विकासन्युज

सर्वसाधारणले ५ रुपैयाँमै मोबाइलबाट बीमा गर्न पाउनु पर्छ : अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सर्वसाधारणले ५ रुपैयाँमा बीमा गर्न पाउनु पर्ने व्यवस्था गर्नु पर्ने बताएका छन् । सोमबार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले सर्वसाधारणले आफ्नो मोबाइलबाटै ५ रुपैयाँमा बीमा गर्न पाउनु पर्ने व्यवस्था गर्न आवश्यक रहेको धारणा राखेका हुन् । ‘अब पाँच रुपैयाँमै बीमा गर्न सकिने वातावरणको सिर्जना हामीले गर्न सक्नु पर्छ, यो समय प्रविधिको हो,’ उनले भने । उनले अहिले लघुबीमाको पहुँच जम्मा २ प्रतिशत मात्रै भएकोले यसको पहुँच विस्तार गर्न आवश्यक रहेको बताए । यस्तै, उनले गरिबलाई बीमाको आवश्यकता छ भएकोले लघुबीमाको नीति ल्याएको बताए । गरिबी निवारणको लागि मुख्य साधन लघुबीमा भएको बताउँदै उनले यसले नागरिकलाई जागृत गराउने धारणा राखे । ‘बीमितले सरेन्डर गराउन पाउनु पर्छ, त्यस्को लागि ३ बर्षको समय तोकिएको छ, बीमा गराए पछि सस्टेन गराउन सक्नु पर्छ,’ उनले भने । यस्तै, उनले अहिले बीमा समितिले कम्पनी मर्जरको विषयलाई प्राथमिकताका साथ हेरेको बताउँदै चैतपछि मर्जरमा नजाने कम्पनीलाई फोर्स मर्जरमा लैजाने धारणा राखे ।

गरिमा विकास बैंकले ल्यायो छोटो समयमा पैसा दोब्बर र तेब्बर हुने योजना

काठमाडौं । गरिमा विकास बैंकले छोटो समयमा निक्षेप दोब्बर र तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ । बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने मुद्धती योजना सार्वजनिक गरेको हो । महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको कारणले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने योजना ल्याएको बैंकले जनाएको छ । यो योजनाले नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास राखेको बैंकले जनाएको छ । हाल, यस बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

समितिले भन्यो : लक्ष्य अनुरुप बीमाको पहुँच विस्तार गर्न सकिएन, ग्रामिण क्षेत्रमा लघुबीमा आवश्यक

