साउनभर जानकी मेडिकल कलेजमा ओपिडी र एम्बुलेन्स सेवा नि:शुल्क
काठमाडौं । धनुषास्थित जानकी मेडिकल कलेजले ओपिडी लगायत अन्य केही स्वास्थ्य सेवा निशुल्क सेवा प्रदान गर्ने भएको छ । इन्टिच्युट अफ मेडिसिनको ५० वर्षको वार्षिकोत्सवको अवसरमा कलेजले यस्ताे सेवा दिने भएकाे हाे कलेजले साउन महिनाभरि आन्तरिक चिकित्सा, शल्य चिकित्सा, स्त्री रोग, बाल रोग, आँखा, नाक कान घाँटी, अर्थोपेडिक्स, दन्त चिकित्सा, मनोचिकित्सा, चर्म अनि पिसाबका बिरामीहरूलाई नि:शुल्क ओपिडी सेवा प्रदान गर्ने जनाएकाे छ । त्यसबाहेक, जानकी मेडिकल कलेजले ल्याब परिक्षण, रेडियोलोजी, आईसीयु र एनआईसीयुमा र वार्डको शुल्कमा पनि २५ प्रतिशत छुट दिने भएको छ । यसका साथै कलेजले आफ्नो २४ घण्टा उपलब्ध एम्बुलेन्स सेवा पनि साउन महिनाभरि नि:शुल्क बनाएको छ ।
एक सातामै ४७ अर्बले बढ्यो बैंकहरुको निक्षेप, सीडी रेसियो ८६ प्रतिशतमा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप तथा कर्जा लगानीमा वृद्धि भएको छ । गत साताको तुलनामा यो साता बैंकहरुको निक्षेप ४७ अर्ब रुपैयाँले बढेको छ भने कर्जा १ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार असारको अन्तिम सातामा बैंकहरुले ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । जुन अघिल्लो साता ४४ खर्ब ९४ अर्ब रुपैयाँ थियो । त्यस्तै, असारको पहिलो सातामा भने सो रकम ४३ खर्ब ९४ अर्ब रुपैयाँमा सीमित थियो । संघको तथ्यांक अनुसार बैंकहरुले असार अन्तिम सातासम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । जुन अघिल्लो साताको तुलनामा १ अर्ब रुपैयाँले बढी हो भने असारको पहिलो साताको तुलनामा १३ अर्ब रुपैयाँले घटी हो । असारको पहिलो सातामा यस्तो रकम ४१ खर्ब ८८ अर्ब रुपैयाँ थियो । यो अवधिमा बैंकहरुको सीडी रेसियो घटेर ८६.४१ प्रतिशतमा झरेको छ ।
६ अर्ब लगानीमा महाराजगञ्जमा भूकम्प प्रतिरोधी अपार्टमेन्ट बन्दै, ३ वर्षमा बनिसक्ने
काठमाडाैं । काठमाडौंको महाराजगञ्जमा भूकम्प प्रतिरोधी सुविधासम्पन्न अपार्टमेण्ट बन्ने भएको छ । सुरक्षित र सुविधा सम्पन्न आवासीय सेवा उपलब्ध गराउने उद्देश्यले अपार्टमेन्ट निर्माण गर्न लागेको कर्मा रेसिडेन्सी निर्माण टिमले जनाएको छ । कर्मा रेसिडेन्सी निर्माण टिमकाे अनुसार व्यवसायी कर्मा तेन्जिङको लगानीमा निर्माण हुन लागेको अपार्टमेन्ट अबको ३ वर्षमा बनिसक्नेछ । व्यवसायी तेन्जिङले सुरक्षा र बलियो भवनको पर्याय बन्ने गरेर अपार्टमेण्ट बनाउने बताए । ‘२.५बीकेएच र ३.५बीकेएच अपार्टमेन्ट रहने कर्मा रेसिडेन्समा प्राइभेट गार्डेनको समेत सुविधा उपलब्ध हुनेछ,’ उनले भने । ‘अन्य सुविधामा हरेक समयमा हट वाटर, निरन्तर विद्युतको सुविधा, २४० भन्दा बढी सवारी साधन पार्किङ स्पेस, हाइस्पिड इलेभेटर, स्वीमिङ पुल, जिम र साउना, जगिङ ट्रयाक, मेडिटेशन योगा डेक, बालबालिकाका लागि खेल्ने क्षेत्र, मन्दिरलगायतका सुविधा पनि रहनेछ,’ उनले थपे । भवन निर्माण सकिँदासम्म ६ अर्ब रुपैयाँ लागत पुग्नसक्ने उनले बताए । त्यस्तै निर्माणको जिम्मेवारी लिएका ए वान बिल्डर्सका अध्यक्ष भक्त लामाका अनुसार करिब १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टमा भवनले मात्रै ६ रोपनी मात्रै जग्गा ओगट्नेछ । नियम अनुसार ४० प्रतिशत अतिरिक्त, जग्गा हुनुपर्नेमा यो भवनले ४२ प्रतिशत अतिरिक्त जग्गा छाड्ने उनले बताए । अबको १८ महिनामा संरचना निर्माणको काम सकिने र बाँकी १८ महिनामा इन्टेरियर डिजाइनको काम पूरा गर्ने योजना रहकाे व्यवसायी तेन्जिङले बताए । तन्जिङकाे अनुसार अपार्टमेण्ट तीन वटा बिल्डिङमा हुनेछ भने प्रत्येक भवनमा २ तला बेसमेन्टमा पार्किङ, बाँकी १२ तलामा अपार्टमेण्ट र एक तलामा अन्य सुविधागरी १५ तलाको हुनेछ । भवनमा १६२ वटा अर्पाटमेण्टहरु हुने उनले बताए ।
