बाढीले क्षतिग्रस्त मेलम्चीको पूर्वाधार पुनःनिर्माण, राजधानीवासीलाई खानेपानी
फाइल फोटो काठमाडौं । विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा ठूलो क्षति गर्यो । जेठ अन्तिमसम्म हेलम्बुबाट सुरुङमार्ग हुँदै राजधानीमा खानेपानी आएको थियो । वर्षा लागेकाले सम्भावित बाढीले गर्नसक्ने क्षतिलाई ध्यान दिँदै त्यसै दिन सुरुङबाट पानी ल्याउन बन्द गरिएको थियो । आयोजनास्थलको पूर्वाधारमा क्षति गरे पनि सुरुङ त्यसै दिन रोकिएकाले खानेपानी प्रणाली ध्वस्त हुनबाट बचेको थियो । असार २९ गते सरकार परिवर्तन भयो । नयाँ सरकारले मेलम्ची खानेपानी आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्यो । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको आयोजनास्थलमा क्षति भएका पूर्वाधार निर्माण गरेर राजधानीवासीलाई पानी खुवाउन अर्जुनदृष्टिका साथ काम गरे । यसक्रममा पटक-पटक मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बु पुगेर उनले भत्केको प्रवेशमार्गको निर्माण, मुहानस्थलमा पुगेको क्षतिको मर्मतसम्भार पुनःनिर्माणलाई मन्त्रालयको प्राथमिकतामा राखे । २०७८ चैत मसान्तसम्म मेलम्चीको पानी राजधानीमा ल्याउने घोषणा गरेका मन्त्री चौधरीले समयमै काम सक्न आवश्यक नीति-निर्माण गरेर कार्यान्वयनमा सहयोग गरे । फलस्वरुप चैत अन्तिम साता मेलम्चीबाट पथान्तरण गरिएको पानी वैशाख पहिलो साता राजधानीमा वितरण गरिएको थियो । वर्षा लागेसँगै हाललाई बन्द गरिएको मेलम्चीको पानी असोज अन्तिम साता वा कात्तिक पहिलो हप्तामा फेरि राजधानीमा ल्याउने तयारी पनि मन्त्रालयको छ । मेलम्चीको पानी बन्द भएपछि हाल वाग्मतीको पानी प्रशोधन गरी मेलम्ची खानेपानी आयोजनाको नयाँ प्रणालीबाट उपत्यकावासीलाई वितरण गरिएको छ । मेलम्चीको प्रणालीबाट काठमाडौं उपत्यकामा हाल वाग्मतीको पानी थप्दा राजधानीवासीलाई राहत पुगेको छ । सिस्नेरी खोलाको पानी ल्याउने गृहकार्य सरकारको एकवर्षे कार्यकालमा काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गरी राजधानीमा ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि असार पहिलो साता खानेपानीमन्त्री चौधरीले सो स्थलको स्थलगत अध्ययन गरे । स्थलगत अध्ययनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले पाइप लाइन बिच्छ्याएपछि दैनिक छ करोड लिटर पानी राजधानी लैजान सकिने बताएका थिए । मेलम्चीको विकल्पका रूपमा यो आयोजनालाई अघि बढाउन लागिएको उनले जानकारी दिए । यो आयोजनाको खर्च मेलम्चीको भन्दा कम लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राजधानीमा याङ्री र लार्केको पानी आउनुअघि नै सिस्नेरीबाट पानी ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव तयारी एवं वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाउन लागिएको छ । यो आयोजना सम्पन्न गर्न २६ अर्ब रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । विस्तृत परियोजना प्रस्ताव तयारी र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकी आर्थिक वर्ष २०८०/८१ देखि नै काम सुरु गर्ने लक्ष्य मन्त्रालयले