विकासन्युज

सगरमाथा इन्स्योरेन्स २७औं वर्षमा प्रवेश, गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आफ्नो स्थापनाको २६औं वर्ष पार गरी २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम साउन २ गते कम्पनीको प्रधान कार्यालय, नक्सालमा भएको थियो । कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले रक्तदान गर्ने सबैलाई धन्यवाद पनि दिए ।

हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याउन श्रीमान्/श्रीमति नै सक्रिय, नक्कली प्रहरी निरीक्षक बनेर बार्गेनिङ

काठमाडौं । काठमाडौंमा हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याउने नक्कली प्रहरी निरीक्षकको जोडीसहित तीन जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले एक व्यवसायीलाई धम्की दिएर पैसा मागेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुलीकी ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक सञ्जय कार्की छन् । नक्कली प्रहरी निरिक्षक गरेर उनीहरुले बार्गेनिङ गरेको आरोपमा पक्राउ गरिएको हो ।

नेपालमै पहिलो पटक खुल्यो ‘शिक्षक बैंक’

काठमाडौं । पैसाको कारोबार गर्ने बैंक जस्तै शिक्षकको पनि बैंक हुन्छ भनेर सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । तर, काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाले पढाउने शिक्षकहरूको पनि बैंक सञ्चालनमा ल्याएको छ । कुनै शिक्षक वा शिक्षिका विदामा बस्दा होस् वा कुनै कारणले विद्यालयमा उपस्थित हुन नसक्ने समस्यालाई मध्येनजर गर्दै बुढानिलकण्ठ नगरपालिकाले शिक्षक बैंक अवधारण सुरू गरेको हो । बुढानिलकण्ठ नगरपालिकाका शिक्षा शाखाका अधिकृत इन्द्रप्रसाद दाहालकाअनुसार पालिकाभित्र रहेको एउटा प्रावि तहमा पढाउने शिक्षिका सुत्केरी विदामा बसेर शिक्षकको अभाव भएपछि विकल्प खोज्नेक्रममा शिक्षक बैंक कार्यक्रमको अवधारणा आएको हो । बुढानिलकण्ठ नगरपालिकामा १९ वटा सामुदायिक विद्यालय छन् । ती सामूदायिक विद्यालयहरूमा शिक्षक अभावको बेला पूर्ति गर्न र केहि नियमित अतिरिक्त क्रियाकलाप सञ्चालनको लागि शिक्षक बैंकमार्फत् शिक्षक परिचालन गर्ने कार्यक्रम पालिकाले बनाएको छ । सो कार्यक्रमको लागि पालिकाले चालु आवको लागि २५ लाख खर्च गर्ने योजना बनाएको शिक्षा शाखाका प्रमुख ललित विक्रम सिंहले विकासन्युजलाई बताए । पालिकाले गत शैक्षिक सत्रबाट नै शिक्षक बैंकको अवधारणा कार्यान्वयन गर्न खोजेको थियो । तर, गत शैक्षिक सत्रमा सूचना आह्वान गर्ने मात्रै काम भयो । गत माघ महिनामा पालिकाले शिक्षक बैंकको लागि सूचिकृत हुन योग्यता भएर बसेका व्यक्तिहरुलाई लक्षित गरेर सूचना आह्वान गरेको थियो । तर, समयमा आवश्यकतालाई सम्बोधन गर्नेगरी सूचिकृत हुन नआएपछि पालिकाले गत असारमा मात्रै अन्तर्वार्ता लिएर शिक्षक बैंकको लागि विभिन्न विषयका ११ जना व्यक्तिहरुलाई सूचिकृत गर्ने काम गरेको छ । जसमा नृत्य, संगित, योगा, अंग्रेजी, स्वास्थ्य तथा जनसंख्या र नेपाली विषय अध्यापन गराउन सक्ने शिक्षकहरु छन् । नगरपालिकाका अधिकृत दाहालका अनुसार पालिकाले अहिले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग बसेर अतिरिक्त क्रियाकलापको दैनिक तालिका समेत बनाइसकेको छ । पालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालयहरुमा चक्रिय आधारमा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, संगित र योगा कक्षाको तालिका निर्माण कार्य गरिएको छ । जसअनुसार सबै विद्यालयमा शिक्षक बैंकमा रहेका शिक्षकहरुले घुम्ती प्रणालीको आधारमा सबै विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने अधिकृत दाहालले बताए । प्रमुख सिंहका अनुसार शिक्षक बैंकमा रहेर अध्यापन गर्ने शिक्षकहरुले तहअनुसार दैनिक ज्यालादारीको हिसाबले पारिश्रमिक प्राप्त गर्न सक्छन् । बुढानिलकण्ठमा विज्ञान र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने शिक्षकहरुको अभाव रहेको अवस्थामा शिक्षक बैकबाट शिक्षक पूर्ति गर्ने प्रकृया सस्तो पर्ने उनी बताउँछन् । सिंह भन्छन्, ‘हामीले संगित, कला र योगा जस्ता विषयहरुको लागि शिक्षक नियुक्ती गर्ने अवस्था छैन, यी विषयहरूमा तीन÷तीन महिनाको दरले एउटै शिक्षकले पनि ३ वटा विद्यालयमा अध्यापन गर्न सक्छ ।’ पालिकाले शुरुवात गरेको शिक्षक बैंक कार्यक्रममा अहिले न्यून मात्रामा शिक्षकहरू जोडिएपनि चालु शैक्षिक शत्रमा १ सय जना शिक्षकलाई जोड्ने योजना रहेको प्रमुख सिंहको भनाइ छ । ‘जुनसुकै विद्यालयमा शिक्षक आवश्यकता पर्ने वित्तिकै ‘फास्ट ट्रयाक’ विधिबाट शिक्षक सप्लाई गर्न सकिने यो कार्यक्रम मुलुककै नमूना कार्यक्रम हो, यो नयाँ अवधारणा र नयाँ प्रयोग पनि हो, यो विधिलाई कार्यान्वयन गर्दा कुनैपनि विद्यालयमा एकदिन पनि शिक्षक खाली हुने अवस्था आउँदैन,’ उनले भने ।

