विकासन्युज

रिलायन्स र सानिमा लाइफ मर्ज हुने, स्वाप रेसियो बराबर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने भएका छन् । सो सम्बन्धमा दुई कम्पनीले असार २९ गते बिहान ८ बजे प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका हुन् । दायित्व तथा सम्पत्ति मुल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमती गरिएको इन्स्योरेन्सले जानकारी गराएको छ । हाल सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । १ः१ को अनुपातमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ नाघ्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । समितिले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ । यससँगै दोश्रो बजारमा दुबै कम्पनीको सेयर कारोबार रोक्का भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्चेञ्जले आज असार २९ गतेदेखि नै दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । यससँगै उक्त प्रकृया सकिएपछि मात्रै कम्पनीको सेयर कारोबार फुकुवा हुनेछ । उक्त समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो ।

सेयर लगानीकर्ता डुब्ने अवस्था रोकौं, सीडी रेसियो ९२.५ प्रतिशतसम्म कायम गरौं : उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार परिसंघले सुझाव दिँदै विद्यमान आर्थिक अवस्थालाई ध्यानमा राखेर अर्थतन्त्र चलायमान गराउने नीति लिन आग्रह गरेको हो । लगानीयोग्य तरलताको अभाव, भुक्तानी सन्तुलन, विश्व भू-राजनीति र मूल्यबृद्धि, मुद्रास्फिति उन्मुख अवस्था, औद्योगिकरण, निर्यात प्रबद्र्धन तथा आयात प्रतिस्थापन र खुम्चिदो समग्र माग अर्थतन्त्रका विद्यमान चुनौती रहेको छ । अर्थतन्त्रका यस्ता चुनौती सामान गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने गरी परिसंघले सुझाव दिएको छ । परिसंघले तरलताको राम्रो व्यवस्थापन, विदेशी मुद्रा नेपालमा भित्र्याउने एवं लगानीलाई उत्पादनशील र प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशित गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । विकास खर्च समयमा नहुने, अन्तर्राष्ट्रिय बजारमा इन्धन एवं कमोडिटीहरुको मूल्यबृद्धि, कोडिभ-१९ ले आपूर्ती श्रृङ्खलामा ल्याएको अवरोधका कारण अर्थतन्त्र खुम्चिन पुग्यो । जसका कारण हालको समग्र मागमा समेत संकुचन आयो । तर, पछिल्लो ६ महिनादेखि विदेशी मुद्रा संचितीको घट्ने दरमा सुधार आएको छ भने पछिल्लो महिनामा यो बढेको छ । यसैगरी शोधनान्तरस्थितीमा पनि सुधार आउँदै गरेको देखिन्छ । त्यसैगरी पर्यटन तथा विप्रेषण आयमा क्रमिक सुधार भएको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो क्रममा छ । यसले नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास छ । त्यसैले आगामी आर्थिक वर्षमा नेपालको आयात, भुक्तानी सन्तुलन, विदेशी मुद्रा संचिती जस्ता बाह्य क्षेत्रमा सुधार हुने संकेत देखिएकोले समग्र मागमा संकुचन नआउने गरी मौद्रिक नीति ल्याउन परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आग्रह गरे । उनले हालको तरलता तथा विदेशी विनिमय संचितीको समस्या समाधानका लागि विदेशी संस्थागत लगानीकर्ताको निक्षेप बैंकमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिए । साथै ब्लेन्डेड फाइनान्स तथा हेजिङका लागि नियमावली बनाइनु पर्ने तथा उत्पादनमुलक उद्योग तथा पूर्वाधारको क्षेत्रमा लगानी संकलन गर्न लामो समयावधिका ग्रिन बोण्ड (हरित कोष) जस्ता ऋण उपकरणहरु राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा निस्कासन गरी पुंजी संकलन तथा परिचालन गर्न आवश्यक सहजीकरण र प्रोत्साहन गरिनुपर्ने सुझाव