लिएको पनि मन्त्री चौधरीले बताए । विसं २०७२ को संविधानले मौलिक हकमै खानेपानीलाई राखेपछि यसको पूर्तिका लागि पहिलो प्राथमिकता दिएर काम अघि बढाउन लागिएको हो । मेलम्चीको पानी बन्द भएका बेला पनि आपूर्ति नरोक्न वैकल्पिकरूपमा अन्य मुहान र स्रोतको पनि बोर्डले अध्ययन गरिरहेको छ । काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकाका मुहान संरक्षण गरी पानी सङ्कलन गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए । पानीका स्रोत र मुहानको संरक्षणको कार्यक्रमलाई पनि मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएको छ । बोर्डले पानी सुरक्षाका नक्सा नै बनाएर काम गरेको जनाइएको छ । सिस्नेरीको पानी राजधानी ल्याउन मकवानपुरका इन्द्रसरोवर र भीमफेदी गाउँपालिकासँग समेत समन्वय भएको मन्त्रालयले जनाएको छ । दुवै पालिकाले राजधानीमा पानी लैजान सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मकवानपुरको पानी राजधानी ल्याउँदा प्रभावितस्थलमा कम बस्ती रहेकाले ठूलो प्रभाव नपर्ने प्रारम्भिक अनुमान गरिएको छ । दुवै खोलाको पानी बाँध निर्माण गरिने स्थानभन्दा २०० मिटर तल वाग्मतीमै मिसिने भएकाले पनि कसैलाई प्रभाव पर्दैन । वाग्मती बेसिनकै पानी भएकाले केही तल रहेको मध्य वाग्मती जलविद्युत् आयोजनामा पनि प्रभाव नपर्ने जनाइएको छ । काठमाडौं उपत्यकामा आएको पानी प्रयोगपछि प्रशोधन गरेर फेरि वाग्मतीबाटै बाहिरिने भएकाले कुनै प्रभाव नपर्ने बोर्डका कार्यकारी निर्देशक राणाले बताए । वर्षाका समयमा सुरुङभित्र बाढी छिर्ने त्रासले मेलम्ची आयोजनाको पानी मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बुमै बन्द गर्नुपरेपछि खानेपानी मन्त्रालयले काठमाडौँ उपत्यकामा वैकल्पिक स्रोतको खोजी गरिरहेको थियो । स्रोत खोजी गर्ने क्रममा बोर्डले मकवानपुरका कुलेखानी खोला र सिस्नेरी खोलाको अध्ययन गरेको हो । यो आयोजनास्थल फर्पिङस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पम्पिङ स्टेशनबाट १४ किलोमिटर दूरीमा पर्ने भएकाले पनि पानी ल्याउन सहज रहेको बोर्डका उनले जानकारी दिए । कुलेखानी खोलाको शाखा कोगतेको पानी पनि यसमा मिसिन्छ । यो आयोजनाअन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगते र कुलखानी खोलाको पानी सङ्कलन गरिने छ । लिमिटेडको सैँबु भैँसेपाटीस्थित पानीपोखरीमा बाँधबाट पानी लगी काठमाडौं उपत्यकामा वितरण गर्ने लक्ष्य राखिएको छ । प्रस्तावित बाँधको लम्बाइ ३४० मिटर र उचाइ ६० मिटर रहने छ । बाँध निर्माणस्थल समुद्री सतहबाट एक हजार १२० मिटर उचाइमा रहने छ । सिस्नेरीमा जम्मा गरिने पानीलाई करिब दुई किमी उत्तरतर्फ रहेको दरवनडाँडा भनिने एक हजार १४० मिटर उचाइको स्थानमा ल्याई पानीपोखरी बनाएर प्रशोधन गरी काठमाडौं उपत्यकामा पठाउने लक्ष्य राखिएको छ । पानीपोखरीबाट हाल निर्माणधीन द्रुतमार्गमा करिब १९ किमी पाइप लाइन बिच्छ्याइएर ‘ग्राभिटी सिस्टम’ बाट सैँबु पानीपोखरीमा ल्याउने प्रस्ताव गरिएको बोर्डका इञ्जीनियर नवीन तिवारीले जानकारी दिए । रासस
सरकारलाई विज्ञको सुझावः सामाजिक सुरक्षा भत्ताको निर्णय परिमार्जन गरौं
