विकासन्युज

श्रीलंकामा संकटकाल घोषणा, पश्चिमी प्रान्तमा कर्फ्यु

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । बुधबार प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । यस्तै सरकारले श्रीलंकाको पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् ।

आर्थिक दृष्टिकोणबाट मुलुकको अवस्था गम्भीर छः मन्त्री बडू

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको अपेक्षाअनुसार निर्यात बढ्न नसकेको बताए । मन्त्री बडूले व्यापारघाटा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै नीति र कार्यक्रम र बजेटमा पनि अर्थतन्त्रको अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढ्दो आयातलाई व्यवस्थापन गर्ने काममा सरकार लागेको बताए ‘मुलुकको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँड्नुपर्ने अवस्था छ । आयात बढीरहेको छ । अपेक्षाअनुसार निर्यात बढ्न सकेको छैन । प्रयत्नहरु धेरै भइरहेको छ । व्यापारघाटा बढ्दो अवस्थामा छ । राष्ट्रिय उत्पादन र उपभोग बढाउन सक्यौँ भने आयातलाई केही व्यवस्थापन गर्नसक्छौँ,’ उनले भने ।  

विद्यासुन्दरले मिलेमतोमा गरेको स्मार्ट पार्किङ ठेक्का रद्द गर्दै बालेन, महानगरलाई २८ करोड घाटा