टाटा विङ्गर बिएस्स सिक्स नेपाली बजारमा

काठमाडौं । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर द्यक् ट नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ । २.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर बिएस्स सिक्सको टर्क अत्यन्त प्रभावकारी भएकाे कम्पनीले जनाएकाे छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गर्दछ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्ने कम्पनीकाे दावी छ । टाटा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोता कम भन्दा कम खर्चमा आफ्नो व्यापार/व्यवसाय अभिवृद्धि गर्न चाहनेहरुको लागि अत्यन्त उपयोगी भएकाे बताउँछन् । ‘उत्कृष्ट कार्य क्षमता भएको अत्यन्त भरपर्दो उत्पादन मार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई यस विङ्गरले प्रतिनिधित्व गर्दछ,’ उनले भने । त्यसैगरी सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर राणा विङ्गर बिएस्स सिक्स विभिन्न प्रयोजनहरुको लागि अन्त्यन्त उपयुक्त हुनुका साथै कार्य क्षमताको दृष्टिकोणले पनि अब्बल रहेकाे बताए । ‘यसले छोटो समयमा नै नेपाली ग्राहकहरुको माया र विश्वास जित्ने हामीले अपेक्षा गरेका छौ,’ उनले भने । सुरक्षित यात्राको लागि विङ्गर स्कूलमा एबिसी सहितको प्रभावकारी ब्रेकिङ्ग प्रणाली जडान गरिएको छ । गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ ।   

नमस्ते पे एपबाट हवाई टिकट खरिद गर्न सकिने, ३०० रुपैयाँसम्मकाे क्यासब्याक

काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट काट्ने सेवा सुरु गरेको छ । साेसँगै नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन् । साथै, नमस्ते पे ले उडान गर्नेहरूका लागि आकर्षक अफर ल्याएको छ । यस अन्तर्गत उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा ३०० रुपैयाँको फ्ल्याट क्यासब्याक पाउनेछन् । बाँकीले उडान टिकट खरिद गर्दा १५० रुपैयाँको फ्ल्याट क्यासब्याक पाउनेछन् र भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउनेछन् । यो सेवा हाल एन्ड्राेइडमा उपलब्ध रहेकाे र चाँडै आइवाेएसमा पनि लन्च हुने कम्पनीले जनाएकाे छ ।  

दुई जहाज आकाशमै ठोक्किए

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाश ठोक्किँदा चार जनाको मृत्यु भएको बताइएकाे छ । दुर्घटना अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्वीट गरेको छ । पाइपर पीए–४६ अवतरणको तयारी गरिरहेको अवस्थामा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारीले देखाएको छ । प्रत्येक विमानमा दुई जना सवार रहेका जनाइएको छ । एजेन्सी

पौने ६ लाख डलरमा खरिद गरेका ३ वटा दमकल नेपाल आइपुगे

काठमाडौं । काठमाडौं महानगरपालिकाले खरिद सम्झौता गरेको तीनवटा दमकल नेपाल आइपुगेको छ । महानगरपालिकाले अघिल्लो वर्ष नै यसको खरिद सम्झौता गरेको थियो । मेयर विद्यासुन्दर शाक्यले महानगरको लगानीमा तीनवटा दमकल खरिद गर्न अघिल्लो वर्ष २०७८ साउन ३ गते इन्डोनेशियन कम्पनीसँग सम्झौता गरेका थिए । ३ हजार प्लस ५०० लिटर पम्प क्षमताको तीनवटा दमकल खरिदका लागि कम्पनीसँग ५ लाख ७५ हजार ९३३ अमेरिकी डलरमा सम्झौता भएको थियो ।

देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ । गत वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकामा यसवर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएकोे हो । गत वर्षको तुलनामा करिब आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ । विशेषगरी प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो । मनसुन सुरु हुनासाथ यही साउन दोस्रो सातासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ । रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ । हालसम्म मन्त्रालयले विगत वर्षमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ ।