गोल्ड मेडलिस्ट अनु : खेलकुदसँगै बैंकिङमा पनि जम्दै
काठमाडौं । ‘मैले लगाएको जर्सी नम्बर ४ हो, त्यसैले मैले ४ गोल मात्रै गरेँ, बढी नम्बरको जर्सी लगाएको भएर बढी नै गोल गर्थेँ,’ खेल सकिएपछि ४ नम्बर जर्सी लगाएकी खेलाडीले ठट्टा गर्दै पत्रकारसँग भनिन् । शुक्रबार विकासन्युजले हरितालिका तीजको अवसरमा आयोजना गरेको बैंकर्स र बीमकबीच गरेको मैत्रीपूर्ण फुटसल खेल अवधिभर चर्चाको विषय बनिन् जर्सी नम्बर ४ अर्थात् अनु अधिकारी । हिमालयन बैंकको रेमिट्यान्स विभागमा कार्यरत अनुले शुक्रबारको फुटसल प्रतियोगितामामै सर्वाधिक चार गोल गरेर २५ हजार रुपैयाँ पुरस्कार हात पारिन् । काठमाडौंको लैनचौरस्थित हरियो र सुन्दर खेल मैदान । घर्कदो दिन, नजिकिदो साँझको समय । न घाम न पानी । खुल्ला आकाश । त्यही सुन्दर मैदानमा बैंकर्स र बीमकबीच घमसान फुटसल भइरहेको थियो । अनुको खुट्टामा बल पर्ने वित्तिकै दर्शक दीर्घाबाट हुटिङ भैहाल्थ्यो । रातो रङ्ग भएको जर्सी बैंकर्स र निलो रङ्ग भएको जर्सी बीमकको थियो । जर्सी नम्बर १ देखि १४ नम्बरसम्मका खेलाडी खेल मैदानमा रातो र नीलो गरी उत्रिएका थिए । शुक्रबारका दिन लैनचौरको मैदानमा बैंकर्स महिला र बीमक महिलाबीच मैत्रीपूर्ण फुटसल खेलमा पहिलो गोल ४ नम्बर जर्सीले गरिन् । त्यसपछि सबैको नजर रातो रङ्गको जर्सी नम्बर ४ लेखिएको खेलाडीमा थियो । दोस्रो गोल भने रातो रङ्गमा १४ नम्बर लेखिएकी सिभिल बैंककी समिक्षा खड्काले गरिन् । ४० मिनेटसम्म भएको मैत्रीपूर्ण खेलमा बीमक विरुद्ध बैंकर्सले ५–० को अग्रता कायम गर्याे । ५ गोल भएकोमा ४ वटा गोल ४ नम्बर लेखिएको हिमालयन बैंककी अनु अधिकारीले गरिन् । खेल शुरु भएको ५ मिनेटको समयमा नै उनले पहिलो गोल गरेकी थिइन् । त्यसपछि पहिलो गोल गरेको ८ मिनेटमा दोस्रो गोल गरेकी अनुले पहिलो हाफ अर्थात् २० मिनेटमा ३ वटा गोल गरिन् । उनले खेल सकिनु एक मिनेट अघि मात्रै चौंथो गोल गरिन् । त्यो गोल उनका लागि सम्झन लायक बन्यो । किनभने अन्तिम गोल बाँया खुट्टाले गरेकी थिइन् । दायाँ खुट्टाले ३ वटा गोल गरेकी अनुले अन्तिम समयमा बाँया खुट्टाले गोल गर्दा स्मरण भइरहेको बताउँछिन् । ‘अहिले पनि स्मरणमा छ, अन्तिम पटकको गोल हान्दा रमाइलो लागिरहेको छ, मेरो दायाँ खुट्टा बढी चल्छ, रेफ्रिले समय सकियो भन्दै थियो गोल गर्दा बायाँले हाने, अन्तिम १ मिनेट बाँकी हुँदा चौथौं गोल गरेकी हुँ, आफूलाई पनि खत्रा नै हाने जस्तो लाग्यो,’ उनले भनिन् । पहिलो हाफमा उनको खुट्टा अनुसारको पोस्ट परेको थियो । २० मिनेटको समय सकिएर पोस्ट परिवर्तन भएपछि भने गोल हान्नलाई गाह्रो भएको उनले बताइन् । तैपनि दोस्रो हाफमा एक गोल हानेर आफ्नो भागमा ४ गोल पुर्याइन् । फुटसल अवधिभर जर्सी नम्बर १० र जर्सी नम्बर ७ का कारण गोल गर्न सहज भएको उनको भनाइ छ । ‘उहाँहरुले मिक्सिङमा खेल्नु भयो, पास राम्रो गर्नुभयो, फुटबलमा एक्लै खेल्ने भन्ने हुँदैन, टीममा खेल्ने हो, त्यसैले टीमको सहायता लिएर गोल गर्न सफल भए,’ अनुले भनिन् । खेल मैदानमा उनी कयौं पटक लडिन् । उनी खेलमैदानमा लडेपनि साहस झन् थपिदै गएको थियो । खेलको मध्यतिर गोल पोस्ट नजिकै बल लगेर जाँदा विपक्षिले छेक्न खोज्दा उनी