विकासन्युज

बीमा कम्पनीहरु मुद्दती निक्षेपमै आकर्षित, घरजग्गामा नेशनल लाइफ बाहेक ४० वटाकै लगानी शून्य

काठमाडौं । बीमा कम्पनीहरुमध्ये नेशनल लाइफ इन्स्योरेन्सले मात्रै घर जग्गामा लगानी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जीवन, निर्जीवन र पूनर्बीमा कम्पनीमध्ये नेशनल लाइफले मात्रै उक्त क्षेत्रमा लगानी गरेको हो । कम्पनीले एक वर्षको अवधिमा ३६ करोड २४ लाख ८४ हजार रुपैयाँ घर जग्गामा लगानी गरेको छ । समितिका अनुसार कम्पनीहरुले कूल लगानीमध्ये बढीमा ५ प्रतिशत घर जग्गामा पाउने व्यवस्था छ । तर, उक्त व्यवस्थालाई अधिकांश कम्पनीले अटेर गरेको पाइएको छ । गत आवमा कम्पनीहरुले घर जग्गामा शून्य लगानी गरेका छन् । त्यस्तै, जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीले नेपाल सरकारको बचतपत्रमा २ अर्ब ४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जसमा मेट लाइफले १ अर्ब ६८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १० करोड, राष्ट्रिय बीमा संस्थाले २५ करोड रुपैयाँ र सन नेपाल लाइफले १ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् । ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा भने सबै कम्पनीले लगानी गरेका छन् । १९ वटै कम्पनीले एक वर्षमा ३ खर्ब १६ अर्ब रुपैयाँ बराबरको लगानी गरेका बीमा समितिले जानकारी गराएको छ । जुन कम्पनीहरुले गरेको लगानीमध्ये सबैभन्दा बढी हो । त्यस्तै, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा २५ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । नेशनल लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ र सन नेपाल लाइफ गरी ५ वटै कम्पनीले ५/५ करोड उक्त क्षेत्रमा लगानी गरेका हुन् । यता सूचीकृत कम्पनीको सेयरमा मेटलाइफबाहेक सबैले लगानी गरेको पाइएको छ । १८ कम्पनीले कूल ८ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् । त्यसैगरी विभिन्न बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । यो क्षेत्रमा नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, मेट लाइफ, एशियन लाइफ, आइएमई लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ र रिलायबल लाइफको भने शून्य लगानी छ । त्यस्तै, सूचीकृत कम्पनीको ऋणपत्रमा २१ अर्ब ८७ करोड, पूर्वाधार क्षेत्रमा ७ अर्ब १४ करोड, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ९८ करोड ४१ लाख, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४२ अर्ब ४४ करोड रुपैयाँ र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ४ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेका छन् । त्यसैगरी, अन्य लगानी अन्तर्गत संस्थापक सेयरमा ८ अर्ब ८ करोड, सूचीकृत नभएको कम्पनीमा ४२ करोड ७३ लाख र अन्य लगानीमा २८ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ लगानी गरेका छन् । समग्रमा जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कूल ४ खर्ब ७३ अर्ब १६ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३१.६७ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा ३ खर्ब ५९ अर्ब ३३ करोड रुपैयाँ बराबरको लगानी गरेका थिए ।

