विद्युत आपूर्ति नहुँदा रोकियो उदयपुर सिमेन्टकाे उत्पादन, १५ करोड बढी नोक्सानी
काठमाडौं । उदयपुर सिमेन्ट उद्योग बन्द भएकाे छ । सरकारले निर्यातमा छुटको घोषणा गरेसँगै निजी सिमेन्ट उद्योगले भारत निकासीको तयारी गरिरहँदा सरकारी सिमेन्ट उद्योग भने बन्द भएको हाे । नियमित रुपमा सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योगले विद्युत अभावका कारण उत्पादन नै बन्द गरेको हाे । सिमेन्ट उद्योगलाई नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विद्युतमा अवरोध भएपछि असार ९ गतेदेखि सिमेन्ट उत्पादन पूर्ण रुपमा बन्द भएको हो । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने विद्युत आपूर्तिमा समस्या आउँदा सिमेन्ट उत्पादन पूर्ण रुपमा बन्द भएको बताउँछन् । उनका अनुसार उद्योग पूर्णरुपमा सञ्चालन हुन ६.५ मेगावाट विद्युत आवश्यक पर्नेमा हाल २.५ मेगावाट मात्र बिजुली आपूर्ति भएकाले सिमेन्ट उत्पादन पूर्ण रुपमा रोकिएको हो । ‘असार ९ गते लहानस्थित नेपाल विद्युत प्राधिकरणको टावरमा चट्याङ लागेपछि विद्युत आपूर्ति बन्द भयो, विकल्पमा हामीलाई सोलु करिडोरको लाइनबाट विद्युत आपूर्ति गरिएको थियो’, उनले भने, ‘त्यहाबाट २.५ मेगावाट विद्युत आपूर्ति भएको थियो, हामीलाई आवश्यक पर्नेभन्दा ज्यादै कम र अनियमित हुँदा सिमेन्ट उत्पादनमा समस्या भयो । उनले सोलु करिडोरबाट दिईएको विद्युतबाट केही समय सिमेन्ट उत्पादन गरिएतापनि उद्योगसँग क्लिनकर सकिएपछि उत्पादन रोकिएको बताए । उनका अनुसार सिमेन्ट उत्पादन नै बन्द भएपछि नेपाल विद्युत प्राधिकरणले समस्या समाधानमा सक्रिय रुपमा लागिपरेको छ । प्राधिकरणले यथासिघ्र रुपमा विद्युत सुचारु गर्ने तयारीका साथ नयाँ ट्रान्सफर्मर राख्ने तयारी गरेको उनको भनाइ छ । लक्ष्यको ९२ प्रतिशत उत्पादन महाप्रबन्धक न्यौपानेका अनुसार उद्योगले चालु आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको थियो । लक्ष्य अनुसार असारसम्म २२ लाख बोरा अर्थात ९२ प्रतिशत सिमेन्ट उत्पादन भइसकेको उनले बताए । विद्युत आपूर्ति रोकिदा लक्ष्य अनुसार सिमेन्ट उत्पादन गर्न नसकिएको उनको भनाइ छ । गत असार ९ गतेदेखि सिमेन्ट उत्पादन पूर्ण रुपमा रोकिदा १५ करोड रुपैयाँ बढीकोे नोक्सानी भएको न्यौपानेले बताए ।
चुरे र बिर्तामोडमा सनराइज बैककाे नि:शुल्क आँखा शिविर सम्पन्न, ६०० बढीले लिए सेवा
काठमाडौं । सनराइज बैंकले दुई ठाउँमा निस्शुल्क आँखा शिविर सम्पन्न गरेको छ । बैंकले कैलाली जिल्लाको चुरे गाउँपालिकामा र बिर्तामोडको अर्जुनधारा नगरपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर संचालन गरेको जनाएको छ । बैंकले अत्तरीया तथा चुरे शाखाको र नेपाल नेत्रज्योतीसंघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा नि:शुल्क आँखा चेकजाँच शिविर संचालन गरेको हो । उक्त आँखा चेकजाँच शिविरमा ४०० भन्दा बढीले आँखा चेकजाँच गराएको र उनीहरुलाई औषधी तथा नि:शुल्क चस्मा समेत वितरण गरिएको बैंकले जनाएको छ । शिविरमा मोतिबिन्दु देखिएका ३० जनालाई नि:शुल्क शल्यक्रिया समेत गरिदिने बैंकले जानकारी दिएको छ । यस्तै बैंकले बिर्तामोडमा दृष्टि आखाँ अस्पतालको सहकार्यमा निःशुल्क आँखा तथा कान परिक्षण शिविर सम्पन्न गरेको हो । सो शिविरमा २८० जनाको निशुल्क आँखा तथा कान परिक्षण गर्नुका साथै चश्मा र औषधी नि:शुल्क प्रदान गरिएको बैंकले जनाएको छ ।
तरलता अभावकाबीच सञ्चय कोष र सीआईटीले बढायो ब्याज, कुन संस्थाका बचतकर्तालाई बढी लाभ ?