लडिन् । उनको खुट्टामा चोट लाग्यो तर उनी तुरुन्तै उठेर शारीरिक पीडा भन्दा पनि गोल गर्ने लक्ष पुरा गर्न तर्फ लम्किरहिन् । खेल सुरु हुनुभन्दा अघि सबै जना खेलाडी अभ्यास गरिरहेका थिए । खेलाडी अनु अधिकारी भने शारीरिक व्यायाम गरिरहेकी थिइन् । उनको यो दृश्यले खासै फुटबलमा चासो नरहेको भन्ने देखाउँथ्यो । शारीरिक अभ्यासले फुटबल खेलाडी भन्दा पनि अन्य खेलाडी रहेको उनको अभ्यासले बताइरहेको थियो । पेशाले बैंकर र खेलाडी दुवै हुन् । २ वर्षदेखि उनी हिमालयन बैंकमा काम गर्दै आइरहेकी उनी १३ औंसाउथ एशियन गेम (साग) को ‘गोल्ड मेडलिस्ट’ हुन् । यसअघि बङ्गलादेशमा भएको ११ औं सागमा ‘सिल्भर मेडलिस्ट’ बनेकी थिईन् । २ पटक राष्ट्रिय खेल खेलिसकेकी उनी १६ वर्षदेखि कराँतेमा सक्रिय छिन् । २०१३ मा जापानमा भएको वल्र्ड च्याम्पियनसिप खेलिसकेकी उनले त्यो बेला भने मेडल जित्न सकिनन् । थर्ड प्लेसको लागि खेलेकी उनले २ वटा फाइट जितेकी थिइन् । तर मेडल भने हात पार्न सकिनन् । १२ वर्षदेखि कराँतेको राष्ट्रिय टीममा राष्ट्रिय खेलाडीका रुपमा सक्रिय छिन् । ३–४ वर्षदेखि कोरोना महामारीका कारण निस्क्रिय जस्तै बनिन् । तैपनि उनले खेल्न भने छाडेकी छैनन् । कराँतेमा हुँदा कहिलेकाँही फुटबल खेल्ने गरेको उनको अनुभव छ । लामो समयपछि खेल्दा रमाईलो लागेको उनले बताइन् । ‘धेरै समयपछि सबैसँग भेटघाट भएर खेल्दा रमाइलो भयो, छोटो समयमा टीम पनि सेट भयो,’ उनले भनिन् । लैनचौरको मैदानमा पाइला टेक्नुभन्दा अघि एक खेलाडीले अर्काे खेलाडीलाई चिनेका पनि थिएनन् । यहि कारणले सबै खेलाडीको मनमा एक किसिमको चिसोपना महसुस भएको थियो । उनीहरुले छोटो समयमा नै टीम भित्र समन्वय गरेर आफ्नो टीमलाई बलियो बनाए । खेल खेल्दा उनीहरु यसअघि पनि टीम बनाएर खेलेको जस्तो देखिन्थ्यो । ‘एकदिनमा यति धेरै खेल्न सक्छन् भने सधैं अभ्यास गर्ने हो भने राम्रो खेल्न सकिन्छ, यो अवसर मिलाएकोमा विकासन्युजलाई धन्यवाद छ,’ बैंकर्स अधिकारीले भनिन्, ‘राष्ट्रिय खेलमा पनि जित्नेलाई यति धेरै पुरस्कार हुँदैन, यो एउटा सुरुवात हो, २५ हजार धेरै हो, यो सरकारलाई पनि घोच्ने टाइपको छ ।’ उक्त पुरस्कार राशी एलएलजी इन्स्योरेन्सले उपलब्ध गराएको थियो । यसअघि कुनै पनि फुटसल वा फुटबल प्रतियोगीमा सहभागी नभएपनि फुटबलमा रुची भएको बैंकर्स अधिकारी बताउँछिन् । ‘म कराँतेको खेलाडी भएको हुनाले पनि गोल गर्न सहज भएको हो, कराँतेमा हुँदा समूहमा कहिलेकाँही फुटबल खेल्थे, मलाई फुटबल राम्रो लाग्छ,’ उनले भनिन् । शंकरदेव क्याम्पसबाट एमबिएस गरेकी अनुले बैंकिङ्ग पेशा अंगाले पनि कराँते भने छोडेकी छैनन् । बैंकले कराँतेको अभ्यास गर्न समय दिने गरेको उनको भनाई छ । ‘खेलाडीका लागि सबैभन्दा ठूलो गोल्ड मेडल हो, गोल्ड मेडल पाइसकेँ, अहिले ट्रेनिङ गरिरहेकी हुन्छु, कराँतेको अभ्यासका लागि बैंकले पनि सहज वातावरण बनाएको छ, बिहान केही समय ढिला आएपनि बैंकले समय दिएको छ, अहिले पनि कराँतेमा सक्रिय नै छुँ,’ उनले भनिन् । बैंकिङ्ग क्षेत्रका लागि शैक्षिक योग्यता पनि रहेकाले बैंकमा जागिर गरेको उनले बताइन् । बैंकमा काम गर्ने इच्छा भएकाले फाइनान्स पढेको उनको भनाइ छ । नवविवाहित भएपनि घरपरिवारबाट