दिए । हाल अर्थतन्त्रको आधिकांश क्षेत्रमा मागमा कमी आएको छ । मागमा आएको कमिका कारण उद्योग व्यवसायको आयमा नकारात्मक प्रभाव पर्ने र यसले गर्दा बैंक तथा वित्तीय संस्थाको एनपीए बढ्नुका साथै लगानीलाई थप संकुचित बनाउनेछ, यसतर्फ राष्ट्र बैंक सचेत बन्नुपर्नेछ । त्यसैले परिसंघले बैंक तथा वित्तीय संस्थाहरुलाई समेत मर्का नपर्ने गरी नीति ल्याउन आग्रह गरेको छ । नेपालको आर्थिक गतिविधिमा विगतमा भन्दा धेरै परिवर्तन भइसकेको परिप्रेक्षमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत परम्परागत बैंकिङ प्रणालीमा संरचनागत सुधार गर्दै विशिष्टिकृत तथा प्रतिस्पर्धात्मक बैंकिङ प्रणाली अवलम्बन गर्न आवश्यक रहेको छ । यसका लागि धितोमा आधारित कर्जा प्रवाह गर्ने परिपाटीलाई परियोजनामा आधारित कर्जा प्रवाहमा लैजाँदा नवप्रवर्तन तथा उद्यमशीलता विकास गरी स्वरोजगारी एवं रोजगारी सिर्जनामा योगदान पुग्ने परिसंघको विश्वास छ । त्यस्तै धितोरहित उत्पादनमुलक नयाँ तथा साना मझौला उद्योगलाई प्रवर्द्धन गर्न १० अर्ब रुपैयाँको ‘उत्पादनमुलक तथा सेवा क्षेत्र प्रवर्द्धन लगानी कोष’ बनाई निश्चित सरकारी जमानतमा नयाँ, साना तथा मझ्यौला उद्योगमा विना धितो कर्जा प्रवाह गर्ने कार्यक्रम ल्याउन परिसंघले सुझाव दिएको छ । सरकारले तोकेको आर्थिक वृद्धि हासील गर्न ठुलो लगानी आवश्यक पर्ने र सो लगानी पूर्ति गर्न कर्जा प्रवाह व्यापक रुपले बढाउनु पर्ने अवस्था रहेकोले सीडी रेसियोलाई ९२.५ कायम गर्ने गरिनु पर्ने हाम्रो सुझाव छ । यस्तै सरकारी कारोबार गर्ने इजाजत प्राप्त “क “ वर्गका वाणिज्य बैंकहरूलाई २०७८ पुस १९ गतेगते जारी गरिएको परिपत्रमा ‘स्थानीय तहको संचित कोषमा भएको मौज्दात रकमको ८० प्रतिशतसम्म आयात तथा व्यापारिक क्षेत्र बाहेक उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरि २०७९ असार मसान्त सम्मका लागि मात्र वाणिज्य बैंकहरूले निक्षेपको रुपमा गणना गर्न पाउने’ व्यवस्थालाई हालको तरलता समस्यालाई मध्यनजर गर्दै २०८० असार मसान्तसम्म गणना गर्न पाउने व्यवस्था गर्नुपर्ने व्यवस्था कायम गरिनु पर्दछ । त्यस्तै, प्रदेश सरकारको संचित कोषको ५० प्रतिशत तथा केन्द्र सरकारको संचित कोषको २५ देखि ३० प्रतिशत वचतलाई सीडी रेसियोमा गणना गर्न दिने व्यवस्था कायम गर्न पहल गरिनु पर्दछ । यसले अर्थतन्त्रमा आवश्यक तरलता थप हुने पसिंघको विश्वास छ । नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं १६ (५) को ३ को व्यवस्था २०८० असारबाट मात्र लागू गरिनु पर्दछ । बैंकिङ प्रणाली भन्दा बाहिर रहेको रकमलाई बैंकिङ प्रणालीमा ल्याउन ‘नेपाल विकास पत्र’, गोल्ड बन्ड जस्ता वियरर बोण्ड जारी गर्दै यस्ता बोण्डहरू मुद्रा बजारमा कारोवार गर्ने अनुमति उपलब्ध गराउनुपर्ने परिसंघको सुझाव छ । राष्ट्र बैंकले तयार गरेको वर्किङ क्यापिटल गाइडलाइन हालको बिषम परिस्थितिमा कार्यान्वयनमा ल्याउँदा उद्योग/व्यवसायमा थप नकारात्मक असर पर्ने हुदाँ यस निर्देशिकालाई हालको लागी स्थगित गर्नुपर्ने सुझाव छ । परिसंघका अध्यक्ष अग्रवालले सेयर लगानीकर्ताको विषयलाई आगामी मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले सेयर बजारमा ठूला लगानीकर्ता मात्रै होइन साना लगानीकर्ता पनि डुब्ने अवस्थालाई रोक्न राष्ट्र बैंकले सहजिकरण गर्न आग्रह गरे । उनले नेपाल राष्ट्र बैंकको संचालक समितिमा निजी क्षेत्रको प्रतिनिधित्वका लागि पनि आग्रह गरेका छन् । परिसंघको सुझाव ग्रहण गर्दै गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले उद्योगलाई सहजीकरण गर्दै आएको भन्दै औद्योगिक उत्पादन बढाउने गरी नीति अबलम्बन गर्ने आश्वासन दिए ।