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव भइरहेको बेला कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ब्याजदर बढाएको छ । दुवै संस्थाले आफ्नो सञ्चकर्ता अर्थात् बचतकर्ताबाट जम्मा हुने रकममा ब्याज बढाएका हुन् । बढेको ब्याज साउन १ गतेदेखि लागू हुनेछ । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप बढाउनकै लागि संस्थागत निक्षेपको ब्याजदर बढाएसँगै नागरिक लगानीकोष र कर्मचारी सञ्चय कोषले पनि आफ्ना बचतकर्तालाई दिने ब्याज बढाएको हो । बैंक तथा वित्तीय संस्थाहरुका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष संस्थागत निक्षेपकर्ता हुन् । अहिले यी र यस्तै निक्षेपकर्ताको निक्षेप तान्नका लागि बैंकहरुले लविङ गरिरहेका छन् । सञ्चय कोष र नागरिक लगानीकोषले बोलकबोलका आधारमा बैंकमा निक्षेप राख्ने व्यवस्था छ । अहिले बैंकहले संस्थागत निक्षेपकर्तालाई १०.१३ प्रतिशत ब्याज तोकेको भएपनि आन्तरिक रूपमा भने बढी नै ब्याजको मोलमोलाइ भइरहेको पनि सुनिन्छ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई सञ्चय कोष र निवृतभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याज ८ प्रतिशत तोकेको छ । यस्तै, सञ्चयकर्ताको विशेष सापटीमा ९.१० प्रतिशत, सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशत, सञ्चयकर्ता जग्गा खरिद सापटी र सरल चक्रकर्जामा १०.३५ प्रतिशत ब्याज तोकेको छ । धितोमा आधारित कर्जाको ब्याज त्रैमासिक रुपमा भुक्तानी गरी नियमित गर्ने सञ्चयकर्ताको हकमा सम्बन्धि त्रैमासमा पाकेको ब्याजमा ०.२५ प्रतिशत छुट दिने ब्यवस्था पनि सञ्चय कोषले गरेको छ । यस्तै, नागरिक लगानी कोष (सिआईटी)ले संचालन गरिरहेको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमको ब्याजदर पनि बढेको छ । कोषले साउन १ गतेदेखि लागु हुने गरी सो कार्यक्रमको ब्याजदर बढाएर ८ प्रतिशत पुर्याएको हो । कोषले संचालन गरिरहेको उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलब ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानेर प्रदान गरिने कोषले जनाएको छ । उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको शिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफाल राख्ने व्यवस्था कोषले गरेको छ । यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैया र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैया गरी ५१ करोड १२ लाख रुपैयाँ प्रदान गर्नुपर्ने हुन आउँछ । सम्बन्धित सामग्री : नीतिगत ‘लुपहोल’ खोज्दै संस्थागत निक्षेपकर्तालाई ११.०३% ब्याज, ‘बैंक टु बैंक’ पुगेर सम्झाउँदै राष्ट्र बैंक
दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का
काठमाडौं । मंगबारदेखि दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को सेयर कारोबार असार २८ गतेदेखि रोक्का गरिदिएको हो । यी दुई कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) मा जाने प्रयोजनको लागि सेयर कारोबार रोक्का भएको हो । जसको लागि यी दुई कम्पनीले गत असार २७ गते समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । बराबरी हैसियतमा मर्ज हुँदै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, गरे सम्झौता यससँगै, उक्त मर्जर प्रकृया सकिएर एकीकृत कारोबार भएपछि मात्रै दोश्रो बजारमा कम्पनीको सेयर कारोबार फुकुवा हुने छ ।