सबै सहयोग रहेको उनले बताइन् । समय मिलेसम्म अझै पनि कराँते खेल्ने रहर उनीमा छ । विकासन्युजले महिलाहरुको विशेष पर्व हरितालिका तीजका अवसरमा भदौ १० गते बैंक भर्सेस बीमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको थियो । विभिन्न वाणिज्य बैंकमा कार्यरत १४ जना महिला र विभिन्न बीमा कम्पनीमा कार्यरत १४ जना गरी २८ जनाले सहभागीता जनाएका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना प्रमुख अथितिको रुपमा उपस्थित भएकी थिईन् । प्रतियोगीतामा भाग लिएका खेलाडीसँग थुप्रै प्रतिभा रहेको बैंकर्स अधिकारी बुझाइ छ । बैंक तथा बीमा क्षेत्रमा यस्ता गतिविधि कम हुने गरेकाले अवसरका लागि आभार प्रकट गरिन् ।
एनआरएनले जारी गर्यो १३ बुँदे घोषणापत्र
बैंकक । थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एशिया क्षेत्रीय बैठक विभिन्न १३ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ । शुक्रबारदेखि सुरु भएको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरु, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका गरी झण्डै ३०० प्रतिनिधिको सहभागिता रहेको थियो । घोषणापत्रमा दोस्रो विश्वयुद्धको समयदेखि म्यानमार, मलेसिया, थाइल्याण्ड, सिङ्गापुर, फिजी लगायतका देशमा रहेका करिब छ लाख नेपाली मूलका पिएनओ (पिपल अफ नेपाली ओरजिन) हरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न यो सम्मेलनबाट नेपाल सरकारसँग विषेश अनुरोध गरिएको छ । एनआरएनएले स्थापना कालदेखि उठाउँदै गरेको गैरआवासीय नेपालीले नेपाली नागरिक सरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता हालै संसद्बाट पारित भएको प्रति सम्मेलनले खुशी व्यक्त गर्दै गैरआवासीय नेपालीहरुको नागरिकतालाई सुनिश्चित गर्न आवश्यक कानूनी व्यवस्था तत्काल गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष हार्दिक अनुरोध गरेको छ । एसिया प्रशान्त क्षेत्रमा बसोबास गर्ने युवा, महिला तथा दोस्रो पुस्तालाई सङ्घको मूलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकालाई नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने कार्य गर्न सङ्घका सबै राष्ट्रिय समन्वय परिषद्हरु सम्मेलनमार्फत प्रतिबद्धता जाहेर गरिएको छ । नेपालमा विदेशबाट पढ्न आउनेले पर्यटन भिसा लिएर जानुपर्ने अवस्था भएकोले सो को अनुकूल वातावरणका लागि विद्यार्थी भिसाको व्यवस्थाका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । गैरआवासीय नेपालीको लगानीलाई सुनिश्चित गर्नका लागि आवश्यक कानूनलाई समयाअनुकूल परिमार्जित गर्दै गैरआवासीय नेपालीको लगानीलाई नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन आवश्यक पहलका लागि सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गर्ने पनि घोषणापत्रमा उल्लेख छ । आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानून निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाईनमार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायलाई बैठकले अनुरोध गरेको छ । यसैगरी हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने तथा गन्तव्य देशसँग श्रम सम्झौता