विकासन्युज

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सोमबार आएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । जालेबगर, मालुमेला र बगडगाउँमा आएको पहिरोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। उनका अनुसार जालेबगरमा माथिबाट आएको लेदोले सडक पूर्णरुपमा अवरुद्ध भएको छ । अन्य ठाउँमा भने स–साना पहिरो खसेको उनले बताए। जिल्ला सदरमुकाम चैनपुरबाट धनगढी र धनगढीबाट बझाङका लागि छुटेका बस तथा जीप जालेबगरकै पहिरोले रोकिएका छन् । अहिले जेसीबीले सडक खुलाउने काम भइरहेको प्रनाउ भण्डारीले जानकारी दिए ।

बाबुराम भट्टराईलाई अध्यक्ष हमालको काउन्टर : सेयर बजार जुवाघर होइन, बुझाइ कम भयो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोलदै उनले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको र बुझाइमा पनि कमि भएको धारणा राखेका हुन् । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजारलाई जुवाघर भनेपछि यो विषयले बेला बेला चर्चा पाउने गरेको छ । आइतबार अध्यक्ष हमालले पनि सो विषयलाई काउन्टर गर्दै यस्तो बताएका हुन् । ‘पूँजी बजारलाई जुवा घर भन्नू गलत बुझाइ हो, पूँजी बजार अध्ययन, हिसाबकिताब, विश्लेषण, क्याल्कुलेशन गरेर लगानी गर्ने क्षेत्र हो, पूँजी बजार जुवा घर भन्नू गलत हो, यस्तो भन्नु बुझाइको पनि कमि हो,’ अध्यक्ष हमालले भने । सेयर बजारको विषयमा विभिन्न समयमा विभिन्न नेताहरुको अभिव्यक्तिले आलोचित हुने गरेका छन् । माओवादी नेतृत्वको पहिलो सरकार बनेका बेला बाबुराम भट्टराई अर्थमन्त्री बनेका थिए । त्यस बेला उनले सेयर बजारलाई ‘जुवाघर’ भनेपछि विवाद उत्पन्न भएको थियो । त्यसबेला सेयर बजार नियामक धितोपत्र बोर्डका अध्यक्ष रहेका चिरञ्जीवी नेपालले अर्थमन्त्रीसँग असहमति जनाउँदै राजीनामा समेत दिएका थिए । त्यतिबेलाको अभिव्यक्ती अहिलेसम्म चर्चामा छ । गत वर्ष मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाललको सेयर बजार सम्बन्धि एउटा अभिव्यक्तीले उनलाई विवादमा ल्याएको थियो । नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा र अर्थमन्त्री बन्दा समेत डा. युवराज खतिवडाले दिएको अभिव्यक्ति समेत विवादित बनेको थियो । उनले पनि सेयरर बजारलाई अनुत्पादक क्षेत्र भनेका थिए । कतिपय लगानीकर्ताले त्यसको विरोध पनि जनाएका थिए । खतिवडाले “सट्टेबाजका कारण सेयर बजार सुन्निएको अर्थतन्त्रको ऐना“ जस्तो बनेको अभिव्यक्ती दिएका थिए । त्यस कारण पनि उनी विवादमा तानिएका थिए । यी विभिन्ज प्रशंगहरुलाई स्ममरण गर्दै आइतबार अध्यक्ष हमालले सेयर बजार जुवाघर नभएको तर्क राखेका हुन् । उनले आफु निजी क्षेत्रबाट बोर्डको अध्यक्ष बनेको बताउँदै सबैको समस्या समाधानका लागि आफु लागि परेको बताए । यस्तै, उनले बिश्वास बढेपछि मात्रै पूँजी बजारको बिकास गर्न सकिने बताउँदै पूँजी बजारमा बिश्वास नै नभएको तर्क राखे । उनले इक्विटी भेन्चरको लागि २ वटा कम्पनीलाई लाइसेन्स दिइसकेको बताउँदै एक साता भित्रमा थप ७ वटा लाई अनुमति दिने बताए । ‘बजारमा मोनोपोली हुनु हुँदैन, फेयर प्रतिस्पर्धा हुनु पर्छ, हामीले सीआश्वा शुल्क पनि घटाएका छौँ, रियल सेक्टरका कम्पनी ल्याउनका लागि उसले बजार मूल्य पाउनुपर्छ, ब्रोकरको शाखा खोल्नका लागि बोडले अनुमती दिनु पर्छ भन्ने हुँदैन, यदि योग्य ब्रोकर कम्पनी छ भने उसले आफ्नो क्षमता अनुसार को शाखा पाउनुपर्छ,’ उनले भने । यस्तै, उनले डिजिटल प्लेटफर्म धेरै कमजोर रहेको धारणा राखेका छन् ।