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङमा गरेको ठेक्का सम्झौता खारेज गर्ने भएको छ । महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले मिलेमतोमा स्मार्ट पार्किङको सम्झौता गरेको भन्दै महानगरले सो सम्झौता रद्द गर्ने भएको हो । तत्कालीन मेयर शाक्यले बिनाप्रतिस्पर्धा मार्फत् स्मार्ट पार्किङको ठेक्का दिइएको र त्यसको अधिक लाभ निश्चित व्यक्तिले लिएको भन्दै मेयर बालेन्द्र शाह (बालेन)ले सो सम्झौतालाई रद्द गर्ने तयारी गरेका हुन् । ‘पार्किङमार्फत् महानगरलाई बुझाउनेभन्दा धेरै पैसा उठाउने काम भएको बुझिएको छ’, त्यसैले मेयर शाहले पार्किङको ठेक्कालाई रद्द गरेर नयाँ ढंगले अगाडि बढ्ने भन्नुभएको छ,’ महानगर स्रोतले भन्यो । तत्कालीन मेयर शाक्यले ०७६ साल बैशाखमा स्मार्ट पार्किङको नाममा व्हिल्स ट्रुली कम्पनीलाई पार्किङ गरेको शुल्क उठाउने जिम्मा दिएका थिए । सो कम्पनीका सञ्चालक शैलेश कुँवर हुन् । त्यतिबेला महानगरको प्रशासकीय अधिकृत केदार न्यौपाने थिए । ०७८ चैत महिनासम्म सो कम्पनीले महानगरपालिकालाई पार्किङ शुल्क बापत जम्मा १ करोड २० लाख मात्रै बुझाएको छ । महानगरसँग भएको सम्झौताअनुसार सो कम्पनीले अब झण्डै २ वर्ष काम गर्न पाउने छ । शाक्यले लुकाएका थिए सर्वेक्षण तत्कालीन मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाभित्र स्मार्ट पार्किङको विषयलाई कार्यान्वयन गर्नको लागि अध्ययन गर्न ०७५ सालमा महानगरका इन्जिनियर कुन्दन श्रेष्ठको नेतृत्वमा कार्यदल बनाएका थिए । सो कार्यदलले झण्डै १ महिनाको समय लगाएर काठमाडौंमा स्मार्ट पार्किङको लागि सर्वेक्षण गरेर प्रतिवेदन तयार पार्यो । उक्त प्रतिवेदनले महानगरपालिकामा स्मार्ट पार्किङको अवधारणालाई कार्यान्वयन गर्दा वार्षिक रुपमा नै १२ करोड आम्दानी गर्न सक्ने निष्कर्ष निकालिएको थियो । प्रतिवेदन तयार पारेर बुझाइसकेपछि मेयर शाक्यले उक्त प्रतिवेदन नै लुकाएको महानगर स्रोतको भनाइ छ । ‘हामीले सर्वेक्षण गरेर त्यसको प्रतिवेदन तयार गर्यौं तर, मेयरमार्फत् सो प्रतिवेदन नै लुकाउने काम भयो, अहिले त्यसको सफ्ट कपी भने हामीसँग छ, हार्ड कपि उहाँले लुकाउनु भयो,’ स्रोतले भन्यो । अख्तियारको समेत साथ मेयर शाक्यले सार्वजनिक सूचना प्रकाशन नगरेरै र बिना प्रतिस्पर्धा निश्चित व्यक्तिलाई ठेक्का दिएपछि सो विषय अख्तियार अनुसन्धान आयोगसम्म समेत पुगेको थियो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले पाइलट प्रोजेक्ट भएको कारणले सो विषयलाई कार्यान्वयन गर्न सकिने पत्र महानगरलाई पठाएको थियो । महानगरका निर्देशक नुरनिधि न्यौपानेले आफुहरुलाई पार्किङको विषयमा जिम्मेवारी दिँदा कुनै सार्वजनिक सूचना वा प्रतिस्पर्धा गराएको विषयमा थाहा नभएको बताए । उनले काम गर्न भने अख्तियारले पत्र पठाएको पुष्टि गरे । महानगरलाई पौने २८ करोड घाटा इन्जिनियर कुन्दन श्रेष्ठको नेतृत्वमा २०७५ सालमा बनेको कार्यदलले काठमाडौंका विभिन्न ठाउँमा स्मार्ट पार्किङको अवधारणालाई अगाडि बढाउँदा वार्षिक कुल क्षमताको ७० प्रतिशत औसत राखेर पनि वार्षिक १२ करोड बराबरको आम्दानी हुनसक्ने सर्वेक्षणबाट निष्कर्ष निकालेको थियो । महानगर स्रोतका अनुसार महानगरपालिका आफैले काम नगरेर ठेक्कामा दिँदा सम्बन्धित पक्षलाई २० प्रतिशत ‘ओभरहेड’ दिन सकिने सर्वेक्षणबाट तयार गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यसो गर्दा पनि महानगरपालिकालाई वार्षिक रूपमा ९ करोड ६० लाख रूपैयाँ आम्दानी हुने अनुमान छ । जस अनुसार ३ वर्षमा २७ करोड ७६ लाख रुपैयाँ हुन जान्छ । तर, अहिले ३ वर्षसम्म पार्किङको जिम्मेवारी लिएको व्ह्ल्सिले ०७८ चैतसम्ममा महानगरपालिकालाई जम्मा १ करोड २० लाख मात्रै बुझाएको छ । सो कम्पनीले सर्वेक्षण अनुसारको ठाउँहरुमा स्मार्ट पार्किङ नगरेर सीमित ठाउँमा मात्रै काम गर्दै आइरहेको महानरगको भनाइ छ । सो कम्पनीले हाल न्यूरोड, बसन्तपुर लगायतका ठाउँहरुमा पार्किङ शुल्क उठाइरहेको छ । नाफा हुने ठाउँहरुमा मात्रै शुल्क उठाएर अन्य ठाउँमा अव्यवस्थित रुपमा छोडेको महानगरको भनाइ छ ।