गर्दा अनिवार्यरूपमा सामाजिक सुरक्षामा आबद्ध गराउन अनुरोध गरिएको छ । विदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्वाङ्गीण विकासमा योगदान हुने गरी सोको सहज प्रयोगका लागि आवश्यक संयन्त्र निर्माण तथा समन्वय गर्न सम्मेलनले अनुरोध गरेको छ । सङ्घले उद्धमशीलताको विकास गर्न विद्यालयस्तरबाटै पढ्दै कमाउँदै जस्ता मौलिक कार्यक्रमहरु सञ्चालनमा ल्याउने योजनाको यो सम्मेलने स्वागत गरेको छ । साथै युवा तथा महिलाहरुको उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाको सहभागिता सुनिश्चित गराउन सम्मेलनले प्रतिबद्धता जाहेर गरेको छ । सम्मेलनले नेपालको प्रमुख आर्थिक स्रोत विप्रेषण (रेमिट्यान्स)लाई औपचारिक माध्यमबाट नेपाल पठाउने वातावरण बनाउँदै त्यसको केही निश्चित अंश उत्पादनमा लगानी गर्नै पर्ने वातावरण मिलाउन नेपाल सरकार सङ्घबीच सहकार्य गर्ने सम्मेलन निर्णय गरेको छ । साथै समस्त गैरआवासीय नेपालीहरुलाई नेपालमा डलर खाता खोली नेपालमा देखिएको वैदेशिक मुद्राको न्यूनतालाई परिपूर्ति गरी सहयोग गर्न सम्मेलनले अपिल गरेको छ । यसैगरी वैदेशिक रोजगारमा रहेका ससाना लगानी गर्न सक्ने नेपालीलाई सामूहिक लगानीमा आबद्ध गराउनका लागि नेपाल सरकारसहितको संलग्नतामा सञ्चलान गर्न लागिएको १० अर्ब रुपैयाँको लगानी कोष सञ्चालनमा आवश्यक कानून यथाशक्य छिटो परिमार्जन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । सम्मेलनले मिलाप एसिया भेन्चरको स्थापना गरी नेपाली कोसेली उद्योगको स्थापना गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने गरी घोषणापत्र जारी गरिएको छ । सम्मेलन सम्मानित श्रम बजार, गैरआवासीय नेपाली नागरिकता, विदेशबाट नै मताधिकार, सामाजिक सुरक्षा, पिएनओ साथै महिला तथा युवालगायत सङ्घले लामो समयदेखि पैरवी गर्दै आएका मुद्दा र सङ्घको संरचनागत सुधारका बारेमा केन्द्रित रहेको थियो । सङ्घका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा बद्री केसी, संस्थापक, सङ्घका पदाधिकारी तथा सदस्य, एसिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा प्रतिनिधिले सङ्घलाई आगामी दिनमा एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाएका थिए । सम्मेलनमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको प्रमुख आतिथ्यता एवं सांसद डा सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेग, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्ट, संस्थापक अन्तर्राष्ट्रिय संयोजक (महासचिव) भीम उदासलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको उपस्थिति रहेको थियो । रासस
कामना सेवा र हिबाची प्लेसले गरे मर्चेन्ट सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता गरेका छन् । दुई कम्पनीबीच आइतबार एक आपसमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध हुनेले काठमाडौंको लाजिम्पाटस्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउन सक्नेछन् । उनीहरुले बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सजिलै पाउन सक्नेछन् ।
एसवाई प्यानलको टिकटक प्रतियोगिताबाट सुमित्रा र संगमले पाए डेढ लाख, अरुले कति ?