सर्किट ब्रेकको पखाईमा सिभिल बैंकको सेयर, २१६ रूपैयाँसम्म पुग्न सक्ने

काठमाडौं । मंगलबार हिमालयन बैंकको अन्तिम सेयर प्रतिकित्ता २९९ रुपैयाँका दरले किनबेच भयो । सिभिल बैंकको सेयर प्रतिकित्ता १९६ रुपैयाँमा किनबेच भयो । दुई बैंकको सेयर मूल्य अन्तर प्रतिकित्ता १०३ रुपैयाँ छ । हिमालयन बैंकसँगको तुलनामा सिभिलको सेयर मूल्य ३४.४४ प्रतिशत कम छ । सम्बद्ध बैंक स्रोतका अनुसार हिमालयन र सिभिल बैंकबीच आपसमा मर्ज हुने सहमति भएको छ । सहमतिमा हस्ताक्षर र सार्वजनिक गर्ने कार्यक्रम आजै साँझपखको लागि तय भएको छ । मर्जको स्वाप रेसियो ८१ रुपैयाँ नै तय भएको छ । त्यो भनेको हिमालयन बैंकको तुलनामा सिभिल बैंकले १९ प्रतिशत कम मूल्य पाउनु हो । स्वाप रेसियोलाई आधार मान्दा हिजोको सेयर मूल्य हिमालयन बैंकको तुलनामा सिभिल बैंकको १५.४४ प्रतिशतले कम छ । १५.४४ प्रतिशतले सिभिल बैंकको सेयर मूल्य वृद्धि हुने हो भने प्रतिकित्ता २२६ रुपैयाँ हुन्छ । स्वाप रेसियोसँग बराबरी हुन आजै सिभिल बैंकको सेयर प्रतिकित्ता ३० रुपैयाँले बढ्नुपर्छ, हिमालयन बैंकको मूल्य घटेन भने । तर आज एकै दिन सिभिल बैंकको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँसम्मले बढ्न सक्दैन । एकैदिन बढीमा १० प्रतिशत मात्र सेयर मूल्य बढ्न पाउने नियम छ । त्यसैले आज सिभिल बैंकको सेयर मूल्य सर्किटब्रेक लागेर २१६ रुपैयाँमा कारोबार बन्द हुनसक्छ । मर्जबारे प्रकाशित समाचारका आधारमा सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्जले हिमालयन र सिभिल दुबै बैंकको सेयर कारोबार आजैदेखि रोक्का गरिदिन पनि सक्छ । सम्बन्धित समाचार हिमालयन र सिभिल बैंकबीच मर्ज गर्न सहमति

