काठमाडौं । नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)को एकता गरेर निर्माण भएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तरसंघर्षको उत्कर्षसँगै विघट्नमा पुगेपछि माओवादी खेमाबाट आएका नेता रामबहादुर थापा ‘बादल’ सहित १७ जना नेताले एमाले रोजेका थिए । एमाले रोजेसँगै पार्टीले गरेको कारवाही र संगठनात्मक रुपमा एमाले पृष्ठभूमीको बर्चस्वमा पूर्व माओवादी नेताहरुको दैनिकी भने सुखद रहेन । त्यस्तै आन्दोलनको फरक विरासत सहित राष्ट्रिय राजनीतिमा स्थापित हुन पुगेका माओवादी पृष्ठभूमिका नेताहरुको एमाले नेतृत्वसँग ‘केमेस्ट्री’ समेत मिलेको देखिँदैन । एमालेको १०औं महाधिवेशनले आफ्नो पार्टी छाडेर गएका माओवादी नेता तथा कार्यकर्ताहरुलाई पनि संरक्षित गरेर पदीय जिम्मेवारी दिएको थियो । तर, आगामी दिनमा आफ्नै क्षमतामा उभिएर संगठनमा स्थापित हुन र निर्वाचनमा विजय हासिल गर्नुपर्ने चुनौति उनिहरुमा रहेको देखिन्छ । सरकारले आगामी मंसिरमा तय गरेको प्रतिनिधिसभाको निर्वाचनसँग जोडेर हेर्दा माओवादी छाडेर एमाले रोजेका स्थापित नेताहरुको विजयको सम्भावना कस्तो देख्न सकिन्छ ? के उनीहरुले विजय हासिल गर्न सक्छन् ?
रामबहादुर थापा ‘बादल’
रामबहादुर थापा ‘बादल’ तत्कालीन नेकपा(माओवादी) ले शुरुवात गरेको १० वर्षे ससस्त्र जनयुद्धको शुरुदेखिका सिमित नेतृत्व मध्येका प्रभावशाली व्यक्ति हुन् । माओवादी पार्टीमा शालिन तथा प्रभावशाली नेताको पहिचान बनाएका बादल अहिले नेकपा(एमाले)को उपाध्यक्षको रुपमा काम गरिरहेका छन् । बादलले माओवादी पार्टीमा लामो समयसम्म महासचिवको पदीय जिम्मेवारी सम्हाल्दै आएका थिए । तत्कालीन नेकपाको विभाजनसँगै ओलीको नेतृत्व रोजेका बादल एमालेमा भने लोकप्रिय नरहेको देखिन्छ । जसको कारण एमालेको महाधिवेशन ओलीको संरक्षित कोटाबाट उपाध्यक्षमा लडेका बादलले सबैभन्दा कम मत ल्याएका थिए ।
ओलीको नेतृत्वमा लामो समय गृहमन्त्रालय सम्हालेका बादल एमालेमा गएसँगै कमजोर र राष्ट्रिय राजनीतिमा नै गुमनाम बनेको देखिन्छ । किनकी पछिल्लो समयका राजनीतिक मञ्चहरुमा बादलको उपस्थिति असाध्यै न्यून देखिन्छ । गएको वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा बादलको आफ्नै पालिका भरतपुर र त्यसमा पनि उनको वडामा एमाले निर्वाचनमा पराजित भयो । राष्ट्रिय राजनीतिमा कुनैबेला ओझिलो पहिचान बनाएका बादलको आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नै कारणले निर्वाचन जित्ने सम्भावना देखिँदैन । तर, बादलको निर्वाचन क्षेत्रको स्थानीय तहको मत परिणामलाई हेर्ने हो भने एमाले सकारात्मक प्रतिस्पर्धाको अवस्थामा रहेको देखिन्छ ।
लेखराज भट्ट
माओवादी आन्दोलनबाट राष्ट्रिय राजनीतिमा परिचित भएका लेखराज भट्ट पछिल्लो समयमा चर्चामा देखिँदैनन् । तत्कालीन नेकपा विभाजनको क्रममा माओवादी छाडेर
एमालेमा लागेका भट्ट २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट कैलाली ४ बाट नेपाली काँग्रेसका प्रतिस्पर्धी उम्मेद्वारलाई १० हजार भन्दा धेरै मतले पराजित गरेर बिजयी भएका थिए । तर, गएको बैशाखमा भएको निर्वाचनसम्म आउँदा भने भट्टको पार्टी एमाले उनको आफ्नै पालिकामा पराजित भएको छ । गोदावरी पालिकामा काँग्रेसले प्रमुख सहित बहुमत वडाअध्यक्षमा विजयी हासिल गरेको थियो ।
एमालेको १०औं महाधिवेशनबाट ओली प्यानलमा सुरक्षित रहँदै सचिव बनेका भट्टले आगामी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको तर्फबाट टिकट प्राप्त गर्न समस्या देखिँदैन । तर, बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेले कैलालीमा प्रतिस्पर्धी उपस्थिति जनाउन नसकेकाले भट्टले आगामी प्रतिनिधिसभाको निर्वाचनमा विजयी हासिल गर्ने सम्भावना कम देखिन्छ ।
टोपबहादुर रायमाझी
