विकासन्युज

लूप नेटवर्कसले आईपीओ जारी गर्ने

काठमाडौं । लूप नेटवर्कसले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनीले चालु वर्षको अन्तिमतिर आईपीओ जारी गर्न लागेको हो । कम्पनीले विगत ६ वर्षदेखि ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले गत साउन ४ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको ईजाजत पत्र प्राप्त गरेको हो । कम्पनीले छिमेकी मुलुक भारत र चीनसँग सिधै ब्याण्डवीथ कनेक्टिभिटी प्राप्त गर्ने भएको छ । नेटवर्कसले ब्याण्डवीथ कनेक्टिभिटीको लागि भारतको नेटवर्कस सेवा प्रदायक कम्पनी एरटेल, टाटा, एसआईएफवाईसँग प्रारम्भिक छलफल चलिरहेको लूप नेटवर्कसले जानकारी दिएको छ । साथै नेटवर्कले चाडै सेवा सुचारु गर्ने पनि जनाएको छ । त्यसपछि लूप नेटवकर्र्सले स्वदेशी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई गुणस्तरीय ब्याण्डवीथ सुपथ मुल्यमा उपलव्ध गराउन सक्ने दावी गरेको छ । र, कम्पनीको कारोबार दुई गुणाले बढ्ने नेटवर्कले अनुमान गरेको छ । साथै, विगतका दिनहरुमा झै आगामी दिनहरुमा पनि कम्पनीले सस्तो मूल्यमा प्रतिस्पर्धी, गुणस्तरीयर नयाँ योजनाहरु बजारमा ल्याउने कार्यलाई निरन्तरता दिइरहेको छ ।

मिटर ब्याज पीडितले दिए १६ उजुरी, अप्ठ्यारोमा शोषण गरेको आरोप

चितवन । गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी सङ्कलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र १६ वटा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन् । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ ५ गतेसम्म ती उजुरी परेका हुन् । उजुरीको बारेमा जाँचबुझ भइरहेको उनले जानकारी दिए । मिटर ब्याजीले निरक्षर, गरिब तथा आर्थिकरूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको शृङ्खलाले सयौं परिवार विचल्ली भएको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन गरेको थियो । सोही निर्देशनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । तामाङका अनुसार प्रशासनमा परेका निवेदनका आधारमा सरोकारवाला दुवै पक्षलाई बोलाएर छलफल गरिने छ । छलफलमा सहमति नभए कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने बताए । कारबाहीका लागि प्रहरीकोमा पठाएसँगै गृह मन्त्रालयमा समेत सिफारिस गरिने उनले जानकारी दिए । उनले भने- ‘बैंकिङ कसुर र मुलुकी अपराध संहिताअनुसार मुद्दा चल्छ ।’ चलनचल्तीको भन्दा बढी ब्याज लिन नपाइने उनको भनाइ छ । रासस

कैलालीका १३० भूमिहिन परिवारले पाए लालपूर्जा

कैलाली । कैलाली लम्कीचुहाका १३० भूमिहिन दलित परिवारले लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सोमबार कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ को बादी बस्तीका १३० भूमिहिन दलितलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरिसकेको बताइन् । कार्यक्रममा बोल्दै उनले नदी उकासदेखि बाझो जमिनहरुको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरेको बताइन् । मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र भूमिहिन दलित, भूमिहिन सुकुम्वासीको हक अधिकार स्थापित गर्र्न भूमिहिनलाई भूमि वितरणको काम गरिरहेको बताइन् । मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन अनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुर्नस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडी बढीसकेको पनि जानकारी गराइन् । नागरिकलाई रोजगारीको सिर्जना गर्न योजना बनाइसकेकोे र रोजगारी खोज्न बाहिर हिड्नु नपर्ने गरी काम गर्न सरकार प्रबिद्ध भएर लागेको पनि मन्त्री श्रेष्ठले भनिन् । उनले भूमिहिनलाई लालपूर्जा वितरणको काम अभियानको रुपमा अगाडी बढाइएको र हालसम्म गउँव्लकमा ५० हजार भन्दाबढी भूमिहिनलाई लालपूर्जा वितरण गरेर कानुनी रुपमा जग्गाको मालिक बनाइएको बताइन् । मन्त्री श्रेष्ठले यहि वर्षभित्र ३०० पालिकाकाका पाँच लाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वार्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सवै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटादै नतिजा दिनेगरी काम गरिरहेको पनि समेत उनले जानकारी गरिन् । उनले २०४९ सालभन्दा अगाडी विभिन्न साझा संस्थाहरुमा किसानले मल लिनका लागि धितो राखेको जग्गा लिलामी हुने अवस्थामा रहेको भन्दै उनीहरुको ऋण मोचन गर्ने आफू लागि परेको समेत जनाइन् ।

गुमनाम पूर्व माओवादी नेता, आगामी चुनावमा जित्ने सम्भावना कति?

