विकासन्युज

धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना

काठमाडौं । धोबीखोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना गरेको छ । हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको सार्वजानिक भएपछि छानविन गरि महानगरपालिकाले सो कार्यमा संलग्नलाई जरिवाना गरेको हो । महानगरले यस्ता कार्य नगर्न र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन सबैलाई अनुरोध गरेको छ ।

कुनै पनि परियोजनामा पाइप कति महत्वपूर्ण छ ?

काठमाडौं । नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भए तापनि विगत दुई दशक यता हामीले धेरै विकासात्मक परियोजनाहरू भइरहेको देख्न सक्छाैँ । हाम्रा नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको पाईन्छ । नेपाली निर्माण उद्योगहरू मुख्यतया पूर्वाधार निर्माण, जल–विद्युत, सिँचाइ, भवन र अन्य घरजग्गा निर्माणमा संलग्न छन् । निर्माण उद्योगले नेपालमा अशिक्षित, बेरोजगार देखि दक्ष, अदक्ष र मौसमी श्रमिकहरूको ठूलो जनसंख्यालाई रोजगारीको अवसर प्रदान गरी दोश्रो ठूलो रोजगारदाताको रूपमा रहेको छ जसले हाम्रो राष्ट्रिय अर्थतन्त्र र जीविकोपार्जनमा ठूलो भूमिका खेल्छ । परियोजना सानो ठूलो जस्तो भए पनि निर्माण कार्यमा चाहिने निर्माण सामाग्रीहरू जस्तै ढुंगा, गिट्टी, बालुवा, सिमेन्ट, काठ तथा रडहरु हुन् । निर्माण सामाग्रीमा पनि हरेक निर्माण सामग्री गुणस्तरीय छान्नु अत्यन्तै महत्वपूर्ण रहेको छ । कुनै पनि एक निर्माण सामग्री कच्चा वा गुणस्तरहिन भएमा, त्यसले समग्र निर्माण परियोजनामा नै दिर्घकालीन असर गर्दछ । हामीले रड, सिमेन्टको बारेमा त राम्रै बुझेका छाैँ, गुणस्तरीय नै खोज्छाैँ तर हामीले निर्माण गर्दा पाइप र फिटिङलाइ पनि उतिकै महत्व दिएर गुणस्तरीय छान्नुपर्ने हुन्छ । निर्माणको क्रममा राम्रा गुणस्तरको पाईप छनोट गर्न नसक्दा पाईपहरु फुट्ने, चुहिने, खिइएर जाने, पाइप भित्र जीवाणुहरु फैलिने, पाइपमा प्रयोग भएको केमिकल पानीमा मिसिने इत्यादी जस्ता समस्याहरू आउने गर्दछन् । पाइप पर्खालको भित्रपट्टि प्रयोग हुनाले कुनै पनि समस्या आइपर्दा पर्खाल नै सबै भत्काएर पाइप झिक्नुपर्ने हुन्छ । जसले संरचनाको स्वरुप नै बदल्छ । यो सबै हुन नदिन सुरुमा नै गुणस्तरीय तथा प्रमाणित पाइपहरुको प्रयोग गरे यस्ता समस्याहरुबाट जोगिन सकिन्छ । एउटा सामान्य घर बनाउँदा प्राय ३ किसिमको पाइपहरु लाग्दछन्; भान्छा र बाथरुमको लागि सिपिभिसि, ड्रेनेजको लागि ड्रेनेज पाइप (जस्तै मंगलम प्रोड्रेन) र वायरिङ्गको लागि इलेक्ट्रिकल कन्डुएट पाइप (जस्तै मंगलम वायर–सेफ)। खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरु प्रयोग गरिए पनि वायरिङ्गको लागि भने कालो एचडिपिइ पाइप नै अझै पनि प्रयोग गरिन्छ । वायरिङ्गको लागि नै बनेको इलेक्ट्रिकल कन्डुएट वायर–सेफ पाइप प्रयोग नगर्दा विभिन्न किसिमको विद्युतीय दुर्घटनाहरु हुने जोखिम बढी हुन्छ ।  

