माइक्रोफाइनान्सहरु माइक्रोकै ठाउँमा बस्नुस्, नाफामूलक बन्न नखोज्नुस् : डा. श्रेष्ठ
काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले माइक्रोफाइनान्सहरु माइक्रोकै ठाउँमा रहनुपर्ने बताएका छन् । मंगलबार लघुवित्त संस्थाका छाता संगठन माइक्रोफाइनान्स एशोसिएशन अफ नेपालले आगामी मौद्रिक नीतिको बारेमा छलफल कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । तरलताको अभाव भएको समयमा लघुवित्तहरुले कर्जा विस्तारभन्दा पनि गुणस्तर सुधारमा बढी जोड दिन आवश्यक रहेको उनले बताए । ‘पछिल्लो समय लघुवित्तहरुले न त कर्मचारी मोनिटरिङ गर्न सकेका छन्, न त ग्राहक नै, त्यसैले माइक्रोका जुन संस्था छन्, माइक्रो नै भएर बस्नुस्, म्याक्रो हुन खोजेर काम छैन, माइक्रोमै बसेर गुणस्तर सुधार गर्नुस्, अहिले एकदमै राम्रो अवसर छ,’ उनले भने । राष्ट्र बैंकको प्रतिनिधिको रुपमा कार्यक्रममा बोल्दै उनले ग्राहकले जुन कामको लागि कर्जा लिएका छन्, त्यसमा प्रयोग भएको छ की छैन भनेर मोनिटरिङ गर्न समेत उनले सञ्चालित सबै लघुवित्तहरुलाई आग्रह गरे । लघुवित्तहरुमा अहिले गुणस्तर नभएको, कर्मचारीहरु सक्षम नभएका, मापदण्डहरु पालना नगरेका जस्ता समस्याहरु छन् । ‘लघुवित्तहरुले कर्जा विस्तार गर्न पाएनौं, क्षेत्र विस्तार गर्न पाएनौं, कार्य क्षेत्र विस्तार गर्न पाएनौं भनेर चिन्ता व्यक्त गर्ने लघुवित्तहरुले यो समय अवसरको रुपमा सदुपयोग गर्न सक्नेछन्, तलरता छैन, विस्तार नगर्ने, तर गुणस्तर सुधार गर्ने’ उनले बताए । अहिलेको आर्थिक अवस्थाको बारेमा अवगत गराउँदै उनले हाल बाह्य क्षेत्रमा दवाव रहेको, विदेशी विनिमय सञ्चिति घट्दै गएको बताए । तर बैशाखको भन्दा जेठ महिनामा भने सुधार हुँदै गएको र आउने दिनमा यसले निरन्तरतामा पाउनेमा उनी आशावादी छन् । पछिल्लो समय विदेशी विनिमय सञ्चितिमा कमी आएको छ । त्यसैको कारणले बैंकिङ्ग प्रणालीमा तरलताको अभाव भएकोले यसमा बैकिङ प्रणालीकै रिसोर्स प्रयोग गर्ने माइक्रोफाइनान्स पनि यसबाट अछुतो रहन सकेको छैन । यो अवस्थामा समय अनुसार चल्न लघुवित्तहरुलाई राष्ट्र बैंकको आग्रह छ । साथै, शोधानान्तर घाटाले गर्दा राष्ट्र बैंकसँग भएको रिजर्भ घटेकोले तरलता अभाव भएको हो । राष्ट्र बैंकले अहिले पनि बैंकिङ्ग प्रणालीमा करिब साढे ३ खर्ब रुपैयाँ बराबरको तरलता प्रभाव गरिरहेको छ । त्यसले पनि नपुगेको अवस्थामा थप दिँदै गयो भने शोधानान्तर घाटा बढ्ने स्थिति रहेको छ । जुन अहिलेकै मूख्य चुनौति रहेको श्रेष्ठले बताए । ‘अहिले माइक्रोफाइनान्सको कर्जा विस्तार प्रमुख समस्या हो की, घट्दै गएको विदेशी विनिमय सञ्चिति जोगाउने हो ?’ उनले उल्टै प्रश्न गर्दै भने, ‘हाम्रो प्राथमिकता जे हो त्यसमै फोकस हुनुपर्छ, त्यसैले यो वर्ष तरलता पाइएन, कर्जा विस्तार गर्न पाइएन भनेर गुनासो नगरिदिनुस् ।’ अर्थतन्त्रको इकोसिष्टम हुन्छ । त्यसमा अप एण्ड डाउन भइरहन्छ । पछिल्लो समय राष्ट्र बैंक बाधिएको छ । तरलता दिन चाहँदा चाहँदै पनि दिन सक्ने अवस्थामा नरहेको बताउँदै लघुवित्तहरुलाई तरलताको आश नगर्न समेत श्रेष्ठले आग्रह गरे । ‘हिजोको दिनमा तरलता फालाफाल थियो, सजिलै पाउनु भएको थियो, त्यो बेला प्रयोग पनि गर्नु भयो, नाफा पनि लिनुभयो, तर यो पटक त्यो अवस्था छैन, आश नगर्नुस्,’ उनले थप प्रष्ट पार्दै भने । राष्ट्र बैंकलाई लघुवित्तको समस्याको बारेमा जानकारी हुँदा हुँदै पनि अहिले राष्ट्र बैंकले समस्या समाधान गर्न नसकेको स्वीकार गर्दै कतिपय समस्याहरु संस्था आफै सुधार गर्न लाग्नुपर्ने छ । राष्ट्र बैंकले झण्डै तीन दशकभन्दा बढी लघुवित्तहरुलाई प्रमोट गर्दै आएको छ । यो अवधिमा व्यापार घाटा झन् बढेकै छ । उद्यमशीलता बढेको छैन । यो अवधिमा यतिका संख्यामा रहेका लघुवित्तहरुको मिहिनेतमा प्रश्न चिन्ह लागेको