काठमाडौं । एसवाई प्यानल नेपालले आयोजना गरेको टिकटक प्रतियोगिताबाट चितवनका सुमित्रा मौराती र संगम दराइले डेढ लाख रुपैयाँ जितेकी छिन् । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाईले हालै आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम भएका दुई जनाले सो बराबरको नगद पुरस्कार पाएका हुन् । कम्पनीले आइतबार उक्त प्रतियोगिताको विजेता घोषणा गर्दै प्रतियोगीहरुलाई नगद र सम्मानसहितको कार्यक्रम सम्पन्न गरेको छ । जसअनुसार प्रथम भएकी सुमित्रा मौरातीसँगै उनको सहयोगी संगम दराइ भएका छन् । सो अनुरुप उनीहरुले डेढ लाख रुपैयाँ पाएका हुन् । त्यस्तै, उक्त प्रतियोगितामा दुई जना दोश्रो भएका छन् । दोश्रो हुनेमा टिकटकर रवि लामा र सोबर घिमिरे (ढुकुरे) रहेका छन् । उनीहरुले प्रतिव्यक्ति १/१ लाख नगद रुपैयाँ पाएका छन् । यस्तै, टिकटकर रेश्मा बान्तवा, बिना अधिकारी र फ्याम्ली क्रीउ तेश्रो हुन सफल भएका छन् । यी तीन जनाले प्रतिव्यक्ति ७५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । यसैगरी, कम्पनीले उक्त प्रतियोगितामा चौथो हुने ४ जनालाई प्रतिव्यक्ति ४० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको छ । जसमा टिकटकर बिनोद लामा, बिनिता मगर, हेमन्त पाण्डे र शीतल रावल रहेका छन् । कम्पनीले पाचौंमा ५ जनालाई छनोट गरेको छ । जसमा असीम भुजेल, पार्वत राई, सुरज कमाईत, हार्दिक घिमिरे र अनिल सुनार रहेका छन् । उनीहरुले प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् । साथै, कम्पनीले ४ जनालाई कला र योग्यता उच्च मुल्याङ्कन गर्दै सान्तोनामा छनोट गरेको छ । जसमा टिकटकर चेतन बहादुर केसी, रमेश बुढाथोकी, जानुका ढुंगाना र पूजा काफ्ले छनोट भएका छन् । सान्तोनामा छनोट भएका उनीहरूले प्रतिव्यक्ति १५ हजार रुपैयाँ नगद पाएका छन् । कम्पनीले गत साउन ६ गतेदेखि सो प्रतियोगिता सुरु गरेको थियो । जसमा आएका भिडियोहरुलाई कम्पनीले विभिन्न आधारमार्फत उत्कृष्ट भिडियोको रुपमा छनोट गरेको हो । जसमा ३० प्रतिशत लाइकको आधारमा, ४० प्रतिशत सिर्जनात्मक तथा निर्णायकको आधारमा र ३० प्रतिशत धेरै भिउज, धेरै सेयर र कमेन्टको आधारमा उक्त प्रतियोगीहरु छनोट भएका हुन् । के हो एसवाई प्यानल ? एसवाई प्यानल कोरियन पब्लिक कम्पनी हो । यसले निर्माणको लागि चाहिने आवश्यक सामग्रीहरू उत्पादन गर्दै आएको छ । नेपालमा सन् २०१५ को भूकम्पपछि २०१६ मा यसको सम्भाव्यताको अध्ययन गरी २०१७ बाट यो कम्पनीको सुरुवात भएको हो । प्रत्यक्ष विदेशी लगानी मार्फत सन् २०१७ देखि हालसम्म यस कम्पनीले प्यानलहरू उत्पादन गरेर सुन्दर घरहरू बनाउँदै आएको छ । २०१७ देखि नेपालमा एसवाई प्यानल उत्पादन सुरु भएको हो । विगत लामो यस कम्पनीले कोरियन प्रविधिको प्रयोग गरी नयाँ र आधुनिक घरहरू बनाउँदै आएको छ । यस कम्पनीले बनाएका घरहरू पछिल्लो समय नेपाली बजारमा निकै लोकप्रिय बनी सकेका छन् । कम्पनीका अनुसार यसका नेपाल भर ८० वटा डिलर छन् ।
डाक्टर भगवान कोइरालाको पुस्तक किनेर देशका बालबालिकाको उपचारमा सहयोग गर्न सकिने