काठमाडौं । सरकारले घोषणा गरेको ६८ वर्षको उमेरमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय परिमार्जन गर्न विज्ञहरुले सुझाव दिएका छन् । केन्द्रिय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा वृद्ध उमेरसमूहको जनसंख्या बढ्दै गइरहेकोले यो निर्णयमाथि सरकारले पुनर्विचार गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका हुन् । सोमवार विश्व जनसंख्या दिवगसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै विज्ञहरुले वृद्ध उमेर समूहको जनसंख्या बढ्दै गइरहेकोले सरकारले घोषणा गरेअनुसार ६८ वर्ष उमेरमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा धान्न नसक्ने बताए । सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दा ६८ वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्था गरेको छ । यसअघि ७० वर्षमा दिँदै आएको वृद्ध भत्तालाई २ वर्ष घटाएर ६८ वर्षमा नै वृद्धभत्ता दिने नीति ल्याएको छ । यसले राज्यलाई बढी आर्थिक भारपर्ने भन्दै विज्ञहरुले यसमा सरकारले पुनः विचार गर्नुपर्ने सुझाव दिएका हुन् । केन्द्रिय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले वृद्ध उमेर समूहको जनसंख्या बढ्दै गएको तथ्यांक आइरहेकोले राज्यले घोषणा गरेको सामाजिक सुरक्षा भत्ता वितरणमा सोच्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए । पछिल्लो समय नेपालमा वृद्ध जनसंख्याको मात्रा बढ्दै गइरहेको र तथ्यांक विभागले गरेको जनसंख्या अध्ययन तथा गणनामा पनि यसको मात्रा धेरै रहेको पाइएको निर्देशक लामिछानेले बताए । पूर्ण गणनापछि सार्वजनिक गरिने उमेर समूहको तथ्यांकले सबैलाई चकित पार्ने उनले बताए । निर्देशक लामिछानेले जनसंख्याको बसाईंसराई एकदमै उच्च रहेकोले यसलाई व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले सरकार जनसंख्या घटाउने भन्दापनि जनसंख्या भित्रको बसाईंसराईलाई रोक्ने कुरामा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने ‘हिमालमा पाइने जडिबुटी र पहाडमा फलफूल र तराईमा अन्नबालीको कुराहरु यही हो जनसंख्या व्यवस्थापनको महत्वपूर्ण पक्ष भनेको । जनसंख्याको बसाईंसराई एकदमै उच्च छ । त्यो देखिँदा पनि हामी त्यसको रोकथाममा त्यत्ति अघि बढ्न सकेका छैनौँ । अहिले एजिङ पपुलेशन एकदम उच्च बढ्दैछ । राज्यले अहिले घोषणा गरिरहेको सामाजिक सुरक्षा भत्ता वितरण गर्नपनि अब जनसंख्याको रिजल्ट आइसकेपछि फेरि सोच्नुपर्छ कि जस्तो अवस्था छ । जनसंख्याको अध्ययनलाई फरक ढंगले हेर्नुपर्छ । यसमा एज स्ट्रक्चर छैन र सामाजिक, आर्थिक विषयहरु जोडिएका छैनन्, जोडेर आएपछि हामी अझै डराउँछौँ ।जनसंख्याको संरचना नै परिवर्तन हुन्छ जस्तो लाग्छ । हामी जनसंख्या वृद्धि घटाउने कुरामात्रै सुनिरहेका छौँ । अब हामी ८०र९० वर्षको ईतिहासमा हेर्ने हो भने एक भन्दा मुनि आइसक्यौँ । अझ तल्लो स्तरमा हामी जाने हो भने नसोचेको परिणाम आउनसक्छ । हामीले जनसंख्या घटाउने भन्दापनि जनसंख्या भित्रको बसाईंसराईलाई रोक्न आवश्यक छ । व्यवस्थापन गर्न आवश्यक छ । राज्य यसमा केन्द्रित हुनुपर्छ ।’ कार्यक्रममा जनसंख्या महाशाखाका निर्देशक कपिल तिमल्सिनाले विदेश जाने नागरिकको स्वास्थ्य परीक्षण कर्मकाण्डी तरिकाबाट भइरहेको बताए । उनले सरकारले पूर्णरुपमा स्वास्थ्य चेकजाँच गर्ने कुरामा विशेष जोड दिनुपर्ने बताए । उनले हालको अवस्थामा पनि विदेश रोजगारीका लागि जाने अधिकांश मानिस अदक्ष रहेको दाबी गरे । निर्देशक तिमल्सिनाले नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्यनारायणकाजी श्रेष्ठप्रति इंगित गर्दै नेपाल ढिलो चाँडो श्रीलंकाको अवस्थामा नै पुग्ने हो भन्ने भनाइले जनतामा त्रास पैदा भएको बताए । उनले यस किसिमका भनाइहरुले जनताको अवस्था कठिन हुने बताए । उनले भने, ‘अहिले विदेश जाने मानिस पूर्णतया अदक्ष छन् । अहिले विदेश जानेको स्वास्थ्य जाँच कर्मकाण्डी भएको छ । अब त्यसको पूर्णरुपमा स्वास्थ्य चेकजाँच गर्ने कुरामा विशेष जोड दिनुपर्छ । केही दिनअघि मात्रै हाम्रा राष्ट्रिय सभाका मान्यज्यूले भन्नुभयो, नेपाल ढिलो चाँडो श्रीलंकामा नै पुग्ने हो भन्नुभयो, नेपालको माननीय सांसदले त्यसो भनेपछि हाम्रो हालत के होला ? ग्यालिनमा तेल हाल्ने हो कि ? अब त समस्या हुन्छ । तर यो तिर नभएर हामीले विकसित देशबाट देशमा कुनैपनि योजना बनाउनुपूर्व त्यसका हरेक चिजहरु कहाँबाट आउँछन् भन्दा जनस्तरबाट आएका सुझावको आधारमा हुन्छन् । त्यहाँबाट विस्तृत छलफल गरेर अघि बढ्नुपर्छ ।’ कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले ह्यूमन रिसर्च डेभलपमेण्टको लागि छुट्टै मन्त्रालय बनाउन आवश्यक रहेको बताए । उनले देशले जनसंख्यालाई महत्वपूर्ण कुरा ठानेको भए जनसंख्या र मानव विकास मन्त्रालय बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । सदस्य पौड्यालले राजनीतिले सरकार डो¥याउने भएपनि नेपालमा भने सरकारले राजनीति डोर्याएको बताए । उनले राजनीतिमा जनसंख्यालाई सेन्टरमा राखेर छलफल गर्ने काम कहिल्यै नभएको भन्दै जनसंख्याको विषय स्वास्थ्यमा मात्रै सिमित हुने गरेको बताए । ‘यदी जनसंख्या हाम्रो एकदमै महत्वपूर्ण श्रोत हो भने, यो भित्रको डाइभर्सिटी महत्वपूर्ण श्रोत हो भने ह्यूमन रिसर्च डेभलपमेण्टको लागि छुट्टै मन्त्रालय किन नभएको ? जनसंख्या र मानव विकास मन्त्रालय बनाउन आवश्यक छ । राजनीतिले सरकार डोर्याउने हो, तर हाम्रो केसमा सरकारले राजनीति डोर्याइरहेको छ । राजनीतिमा जनसंख्यालाई सेन्टरमा राखेर छलफल गर्ने कुरा त्यति धेरै भएको छैन । अहिले जनसंख्याको विषय स्वास्थ्यमा मात्रै गएर टुंगिएको छ । हामीले अरु छलफल नै गरेका छैनौँ । विकासको विषयमा छलफल हुँदा ह्यूमन रिसर्च कहिल्यै आउँदैन । ह्यूमन रिसर्च हेर्ने भनेको हामीले पब्लिक सर्भिस कमिसन हेर्ने लोकसेवा आदि इत्यादी हेर्ने, निजामति हेर्नेमा गएर थन्क्यायौँ । ह्यूमन रिसर्च भनेको लोकसेवा आयोग मात्रै होइन । हामीसँग ह्यूमन रिसर्च डेभलपमेण्टको प्लान नै छैन । ह्यूमन रिसर्च प्लान यो देशलाई चाहिन्छ । ढिला भइसकेको छ ।’ उनले भने । सदस्य पौड्यालले नेपालमा ह्यूमन रिसर्च डेभलपमेण्टको कुनै योजना नै नरहेको दाबी गर्दै ह्यूमन रिसर्च प्लान अत्यावश्यक भएकोले देशमा ल्याउन ढिलो भइसकेको बताए । आज विश्व जनसंख्या दिवसको अवसरमा ‘आठ अर्ब मानवको विश्वः सबैका लागि समुत्थापित भविष्यतर्फ अवसरहरुको सदुपयोग तथा सबैको लागि अधिकार र चयनमा सुनिश्चितता’ भन्ने नाराका साथ विश्वभर जनसंख्या दिवस मनाइएको छ । रासस