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडाैं । देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै प्रदेश नं १, गण्डकी र लुम्बिनी, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जनाइएको छ । विभागले प्रदेश नं १, गण्डकी, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
२ जनाले पाए हिमालयन हाइड्रोको ११ कित्ता सेयर
काठमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ मंगलबार बिहान साढे ८ बजे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा भएको हो । क्यापिटलका अनुसार उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट विधिद्धारा बाँडफाँड भएको छ । सो अनुसार पहिलो चरणमा रितपूर्वक आवेदन दिनेमध्ये १ लाख ८३ हजार ४७ जनालाई १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको छ । उनीहरुलाई कूल १८ लाख ३० हजार ४७० सेयर बाँडफाँड गरिएको हो । त्यसपछि दोश्रो चरणमा बाँकी रहेको २ कित्ता सेयर २ जनाले एक एक कित्ताको दरले पाएका छन् । यससँगै उनीहरुले पहिलो चरणको १० कित्ता र दोश्रो चरणको एक कित्ता गरी कूल ११ कित्ता सेयर हात पारेका छन् । उक्त आईपीओमा सर्वसाधारणको तर्फबाट मागभन्दा ९.६९ गुणा बढी आवेदन पारेको थियो । बिक्री गरिएको १८ लाख ३० हजार ४७२ कित्ता सेयरको लागि जम्मा १५ लाख ९५ हजार ५५४ जना आवेदकहरुबाट आवेदन दिएका थिए । उनीहरुले कूल १ करोड ७७ लाख ५४ हजार ३०० कित्ता सेयर माग गरेका थिए । आवेदन दिएकामध्ये १५ लाख ९६ हजार ७९६ जना आवेदकहरुबाट प्राप्त भएको १ करोड ७७ लाख ३४ हजार ३७० कित्ता सेयर बाँडफाँडका लागि योग्य रहेको देखिएको क्यापिटलले जनाएको छ । त्यस्तै, १ हजार ७५८ जनाले १९ हजार ९३० कित्ता सेयरको लागि दिएको आवेदन रद्द गरिएको छ ।
नागरिक लगानी कोषको ब्याजदर बढ्यो, यस्तो छ नयाँ ब्याजदर
काठमाडाैं । नागरिक लगानी कोषले संचालन गरिरहेकाे कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमकाे ब्याजदर बढेकाे छ । काेषले साउन १ गतेदेखि लागु हुने गरी साे कार्यक्रमकाे ब्याजदर बढाएर ८ प्रतिशत पुर्याएकाे हाे । त्यसैगरी कोषले संचालन गरिरहेकाे उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलब ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिने काेषले जनाएकाे छ । उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको काेषले जनाएकाे छ । कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको शिफारिसमा ब्यक्तिगत खाता खोलिएको भए ब्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र ब्याक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफाल राख्ने व्यवस्था कोषले गरेको छ । यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैया र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैया गरी ५१ करोड १२ लाख रुपैँया प्रदान गर्नुपर्ने हुन आउँछ ।
कर्मचारी सञ्चय कोषमा ५८ जनालाई खुल्यो जागिर
काठमाडौं । कर्मचारी सञ्चय कोषमा जागिर खुलेको छ । कोषले मंगलबार एक सूचना सार्वजनिक गर्दै कूल ५८ जनालाई जागिरको अवसर खुलेको जानकारी गराएको हो । कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा ५८ जनाका लागि जागिर खुलाएको छ । जसमध्ये सहायक पदमा २४ जना, सबइन्जिनिर १ जना, प्रमुख सहायक १, सहायक प्रबन्ध (कानुन) १, सहायक प्रबन्धक २३ जना, उपप्रबन्धक (वित्त विश्लेषक) २ जना, उपप्रबन्धक ३ जना, प्रबन्धक २ जना वरिष्ठ प्रबन्धक १ जनाका लागि जागिर खुलाएको छ । यससँगै योग्य तथा इच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । साथै, सो मितिसम्म दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म दरखास्त दिन सक्ने व्यवस्था रहेको सूचनामा जनाइएको छ ।