विकासन्युज

नबिल बैंक नाफामा थप नम्बर वान हुन्छ, कर्मचारीबीच भेदभाव हुँदैन : अध्यक्ष पौडेल

काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंक अझै नाफामा नम्बर वान हुने बताएका छन् । सोमबार नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार कार्यक्रममा बोल्दै उनले एनबी बैंक मर्जर पछि बनेको नबिल बैंक नाफमा थप अब्बल हुने बताएका हुन् । ‘मर्जरपछि नबिल बैंक सुदृढ भएको छ, अब नाफा झन बढ्नेछ, सिनर्जी ल्याउनेछ,’ उनले भने । साथै, बैंक नाफामा मात्रै नभई लगानीकर्ता र निक्षेपको हक हितप्रति जिम्मेवार रहेको उनको भनाई छ । ‘हामी नाफामा मात्रै होइन, लगानीकर्ता र निक्षेपको हक हितप्रति जिम्मेवार छौं, सुचकमा ठूलो मात्रै होइन बढी जिम्मेवार हुनुपर्छ,’ उनले भने । त्यस्तै,संस्थागत सुशासन तथा सेवा सुविधा अवलम्बन गरेर अगाडि बढेर दीगो बैंकिङको अभ्यास गर्दै आएको नबिल बैंक आफ्नो लक्ष्यप्रति पनि अडिक रहेको उनको दावी छ । उनका अनुसार न्यून कार्वन अर्थतन्त्रका लागि ग्रिन फाइनान्सिङमा पनि लगानी बढाउने नबिल बैंकको योजना छ । साथै, अध्यक्ष पौडेलले मर्जरपछि बैंकका कर्मचारीप्रति भेदभाव नहुने बताउँदै त्यसको लागि बैंकको टिमलाई निर्देशन गइसकेको समेत जानकारी गराए ।

पुष्पताराले रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताललाई दियो एएमएल इसुजु

काठमाडौं । पुष्पतारा केडिया सेवा फाउण्डेशनले बीरगंजको परवानीपुरस्थित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताललाई एएमएल इसुजु बस हस्तान्तरण गरेको छ । असहाय, गरीब तथा सेवाबाट बञ्चित बिरामीहरुलाई यातायातको सहज बनाउन फाउण्डेशनले उक्त बस हस्तान्तरण गरेको हो । साथै उनीहरुको दृष्टि प्रदान गर्न सहयोग हुनेमा सेवा फाउण्डेशन विश्वस्त रहेको यस फाउण्डेशनका संरक्षक मनोज केडियाले बताए । साथै, उनले सो अस्पताल बीरगंजलाई उपचारमा अझ गुणस्तर कायम गरी बढीभन्दा बढी आँखा बिरामीहरुको उपचार सहज र सरल रुपमा गराउन तथा सेवा सुविधाहरुको पहुच बिस्तार गरी हरेक बिरामीहरुलाई उपचार पश्चात खुशीको सास फेर्ने र पिश्व हेर्ने दृष्टि प्रदान गर्न आग्रह गरेका छन् । फाउण्डेशनका अध्यक्ष तारचन्द केडियाले यो एएमएल इसुजु बसद्धारा आम सेवाग्राहीलाई सेवा लिन सजिलो हुने आम आँखा उपचार गर्न आउने मानिसहरुले यसको सेवा पाउन सजिलो हुने बताएका छन् । पुष्पतारा केडिया सेवा फाउण्डेशन बिशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले ५ बर्ष अगाडि ताराचन्द केडिया तथा पुष्प केडियाको नामबाट स्थापना गरिएको संस्था हो । यस संस्थाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग र सेवा गर्दै आइरहेको छ । विशुद्य समाजिक सेवा भावले महावीर प्रसाद वृजलाल केडिया सेवा ट्रष्टद्धारा स्थापित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल नारायणी अंचलकै जेठो आँखा अस्पताल ई.स. १९७५ सालमा स्थापना भई हालसम्म अन्बरत सेवा दिदै आएको र यस अस्पतालले नेपालकोमात्र होईनकी भारतिय आँखा रोगीहरुलाई सेवा दिदै नेपालको अन्धोपन निवारणमा उल्लेखनिय योगदान पुरयाएको छ ।

निक्षेपभन्दा कर्जाको वृद्धिदर दोब्बर बढी, घरजग्गामा मात्रै ६६ प्रतिशत ऋण प्रवाह

काठमाडौं । पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेपभन्दा कर्जा प्रवाहको वृद्धिदर दोब्बरभन्दा बढी देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तसम्ममा निक्षेप ५.७ प्रतिशतले बढ्दा कर्जा प्रवाह भने १३.५ प्रतिशतले बढेको छ । यद्पि यो वृद्धिदर भने अघिल्लो वर्ष (२०७८ जेठसम्म) को तुलनामा कम हो । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप १५.३ प्रतिशतले बढेको हो । त्यस्तै, अघिल्लो वर्ष निजी क्षेत्रमा प्रवाह हुने कर्जा भने २४.९ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.८ प्रतिशत, २७.१ प्रतिशत र ५७.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३४.३ प्रतिशत र ४८.५ प्रतिशत रहेको थियो । त्यस्तै, २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.५७ प्रतिशत रहेको छ । २०७८ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४१.२२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ । २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह भएको छ । त्यस्तै, १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । २०७८ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो ।

बढ्यो सङ्क्रमण, १६८ सङ्क्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । आज १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार तीन हजार २० परीक्षण गर्दा आज सो सङ्ख्यामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७७० रहेको छ । सो अवधिमा ३७ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७२४ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । काठमाडौँमा २०० बढी सक्रिय सङ्क्रमित छन् । होम आइसोलेशनमा ७४९, संस्थागत आइसोलेशनमा २१ रहेका छन् । सघन उपचार कक्ष (आइसियु) मा १२ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।

एनएमबि र फ्लाईवायरबीच सम्झौता, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै

काठमाडौं । एनएमबि बैंकले फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय सम्झाैता गरेको छ । बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीको लागि फ्लाईवायर सम्झाैता गरेकाे हाे । यो सम्झाैतासँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १७ सयभन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागी नेपालको एकमात्र बैंक भएको छ । नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायर मार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागी कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सकिनेछ । अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त रहेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन् । उनले यस सुम्झाैताले ग्राहकलाई सजिलाे बनाइदने विश्वास व्यक्त गरे ।  

एक वर्षमा भित्रियो ९ खर्ब बढी रेमिट्यान्स, २०८ प्रतिशतले लिए पुनः श्रम स्वीकृति

काठमाडौं । पछिल्लो एक वर्षमा ९ खर्ब ४ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३.८ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ जेठसम्ममा सो मात्राको रेमिट्यान्स भित्रिएको हो । जुन अघिल्लो वर्षको वृद्धिदर भन्दा कम हो । २०७८ जेठसम्ममा भने विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ०९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई १० खर्ब ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।

समृद्धि फाइनान्सले बालाजुमा गर्यो वृक्षारोपण

काठमाडौं । समृद्धि फाइनान्सले काठमाडौँको बालाजुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले सोमबार बालाजुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । फाइनान्सले असार महिनामा आफ्नो पाँच वटै शाखाहरुबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेमने छ । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना

काठमाडौं । धोबीखोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना गरेको छ । हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको सार्वजानिक भएपछि छानविन गरि महानगरपालिकाले सो कार्यमा संलग्नलाई जरिवाना गरेको हो । महानगरले यस्ता कार्य नगर्न र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन सबैलाई अनुरोध गरेको छ ।