सहकारीको १५ अर्बभन्दा बढी लगानी कृषिमा, हजारौं युवा बने स्वरोजगार
भैरहवा । भैरहवा जिल्लास्थित सञ्चालनमा रहेका सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौं युवा स्वरोजगार बनेको जिल्ला सहकारी सङ्घ रुपन्देहीले जनाएको छ । सहकारीले जिल्लामा सबैभन्दा धैरै लगानी कृषि क्षेत्रमा गरेको देखिन्छ । यसबाहेक कृषिजन्य उद्योग, कुखुरा फार्म, गाईभैंसी फार्म, माछाफार्म, तरकारी खेती, किराना पसलमा सहकारीले लगानी गरेको सहकारीको वार्षिक लेखा परीक्षणले देखाएको आन्तरिक राजस्व कार्यालय रुपन्देहीले जनाएको छ । साथै उनीहरुले साना तथा मझौला उद्योगमा समेत लगानी गरेका छन् । विशेषगरी युवावर्गलाई लक्षित गरी गरिएका लगानीले उत्पादनमूलक क्षेत्रमा राम्रो प्रभाव पारेको अर्थविद् बताउँछन् । जिल्लामा करिब १५ अर्ब रुपैयाँभन्दा धेरै लगानी सहकारीले गरेको देखिन्छ । लगानीको धेरै रकम युवावर्ग र कृषि तथा कृषिजन्य वस्तु उत्पादन क्षेत्रमा भएको सहकारीको आँकडाले देखाउँछ । सहरमा भन्दा ग्रामीण क्षेत्रका मानिसको जीवनस्तर माथि उकास्नका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको रोहिणी गाउँपालिका वडा नं ५ का कुखुरा फार्म सञ्चालक जयप्रकाश यादवले जानकारी दिए । जनउत्थान बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौडेलले सहकारीले घरघरमा पुगेर सचेतनामुलक कार्यक्रम, अन्तरक्रिया गर्दै युवा स्वरोजगार, कृषिमा गुणस्तरीयता र साना उद्योगहरु लगायतमा सहज रुपमा लगानी गरेको बताए । उनले बस्ती बस्तीमा सहकारीको पहुँच पुगिसकेको जनाउँदै सहकारीमा बचत तथा ऋणको सदुपयोग गर्न सबैलाई आग्रह गरे । सहकारी अन्दोलनले धेरै रोजगारी तथा उत्पादन क्षेत्रमा केही हदसम्म सहयोग पुर्याएको आफन्त बचत तथा ऋण सहकारी संस्था धकधई सेवा केन्द्रका व्यवस्थापक प्रदीप भट्टराईले जानकारी दिए । नेपालमा सजिलो तरिकाले ऋृण प्रवाह र बचत गरिदिने संस्थासमेत सहकारी रहेकाले मानिसहरूको बढ्दो विश्वास रहेको उनको भनाइ छ । सहकारीहरूले बचत तथा ऋण मात्र नभएर व्यवसायीमूलक क्षेत्रमा समेत काम गरिरहेको त्रिदेवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण सिग्देलले बताए । उनले भने ‘दुग्ध सहकारी, कृषि सहकारी, सञ्चार सहकारी र उत्पादनमूलक क्षेत्रमा लगानी गरिरहेका सहकारीले अर्थतन्त्रलाई माथि उकास्न टेवा दिइरहेको छन् ।’ लुम्बिनी प्रदेश सहकारी सङ्घका अध्यक्ष कृष्णप्रसाद नेपालले सहकारी अहिले स्थानीय पालिका मतहतमा रहेकाले हुँदा स्थानीय सरकारसंगको सहकार्यमा काम गरिरहेकोे जानकारी दिए । रासस
एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ३२० रुपैयाँलाई आधार मानेर हुने छ ।
हाइम्याक्स बत्ती बालेर काठमाडौं उज्यालो पार्ने योजना अलपत्र, बालेनको प्राथमिकतामा कति ?