काठमाडौं । नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)को एकता गरेर निर्माण भएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तरसंघर्षको उत्कर्षसँगै विघट्नमा पुगेपछि माओवादी खेमाबाट आएका नेता रामबहादुर थापा ‘बादल’ सहित १७ जना नेताले एमाले रोजेका थिए । एमाले रोजेसँगै पार्टीले गरेको कारवाही र संगठनात्मक रुपमा एमाले पृष्ठभूमीको बर्चस्वमा पूर्व माओवादी नेताहरुको दैनिकी भने सुखद रहेन । त्यस्तै आन्दोलनको फरक विरासत सहित राष्ट्रिय राजनीतिमा स्थापित हुन पुगेका माओवादी पृष्ठभूमिका नेताहरुको एमाले नेतृत्वसँग ‘केमेस्ट्री’ समेत मिलेको देखिँदैन । एमालेको १०औं महाधिवेशनले आफ्नो पार्टी छाडेर गएका माओवादी नेता तथा कार्यकर्ताहरुलाई पनि संरक्षित गरेर पदीय जिम्मेवारी दिएको थियो । तर, आगामी दिनमा आफ्नै क्षमतामा उभिएर संगठनमा स्थापित हुन र निर्वाचनमा विजय हासिल गर्नुपर्ने चुनौति उनिहरुमा रहेको देखिन्छ । सरकारले आगामी मंसिरमा तय गरेको प्रतिनिधिसभाको निर्वाचनसँग जोडेर हेर्दा माओवादी छाडेर एमाले रोजेका स्थापित नेताहरुको विजयको सम्भावना कस्तो देख्न सकिन्छ ? के उनीहरुले विजय हासिल गर्न सक्छन् ? रामबहादुर थापा ‘बादल’ रामबहादुर थापा ‘बादल’ तत्कालीन नेकपा(माओवादी) ले शुरुवात गरेको १० वर्षे ससस्त्र जनयुद्धको शुरुदेखिका सिमित नेतृत्व मध्येका प्रभावशाली व्यक्ति हुन् । माओवादी पार्टीमा शालिन तथा प्रभावशाली नेताको पहिचान बनाएका बादल अहिले नेकपा(एमाले)को उपाध्यक्षको रुपमा  काम गरिरहेका छन् । बादलले माओवादी पार्टीमा लामो समयसम्म महासचिवको पदीय जिम्मेवारी सम्हाल्दै आएका थिए । तत्कालीन नेकपाको विभाजनसँगै ओलीको नेतृत्व रोजेका बादल एमालेमा भने लोकप्रिय नरहेको देखिन्छ । जसको कारण एमालेको महाधिवेशन ओलीको संरक्षित कोटाबाट उपाध्यक्षमा लडेका बादलले सबैभन्दा कम मत ल्याएका थिए । ओलीको नेतृत्वमा लामो समय गृहमन्त्रालय सम्हालेका बादल एमालेमा गएसँगै कमजोर र राष्ट्रिय राजनीतिमा नै गुमनाम बनेको देखिन्छ । किनकी पछिल्लो समयका राजनीतिक मञ्चहरुमा बादलको उपस्थिति असाध्यै न्यून देखिन्छ । गएको वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा बादलको आफ्नै पालिका भरतपुर र त्यसमा पनि उनको वडामा एमाले निर्वाचनमा पराजित भयो । राष्ट्रिय राजनीतिमा कुनैबेला ओझिलो पहिचान बनाएका बादलको आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नै कारणले निर्वाचन जित्ने सम्भावना देखिँदैन । तर, बादलको निर्वाचन क्षेत्रको स्थानीय तहको मत परिणामलाई हेर्ने हो भने एमाले सकारात्मक प्रतिस्पर्धाको अवस्थामा रहेको देखिन्छ । लेखराज भट्ट माओवादी आन्दोलनबाट राष्ट्रिय राजनीतिमा परिचित भएका लेखराज भट्ट पछिल्लो समयमा चर्चामा देखिँदैनन् । तत्कालीन नेकपा विभाजनको क्रममा माओवादी छाडेर एमालेमा लागेका भट्ट २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट कैलाली ४ बाट नेपाली काँग्रेसका प्रतिस्पर्धी  उम्मेद्वारलाई १० हजार भन्दा धेरै मतले पराजित गरेर बिजयी भएका थिए । तर, गएको बैशाखमा भएको निर्वाचनसम्म आउँदा भने भट्टको पार्टी एमाले उनको आफ्नै पालिकामा पराजित भएको छ । गोदावरी पालिकामा काँग्रेसले प्रमुख सहित बहुमत वडाअध्यक्षमा विजयी हासिल गरेको थियो । एमालेको १०औं महाधिवेशनबाट ओली प्यानलमा सुरक्षित रहँदै सचिव बनेका भट्टले आगामी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको तर्फबाट टिकट प्राप्त गर्न समस्या देखिँदैन । तर, बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेले कैलालीमा प्रतिस्पर्धी उपस्थिति जनाउन नसकेकाले भट्टले आगामी प्रतिनिधिसभाको निर्वाचनमा विजयी हासिल गर्ने सम्भावना कम देखिन्छ । टोपबहादुर रायमाझी विद्यार्थी राजनीति देखि नै माओवादी आन्दोलनमा जोडिएका टोपबहादुर