समेत बताए । माइक्रोफाइनान्स कमर्शियल बैंकहरुभन्दा फरक रहेकोले यसलाई सोसियल बिजनेशको रुपमा लिनुपर्ने हुन्छ । तर पछिल्लो समय यसलाई नाफामूलक क्षेत्रको रुपमा लिन खोज्दा समस्या भएको डा. श्रेष्ठ बताउँछन् । ‘लघुवित्तहरु नाफामूलक क्षेत्रको रुपमा लिन खोज्दा समस्या आएको छ, माइक्रोफाइनान्सका जति समस्या छन्, त्यो ब्यालेन्स सिटसँगसँगै सेयर मूल्यमा पनि प्रभाव भयो भने बल्ल यो क्षेत्रलाई समस्या परेछ भनेर पत्याउँछन्, त्यसपछि मात्रै पोलिसी लेभलसम्म पुग्छ,’ उनले थप प्रष्टाउँदै भने । साथै, बजारमा समस्या धेरै भएको र त्यसमध्ये कुनलाई बढी फोकस गर्नेमा राष्ट्र बैंक लगायत सबै वित्तीय संस्थाहरु केन्द्रित हुनुपर्ने छ ।
अर्थ मन्त्रालयसँग सम्बन्धित कागजात र विवरण माग्ने संसदीय छानबिन समितिको निर्णय
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधवार अर्थ मन्त्रालयसँग जनार्दन शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरणको लागि पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताए । उनले आजको बैठकले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको पनि बताए । उनका अनुसार सचिव अर्यालले सर्वसहमतिबाट सभापति छान्न सदस्यहरूले आन्तरिक छलफल गर्ने विषयमा छलफल भएको छ । उक्त समितिको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले गरेका थिए । पूर्व अर्थमन्त्री शर्माले अर्थमन्त्री हुँदा २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यी संसदीय विषेश छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । संसदीय छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य रहनुभएको छ भने समितिमा नेपाली काँग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा रहेका छन् । छानबिन समितिले पहिलो बैठक बसेको १० दिनभित्र रिपोर्ट तयार पारिसक्नुपर्नेछ ।
आयकर बुझाउन विभागको ताकेता
काठमाडौं । आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ । विभागले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो । विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आय वर्ष २०७८र७९ को आयकरको किस्ता रकम असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित राजस्वरकरदाता सेवा कार्यालयमा दाखिला गर्न आग्रह गरेको हो ।
सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई भौतिक कार्डको आवश्यक नपर्ने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झाैता भएकाे छ । बैंक र वालेटबीच भिसा डेबिट र क्रेडिट कार्डवाहकहरुले क्युआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको हाे । यस सम्झाैता पश्चात बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्युआरहरुमा प्रयोग गर्न मिल्ने छ । मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता नपर्ने बैंकले जनाएकाे छ । क्रेडिट कार्डवाहकहरुले समेत क्युआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुने बैंकले जनाएकाे छ । उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ
अर्थमन्त्रीको छानविनका लागि कार्यविधि पारित, सभापति भने चयन हुन सकेन
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि बजेट बनाउँदा करको दरमा हेरफेर गरेको विषयमा छानविन गर्नको कार्यविधि पारित भएको छ । शर्माको छानविनको लागि गठन भएको विशेष समितिको सोमबार बसेको बैठकले छानविन प्रकृयाको लागि कार्यविधि पारित गरेको हो । कार्यविधि पारित भएतापनि सर्वसम्मतीको अभावमा सभापति भने चयन हुन सकेन । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा दिउँसो १ बजेबाट बसेको बैठकले कार्यविधि पारित गर्दै सकेसम्म सर्वसम्मतीको प्रकृयाबाट सभापति चयन गर्ने निर्णय गरेको समितिका सचिव सुरेन्द्र अर्यालले सञ्चार माध्यमलाई बताएका छन् । अर्को बैठक बुधबार दिउँसो बस्ने जनाइएको छ ।