काठमाडौं । काठमाडौं महानगरपालिकालाई काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा हाइम्याक्स बत्ती जडान गर्ने सकस परेको छ । महानगरपालिकाले उक्त बत्ती जडान गर्नको लागि ठेक्का लगाउन नसक्दा सकस परेको हो । हाइम्याक्स बत्ती जडान महानगरको योजना भए पनि ठेक्का हुन नसक्दा काम रोकिएको महानगरले जानकारी दिएको छ । महानगरले विभिन्न ८० वटा स्थानमा हाइम्याक्स बत्ती जडान गर्नको लागि चालु आर्थिक वर्ष २०७८/७९ मा प्रक्रिया अगाडि बढाएको थियो । महानगरले बत्ती जडान गर्नको लागि ठेक्का लगाए पनि ठेक्का पटक-पटक रद्द हुँदै आएको छ । यस पटक पनि ठेक्का रद्द भएर महानगरपालिकाले पुन ठेक्का लगाउने तयारी रहेको महानगरका सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख रामबहादुर थापाले बताए । ‘पहिलाको कार्यकारी पनि जानु भयो, मुल्याङकन समितिलाई टेकुस्थित कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा मुद्दा चलाएपछि २÷३ महिना नयाँ मूल्याङकन समिति पनि भएन, मुद्दा दायर भए बैंक ग्यारेन्टी सकिएपछि सबै योजनाहरू पनि पुनः ठेक्कामा पानु पर्ने भयो,’ उनले भने । थापाका अनुसार हाइम्याक्स बत्ती जडान गर्ने ठेक्का सनब्राइट निर्माण कम्पनीले पाएको थियो । सो कम्पनीले ठेक्का पाए पनि महानगरसँग बत्ती जडान गर्ने सम्झौता भने हुन सकेन । महानगरपालिका आगामी आर्थिक वर्ष २०७९/८० बाट बत्ती जडान गर्नको लागि ठेक्का लगाउन तयारीमा जुटेको छ । महानगरपालिकालाई उज्यालो सहरको रूपमा विकास गर्ने परिकल्पना साथ महानगरले विभिन्न ठाउँमा हाइमेक्स बत्ती जडान गर्न लागेको हो । काठमाडौं महानगरपालिकाले उक्त बत्ती जडान गर्नको लागि चालु आर्थिक वर्षमा १० करोड बजेट छुट्याएको थियो । चालु आवमा नै छुट्याएको बजेटले बत्ती जडान गर्नको पर्याप्त पुग्ने भएकोले आगामी आर्थिक वर्षमा यसको लागि बजेट नछुट्याएको पनि थापाले जानकारी दिए । यस्ता बत्ती प्रायः विमानस्थल तथा खेल मैदानमा मात्रै बढी जडान गरिएको पाइन्छ । महानगरले यस बक्तिलाई बानेश्वर चोक, माइतीघर, सिंहदरबार, रत्नपार्क वरपर, वसन्तपुर तथा चोक र जक्सनमा जोड्ने महानगरको योजना रहेको पनि थापाले बताए । यसअघि नै सो काम सक्ने महानगरको योजना भएपनि ठेक्का पटकपटक रद्द हुदा काम रोकिएको महानगरको भनाइ छ । महानगरका अनुसार उच्चस्तरको हाइम्याक्स बत्ती ५० फिट अग्लो पोल गाडेर जडान गरिने छ । यस बत्तीले करिब ३ सय मिटर वरपर प्रकाश दिन्छ । ‘आगामी आर्थिक वर्ष २०७९/८० को लागि महानगरपालिकाले बजेट प्रस्तुत गरिसकेको छ, बजेट पनि पास भइसकेको छ, साउन लाग्ने बतिकै यो ठेक्का प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । उक्त बत्ती जडान भएको ६ महिना भित्र सम्पन्न हुने छ । थापाका अनुसार काठमाडौंलाई