम्मका सबै व्यवसायीहरू समेटिएका छन्,’ उनले भने, ‘त्यसैले हाम्रो आयोजनाको आयतन र सहभागिता बृहत् छ ।’ नाडा र नाइमामा एउटै ब्राण्डको सहभागिता नाइमाले आयोजना गरेको शोमा सहभागी भएका कतिपय ब्राण्डहरू नाडा अटो शोमा पनि सहभागी हुने भएका छन् । रोयल इन्फिल्ड, बीवाईडी, यामाहा जस्ता ब्रान्डहरू दुवै प्रदर्शनीमा रहने नाडाले जनाएको छ ।  ‘नाइमामा प्रदर्शन गरिएका ब्रान्डहरू हाम्रोमा पनि छन् । हामी मिलेरै अगाडि बढेका छौं,’ संयोजक बरालले भने । सुजुकी र टाटाले भारतमा उत्पादन भएका विद्युतीय गाडी अटो शो प्रर्दशनमा राख्दैछन् भने बीवाइडी र एमएडब्लु वृद्धिले चीनमा उत्पादन भएका गाडीहरु अटो शोमा राख्ने जनाइएको छ ।  यी ४ ब्राण्डले अटो शोमा रोचक प्रतिस्पर्धा गर्ने बुझिएको छ । अटो शोमा सुजुकीको ई–भिटारा, टाटाको ह्यारीयर ईभी, एमएडब्लु वृद्धिको दीपल एस ०५ र नामी ०३ आउँदै छन् भने बीवाइडीको एट्टो–टु प्रदर्शनमा राखिनेछन् । ई-भिटारा सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ई–भिटारालाई अटो शोमा राख्ने भएको छ । यो कम्पनीको पहिलो ईभी हो । फिन ड्रिम्सले बनाएको ब्लेड ब्याट्रीको साथ आउन लागेको यो गाडी दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ ।  यसमा रहेको ४९ र ६१ किलोवाट आवरको ब्याट्रीले अधिकतम ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा १०५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । जापानी निर्माताले आफ्नो पहिलो प्योर इलेक्ट्रीक एसयूभीमा इको, नर्मल र स्पोट्स ड्राइभ मोडसँगै स्नो मोड र वान पेडल ड्राइभिङ मोड पनि दिएको छ । यसको मूल्य अटो शोमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।   टाटा ह्यारियर अटो शोमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो ह्यारियर ईभीलाई अटो शोमा राख्ने जनाएको छ । कम्पनीले भारतमा यसमा ६५ र ७५ किलोवाट आवरको एलएफपी ब्याट्रीसँगै १५ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी दिएको छ । टाटा ह्यारियरमा रियर माउण्टेड १७५ किलोवाट र अलह्वील ड्राइभ मोडलमा २९१ किलोवाटको मोटर रहेको छ । यसले ५०४ न्युटन मिटरसम्म टर्क जेनेरेट गर्ने कम्पनीको भनाइ छ । दिपल एस ०५ र नामी ०६ एमएडब्लु वृद्धिले अटो शोमा दीपल एस–०५ र डोङफेङ नामीे–०६ मोडेलहरू राख्नेछ ।  दीपल एस–०५ मा सीएटीएलद्वारा निर्मित ब्याट्रीले एक पटकको फूल चार्जमा ५१० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । जुन नेपालमा उपलब्धमध्ये सबैभन्दा धेरै हो । यसमा रिमोट इन एन्ड आउट यसको अर्थ साँघुरो ठाउँमा पार्किङ गर्दा चाबीकै बटनले गाडीलाई अगाडि÷पछाडि सार्न सकिने सुविधा रहेको छ ।  जर्मनीमा ‘आइएफ डिजाइन अवार्ड २०२५’ जितेको यस एसयूभीमा एडीएएस २.५ सुइट अन्तर्गत १९ वटा उन्नत सुरक्षा सुविधा छन् । जबकि यस सेगमेन्टमा सामान्यतया ६ वटा मात्र हुन्छन् ।  कम्पनीले दीपल एस–०५ दुई भेरियन्टमा सार्वजनिक गरेको हो । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ ।  यस्तै, नामीे–०६ पनि अटो शोमा राम्रो बिक्री गर्ने अपेक्षा कम्पनीको छ । एमएडब्ल्यू वृद्धिले सर्वाधिक बिक्री गरेको यो गाडीध्येको एक मोडल हो नामीे–०६ । यसको ब्याट्रीमा ९९ किलोवाट क्षमताको मोटर रहेको छ । कम्पनीका अनुसार यसको मूल्य ५७ लाखदेखि ६२ लाखसम्म रहेको छ ।  