च्याउ खेती गरेर वार्षिक सात लाख नाफा कमाउछन् सिन्धुपाल्चोकका किसान

सिन्धुपाल्चोक । यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा–१३ रोपनी जग्गा १० वर्षको लागि भाडामा लिएर बलराम राउतले च्याउ खेती गरेका छन् । यसबाट मनग्य आम्दानी गर्न उनी सफल भएका छन् । वार्षिक एक लाखमा जग्गा भाडामा लिएर च्याउ खेती गरेका राउतले सात जनालाई रोजगारी दिएका छन् । उत्पादनका हिसाबले जिल्लाकै ठूलो फार्म भएकोले हेर्न आउनेलाई राउतले फार्ममै च्याउको ‘रोष्ट’ बनाएर चखाउछन् । झण्डै २० लाख लगानी गरेको च्याउ व्यवसायबाट सबै खर्च कटाएर वार्षिक सात लाख नाफा हुने गरेको राउत बताउछन् । राउतका अनुसार च्याउ उत्पादनको ४० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ । बाँकी ६० प्रतिशत काठमाडौँमा पुग्छ । च्याउको स्थानीय मूल्य एक सय ५० देखि दुई सयसम्म छ । बाह्रबिसे, खाडीचौरलगायत स्थानीय बजारका व्यापारी च्याउ लिन फार्ममै आउँछन् । त्यस्तै, तीन वर्षदेखि च्याउ खेती गर्नुभएका चौतारा साँगाचोक नगरपालिका–१० जल्किनेका सीता थापाको आफ्नै घर नजिकै प्लास्टिक टनेलमा राखिएको काठको मुढामा खैरो रङ्गको सिताके च्याउ ढपक्कै फलेका छन् । लगभग सात लाख रुपैयाँ लगानीमा तीनसय मुढाबाट व्यवसाय थालेका उनले अहिले एक हजार ५०० मुढा पुगेको छ । मुढामा बीउ राखेको नौ महिनापछि मात्रै उत्पादन हुने गरेकोले तीन सय मुढाबाट मात्रै उत्पादन भएको उनी बताउछन् । उनकोमा महिनामा सय केजीसम्म च्याउ उत्पादन हुन्छ । बीउ राखेको ६ महिनासम्म मुढालाई थुपारेर राखेपछि फल्न सुरु हुन्छ । तर ठूलो खालको सिताके च्याउ उत्पादन हुन नौ महिनासम्म लाग्छ । प्रति केजी पाँच सय देखि आठ सयसम्म बिक्री हुने गरेको उक्त च्याउबाट गतसाल साँढे दुई लाख आम्दानी भएको उनले बताए । यसवर्ष थपिएका मुढाबाट च्याउ उत्पादन भएपछि कम्तिमा दुईलाख देखि चार लाखसम्म आम्दानी हुने उहाँको आशा छ । जुनसुकै रोगीलाई उपयोगी हुने तथा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भएको स्वास्थ्यबर्दक सिताके च्याउ खरिद गर्न स्थानीय व्यापारी घरसम्म आउने गरेका छन् । उनका अनुसार यो च्याउ विशेष गरेर उत्तिसको र कटुसको मुढामा हुन्छ । उत्तिस भन्दा कटुसको मुढामा यो फस्टाउछ । तर मुढाको अभाव भएकोे उनले बताउछन् । आफ्नै लगानीबाट सुरु गर्नुभएको सो खेतीमा उहाँलाई बागमती प्रदेश सरकारले नमूना कृषि फार्म स्थापना कार्यक्रम अन्तर्गत १५ लाख दिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा सीता श्रेष्ठले तीन वर्षदेखि गरेको सिताके च्याउबाट अहिले राम्रो आम्दानी गरेको बताउँछन् । श्रेष्ठले च्याउ खेतीबाट वार्षिक दुई लाख कमाउछन् । चौतारा साँगाचोकगढी नगरपालिका ४ मा उत्पादित सिताके च्याउले भने बजार नपाउँदा स्थानीय किसान चिन्तित बनेका छन् । विसं २०७५ मा वसन्त कृषि तथा पशुपालन फार्म सञ्चालनमा ल्याएका व्यवसायी भीमसेन खड्काका अनुसार स्थानीयस्तरमा उत्पादन गरिएको च्याउले स्थानीय हाटबजारमा राम्रो भाउ नपाएकाले काठमाडाँैंको विभिन्न होटलसम्म पु¥याउनुपर्ने झन्झट व्यहोर्नु परेको छ । उनले फार्ममा विभिन्न जातका माछा, सिताके च्याउ, भँैसीपालनदेखि स्थानीय तरकारी तथा बेर्नाहरु उत्पादन गर्दै आएका छन् । स्थायी शिक्षकको जागिर छोडेर कृषि फार्मतिर आकर्षित भएका उनका बुबा झपडबहादुर पनि जिल्लाको उत्कृष्ट किसान थिए । तीन जनाले एक करोडको लागतमा सञ्चालनमा ल्याएको फार्मलाई पशुपालनको लागि प्रदेश सरकारबाट १० लाख तथा स्थानीय सरकारबाट माछापालनलाई ५० हजार अनुदान पाएको खड्काले बताए । रासस

मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । आयोगमा सङ्कलित मतदाता विवरणलाई यही भदौ १२ गते वडास्तरमा प्रकाशन गराइएको छ । त्यसपछि तोकिएको प्रमुख नाम दर्ता अधिकारीले दाबी विरोधका कार्यक्रम सञ्चालन गर्नेछन् । सो अवधिमा मतदाता नामावलीमा त्रुटि भए सच्याउने, झुटा विवरण दिइ नाम लेखाइएको भए प्रक्रियागतरुपमा निवेदन दिइ हटाउन लगाउने, एकै व्यक्तिको एक वा सोभन्दा बढी स्थानबाट नामावली सङ्कलन भएको भए हटाइनेछ । झुटा विवरणबारे प्राप्त उजुरीमाथि सम्बन्धित मतदातालाई सफाइको मौका पनि दिइनेछ । नामावलीमा अद्यावधिक कार्य सम्पन्न गरी यही भदौ २४ गते आयोगमा विवरण पठाउन भनिएको छ । आयोगले ‘मतदाता नामावली अद्यावधिक( दाबी विरोधसमेत) कार्यक्रम २०७९’ गत साउन २२ गते आयोगबाट स्वीकृत गरी प्रमुख नाम दर्ता अधिकारी तोकेको थियो । यही भदौ ३१ गते आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरी वेबसाइटमा प्रकाशन गर्नेछ ।