ग्लोबल आइएमई लघुवित्तले गरिब विद्यार्थीहरुलाई दियो १५ लाखको छात्रवृत्ति 

काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो ५० वटा शाखा कार्यालयबाट छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ । असार २६ गते संस्थाको शाखाहरुमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिएका छन् । कार्यक्रममा ५० वटै शाखामा उत्कृष्ट अंक ल्याई वार्षिक परीक्षा उत्तीर्ण गर्ने जहेन्दार विधार्थीलाई ३० हजारका दरले जम्मा १५ लाख छात्रवृत्ति प्रदान गरिएको उनले जानकारी दिए । संस्थाले ग्राहक संरक्षण कार्यक्रम मार्फत सदस्यका छोरा छोरीहरु तथा गरिब जेहन्दार विद्यार्थीको शिक्षालाई प्रोत्साहित गर्न यस किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेको आचार्यले बताए । संस्थाको मुख्य व्यवसाय अधिकृत यतिराज पौडेलका अनुसार हाल यस संस्थाको ११९ वटा शाखा कार्यालयमा १ लाख ४७ हजारभन्दा बढि सदस्य तथा ऋणी ७५ हजार ५ सयभन्दा बढि रहेका छन् भने ८ अर्ब ५० करोड कर्जा लगानी रहेकाे छ ।

संसदमा पुग्यो गभर्नरको विषय

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा संसदमा प्रश्न उठाएका छन् । विश्वकर्मासँगै अन्य सांसदहरुले गभर्नर अधिकारी नेकपा एमालेको आर्थिक सल्लाकार समितिमा बसेको भन्दै संसदमा उनीबारे प्रश्न उठाएका हुन् । नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्यमा खोटाङ घर भएका एम अधिकारी मनोनयन भएको समाचार सार्वजनिक भएपछि संसदमा उनीबारे प्रश्न उठेको हो । स्थायी घर खोटाङ भएका गभर्नर अधिकारीले भने आफु सो व्यक्ति नभएको बताएका छन् । राष्ट्र बैंक ऐनको दफा २१ (क) मा राजनैतिक दलको सदस्य वा पदाधिकारीका रुपमा नियुक्त हुन नहुने उल्लेख छ ।

कुमारी बैंकले ल्यायो आकर्षक मुद्दती निक्षेप योजना, साढे २१ वर्षमा रकम दश गुणा

काठमाडाैं । कुमारी बैंकले १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजनाहरु ल्याएकाे छ । बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजना ल्याएकाे हाे । उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागी निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई लक्षित गरेर ल्याइएकाे बैंकले जनाएकाे छ । सो निक्षेप योजना अनुसार व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् । यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ्ग प्रणालीहरू मार्फत अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्नेे हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएकोे अवरोधकोे स्थितिमा केहि सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ । नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै व्यक्तिगत एवं संस्थागत मुद्धतीमा उच्चतम ब्याजदर दिने मध्येमा यी योजनाहरु पर्ने बैंकले जनाएकाे छ । आफ्ना १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४५ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न आफ्नो डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

लण्डनमा ग्लोबल आइएमई बैंकको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा लण्डनमा अन्तरक्रिया कार्यक्रमको सम्पन्न गरेको छ । बैंकले सोमबार उक्त कार्यक्रम सम्पन्न गरेको हो । लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरुपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरुलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराएका थिए । कार्यक्रममा श्रृजनशील लेस्टर नेपाल, युकेका पदाधिकारीहरु, गैर आवाशीय नेपाली संघका प्रतिनिधिहरु तथा नेपाली समुदायको ठूलो सहभागिता रहेको थियो ।

सगरमाथा इन्स्योरेन्सले आर्जन गर्यो ३ अर्ब बढी बीमाशुल्क, केक काटेर साट्यो खुशीयाली

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को अन्तिम त्रैमासिकअघि नै अर्थात जेठ २८ गतेसम्ममा कूल ३ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको हो । यससँगै असार मसान्तसम्ममा अर्थात अबको तीन चार दिनमा उक्त रकममा थप वृद्धि हुने छ । यसअघि कम्पनीले गत जेठ मसान्तसम्ममा २ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । र, निर्जीवन बीमा कम्पनीमध्ये बढी बीमाशुल्क आर्जन गर्नेको दोश्रो स्थानमा पर्न सफल भएको थियो । त्यसको करिब एक महिनामै कम्पनीले थप २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेर ३ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । यो उपलब्धिसँगै कम्पनीले खुशीयाली साटासाट गरेको छ । कम्पनीले असार २८ मंगलबार आफ्ना कर्मचारीमाझ केक काटी खुशी साटासाट गरेको हो ।