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको संस्मरणात्मक पुस्तक किनेर नेपालका बालबालिकाको उपचारमा सहयोग गर्न सकिने भएको छ । डाक्टर कोइरालाको संस्मरणात्मक पुस्तक ‘हृदय’ को साधारण र विशेष संस्करण खरिद गरेर उनको नेतृत्वमा निर्माण गर्न लागिएको गैरनाफामूलक ‘काठमाडौं इन्स्ट्च्यिुट अफ चाइल्ड हेल्थ’को निर्माणमा सहयोग गर्न सकिने भएको हो । आधारभूत स्वास्थ्य उपचारको अभावमा लाखौं नेपाली बालबालिकाहरुले जीवन गुमाउँदै आएको दुःखद यथार्थलाई न्यूनिकरण गर्नका लागि डाक्टर कोइरालाको नेतृत्वमा विशिष्ट बाल अस्पताल (काठमाडौं इन्स्ट्च्यिुट अफ चाइल्ड हेल्थ) निर्माणको प्रकृयामा अगाडि बढेको छ । सातै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्य लिइएको सो अस्पतालको पहिलो शाखा झापाको दमकमा अन्तिम चरणमा पुगेको छ । कोइरालाको सोही विशाल लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यले फाइनप्रिन्टले उनको पुस्तक ‘हृदय’ को विशेष संस्करण ल्याउने भएको छ । उक्त विशेष संस्करण यही भदौको अन्तिम साता लोकार्पण गरी बिक्री गरिने फाइन प्रिन्टले जनाएको छ । इन्स्ट्च्यिुट सञ्चालनको लागि सहयोग गर्न प्रकाशन गरिएको विशेष प्रकाशनको पुस्तकको मूल्य प्रति पुस्तक २५ हजार हुने प्रकाशकले जनाएको छ । प्रकाशकका अनुसार विशेष आकर्षक डिजाइन सहित प्रकाशन गरिएको उक्त पुस्तकको लागत बाहेक सम्पूर्ण रकम इन्स्ट्च्यिुटलाई नै प्रदान गरिनेछ । साथै उक्त पुस्तकबाट प्राप्त हुन सक्ने रोयल्टीबापतको रकम पनि आफुले नलिने डा कोइरालाले बताएका छन् । कोइरालाको पुस्तक ‘हृदय’ आम मानिसले पनि खरिद गर्न सकिने साधारण प्रकाशनमा पनि प्राप्त गर्न सकिन्छ । उक्त साधारण प्रकाशनको मूल्य प्रति पुस्तक ५ सय ७५ रुपैयाँ पर्ने प्रकाशकले जनाएको छ । उक्त पुस्तकबापत प्राप्त हुने रोयल्टीको ५० प्रतिशत रोयल्टी पनि इन्स्ट्च्युटलाई प्रदान गरीने डाक्टर कोइरालाले बताएका छन् । इन्स्ट्च्यिुटको सहयोगार्थ प्रकाशन गर्न लागिएको विशेष प्रकाशन २ हजार ५ सय प्रति प्रकाशन गरिने र सो संस्करणको सम्पूर्ण प्रति बिक्री हुँदा ६ करोड २५ लाख रुपैयाँ संकलन हुने प्रकाशकले जनाएको छ । डाक्टर कोइरालाको विशाल सपनालाई सहयोग गर्न चाहने व्यक्तिहरुले विभिन्न माध्यमबाट उनको पुस्तक किनेर सहयोग गर्न सकिन्छ । त्यसका लागि पुस्तकको बिमोचनपश्चात अनलाइन र फोनबाट पनि खरिद गर्न सकिने व्यवस्था आयोजकले गरेको छ । देश विदेशमा रहेका जुनसुकै ठाउँमा रहेका व्यक्तिहरुले इसेवा र आइएमई पे मार्फत पैसा भुक्तानी गरी पुस्तक खरिद गर्न सकिने र डेलिभरी गर्ने व्यवस्था गरिएको प्रकाशकले जनाएको छ । साथै आजैदेखि ९८०८२२४४६४ नम्बरमा सम्पर्क गरेर पनि विशेष संस्करण बुकिङ गर्न सकिने सकिन्छ । पाठकहरुले पुस्तक रुचाएमा अंग्रेजी संस्करणमा प्रकाशन गर्ने मनसाय रहेको डाक्टर कोइरालाले बताएका छन् । साथै केही समयपछि डाक्टर कोइरालाको संस्मरणलाई ‘स्कुल संस्करण’ मा प्रकाशन गरी आम विद्यार्थीको हातमा पुर्याउने योजना रहेको फाइन प्रिन्टले जनाएको छ । आफुहरुले अगाडि सारेको बाल अस्पताल