३ लाखबाट सुरु गरेको अल्लो व्यवसाय, १२ लाखको कारोबार

काठमाडौं । पछिल्लो समय अल्लोबाट निर्मित कपडाको माग बजारमा बढ्दो छ । १२ वर्षदेखि त्यही अल्लोका कपडा बनाउँदै आइरहेकी छिन् सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५ सल्लेरीकी नम्रता कुलुङ राई । सानै उमेरदेखि अल्लोको काम गर्न थालेकी नम्रता अहिले जिल्लामै व्यावसायिक रूपमा अल्लो व्यवसाय गर्न थालेकी छिन् । अल्लोबाट कपडा बनाउँनु त्यति सजिलो छैन । हिमाली भेगका जङ्गलमा अल्लो खोज्नु आफैमा चुनौतीपूर्ण काम हो । उनकी आमाले बनाएको हेरेर नम्रताले कपडा बनाउन सिकेकी थिइन् । समय क्रमसँगै नम्रता वैवाहिक जीवनमा बाँधिइन् । उनका श्रीमान् पेशाले शिक्षक । श्रीमान् शिक्षक भएका कारण उनी विद्यालय जान्थे भने नम्रता गाउँघरमा घाँस दाउरा, मेलापात गर्दै दैनिकी चलाउँथिन् । आफूले पनि आय आर्जन हुने काम गर्न पाए परिवार चलाउन अझ सहज हुन्छ भन्ने सोच नम्रतामा पलायो । ‘हिमाली भेगमा रोजगारी पाउनु त्यति सजिलो छैन, आफै काम गर्न पनि स्रोत साधनको नभएका कारण झट्ट नयाँ काम सुरु गर्न पनि मुस्किल थियो,’ उनले भनिन् । अन्ततः नम्रताले पुर्ख्यौली पेसालाई अपनाउने निणयमा पुगिन् । नम्रताले अल्लोबाट कपडाहरू बनाउने योजना बनाएको उनका श्रीमानलाई सुनाइन् । नभन्दै नम्रताका श्रीमानले पनि साथ दिए । नम्रताले आज भन्दा १२ वर्ष अगाडि ‘हिमालन अल्लो हस्तकला केन्द्र’ दर्ता गराइन् । सो उद्योग दर्ता गराए पश्चात् ३ लाख रुपैयाँको लगानी गरी आफ्नो व्यावसायिक यात्रा अगाडि बढाएको नम्रता बताउँछिन् । सुरुमा उत्पादन भयो खपत हुन मुस्किल परेको उनी स्मरण गर्छिन् । बिस्तारै नम्रताको व्यवसाय फस्टाउदै गयो । व्यापार पनि राम्रो हुन थाल्यो । यो व्यवसायले मनग्य आम्दानी दिन थालेपछि नम्रताले गाउँ घरका दिदी बहिनीहरूलाई पनि यस सम्बन्धी जानकारी दिन थालिन् । बिस्तारै सो ठाउँका महिलाहरूले पनि अल्लोका कपडाहरू बुन्न थाले । ‘पहिला अहिले हामीले लगाउने जस्तो कपडा थिएन, हाम्रो बाजे बजैहरूले कपडा नभएको समयमा यसको कपडा बनाएर लगाउनु हुन्थ्यो, अहिलेका जस्ता कपडा पछिपछि सोलुखुम्बु तिर पुग्यो, अल्लोको कपडा र त्यसको महत्व हराउँदै गएपछि यो पेशालाई पनि अगाडि बढाएका हौं,’ उनले भनिन् । नम्रताको हिजोआज एक छिन पनि फुर्सद हुँदैन । अल्लोबाट निर्मित कपडाको माग स्थानीय बजारमाबाट दिनप्रतिदिन बढ्दै गएपछि उनी जतिबेला पनि तान बुन्नमै व्यस्त हुन्छिन् । पछिल्लो समय नेपालका बन्न थालेको अल्लोको माग अन्तर्राष्ट्रिय बजारमा समेत बढ्दो छ । तर, माग भए पनि नम्रताले बुनेका कपडा स्वदेशी बजार नै खपत हुन्छ । अहिले हामीले उत्पादन गरेको सामान स्वदेशी बजारमा नै खपत हुन्छ, अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन हाम्रो पहुँच पुग्दैन, तर अन्तर्राट्रिष्य बजारमा चिनाउने लक्ष्य छ,’ उनले भनिन् । अल्लो सिस्नो प्रजातिको वनस्पति हो । त्यस