काठमाडौं ।  बीमा समितिले गत आर्थिक वर्षमा लक्ष्य अनुरुपको बीमाको पहुँच विस्तार हुन नसकेको बताएको छ । समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै बीमाको विस्तार लक्ष्य अनुरुप हुन नसकेको बताएको हो । नेपाल सरकारले गत आर्थिक वर्षको बजेट वक्तव्यमा कूल बीमाको दायरामा रहेको जनसंख्यामा लघुबीमाको हिस्सा १० प्रतिशत पुर्याउनुपर्ने लक्ष्य राखको भएपनि सो लक्ष्य पूरा हुन नसकेको समितिको धारणा छ । समितिले सोमबारको पत्रकार सम्मेलनमा गत आर्थिक वर्षमा भएका काम र चालू आवमा हुने नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्दै बीमाको पहुँच विस्तार गर्न विभिन्न कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । समितिल चालू आबका लागि विभिन्न १० वटा कार्यक्रमहरु सार्वजनिक गरेको हो । यस्ता छन् समितिका कार्यक्रम १. चालू आर्थिक वर्षमा बीमा नियमावली, नीति तथा रणनीतिक योजना, बीमा सम्बन्धी कार्यविधि तथा ढाँचा र बीमा मार्गदर्शन एवम् निर्देशिक तयार गर्ने तथा परिमार्जन गर्ने कार्यक्रम रहेको छ । एनएफआरएस १७ लागू गर्ने । जोखिममा आधारित पुँजी र जोखिममा आधारित निर्देशिका तयार पार्ने । २. चालू आर्थिक वर्षमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र बीमाको पहुँच विस्तारका लागि प्रदेश सरकार, स्थानीय तह, बीमा कम्पनी र आर्थिक पत्रकारहरूसँग अन्तरक्रिया गर्ने लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । ३. राष्ट्रिय सूचना आयोग, वित्तीय क्षेत्रका नियामक निकायहरू, बीमकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतहरू, कानून व्यवसायी, बीमित, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स लगायत सरोकारवालाहरूसँग समेत छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । चालू आर्थिक वर्षमा बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि देशभर नै बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू संचालन गरिने छन् । ४. बीमा सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना तथा माध्यमिक विद्यालय र सीटीइभीटीका पाठ्यक्रममा वीमा विषय थप गर्न आवश्यक कार्य गर्ने, बीमा सूचना केन्द्र स्थापना गर्ने, बीमित हित संरक्षण कोष स्थापना गर्ने, बीमा कलेज स्थापना गर्ने र बीमा सम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाउने लगायतका कार्य चालू आर्थिक वर्षमा गरिने छन् । ५. बीमा समितिले बीमा व्यवसायको समग्र विकास एवं विस्तारमा जोड दिदै आए तापनि देशका ग्रामीण तथा दुर्गम भेगका जनतामा वीमाको पहुँच पुग्न सकेको छैन । समितिबाट विभिन्न स्थानीय तहहरूमा आयोजना गरेका कार्यक्रममा सहभागी स्थानीय वासिन्दाहरूबाट आफू र आफ्नो परिवारको बीमा गर्न नपाएको, घर, खेतीपाती, जडिबूटी, पशुपन्छी लगायतको बीमा गर्न नपाएको, बीमा कम्पनीहरूशहर केन्द्रित भएको, सदरमुकाममा रहेका बामा कम्पनीका कार्यालयहरूले कृषि तथा पशुपन्छी बीमा गर्न नमानेको, बीमा दावा भुक्तानी समयमा नपाएको जस्ता गुनासाहरु आउने गरेका छन् । लघुबीमा ६. ग्रामीण एव् दुर्गम भेगमा बसोवास गर्ने नागरिकले आफ्नो स–सानो रकमबाट आफू र आफ्नो परिवार, घर, व्यवसाय, खेतीपाती, पशुपन्छी, जडिबूटी लगायतको बीमा गरी जोखिम बीमा कम्पनीहरूलाई हस्तान्तरणको व्यवस्था गर्नु जरूरी रहेको छ । यसका लागि बीमा कम्पनीहरूलाई जिल्ला समेत तोकेर निश्चित लघुबीमा गर्न समितिले पटक पटक निर्देशन दिदै आएको छ । तर, पनि लघुबीमा अपेक्षितरुपमा बढ्न सकेको छैन । हाल देशको कूल सम्पत्ति तथा दायित्वको करिव २ प्रतिशत मात्र लघुवीमा भएको पाइएको छ । ७. बीमा भनेको शहरी क्षेत्रमा बसोवास गर्ने र सम्पन्न परिवारका लागि मात्र नभई ग्रामीण एवम् दुर्गम क्षेत्रमा बसोवास गर्ने विपन्न वर्ग, समुदाय सबैका लागि हो । सबै नागरिकले आफ्नो चाहना र आवश्यकता अनुसार बीमा गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार पनि हो । ८. नेपाल सरकारले गत आर्थिक वर्षको बजेट वक्तव्यमा कूल बीमाको दायरामा रहेको जनसंख्यामा लघुबीमाको हिस्सा १० प्रतिशत पुर्याउनुपर्ने लक्ष्य राखको थियो । तर उक्त लक्ष्य पूरा हुन सकेको छैन । ९. कूल बीमाको दायरामा रहेको जनसंख्यामा उल्लेख्य मात्रामा वृद्धि भए पनि लघुबीमाको हिस्सा न्यून भएका कारण नेपाल सरकारले दुर्गम, पिछडिएका र न्यून आय भएका बर्गमा बीमाको पहुँच पुर्याउने उद्देश्यले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा लघुबीमा कम्पनी स्थापना गर्ने उल्लेख गरेको छ । सोही विषयलाई कार्यान्वयन गर्न र न्यून आय भएका तथा पिछडिएका सीमान्तकृत वर्गहरुको जीवन तथा सम्पत्तिको जोखिम विरुद्ध आर्थिक सरक्षा प्रदान गर्ने उद्देश्यले समितिले काठमाडौं उपत्यका बाहिर लघवीमा कम्पनीको कार्यालय रहने गरी सातवटा प्रदेशमा एक एकवटा लघवीमा कम्पनी स्थापना गर्न सूचना प्रकाशन गरिसकेको छ । १०. नेपाल जस्तो बाढी, पहिरो, भूकम्प, अतिबष्टी जस्ता प्राकृतिक प्रकोपको सम्भावना बढी रहेको देशमा न्यून आय भएका र लक्षित वर्गको आर्थिक जोखिम हस्तान्तरणका लागि लघुबीमालाई सघनरूपमा देशव्यापीरूपमा अगाडि बढाउन लागिएको छ र यसबाट नागरिकले विपद्का समयमा हने हानी नोक्सानीको क्षतिपूर्तिका लागि सरकारको अनुदान तथा राहतको भर पर्नुपर्ने अवस्थाबाट मक्त भई बीमा कम्पनीहरूबाट नै क्षतिपूर्ति पाउने सुनिश्चित हुन्छ भन्ने समितिको विश्वास रहेको छ ।