झापामा स्थापना भयो सुपारी प्रशोधन उद्योग, रोजगारी र आम्दानी दुबै बढ्ने

झापा । सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार सुपारी जोन क्षेत्रका कृषकले आम्दानी बढाउन सकिने कदम चाल्न आग्रह गरेका छन् । परियोजनाले चालु आर्थिक वर्ष २०७८/७९ मा सुपारी किसानलाई उत्पादन र बजारीकरणमा सहज तुल्याउने उद्देश्यले प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा सहकारी र व्यक्तिले सञ्चालन गरेको उद्योगमा लगानी गरेको कार्यालय प्रमुख रवीन्द्र सुवेदीले बताए । झापामा २०७५ साउनदेखि सञ्चालनमा आएको सुपारी जोन कार्यक्रमपछि किसान उत्साहित छन् । जोनमा समावेश गरिएको सुपारी बालीमा पूर्वाधार विकास, व्यवसायीकरण एवं प्रशोधनतर्फ केन्द्रित रहेर परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ लाई समेट्ने गरी ७८८ हेक्टर जमिनमा सुपारी जोन कार्यक्रम सञ्चालन गरेको सुवेदी बताउँछन् । चालु आवमा सुपारी जोनअन्तर्गत दुई सुपारी प्रशोधन उद्योग र दुई सुपारीको पातबाट दुनाटपरी बनाउने उद्योगलाई ५० प्रतिशत अनुदान रहने गरी रु ८० लाख अनुदान उपलब्ध गराइएको उनले जानकारी दिए । विगत ३० वर्षदेखि सुपारी खेती गर्दै आएका मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका केदार रिजाल सुपारी प्रशोधन उद्योग सञ्चालनमा आएसँगै खुसी छन् । उनले परियोजनाको रु २० लाख तथा आफ्नो रु २० लाख लगानीमा सुपारी प्रशोधन उद्योग स्थापना गरेका छन् । उनलाई परियोजनाले सुपारीको बोक्रा छोडाउने मेसिन, प्याकेजिङ, कटिङ मेसिन खरिद र गोदाम घर निर्माणका लागि अनुदान उपलब्ध गराएको छ । आफूले मात्र होइन स्थानीयले उत्पादन गरेको सुपारी खरिद गरी प्रशोधन गरेर बजीकरण गर्ने गरेको रिजालले बताए । ‘यो अनुदानले राहत मिलेको छ’, उनले भने, ‘अब आधुनिक किसिमले प्रशोधन गर्दा जनशक्ति कम लाग्ने र काम गर्न सजिलो भएको छ ।’ खरिद बिक्री केन्द्र सञ्चालन गर्दै आएका रिजालले मेसिनको सहयोगमा एक घण्टामा १० क्विन्टल सुपारी छोडाउने गरेको बताए । परियोजनाले बुद्धशान्ति गाउँपालिका-१ स्थित श्री कृष्ण सुपारी सहकारीलाई रु २० लाख ५० प्रतिशत अनुदान सहयोग प्रदान गरेको छ । यो जिल्लाकै ठूलो सुपारी प्रशोधन उद्योग हो । सुपारी जोनका अध्यक्ष निलकण्ठ तिवारीका अनुसार जिल्लामा करिब दुई हजार ७०० हेक्टर जमिनमा सुपारी खेती हुँदै आएको छ । सुपारी जोन कार्यक्रमपछि उत्पादन बढेको छ । किसानले नयाँ प्रविधिबारे ज्ञान हासिल गरेका छन् । यसअघि सरकारले सुपारी जोनका लागि बजेट नछुट्याउँदा काम गर्न नसकिएको तिवारी बताउँछन् । सुपारी जोनका लागि सङ्घीय सरकारसँग रु सात करोड बजेट माग गरेको अध्यक्ष तिवारीले बताए । सुपारी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन पहल गर्नुपर्ने उनको भनाइ छ । रासस