बेलासम्म उनलाई जिल्लामा कसैले चिन्दैनथे । अहिले त्यही सीपले उनलाई अल्लो व्यवसायी बनाएको छ । ‘अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको माग देश तथा विदेशसम्म हुने थालेको छ । प्रख्यात कोसेलीका रूपमा प्रयोग हुने अल्लोको माग बढेको नम्रता बत्ताउँछिन् । जिल्ला बाहिरबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले सो ठाउँबाट घर जाँदा वा नातेदार र साथीभाइ भेट्न जाँदा अल्लोका कपडा उपहार लिएर जाने गर्छन् । अहिले सोलुखुम्बु जिल्लामा बस्ने अधिकांश मानिसले अल्लो उत्पादनदेखि प्रशोधन समेत गर्दै आएको नम्रता बत्ताउँछिन् । अहिले नेपाली समाजमा पनि अल्लोबाट बनेका कुनै न कुनै कपडा प्रयोग धेरैले गरेको पाइन्छ । जिल्लामा काम गरेर अन्य क्षेत्रमा सरुवा भएर जाने कार्यालय प्रमुख र कर्मचारीहरूले समेत कोसेलीका रूपमा अल्लो लिएर जाने गरेको नम्रता बत्ताउँछिन् । अल्लोको कपडा लिन सेना, प्रहरी, कार्यालय प्रमुखसमेत आदि आउने पनि नम्रता भनाइ छ । नम्रताका अनुसार छिमेकी गाउँका ४०/५० घरधुरीका महिलाहरूले अहिले व्यवासय गरेर मनग्य आम्दानी गरिरहेको छन् । नम्रताले उनीहरूले उत्पादन गरेका अल्लोको सामान बजारसम्म पुर्याएर बेचिदिने काम गर्छन् । नम्रताले अल्लोको कोट, ज्वारीकोट, कपडा, फेङगा, सल, टोपी, लेडिज/जेन्स ट्याग तथा, पर्स, डायरी, जुत्ता, चप्पल जस्ता विभिन्न सामग्रीको उत्पादन गरी बिक्री गर्ने गरेकी छिन् । अल्लोको कच्चा पदार्थ नै खोज्ने जङ्गलमा जानु पर्ने बाध्यता छदैछ । अल्लोको कच्चा पदार्थ खोज्ने क्रममा भालुले आक्रमणमा परेर धेरै दिदी बहिनीको ज्यान गएको सुनाउँदै उनी मलिन हुँदै भन्छिन्, ‘अल्लोको खोज्ने क्रममा ३/४ जनाको ज्यान गएको छ, धेरै जना अपाङ्ग भएका छन् ।’ उनका अनुसार अल्लोबाट धागो बनाएपछि कपडा उत्पादन हुन्छ । सो कपडा अमेरिका र जापानसम्म पनि निर्यात हुने बताइन् । वार्षिक १२ लाखको कारोबार अल्लोको व्यापार गरेर वार्षिक १२ लाख रुपैयाँ बराबरको कारोबार गरेको पनि नम्रताले बताइन् । उनका अनुसार कोभिडको समयपछि पहिलाको भन्दा तुलनात्मक रूपमा व्यापार घटेको छ । ‘प्रविधिको प्रयोग नगरी हातबाट अल्लोको सामान बनाउनु पर्ने हुन्छ, हातबाट बनाउँदा समय धेरै लाग्छ, प्रविधिको सहयोग मिल्यो भने उत्पादन पनि बढी हुने र लागत पनि कम लाग्छ,’ उनले भनिन् । ‘बजार सानो छ, उत्पादन बढी, यहाँका अधिकांश महिलाहरूको पेसाले यो बजारमा माग उच्च भयो भने सोही ठाउँका धेरैले रोजगारी पाउँथे,’ उनले भनिन् । शहरमा जग्गा किन्न नसके पनि अल्लोको व्यापार गरेर गाउँमा नै जग्गा जोड्न सफल भएको पनि उनी सुनाउँछिन् । उनले २ सय देखि ३५ सय रुपैयाँ सम्मका मूल्यका बराबरका अल्लोको सामान नम्रता उत्पादन हुन्छ । परम्परागत काठको तानमा हातले बुनिने अल्लो कपडाको माग स्वदेश र विदेशमा पनि बढ्न थालेपछि अहिले अल्लोको कपडा उत्पादन गर्ने सोलुखुम्बुका उद्यमीलाई भ्याइनभ्याई छ ।

सेयर बजारको ‘हटकेक’ विशाल बजारमा पस्यो महानगर, नक्सा भेटिएन, २४ घण्टामा उपस्थित हुन आदेश

काठमाडौं । काठमाडौं महानगरले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा लिएर उपस्थित हुन निर्देशन दिएको छ । महानगरको टोलीले सोमबार विशाल बजारको स्थलगत अनुमगन गर्दा बेसमेन्टमा रहेको पसलहरु अनधिकृत हुनुको साथै भवनको नक्सा समेत नरहेको पाएपछि नक्सा लिएर वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । दोस्रो बजारमा विशाल बजार कम्पनीको सेयर मूल्य आज ३ हजार ४६७ मा कारोबार भइरहेकाे छ ।

आफ्नै भवन हुँदा पनि ७ लाख तिरेर भाडामा बस्न कृषि विकास बैंक बाध्य

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–९ मा रहेको कृषि विकास बैंक शाखाको भवन तथा जग्गा वर्षौंदेखि प्रयोगमा नल्याई त्यसै छोडिएको छ । सरकारी बैंकअन्तर्गत पर्ने आफ्नै जग्गामा बनेको उक्त शाखाको भवन दुरुपयोग भएको हो । द्वन्द्वकालमा उक्त भवनमा क्षति हुनाका साथै आवश्यक कागजपत्रसमेत नष्ट गरिएपछि उक्त शाखाले आफ्नो भवन तथा जग्गाको कुनै वास्ता नगरी विगत धेरै वर्षदेखि विराटचोकमा चर्को भाडा तिरेर शाखा सञ्चालन गर्दै आएको छ । विराटचोक शाखाले हाल बैंक सञ्चालनका लागि मासिक ६० हजार भाडा तिर्ने गरेका शाखा प्रमुख केदार अधिकारीले उल्लेख गरे । उनले भाडा तिरेर सञ्चालन हुँदै आएको भवन पनि बैंक बस्नका लागि अहिले उपयुक्त नभएको बताए । शाखा प्रमुख अधिकारीले कृषि विकास बैंक विराटचोक शाखा आफ्नै भवनमा कहिलेदेखि सञ्चालन हुने भन्नेबारेमा कुनै अत्तोपत्तो नभएको समेत जानकारी दिए । बैंकको जग्गा सुन्दरहरैँचामा करिब चार कट्ठाभन्दा बढी हुनाका साथै भवनसमेत छ । यो जग्गा जनताको सहभागितामा सस्तो दरमा बैंकिङ सेवा सञ्चालनका लागि विगत समयमा खरिद गरिएको स्थानीयवासी रामप्रसाद गजुरेलले बताए । तीन पटकसम्म स्थानीय बैंकले आफ्नै भवन पुनःनिर्माण तथा सुधार गरी सञ्चालनमा ल्याउनका लागि डेलिकेशनमा समेत गए पनि सम्बन्धित निकायबाट कुनै पहल भएको छैन । यहाँ २०६३ सालदेखि प्रयोगमा नआएको उक्त भवन र जमिनलाई सही सदुपयोग गरेमा उत्तम त्यहाँका वडाध्यक्ष प्रकाश श्रेष्ठले बताए । अहिले उक्त भवन जीर्ण भएर सर्प लुक्ने ठाउँ तथा झाडीको रूपमा परिणत भएको छ । महेन्द्र लोकमार्गकै छेउमा भएर पनि वरिपरि सुँगुर चर्ने ठाउँ तथा फोहर मैलाका कारण दुगन्ध फैलिएर बसिनसक्नु भएर कुरुपसमेत भएको स्थानीयवासी बताउँछन् । उक्त बैंक विराटचोकमा २०३२/३३ सालतिर बैंकिङ कारोबारका लागि आएकामा २०४५ सालमा आफ्नै जमिनमा भवन बनाइएको थियो । करिब चार/पाँच वर्ष यहाँ बैंक चलेपछि माओवादीले बम पड्कार क्षति गरेको स्थानीयवासीले बताए । बैंकमा माओवादीले क्षति पु¥याएपछि कृषि विकास बैंक इटहरी सरेर पछि पुनः सुन्दरहरैँचा आएको थियो । उक्त शाखा कार्यालयले अहिलेसम्म विराटचोकमा वार्षिक सात लाख २० हजार तिरेर भाडामा बस्दै आएकामा आफ्नै जग्गामा रहेको भवन मर्मत गरी पुनः प्रयोगमा ल्याउनु जरुरी रहेकाले यस विषयमा केन्द्रलाई जानकारीसमेत गराइएको सुन्दरहरैँचा नपाका प्रमुख केदारप्रसाद गुरागाईंले बताए । रासस

महानगरले सुरज आर्केडलाई पसल खाली गर्न दियो २४ घण्टा

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थति सुरज आर्केडलाई २४ घण्टाको समय दिएको  छ । महानगरले सुरज आर्केडको बेसमेन्टका पसलहरुलाई खाली गर्न २४ घण्टाको समय दिएको हो । पार्किङका लागि नक्सा पास भएको सुरज आर्केडको अन्डरग्राउन्डमा सटर राखेर विभिन्न पसलहरू राखिएको छ । जमिन तला, बेसमेन्ट, सेमी बेसमेन्ट, भुइँतलालाई स्वीकृत नक्साबमोजिम प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग गरेको पाइएकाले महानगरले गत साउन २ मा स्वीकृतिअनुसार नै प्रयोग गर्न ३५ दिने सूचना निकालेको थियो ।

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला छ सयले घटेर ९४ हजार ५०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँ थियो । नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार १४५ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।