ठमेलको रमादा एन्कोर होटलमा सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ठमेल स्थित रमादा एन्कोर होटलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर भए पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले रमादा एन्कोर होटलबाट प्रदान गरिने सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको जनाएको छ । सटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १४ लाख ४६ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

भदौदेखि कात्तिकसम्म सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा ५ तोलासम्म सुन जित्न सकिने

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार याेजना घाेषणा गरेकाे छ । ६३ दिनसम्म चल्ने यस योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जनालाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एकजनाले बम्परमा ५ तोला सुन उपहार स्वरुप पाउनेछन् । याे याेजना भदौ १५ गते देखि कार्तिक १५ गते सम्म लागू हुनेछ । कम्पनीकाे अनुसार यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जनाएकाे छ । सिटी एक्सप्रेसले देशभर छरिएर रहेका १५ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

स्वीडेनको तटीय क्षेत्रमा ३०० यात्रु बोकेको पानी जहाजमा आगलागी

एजेन्सी । स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा आगलागी भएको स्वीडेनको सामुद्रिक अधिकारीहरूले बताएका छन् । स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले एएफपीसँग भने, ‘जहाजको डेकमा आगो लागेको छ, तीन वटा हेलिकप्टर र सातवटा जहाज घटनास्थलमा पठाइएको छ र जहाजलाई खाली गर्ने काम सुरु गरिएको छ ।’ ‘आगलागीबाट तत्काल कुनै क्षति भएको खबर प्राप्त भएको छैन भने आगलागीको कारण भने खुल्न सकेको छैन । आगो नियन्त्रणमा आइसकेको छ’, कार्यालयका अर्का प्रवक्ता लिसा मजोर्निङले एएफपीलाई बताए। स्टेना स्क्यान्डिका नामक उक्त जहाज स्वीडेनको दक्षिणपूर्वी तटमा रहेको गोट्स्का स्यान्डन टापुमा रहेको समय आगलागी भएको थाहा भएको थियो ।

नगदसँगै सेयर पनि सापटी दिने व्यवस्था हुनु पर्छ : गोपाल भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले नगद मात्रै नभएर सेयर पनि सापटीको रुपमा दिने व्यवस्था हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मार्जिन लेण्डिङमा राष्ट्र बैंकले स्पष्ट नीति बनाएर सेयर पनि सापटीको रुपमा दिने व्यवस्था गर्नु पर्ने धारणा राखेका हुन् । चाहिएको पैसा पुँजी बजारले पुर्याउने काम गर्ने बताउँदै उनले भने, ‘पैसा चाहिएको छ भने पुँजी बजारले पुर्याउने काम गर्छ, चिनी उधोगलाई पैसा आवश्यक परेमा सेयर बजारबाट संकलन गर्न सक्छ, लगानीकर्ताले बढी उपभोग पाउनलाई लगानी गर्छन् ।’ बढी प्रतिफल पाउन बढी जोखिम मोल्नु पर्ने बताउँदै उनले आफ्नो लगानीको भन्दा बढी लगानी गर्नका लागि मार्जिन कर्जा लिने बताए । उनले अमेरिकामा मार्जिन कर्जा लिने लगानीको शेयर ब्रोकरको नाममा हुनु पर्ने र सेयर बजार २५ प्रतिशत घटेपछि मार्जिन कल गर्न शुरु गर्ने धारणा राखे । नेपालमा ब्रोकरलाई सबै किसिमका ऋण दिन नपाउने व्यवस्था गरेकोले असहज भएको छ, यसलाई सहज बनाउनुपर्छ, ब्रोकरसङ्ग पनि सीमित पुँजी हुने भएकाले बैंकबाट सापटी लिनुपर्ने हुन्छ, रास्ट्र बैंकले पनि स्पष्ट नीति बनाएर मार्जिन कर्जा कति बर्ष, कति रकमसम्म लिन पाउने भन्ने व्यवस्था गर्नु पर्छ,’ उनले भने ।

महालक्ष्मी विकास बैंकले दियो ५० हजारको छात्रवृत्ति

काठमाडाैं । महालक्ष्मी विकास बैंकले कक्षा आठमा अध्यनरत सन्तोष कुमार मण्डललाई ५० हजार छात्रवृत्ति प्रदान गरेको छ । बैंकले नक्सालमा रहेकाे नन्दी माध्यामिक विद्यालयमा अध्यनरत मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हाे । महालक्ष्मी विकास बैंकको महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति बैंकका संस्थापक तथा मनकामना दर्शनका सञ्चालक राजेश बाबु श्रेष्ठले मण्डललाई हस्तान्तरण गरेका छन् । धनुषा जिल्ला, धवौली स्थायी घर भएका मण्डलको पारिवारिक आर्थिक स्थिति अत्यन्त कमजोर भएकोले उनको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ । बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।