यो बजेट पास हुन दिनु हुँदैनथ्यो, अब कार्यान्वयन हुन दिनु हुँदैन-पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री डा. यूवराज खतिवडाले अहिलेको सरकारले ल्याएको बजेट कुनै हालतमा कार्यान्वयन हुन नदिन बताएका छन् । आज (साेमबार) राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री खतिवडाले सो कुरा बताएका हुन् । ‘अहिलेको बजेट पास नै गर्न हुुँदैनथ्यो, अब यसलाई कुनै हालतमा कार्यान्वयन गर्न दिनुहुँदैन’ उनले भने, ‘८ प्रतिशत आर्थिक वृद्धिको लागि निजी क्षेत्रले मात्रै १५ खर्ब भन्दा धेरैको लगानी गर्नुपर्छ, बैंकिङ क्षेत्रमा अहिले लगानी गर्ने रकम खर्ब होइन अर्बमा पनि छैन ।’ देशमा आर्थिक वृद्धिको लागी गरिने लगानीको ७५ प्रतिशत हिस्सा निजी क्षेत्रबाट आउने बताउँदै उनले अहिलेको अवस्था त्यो कुरा सम्भव नभएको बताए । अहिले बैंकहरु ऋण दिन सक्षम नभएको तर, ऋण दियो भनेपनि व्यापार घाटा थप बढ्ने स्थिति रहेको उनको भनाइ छ । आर्थिक वृद्धिदरअनुसारको ऋण प्रवाह गरेमा भुक्तानी सन्तुलन ३ अर्ब नाघ्ने उनले बताए । अहिलेको बजेटमा जनअनुमोदित एजेण्डा नभएको र कुनैपनि पार्टीले घोषणापत्रमा शमावेश गरेको विषय नभएको खतिवडाले बताए । ‘कुन पार्टीले आफ्नो घोषणापत्रमा वृद्धभत्तालाई ६८ वर्षको उमेर कायम गर्ने भनेको थियो र अनुमोदित भएको थियो भने त हामी सबैले स्वीकार गर्थ्यौं नी’, खतिवडाले भने । ठूला राजनीतिक पार्टीहरुले बजेट बनाउँदा लामो समयसम्म कार्यान्वयन गर्न सकिने प्रकारको बनाउनुपर्ने भन्दै खतिवडाले अहिलेको बजेट हुवहु कार्यान्वयन गर्ने प्रकारको नभएको बताए । पूर्वअर्थमन्त्री रहेका खतिवडाले निर्वाचन गराउनुपर्ने र जनताबाट म्यान्डेट लिएर नआएको सरकारले ल्याएको बजेट सबैले कार्यान्वयन गर्नुपर्ने कुरा नहुने बताए । बजेटमा भएका कमजोरीलाई सच्याउनुपर्ने खतिवडाले बताए । उनका अनुसार अहिलेको बजेटमा धेरै अनियमितताका विषयहरु जोडिएका छन् । उनले भने, ‘यो बजेटमा भएका अंकहरु र करमा भएका व्यवस्थाहरु पालना गर्ने हो भने अर्थतन्त्र संकटको ठाउँमा पुग्छ, बजेटमा फोर्स करेक्सन जरुरी छ ।’

सबैको लघुवित्तले मन्दिरमा बनाइदियो प्रतिक्षालय

काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाले लमजुङकाे उदिपुर कालिकामाई मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गरेकाे छ । लघुवित्तले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा प्रतिक्षालय निर्माण गरेकाे हाे । कार्यक्रममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले उदिपुर कालिकामाई मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीलाई चेक पनि हस्तारण गरेका थिए । त्यसैगरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीले संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेललाई कदर पत्र प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन विष्णु प्रसाद अधिकारीले गरेका थिए । सबैको लघुवित्त ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ । संस्थाले २०७९ आषाढ २४ गतेसम्ममा ७४ हजार ७५५ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । यस्तै संस्थाकाे २०७९ आषाढ २४ गतेसम्ममा लगानीमा रहेको कर्जा ४ अर्ब ४१ करोड रहेको छ भने ग्राहक सदस्यहरुको १ अर्ब ३२ करोड बचत परिचालन गरेको छ ।

मूल्यवृद्धि ८.५६ प्रतिशत पुग्यो, विदेशी मुद्रा सञ्चितिमा निरन्तर दबाब

काठमाडौं । जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ । यस्तै, २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११७६ अर्ब ८४ करोड कायम भएको छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु आयात २७।५ प्रतिशतले वृद्धि भई १७६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो ।

चीनका बैंक संकटमा पर्दा निक्षेपकर्ताको बिजोक, ‘मेरो बचत फिर्ता गर’ भन्दै हजारौं सर्वसाधारण सडकमा