विद्यार्थी राजनीति देखि नै माओवादी आन्दोलनमा जोडिएका टोपबहादुर रायमाझी तत्कालीन नेकपाको विभाजनसँगै ओली नेतृत्वमा एमालेमा जोडिएका हुन् । एमालेको दशौं
महाधिवेशनमा ओली प्यानलबाट सुरक्षित रहेर रायमाझीले सचिव पदमा विजय हासिल गरेका थिए । ओली प्यानलको दबदबा रहेको पार्टीमा माओवादीबाट प्रवेश गरेका र माधव समूहबाट फर्किएकाहरु संरक्षित रहेर मात्रै अगाडि बढ्ने अवस्था रहेपनि टोपबहादुर रायमाझीले भने आफ्नो जिल्लामा आफुलाई बलियो रुपमा स्थापित गरेका छन् ।
बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा रायमाझीले आफ्नो पार्टीलाई अधिक स्थानमा बिजयी गराउन महत्वपूर्ण भूमिका खेलेको एमाले पङ्तिभित्र चर्चामा रहेको पाइन्छ । एमाले पार्टीको पछिल्लो केन्द्रीय समिक्षाले पनि रायमाझीले आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा जित्न सक्ने अनुमान गरेको छ । माओवादी पार्टी परित्याग गरेपछि संसदको पद गुमाएका रायमाझीले आगामी निर्वाचनमा पुनः विजय हुन सकेमा मात्रै राष्ट्रिय राजनीतिमा उपस्थिति जनाइरहन सक्छन् अन्यथा आगामी दिनमा सधैँ संरक्षित भएर नेता भइरहने कुरामा उनलाई गाह्रो हुने अनुमान धेरैकाे छ ।
प्रभु साह
मधेस समुदायबाट आफुलाई बलियो रुपमा माओवादी आन्दोलनमा स्थापित गरेका प्रभु साह माओवादी पार्टी छाडेर एमालेमा गएसँगै स्वभाविक रुपमा दलीय राजनीतिमा कमजोर देखिएका छन् । तर, भर्खरै बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भने साहले आफ्नो पालिकामा पार्टीलाई बिजयी गराउन सफल
भएका छन् । मौलापुर पालिकामा एमालले प्रमुख र उपप्रमुख सहित बहुमत वडा अध्यक्ष जित्न सफल भएको छ । सो पालिकामा माओवादी प्रतिस्पर्धीको रुपमा रहेको छ ।
साहले ०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा रौतहट–३ बाट प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेद्वारलाई ९ हजार भन्दा धेरै मतले हराउँदै बिजयी भएका थिए । आगामी मंसिरमा हुने निर्वाचनमा साहलाई नै टिकट दिएमा चुनाव जित्न सकिने निष्कर्ष एमालेले निकालेको छ । मधेसको राजनीतिमा सक्रिय पात्रको रुपमा देखिएका साह एमालेभित्र सांगठनिक रुपले कमजोर भएपनि पार्टीभित्र आफ्नो छुट्टै समूह विस्तारको प्रयास गरिरहेको देखिन्छ ।
मणि थापा
तत्कालीन माओवादी आन्दोलनमा शुरुदेखि जोडिएर सक्रिय राजनीति गर्दै आएका मणि थापा निरन्तर राजनीतिमा रहेपनि संगठन र आधारका हिसाबले बलियो
नेताको रुपमा स्थापित हुन सकेका छैनन् । ०६२ सालमा नै माओवादी छाडेर विभिन्न पार्टीको निर्माण गर्दैै ०७३ सालमा पुनः माओवादीमा फर्किएका थिए । तत्कालीन नेकपाको विभाजनसँगै एमाले रोजेका थापा अहिले एमालेको स्थायी सदस्यको रुपमा रहेका छन् । संगठनको खास आधार नभएका थापा एमालेमा एक्लै गएर ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री समेत बनेका थिए ।
कुनै तहको निर्वाचनमा सहभागी नभएका नेता थापा आगामी प्रतिनिधिसभाको निर्वाचनमा पनि एमालेले जित्नको लागि छनोट गर्ने उम्मेद्वारको रुपमा देखिँदैनन् । त्यस्तै एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गरेर निर्वाचन जित्ने सम्भावित क्षेत्रको रुपमा प्युठानलाई राखेको पनि देखिँदैन । त्यसैले संगठनको आधार नभएका र निर्वाचन जित्ने आधार समेत नभएका थापा एमालेमा संरक्षित कोटाबाट मात्रै सुरक्षित रहने देखिन्छ ।
माथि उल्लेखित माओवादी छाडेका प्रभावशाली नेताहरुबाहेक सिन्धुपलान्चोकका दाबा लामाको स्थानीय प्रभावलाई पनि एमालेले सकारात्मक रहेको समीक्षा गरेको छ । प्रतिनिधिसभाको सदस्य र मन्त्री भैसकेका कैलाली निर्वाचन क्षेत्र नं. ३ का गौरीशंकर चौधरीले पनि समग्र कैलाली जिल्लामा एमाले कमजोर बन्न पुगेकाले आगामी निर्वाचनमा पुनः विजयी भएर आउन सक्ने सम्भावना कम रहेको देखिन्छ । त्यस्तै, बाँकी अन्य माओवादी पृष्ठभूमिका नेता तथा कार्यकर्ताहरु भने एमालेको महासागरमा हराइरहेको देखिन्छ ।