उज्यालो शहरको रूपमा अगाडि बढाउनको लागि हाइम्याक्स बत्तीले धेरै भूमिका खेल्नेछ । यसले शान्ति सुरक्षासँगै चोरीका घटनामा पनि कमी आउने उनको भनाइ छ । महानगरका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले आफू निर्वाचित भएसँगै काठमाडौं महानगरको ३२ वडाका १० हजार स्थानमा हाइमाक्स बत्ती जडान गर्ने र महानगरपालिकालाई उज्यालो शहरको रूपमा विकास गर्ने परिकल्पना अगाडि सारेका थिए । तर, बक्ति जडानको ठेक्का हुन नसक्दा अन्योलमा हाइम्याक्स देखिन्छ । ‘बत्ती जडान गर्ने महानगरको धेरै अगाडिको योजना हो, ठेक्का सम्झौता भएको भए बत्ती जडान गरी यति खेर बलुकाको समयमा काठमाडौंका चोकहरू झलमल्ल देखिन्थे, उनले भने । महानगरपालिकामा परेको मुद्दाका कारणले नै धेरै योजनाहरूको ठेक्का भङ्ग भएका छन् । थापाका अनुसार महानगरका मेयर बालेन्द्र शाह –बालेन)ले यस योजनालाई प्राथमिकताका साथ हेरेका छन् अब नयाँ आर्थिक वर्ष सुरू हुने वित्तिकै यसको प्रक्रिया सुरु हुनेछ ।
आइएमई जनरलको बोर्डमा इन्फो डेभलपर्सका सीईओ रघुवंशी नियुक्त
काठमाडौं । आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन् । उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो । २० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फो डेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ । माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यस कम्पनीले महत्वपुर्ण योगदान दिएको छ । आइएमई जनरल इन्स्यारेन्स कम्पनी सन् २००१ मा स्थापना भएको निर्जीवन बीमा कम्पनी हो । २ अर्बको चुक्ता पुँजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचत व्यक्ति तथा समुहरुको संलग्नता रहेको छ । कम्पनीका बोर्ड निर्देशकहरुमा अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी, सिताराम थापा र कृष्णप्रसाद शर्मा रहेका छन् ।
बराबरी हैसियतमा मर्ज हुँदै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, गरे सम्झौता
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि उनीहरुले असार २७ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । दुई इन्स्योरेन्स मर्जपछि १ बराबर १ को अनुपातमै स्वाप रेसियो हुने गरी सम्झौता भएको छ । अर्थात सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य १०० मान्दा प्रिमियर इन्स्योरेन्सको पनि १०० रुपैयाँ नै हुने छ । उक्त समझदारी पत्रमा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फवाट अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । १ बराबर १ को अनुपातमा मर्ज भएपछि बन्ने इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो ।
नबिल बैंकको कार्यक्रममा किन सहभागी भएन राष्ट्र बैंक ?