स्याङ्जाको मिर्मिमा नेपाल टेलिकमको एफटिटिएच सुरु, गल्याङ कपर फ्रि
काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको मिर्मिमा अप्टिकल फाइबरमा आधारित उच्च गतिको फाइबर टु द होम एफटिटिएच सेवा सुरु गरेको छ । यसका साथै टेलिकमे गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण एफटिटिएचमय बनाइ कपर फ्रि नेटवर्क बनाएको छ । कपर फ्रि नेटवर्क हुँदा अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्न समेत सहज हुने गर्दछ । तामाको तारमा आधारित नेटवर्कको सट्टा अप्टिकल फाइबरमार्फत एउटै रेशाबाट ब्रोडब्याण्ड इन्टरनेट, भ्वाइस, टेलिभिजन तथा मोबाइल डेटा उपलब्ध हुनेगरि सेवा उपलब्ध गराइएकोले उपभोक्तालाई सहज भएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । गण्डकी प्रदेशका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश ठाँउहरुमा एफटिटिएच सेवा क्रमिक विस्तार गर्दै उपभोक्ता लक्षित सेवा उपलब्ध गराइने उनले बताए । त्यसैगरि, नेपाल टेलिकम सरकारी स्वामित्वको संस्था भएकाले सहुलियत दरअनुसारकै ुउच्च गति न्यून दर” को एफटिटिएच सेवा उपलब्ध गराईएको दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले बताए । यस सेवामार्फत उपभोक्ताले आफ्नो इच्छा अनुसार इन्टरनेटको स्पिड प्राप्त गर्न सक्नेछन् । सामान्य घरमा प्रयोग हुने ८ एमबिपिएसदेखि लिएर स्कुल तथा कलेजलाई आवश्यक पर्ने ८० एमबिपिएस स्पिडसम्मको उच्च गतिको फाइबर इन्टरनेट सस्तो दरमा प्राप्त गर्न सकिने टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार वार्षिक प्याकेज अनुसार यो सेवा लिने ग्राहकले पिएसटिएन टेलिफोनको न्युनतम मासिक महसुल वर्षैभरी निःशुल्क प्राप्त गर्नुको साथै अन्य छ प्रकारका सेवाहरु समेत निःशुल्क पाउने बताए ।
‘कार्ट्समान्डु सिलालम टुर्नामेन्ट’मा दिगविजय अधिकारी विजयी
काठमडाैं । धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसन ‘कार्ट्समान्डु सिलालम’ मा डिगविजय अधिकारीले बाजी मारेका छन् । यस्तै विवेश श्रेष्ठ र फेलिक्स भ्यान रिसन दाेस्राे र तेस्राे भएका छन् । वियजीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङक लाल घिसिङ, एफ आई ए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसालले उपाधि र प्रमाण पत्र प्रदान गरेका थिए । यसअघि तालिम प्राप्त करिब ३० नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ्ग राउण्डमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरु फाइनल राउण्डमा पुगेका थिए । फाइनल राउण्डमा डिगविजय अधिकारी, बिबेश शेष्ठ ,फेलिक्स भ्यान रिसन, दिप्रस शाक्य, सन्जोक लामा तामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । विजयी टोलीलाई सिङगापुरको के एफ वान सर्किटमा काटिर्ङको अवसर प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ ।
एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, प्रथमलाई डेढ लाख रुपैयाँ पुरस्कार
काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यान नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । कम्पनीले साउन ६ गतेदेखि सो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्ने कम्पनीका महाप्रबन्धक बिमलराज गोसाईले जानकारी दिए । उक्त भिडियो टिकटकमा यही साउन ६ गतेदेखी आगामी भदौ ६ गतेसम्म पोष्ट गरिसक्नुपर्नेछ । कम्पनीका अनुसार पहिलो विजेताले डेढ लाख रुपैयाँ पाउने छन् । यस्तै, कम्पनीले दोस्रो हुने दुइ जनालाई प्रतिव्यक्ति १(१ लाख नगद रुपैयाँ, तेस्रो हुने ३ जना छानी प्रतिव्यक्ति ७५(७५ हजार, चौथो हुने ४ जनालाई प्रतिव्यक्ति ४० हजार र पाचौं हुने ५ जनालाई प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले नगद दिइने जनाएको छ । कम्पनीको अनुसार प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरूलाई छनौट ३० प्रतिशत लाइकको आधारमा, ४० प्रतिशत सिर्जनात्मक तथा निर्णायकको आधारमा र ३० प्रतिशत धेरै भिउज, धेरै शेयर र कमेन्टको आधारमा गरिनेछ । छनोट भएका प्रतियोगिहरुलाई भदौ १० गते पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।
पोखरा महानगरले निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउँदै
कास्की । पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ । देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो । महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ । सार्वजनिकरूपमा निःशुल्क उपयोग गर्न दिएवापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवासुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था महानगरले गरेको छ । सहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैरव्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरूसँग सूचना आह्वान गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले बताए । उनले भने, ‘महानगरले शौचालय प्रयोग गर्न दिन मञ्जुर व्यक्ति वा संस्थालाई साउन मसान्तसम्म निवेदन दिन भनेको छ, त्यस्ता शौचालयमा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता जनाउने छ ।’ सार्वजनिक शौचालयका बारेमा सर्वसाधारणको जानकारीका लागि यस्ता स्थानमा विशेष पहिचानयुक्त लोगोे वा सङ्केत राख्ने गरी कार्यपालिका बैठकबाट निर्णय भएको छ । शौचालय प्रयोग गर्न दिने व्यक्ति, संस्था वा कम्पनीको विवरण महानगरको वेबसाइटमा राखिने बताइन्छ । पोखराका मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई असहज हुँदै आएको छ । महानगरले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा नभएकाले काम अघि नबढेको जनाएको छ । रासस
हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा न्यौपाने नियुक्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा ध्रव प्रसाद न्यौपाने नियुक्त भएका छन् । साउन १ गते बसेको कम्पनी सञ्चालक समितिले नायव महाप्रबन्धक न्यौपानेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै न्यौपानेले नायव महाप्रबन्धक र कम्पनी सचिव दुबैको जिम्मेवारी सम्हाल्ने छन् । साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको हो ।