बीवाईडी   बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले नाडा अटो शोमा एट्टो–टु प्रदर्शनी राख्ने जनाएको छ । कम्पनीका अनुसार एट्टो–टु चिनियाँ बजारमा ३२ र ४५.१२ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध भए पनि नेपालमा भने ५१.३ किलोवाट आवरको एलएफपी ब्याट्रीमा उपलब्ध हुनेछ ।  ब्याट्रीको आकार एट्टो–थ्री एड्भान्सको भन्दा ठूलो रहेको कम्पनीले जनाएको छ । यसले एक पटकको चार्जिङमा ३४० किलोमिटर रेन्ज दिनेछ । कम्पनीले गाडीको मूल्य नाडा अटो शोमै सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एट्टो–वान ह्याचब्याक सार्वजनिक गरेको थियो ।  टिकटमा छुट नाडा अटो शोमा १९ वटा चार पांग्रे ब्रान्ड, १३ वटा हलुका व्यावसायिक सवारीसाधन ब्रान्ड र ४ वटा दुईपांग्रे सवारी ब्रान्ड सहभागी हुने संयोजक बरालले जानकारी दिए ।  उनका अनुसार अटो शोमा ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १ सय २५ भन्दा बढी प्रदर्शक सहभागी हुने छन् । अटो शोमा १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । नाडा अटो शो अवलोकनका लागि सर्वसाधारणलाई २०० रुपैयाँ र विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा १५० रुपैयाँ टिकट शुल्क तोकिएको छ । साथै अनलाइनमार्फत टिकट खरिद गर्ने दर्शकले २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।  नाडाले अटो शो भव्य र सफल हुनेमा विश्वस्त रहेको बताउँदै सम्पूर्ण अटोप्रेमीहरूलाई अवलोकनका लागि भ्रमण गर्न आग्रहसमेत गरेको छ ।   

नाडा अटो शो २०२५ मा फोटोन र सोकोनका विद्युतीय गाडीमा छुट र अफर पाइने

काठमाडौं । नाडा अटो शो २०२५ अटो प्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ । फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएमवान र सोकोन ईभी भ्यानले ६ दिनसम्म चल्ने प्रदर्शनीका अवसरमा विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन् । टीएमवानको मूल्य ३३ लाख ७४ हजार बाट घटाएर २६ लाख ९९ हजार रुपैयाँ गरिएको छ भने माउन्टेन ईभी र सोकोन ईभी भ्यानमा पनि छुट लागू गरिएको छ । फोटोन टुनल्यान्ड पिकअपले भने आफ्नो छुटबारे प्रदर्शनीमै सार्वजनिक गर्ने भएको छ । प्रदर्शनीमा बुकिङ गर्ने ग्राहकले बुकिङ ग्याजेट, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, अटोप्लस सेवा र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टी प्राप्त गर्नेछन् । साथै, सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ । अफर अन्तर्गत, टुनल्यान्ड पिकअप खरिद गर्नेले ट्राङक्विलिटी स्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजार रुपैयाँ बराबरको शपिङ कुपन, ३ वर्षसम्म पार्ट्ससहितको प्रिभेन्टिभ मेनटेनेन्स सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा पाउनेछन् । त्यसैगरी, माउन्टेन ईभी भ्यान खरिद गर्नेले छुटसहित ५५ इन्चको स्मार्ट टिभी, ५ पटकसम्म निःशुल्क सर्भिसिङ र ब्रेक सुज प्राप्त गर्नेछन् भने सोकोन ईभी भ्यान खरिदमा पनि आकर्षक छुटसँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गरिनेछ । यी सबै अफर र उपहारहरूले गाडी खरिद अनुभवलाई अझ आकर्षक, किफायती र सुविधाजनक बनाउने आयोजक कम्पनीले विश्वास व्यक्त गरेको छ ।