हिमालयन र सिभिल बैंकबीच मर्ज गर्न सहमति

काठमाडौं । चार महिना लामो प्रयासपछि हिमालयन बैंक र सिभिल बैंकबीच मर्जमा जाने सहमति जुटेको छ । मर्जमा सेयर स्वाप रेसियो १००ः८१ हुने भएको छ । मर्जपछि १०० कित्ता सेयर हुने सिभिल बैंकका लगानीकर्ताले हिमालयन बैंकको ८१ कित्ता सेयर पाउने छन् । मर्जपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ । सञ्चालक समिति पनि हिमालयन बैंकको सञ्चालक समितिले हाललाई निरन्तरता पाउने छन् । प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक समशेर राणाले नै निरन्तरता पाउने भएका छन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई राणापछिको महत्वपूर्ण भूमिका दिने सहमति भएको छ । हिमालयन बैंकमा मर्ज हुँदा सिभिल बैंकका स्थायी कर्मचारीहरूकाे पद र सेवा सुविधा दुबै नघट्ने गरि समझदारी भएको छ । याे विषयमा सहमति जुट्न धेरै समय लागेकाे थियाे । सिभिल बैंकको उच्च व्यवस्थापीय भूमिकामा रहेका नायब प्रमुख कार्यकारी अधिकृत सचिन रायमाझि र कर्जा व्यवसाय प्रमुख सुमन आचार्यलाई आपसी समझदारीमा जिम्मेवारी तोक्ने सहमति भएको छ । मर्जको बीचमा अन्य विषयमा विवाद भएमा समाधान गर्ने जिम्मेवारी संयुक्त मर्जर कमिटिलाई तोकिएको छ । समझदारी भएका सबै विषयलाई दुबै बैंकका सञ्चालक समितिले हिजो साँझ अनुमोदन गरेका छन् । आज (बुधबार) साँझ दुई बैंकबीच मर्जरबारे समझौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको समाचार स्राेतले बतायाे ।

सनराइज बैंकले गर्यो निःशुल्क स्तन तथा पाठेघर चेकजाँच शिविर

काठमाडौं । सनराइज बैंकको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतना अभिवृद्धि गर्ने तथा संभावित रोग समयमै पहिचान गरि जोखिम न्यूनीकरण गर्ने उद्देश्यले दुई दिने कार्यक्रम गरिएको भक्तपुर शाखा प्रबन्धक नीरज अमात्यले जानकारी दिए । असार २३ र २५ गते दुई दिन चलेको उक्त अन्तरक्रिया तथा स्तन र पाठेघर परीक्षण शिविरमा करिब १२० जना स्थानीय महिला सहभागी भएकाे उनले जानकारी दिए । सो स्वास्थ्य जाँचपछि निःशुल्क औषधी पनि वितरण गरिएको उनले बताए । बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप १० हजारसम्म र अस्पताल भर्ना र इएम् खर्च गरी १ लाख सम्म बीमा बापतको रकम समेत दिदै आएको छ ।