रायमाझी तत्कालीन नेकपाको विभाजनसँगै ओली नेतृत्वमा एमालेमा जोडिएका हुन् । एमालेको दशौं महाधिवेशनमा ओली प्यानलबाट सुरक्षित रहेर रायमाझीले सचिव पदमा विजय हासिल गरेका थिए । ओली प्यानलको दबदबा रहेको पार्टीमा माओवादीबाट प्रवेश गरेका र माधव समूहबाट फर्किएकाहरु संरक्षित रहेर मात्रै अगाडि बढ्ने अवस्था रहेपनि टोपबहादुर रायमाझीले भने आफ्नो जिल्लामा आफुलाई बलियो रुपमा स्थापित गरेका छन् । बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा रायमाझीले आफ्नो पार्टीलाई अधिक स्थानमा बिजयी गराउन महत्वपूर्ण भूमिका खेलेको एमाले पङ्तिभित्र चर्चामा रहेको पाइन्छ । एमाले पार्टीको पछिल्लो केन्द्रीय समिक्षाले पनि रायमाझीले आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा जित्न सक्ने अनुमान गरेको छ । माओवादी पार्टी परित्याग गरेपछि संसदको पद गुमाएका रायमाझीले आगामी निर्वाचनमा पुनः विजय हुन सकेमा मात्रै राष्ट्रिय राजनीतिमा उपस्थिति जनाइरहन सक्छन् अन्यथा आगामी दिनमा सधैँ संरक्षित भएर नेता भइरहने कुरामा उनलाई गाह्रो हुने अनुमान धेरैकाे छ । प्रभु साह मधेस समुदायबाट आफुलाई बलियो रुपमा माओवादी आन्दोलनमा स्थापित गरेका प्रभु साह माओवादी पार्टी छाडेर एमालेमा गएसँगै स्वभाविक रुपमा दलीय राजनीतिमा कमजोर देखिएका छन् । तर, भर्खरै बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भने साहले आफ्नो पालिकामा पार्टीलाई बिजयी गराउन सफल भएका छन् । मौलापुर पालिकामा एमालले प्रमुख र उपप्रमुख सहित बहुमत वडा अध्यक्ष जित्न सफल भएको छ । सो पालिकामा माओवादी प्रतिस्पर्धीको रुपमा रहेको छ । साहले ०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा रौतहट–३ बाट प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेद्वारलाई ९ हजार भन्दा धेरै मतले हराउँदै बिजयी भएका थिए । आगामी मंसिरमा हुने निर्वाचनमा साहलाई नै टिकट दिएमा चुनाव जित्न सकिने निष्कर्ष एमालेले निकालेको छ । मधेसको राजनीतिमा सक्रिय पात्रको रुपमा देखिएका साह एमालेभित्र सांगठनिक रुपले कमजोर भएपनि पार्टीभित्र आफ्नो छुट्टै समूह विस्तारको प्रयास गरिरहेको देखिन्छ । मणि थापा तत्कालीन माओवादी आन्दोलनमा शुरुदेखि जोडिएर सक्रिय राजनीति गर्दै आएका मणि थापा निरन्तर राजनीतिमा रहेपनि संगठन र आधारका हिसाबले बलियो नेताको रुपमा स्थापित हुन सकेका छैनन् । ०६२ सालमा नै माओवादी छाडेर विभिन्न पार्टीको निर्माण गर्दैै ०७३ सालमा पुनः माओवादीमा फर्किएका थिए । तत्कालीन नेकपाको विभाजनसँगै एमाले रोजेका थापा अहिले एमालेको स्थायी सदस्यको रुपमा रहेका छन् । संगठनको खास आधार नभएका थापा एमालेमा एक्लै गएर ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री समेत बनेका थिए । कुनै तहको निर्वाचनमा सहभागी नभएका नेता थापा आगामी प्रतिनिधिसभाको निर्वाचनमा पनि एमालेले जित्नको लागि छनोट गर्ने उम्मेद्वारको रुपमा देखिँदैनन् । त्यस्तै एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गरेर निर्वाचन जित्ने सम्भावित क्षेत्रको रुपमा प्युठानलाई राखेको पनि देखिँदैन । त्यसैले संगठनको आधार नभएका र निर्वाचन जित्ने आधार समेत नभएका थापा एमालेमा संरक्षित कोटाबाट मात्रै सुरक्षित रहने देखिन्छ । माथि उल्लेखित माओवादी छाडेका प्रभावशाली नेताहरुबाहेक सिन्धुपलान्चोकका दाबा लामाको स्थानीय प्रभावलाई पनि एमालेले सकारात्मक रहेको समीक्षा गरेको छ । प्रतिनिधिसभाको सदस्य र मन्त्री भैसकेका कैलाली निर्वाचन क्षेत्र नं. ३ का गौरीशंकर चौधरीले पनि समग्र कैलाली जिल्लामा एमाले कमजोर बन्न पुगेकाले आगामी निर्वाचनमा पुनः विजयी भएर आउन सक्ने सम्भावना कम रहेको देखिन्छ । त्यस्तै, बाँकी अन्य माओवादी पृष्ठभूमिका नेता तथा कार्यकर्ताहरु भने एमालेको महासागरमा हराइरहेको देखिन्छ ।

गरिमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्ड मोको एपमा

काठमाडौं । गरिमा विकास बैंक र मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ । बिल भुक्तानीहरुलाई थप सरल बनाउन बैंकले मोको वालेटसँग सम्झौता गरेको हो । सम्झौतापत्र अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु जस्तैः मोबाईल टपअप, ईन्टरनेट/विद्युत/खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् । साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५ सयभन्दा बढी मर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ । हाल गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

टाटा मोटर्सको गाडी किन्दा छानेर टिभी, फ्रिजदेखि वासिङ मेसिनसम्म पाइने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैँमा द–सही अफर’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् । आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिने कम्पनीले बताएकाे छ । साथै, यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्स जस्ता सुविधाहरु पनि रहेका छन् ।  

झापाबाट अनलाइनमार्फत जुवा खेलाउने ४ जना पक्राउ

झापा । अनलाइनमार्फत जुवा खेलाउने र कन्सल्टेन्सीमार्फत सरकारी कागजात तथा दस्तखतको कीर्ते गरी दुरुपयोग गर्नेलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । ल्यापटप तथा मोबाइलको प्रयोग गरी इन्टरनेटमार्फत जुवा खेलाउने र जापान पठाउने, अङ्ग्रेजी भाषाका कक्षा चलाउने बहानामा सरकारी कागजात र दस्तखत दुरुपयोग गर्नेलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ पर्नेमा दमक–८ स्थित पदमा कन्सल्टेन्सीका सञ्चालकद्वय सतप्रकाश साह र राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एन्ड फोटो स्टुडियोका सञ्चालक अरुण कार्की र ब्रिटिस आर्मी तालिम केन्द्रका सञ्चालक राजु लिम्बू रहेका छन् । पक्राउ परेकाका साथबाट प्रहरीले मोबाइल, सिम, ल्यापटप, स्ट्याम्प लगायतका सामग्री बरामद गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरी नेतृत्वको टोलीले अनुसन्धानपछि सो समूहलाई पक्राउ गरेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। पक्राउ परेकालाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । रासस

भदौ महिनाभर सिटिजन्स बैंकको लकर सेवामा ७० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले तीजलाई लक्षित गर्दै लकर सेवामा ७० प्रतिशत छुट योजना ल्याएको छ । बैंकले भदौ महिनाभर लकर सेवामा ७० प्रतिशत र कि डिपोजिटमा ५० प्रतिशतसम्मको छुट योजना ल्याएको हो । यस्ता छुटहरुको सुविधा ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस सुविधा बापत आदरणीय ग्राहक महानुभावहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु सजस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन् ।