निजी र सरकारी नभएर गैरनाफामूलक संस्थाको रुपमा सञ्चालित हुने र सो बनाउने योजनामा सबै क्षेत्रका मानिसहरुको सकारात्मक योगदान रहेको डाक्टर कोइरालाले बताएका छन् । काठमाडौंमा रहने केन्द्रीय अस्पतालको निर्माण कार्य टेण्डर प्रकृया सहित अगाडि बढिसकेको उनको भनाइ छ । सो अस्पतालमा निर्माणमा सरकारले जग्गा उपलब्ध गराएको, काठमाडौं र टोखा पालिकाले सहयोग गरेको उनले बताएका छन् । सरकारमा मात्रै भर नपरेर अन्य क्षेत्र पनि निर्माण कार्यमा सहभागी भइरहेका छन् । अस्पतालमा गरीबले निःशुल्क उपचार पाउनेगरी ‘सोसियल इन्टरप्राइजेज मोडेल’बाट सञ्चालन हुने उनको भनाइ छ । डाक्टर कोइरालाका अनुसार अस्पतालको सञ्चालनमा सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने पनि समझदारी भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डाक्टर कोइराला र फाइन प्रिन्टले ‘काठमाडौं इन्स्ट्च्यिुट अफ चाइल्ड हेल्थ’को निर्माण तथा सञ्चालनका निमिक्त ‘हृदय’को विशेष संस्करणका विषयमा विषयमा बताएका थिए ।
एओजी राइडमा फोकस हुँदै टीभीएस, काठमाडौंदेखि धनगढीसम्म गर्न सफल
काठमाडौं । दुई पांग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । कम्पनीले भदौ ११ गतेका दिन, धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रा. लि.देखि स्टेट ७ होटल गोदावरीसम्म उक्त राइड आयोजना गरेको हो । जसमा ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए । कार्यक्रम अन्तर्गत राइडमा युटुवर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटिकर लोकेश ठकुरी लगायतको सहभागीता थियो । उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टीभीएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए । टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो कार्यक्रम आगामी समय वाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।
दर खाने दिनमा एससीटीले ल्यायो दरो अफर
काठमाडौं । स्मार्ट चोइस टेच्नोलोजीस (एससीटी) ले दर खाने दिनमा दरो अफर लिएर आएको छ । तीजलाई लक्षित गरि ल्याइएको उक्त अफर भदौ १३ गते मात्रै लागू हुने छ । यो दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलाई भुक्तानी गर्दा १० प्रतिशत (१०० रुपैयाँसम्म) तत्काल छुट पाउने छन् । त्यस्तै, एससीटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत (रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको छ ।
महिलालाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ल्यायो विशेष योजना, दुई दिनमात्रै लागू
काठमाडौं । ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । यस क्यास ब्याक योजना अन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म), एक पटक क्यासब्याक पाइनेछ । ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको हो । बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस ए्यापको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउनेछन् । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।