भरतपुरका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता

चितवन । भरतपुर महानगरपालिकाको सहयोगमा यहाँका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन सुरु गरिएको छ । महानगरले उपलब्ध गराएको २० लाखको अक्षयकोषबाट भत्ता दिन सुरु गरिएको हो । सो कोषमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाले एक लाख थप गरी भत्ता वितरण थालिएको हो । कोषका लागि भरतपुर महानगरपालिकाले आज एक समारोहकाबीच रकम हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले महासङ्घका अध्यक्ष नारायण अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । महासङ्घले कोषमा जम्मा गर्नुपर्ने रकमबाट गत वैशाखदेखि असारसम्म तीन महिनाको चार जना पत्रकारलाई मासिक चार हजारका दरले हुन आउने १२ हजार जनही वितरण गरिएको छ । योग्यता पुगेका एक जना नेपाल बाहिर रहेकाले पछि सो रकम हस्तान्तरण गरिने महासङ्घले जनाएको छ । महासङ्घ र महानगरपालिका मिलेर भरतपुर महानगर ज्येष्ठ पत्रकार निवृत्तिभरण कार्यान्वयन कार्यविधि २०७८ बनाई सो कार्यविधिअनुसार कोष स्थापना गरी प्राप्त व्याजबाट भत्ता वितरण सुरु गरिएको हो । कार्यविधि बनाएर काम अघि बढाएको महानगरले जनाएको छ । लाभग्राही पत्रकार थपिएसँगै स्वतः महानगर र महासङ्घले कोषमा रकम थप गर्ने गरी कार्यविधि बनाइएको छ । कोष सञ्चालनका लागि महासङ्घका पदाधिकारी र महानगरका कर्मचारी रहेको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । रकम हस्तान्तरण गर्दै प्रमुख दाहालले महासङ्घसँग सहकार्य विगतमा झै आगामी दिनमा पनि गर्दै जाने बताइन् । उमेर घटाउने र कोषलाई वृद्धि गर्दै लग्ने विषयमा महानगरले छलफल गर्ने उनको भनाइ छ । उनले नेपालमानै पहिलोपटक पत्रकारिता क्षेत्रमा नमूना कार्य गरिएको बताइन् । महासङ्घले अघि बढाएको पत्रकार तालिम केन्द्रका लागि महानगरले दुई कठ्ठा जमिन संरक्षणका लागि दिएको भन्दै उनले तालिम केन्द्रका लागि आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । यससँगै लेखनवृत्ति, क्षमता अभिवृद्धिलगायतका कार्यमा महानगरले सहकार्य गर्ने उनको भनाइ छ । प्रमुख भएसँगै अघिल्लो कार्यकालमा पत्रकारिता क्षेत्रलाई प्रवद्र्धन हुने गरी विभिन्न कार्यक्रम अघि बढाएको उनले बताइन् । यस कार्यकालमा पनि महासङ्घका प्रस्तावलाई सम्बोधन गरिने उनले जानकारी दिइन् । सोही अवसरमा उपप्रमुख चित्रसेन अधिकारीले नेपालमै महानगरले महासङ्घसँग सहकार्य गरेर अनुकरणीय काम अघि बढाएको बताए । यसबाट दुई संस्थाबीचको सहकार्य थप मजबुत हुने उनको भनाइ छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले महानगरले सबै प्रक्रिया पूरा गरेर महासङ्घसँग सहकार्य गरी भत्ता वितरण कार्यका लागि कोषमा जम्मा हुने गरी रकम वितरण गरेको बताए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्यालले देशमानै नमूना काम यहाँको महासङ्घ र महानगरले गरेको भन्दै प्रशंसा गरे । महासङ्घका अध्यक्ष अधिकारीले संस्थागतरुपमा महासङ्घबाट आएका प्रस्ताव अहिलेसम्म फर्किनु नपरेको भन्दै अब अगाडि सारिएका आयोजनामा सहकार्य गरिदिन आग्रह गरे । सोही अवसरमा ६० वर्ष कटेका ज्येष्ठ पत्रकार रेशम वीरही, डिल्लिराम पोख्रेल, मोहोन पोख्रेल र महेन्द्रराज श्रेष्ठलाई तीन महिनाको निवृत्तिभरण रकमबापत १२ हजारका दरले चेक हस्तान्तरण गरिएको थियो । निवृत्तिभरण रकम बुझेसँगै वीरहीले पत्रकारको योगदान हालसम्म राज्यले गर्न नसकेको बताए । साे कार्यको थालनी महत्वपूर्ण भएको उनले बताए । भत्ता वितरण कार्यविधिअनुसार महिला, दलित, अपाङ्ग र अल्पसङ्ख्यकका लागि ५५ वर्ष र अन्यको हकमा ६० वर्ष कटेका र २० वर्ष पत्रकारिता गरेका पत्रकारलाई यो कोषबाट भत्ता वितरण गर्ने व्यवस्था रहेको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता पाउनयोग्य उमेर भएपछि यो कोषबाट भत्ता पाइने छैन । यससँगै नेपाल सरकारका कुनै पनि निकायका नियमित सुविधा लिनेलाई कोषमा समावेश गरिने छैन ।

काठमाडौं उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले उक्त कार्य नमूना परियोजनाका रुपमा काठमाडौँ उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर आजदेखि सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट www.election.gov.np मा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (हाललाई काठमाडौं उपत्यकाका तीन जिल्ला) मा अनलाइनबाटै पेश गर्न सकिनेछ । सोपश्चात् अनलाइन फाराममा उल्लिखित सङ्केत नंसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलबाट आज जारी विज्ञप्तिमा जनाइएको छ ।