एजेन्सी । चीनमा निक्षेप फिर्ताको माग गर्दै सर्वसाधारणहरु लामो समयदेखि सडकमा उत्रिएका छन् । आफुहरूले बैंकमा निक्षेपका रूपमा राखेको रकम फिर्ता पाउनु पर्ने माग गर्दै उनीहरू सडकमा उत्रिएका छन् । आइतबार मात्रै हजारौं निक्षेपकर्ता चीनको केन्द्रिय बैंक ‘पिपुल्स बैंक अफ चाइना’को अगाडि प्रदर्शन गरेका थिए । उनीहरुले ‘मेरो बचत फिर्ता गर’ भन्दै विरोध गरेका हुन् । उनीहरुले विशेष गरेर चीनको हेनान प्रान्तमा ४ वटा साना ग्रामिण बैंकहरू विरुद्द विरोध गर्दै आएका छन् । हेनान प्रान्तका युझाउ सिनमिन शेङ भिलेज बैंक, शाङ्काई हुइमिन भिलेज बैंक, झेचेङ हुआङहुई कम्युनिटी बैंक र काइफेङ न्यू ओरिएन्टल ग्रामिण बैंकले निक्षेप फिर्ता नदिएको उल्लेख छ । साना चार वटा ग्रामिण बैंकहरूले निक्षेप अरबौं रकम निक्षेप फिर्ता नगरेको भन्दै उनीहरू तीन महिनादेखि विरोधमा रहेको बताइएको छ । पछिल्लो समय चीनका साना ग्रामिण बैंकहरु समस्यामा भएको कारणले निक्षेप फिर्ता गर्न नसकेको अन्तर्राष्ट्रि सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमका अनुसार १० लाख निक्षेपकर्ताहरूले आफ्नो निक्षेप फिर्ता पाउन सकेका छैनन् । चार वटा बैंकहरुले अर्बौं मिलियन युआन फिर्ता गर्न बाँकी छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण बैंकहरु समस्यामा पर्दा निक्षेप नै फिर्ता गर्न नसकेको उल्लेख अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका हुन् । केही बैंकहरूले यही बिचमै अनाधिकृत रूपमा र उच्च ब्याजदरमा बचतका स्कीम ल्याउँदा अहिले बचत फिर्ता गर्न नसकेको पनि बुझिएको छ । बैंकहरुले अधिकांश लगानी घरजग्गामा गर्दा र कोभिडको समयमा घरजग्गा व्यवसाय संकटमा पर्दा बैंकहरुलाई समस्या सिर्जना भएको उल्लेख छ । अहिले चिनीयाँ बैंकहरुको खराब कर्जाको अनुपात बढेको बताइएको छ । ती चारवटै बैंकहरुको सेयरधनी हेनान न्यू फर्च्यून समूह हो । सो समूहले निक्षेपकर्ताको रकम फिर्ता नदिनुको कारण पटक–पटक परिवर्तन गर्दै आएको छ । ती बैंकहरुले कहिले बैंकलाई प्रणालीमा मर्मतसम्भार गर्नु परेको, कहिले ठगी भएको बताउँदै आएको छ भने कहिले आर्थिक संकटले निक्षेप फिर्ता दिन नसकेको बताउँदै आएको छ । पछिल्लो समय तरलताको अभावले नेपाली बैंकहरु पनि समस्यामा छन् । नेपाली बैंकहरुले पनि निक्षेप तान्नतकै लागि उच्च ब्याजदरमा निक्षेपका बिभिन्न स्कीम ल्याइरहेका छन् ।

अहिले देश बजेट विहिन छ, निश्कर्ष नआउँदासम्म कार्यान्वयन गर्नु हुँदैन : पूर्व अर्थमन्त्री पौडेल

काठमाडाैं । पुर्व प्रधानमन्त्री र उपाध्यक्ष विष्णु पाैडेलले यतिबेला मुलुक बजेट बिहिन अवस्थामा पुगेको बताएका छन् । साेमबार काठमाडाैंमा आयाजित कार्यक्रममा बाेल्दै पाैडेलले यस्ताे बताएका हुन् । उनले बजेटको निर्माण प्रक्रियामा नै प्रश्न उठेर छानबिन कार्यदल बनेको अवस्थामा बजेट कसरी कार्यान्वयन हुन्छ भन्दै प्रश्न गरे । ‘हो सदनले नै बजेट पास गरेको हो तर बजेट बनाउने प्रक्रियामा जे जस्ता अवैधानिक पात्रको सहभागिता भयो, अपराधकर्म भयो त्यसको कार्यदल नै स्वयं सदनले बनाएको छ । त्यसैले त्यो कार्यदलको निश्कर्ष नआउने बेलासम्म बजेट कार्यान्वयन हुनसक्दैन,’ उनले भने ।

गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू

तम्घास । गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू गरिएको छ । जिल्लाको धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार गाउँपालिका एवं रेसुङ्गा र मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका हुन् । धुर्कोट गाउँपालिकाले शैक्षिकसत्र २०७७ देखि स्थानीय पाठ्यक्रम लागू गरेको थियो । कक्षा ५ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रम यसै शैक्षिकसत्रदेखि कक्षा ८ सम्म सञ्चालन गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख दामोदर घिमिरेले जानकारी दिए । यो वर्षदेखि कक्षा ८ सम्म नै स्थानीय पाठ्यक्रम लागू गर्ने गाउँपालिकाको तयारी छ । ‘पाठ्यक्रम तयार गरी यसै वर्षबाट लागू हुन्छ’, उनले भने, ‘पाठ्यपुस्तक अर्को वर्ष आइपुग्छ ।’ पाठ्यक्रममा धुर्कोटका धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थल, भूगोल, आर्थिक पक्षलगायत विषय समेटिएको गाउँपालिकाले जनाएको छ । गुल्मी दरबार गाउँपालिकामा अघिल्लो शैक्षिकसत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यक्रम लागू गरिएको थियो । पाठ्यक्रम कक्षा ३ सम्मका लागि तयार भए पनि पाठ्यपुस्तक लेखनको काम बाँकी रहेकाले लागू नगरिएको शिक्षा शाखा प्रमुख नरेन्द्रप्रसाद शर्माले जानकारी दिए । ‘कक्षा दुई र तीनको पाठ्यपुस्तक लेखन कार्य चल्दैछ, यही वर्षदेखि कक्षा २ मा लागू हुन्छु, उनले भने, ‘संस्कृति, आर्थिक स्थिति, स्थानीय सीपलगायत विषयलाई प्राथमिकतामा राखेका छौँ ।” गुल्मी दरबारमा दुई वटा निजी र २९ वटा सामुदायिक विद्यालय छन् । पुस्तकका लागि छपाइ खर्च रु डेढ लाख र लेखन खर्च रु तीन लाख लागेको शाखा प्रमुख शर्माले बताए । कालीगण्डकी गाउँपालिकाले गत वर्षदेखि नै कक्षा १ र २ मा स्थानीय पाठ्यक्रम लागू गरेको थियो । यो वर्ष कक्षा ३, ४, ६ र ७ मा लागू गर्ने शिक्षा शाखा प्रमुख अग्निधर लोहनीले बताए । पाठ्यक्रममा कालीगण्डकीको परिचय, विपद्सम्बन्धी योजना, विपद् न्यूनीकरणमा गाउँपालिकाको योजना, दैवी प्रकोपलगायत विषय समेटिएको छ । पुस्तकका लागि गत वर्ष छपाइ खर्च रु दुई लाख ५२ हजार र बैठक, खाजा खर्च एवं लेखाइ खर्चमा रु एक लाख खर्च भएको उहाँले जानकारी दिए । अर्को वर्ष कक्षा ५ र ८ मा पनि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी छ । कालीगण्डकीमा रहेका दुई वटा निजी विद्यालयमा पनि पाठ्यक्रम लागू गरिएको छ । सबै विद्यार्र्थीले पाठ्यपुस्तक निःशुल्करुपमा प्राप्त गरेका छन् । रेसुङ्गा नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम कक्षा ८ सम्म लागू गरेको छ । कूल २५० थान पुस्तक छापेर विद्यालयलाई प्रदान गरिएको शिक्षा शाखा प्रमुख विष्णु ज्ञवालीले जानकारी दिए । पाठ्यक्रम १०० पूर्णाङ्कको रहेको छ । यसका लागि कूल रु तीन लाख ५० हजार खर्च भएको उनको भनाइ थियोे । दुई पालिकामा यसै वर्षबाट लागू हुने मुसिकोट नगरपालिकामा पाठ्यक्रम निर्माणको अन्तिम चरणमा छ । यसै वर्ष कक्षा ५ सम्म लागू गर्ने आगामी वर्ष कक्षा ८ सम्म लागू गर्ने तयारी रहेको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिए । साउनको अन्तिमसम्म विद्यालयको पहुँचमा पाठ्यक्रम पुगिसक्ने उनले बताए । सत्यवती गाउँपालिकामा पाठ्यक्रम बनेर पनि पाठ्यपुस्तक लेखनको काम हुँदैछ । पाठ्यक्रम लेखनको काम यही आर्थिक वर्षमै सकिने शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । कूल १० लाखको लागतमा सत्यवतीले कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्दैछ । पाठ्यक्रममा स्थानीय संस्कृति, स्थानीय सीप, कला, धर्म, भाषा, भूगोल अर्थात् समग्र पालिकाको परिचय समेटिएको छ । पुस्तक विद्यार्थीका लागि निःशुल्क प्रदान गर्ने योजना रहेको छ । रासस