कमलरी र हरवाचरवाको समस्या समाधानको लागि कार्ययोजना बनाइने
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या दिगो समाधानको लागि मन्त्रालयले कार्य योजनानै बनाएर अघि बढ्ने बताएकी छिन् । उक्त समस्या समाधानको लागि आज सरोकारवाला निकायसँगको छलफलमा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमासमेत यस विषयलाई प्राथमिकतामा राखिएको बताइन् । कमलरी र हरवाचरवाको समस्या समाधानका विषयमा छलफल गरेर तीनै तहमा समन्वयका लागि पहल सुरु गरिसकेको भन्दै उनले केन्द्रीय तहमा सरोकारवाला मन्त्रालयसँगको छलफल अगाडि बढाइएको जानकारी दिइन् । हलिया र कमैया कमलरीमुक्त भइसकेको र कमैया श्रम (निषेध गर्ने) ऐन कार्यान्वयनमा रहेको अवस्थामा यसको प्रभावकरी कार्यान्वयन गरेर हरवाचरवाको समस्या समाधान गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिइन् । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलगायत हरवाचरवाको अध्ययन समितिका पदाधिकारी र प्रतिनिधिको उपस्थिति रहेको थियो ।
पशु सेवा विभागका निर्देशकसहित सात जनाविरुद्ध ४७ लाखको भ्रष्टाचार मुद्धा
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु सेवा विभाग पशुपन्छी बजार निर्देशनालय हरिहरभवनका कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका–१० जिरीखिम्ती माझगाँउमा पशुहाट निर्माणमा संलग्नले ४७ लाख ३७ हजार ६२९ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ । आयोगले कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाई, वरिष्ठ पशु चिकित्सक पूर्जा शर्मा, किराँत याकथुम चुम्लुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशमाुर लिम्बू, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेशबहादुर सोदेम्बाले पशुहाट निर्माणमा अनियमितता गरेको पाइएको छ । त्यस्तै, परामर्शदाता कम्पनीका सञ्चालक रोशन भट्टराईविरुद्ध पनि आयोगले मुद्दा दर्ता गरेको छ । त्यस्तै, आयोगले सर्लाहीको साविक सलेमपुरका विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाविस सचिव ध्रुवनारायण झाले सात लाख ७१ हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । त्यस्तै, आयोगले पर्साको साविक भेडिहारीमा रहेको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्याकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयमा विभिन्न शीर्षकमा प्राप्त भएको ११ लाख ९५ हजार बराबरको रकम हिनामिना गरेको अभियोगमा अध्यक्ष कन्हैया साह कानु, प्रअ रामवचन प्रसाद र समिति सदस्य रामचन्द्र साह कानुविरुद्ध मुद्दा दायर गरेको हो ।
याडियाको विद्युतीय स्कुटरको सोरुमा पुल्चोकमा, नगद छुटका साथै एक्स्चेन्जको सुविधा
ललितपुर । इको बिज इन्टरनेशनल प्रालिले ‘याडिया’ ब्राण्डको विद्युतीय स्कुटर ललितपुर क्षेत्रका ग्राहकलाई लक्षित गरी बिक्री सुरु गरेको छ । चीनमा बनेको अन्तराष्ट्रिय गुणस्तरको याडिया स्कुटर असार २४ गतेदेखि पुल्चोकको सोरुममा उपलब्ध भएको हो । कम्पनीले याडिया ब्राण्डको ‘एस लाइक’, ‘जि फाइभ’ र ‘सि वान एस’ गरि जम्मा तीनवटा मोडल बिक्रि गरिरहेको छ । उद्घाटन कार्यक्रमलाई लक्षित गरी भारी नगद छुटको समेत व्यवस्था गरिनुका साथै एक्स्चेन्जको सुविधा पनि रहेको कम्पनीका अध्यक्ष रबिन्द्र महर्जनले जानकारी दिए । आगामी दिनमा कम्पनीले सर्भिसिङ्ग सेन्टर पनि सञ्चालनमा ल्याउने उद्देश्य लिएको छ । इको बिज कम्पनीले सोही स्थानमा कम्प्यूटर, ल्यापटप लगायत सूचना प्रविधिका सम्पूर्ण सामग्रीहरू बिक्रि, मर्मत तथा सेवा प्रदान गर्ने उद्देश्य सहित एलायन्स इन्फोटेक प्रालिको नामबाट शोरुम र सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।