काठमाडौं । नेपाल बंगलादेश बैंकलाई नविल बैंकले प्राप्ति गरेपछि २७ गते ‘नबिल बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुभारम्भ भयो । एकिकृत कारोबारको औपचारिक उद्घाटन समारोह काठमाडौंको सबैभन्दा ठूलो पाँच तारे होटल ह्यात रिजेन्समा आयोजना गरिएको थियो । यो कार्यक्रम बैकिङ क्षेत्रको लागि धेरै कोणबाट महत्वपूर्ण थिए । मुख्य प्रवद्र्धक विदेशी रहेका, स्वस्थ्य अवस्थामा चलिरहेको नेपालका पुराना दुई ठूला बैंक मर्ज हुनु र एकिकृत कारोबार हुँदै गर्दा धेरै सूचकाङ्कमा नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित हुनुले यसको विशेष महत्व छ । तर यति धेरै महत्वको कार्यक्रममा नेपाल राष्ट्र बैंकका अधिकारीहरु सहभागी भएनन् । औचारिक उद्घाटन समारोहमा गभर्नर, डेपुटी गभर्नर वा विभागीय प्रमुख कोही पनि सहभागी भएनन् । यसअधिका अधिकांश मर्ज तथा एक्विजिशनपछिको एकिकृत कारोबार कार्यक्रममा प्रमुख अथिति गभर्नर हुन्थ्यो । गभर्नर भन्दा पनि माथिल्लो पदमा सरकारी उच्च पदस्थ व्यक्ति प्रमुख अथिति हुँदा गभर्नर विशेष अथिति हुन्थ्यो । गभर्नर नेपाल बाहिर रहेको अवस्थामा कामु गभर्नरको रुमा डेपुटी गभर्नर यस्ता कार्याक्रममा सहभागि हुदै आएका थिए । उद्घाटन समारोहमा मुख्य अथिति मुख्य सचिव शंकर बैरागी थिए । सरकारी निकायबाट उनी मात्र सहमागी भएको थिए । नियामक निकाय धितोपत्र बोर्डका प्रतिनिधिले पनि उक्त कार्यक्रममा भाग लिएनन् । चेम्बर अर्गनाइजेश प्रतिनिधिहरुको पनि फिक्का उपस्थिति थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्ल सहभागी भएनन् । महासंघको उपाध्यक्ष रामचन्द्र संघाई, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, चेम्बरबाट उपाध्यक्ष कमलेश कुमार अग्रवाल सहभागी भए । बैंक तथा वित्तीय परिसंघकाे अध्यक्ष पवन गाेल्यान, नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय पनि सहभागी थिए । एकिकृत कार्यक्रममा राष्ट्र बैंकको नेतृत्व सहभागी नहुनुलाई धेरैले अर्थपूर्ण भनेका छन् । कार्यक्रममा सहभागीहरुले गभर्नर किन आएनन् भनेर कानेखुशी गर्दै थिए । हलमा अनेक अडकलबाजीबारे साइट टक चलिरहेको थियो । राष्ट्र बैंकका गभर्नरसहित उच्च तहको नेतृत्वलाई निम्ता भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए । राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले पनि कार्यक्रममा निम्ता भएको बताए । तर यति महत्वपूर्ण कार्यक्रम राष्ट्र बैंकले किन बहिस्कार गर्यो छ ? यस प्रश्नमा दुबै बैंकको अधिकारीहरुले प्रष्ट कुरा बताएनन् । राष्ट्र बैंकका प्रवक्ता डा. भट्टले बहिस्कार गरेको भन्न नमिल्ने बताए । ‘हामीले दुई बैंकलाई मर्जरमा जान स्वीकृत दिएको हो, दुई बैंक नियमसंगत ढंगले मर्ज भएका हुन्, त्यसमा राष्ट्र बैंकले बहिस्कार गरेको भन्ने होइन, हामी कामको व्यस्तताले गर्दा कार्यक्रममा नगएको हो,’ प्रवक्ता डा. भट्टले विकासन्युजसँग भने । रात्रीभोजमा भने डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी भएका थिए ।