त्रिवि पदाधिकारीले मागे निजी सुरक्षा अधिकृत

काठमाडौं । आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् । त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष पेस गरिएको एक निवेदनमा तीनै जना त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुनले निषेध गरेका शब्दहरू प्रयोग गरी मोबाइलमा सन्देश पठाउने तथा कार्यालय प्रवेशमा अवरोध गर्ने काम निरन्तर गरिएको उल्लेख छ । ‘दैनिक कार्यालय र सार्वजनिक काममा उपस्थित हुँदासमेत भौतिक रुपमा नै आक्रमण हुने सम्भावना रहेकाले त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई दुई/दुई जना निजी सुरक्षा अधिकृत (पीएसओ) को व्यवस्था गरिदिई शान्तिपूर्ण रुपमा काम कारबाही गर्ने वातावरण मिलाई दिनुहुन अनुरोध गर्दैछु’, विज्ञप्तिमा उल्लेख छ । पत्रको बोधार्थ प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति र शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपतिलाई समेत दिइएको छ । आइतबार मात्रै त्रिवि परिसरमा पत्रकार सम्मेलन गर्दै त्रिवि पदाधिकारीहरूले तालाबन्दी र तोडफोड निरन्तर गरिएका कारण आफूहरूलाई काम गर्नै कठिन भएको र अप्रिय निर्णय लिनुपर्ने अवस्था सिर्जना भएको बताएका थिए । त्रिवि उपकुलपति कार्यालयमा विभिन्न माग राखी विद्यार्थी सङ्गठनहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । यीमध्ये कतिपयले औपचारिक रुपमा शैक्षिक माग उठाए पनि पदाधिकारीले भेट्दा क्याम्पस प्रमुख र डिनको नियुक्ति जस्ता कुरामा अनावश्यक दबाब दिई त्रिविलाई लामो समयसम्म तालाबन्दीमा राखेको भनाइ त्रिवि नेतृत्वको छ ।

कृषि कर्जा मेला तथा लगानीसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

काठमाडौं । कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले प्रतिवेदन विमोचन गरेका थिए । प्रतिवेदनमा आगामी दिनमा सबै निकायले नीतिगत र व्यवहारिक रुपमै कृषिलाई प्राथमिकता दिनुपर्ने, बजेटलाई प्राथमिकताको आधारमा एकद्वार प्रणालीबाट परिचालन गरिनुपर्ने र कृषि कर्जा तथा अनुदान जस्ता कार्यक्रमलाई वैज्ञानिक, सहज सरल, व्यावहारिक र परिणाममुखी बनाउन सरकारदेखि किसानसम्मको लक्ष्य एउटै हुनुपर्ने निष्कर्ष रहेको छ । यसका साथै समग्र कृषि रुपान्तरणका लागि कृषिमा राज्यले दिने सेवा सुविधा सर्वसाधरणलाई स्थलमै जानकारी गराउन स्थानीय सरकारमार्फत् जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, अनुसन्धानमा कृषकलाई पनि सहभागी गराउँदा राम्रो हुने, विषयगत सहकारीको क्षमता विकास गरिनुपर्ने प्रत्येक स्थानीय तहमा भण्डारण, यान्त्रिकरण, उपजको सहज खपत व्यवस्थापन समेत अत्यावश्यक रहेको निश्कर्ष पनि प्रतिवेदनको छ । कार्यक्रममा बोल्दै डा. शर्माले कृषि कर्जाको कुरा गर्दा त्यसको एउटा मात्रै नभई बहुआयामिक पाटा हेर्नुपर्ने बताए । कृषिमा गरिने श्रम, पुँजी र त्यसले ओगट्ने जमिनको प्रतिफल अन्य क्षेत्रको तुलनामा कम रहेको धारणा उनको थियो । उनले साधारण कृषकसम्म कृषि कर्जाको पहुँच पु¥याउन कृषिलगानी मैत्री नीति र कृषि लगानीको लागि दिर्घकालीन स्रोतको व्यवस्था अत्यावश्यक रहेको बताए । ‘कृषि र बैंक दुबैको दिगोपन र सकेसम्म सहुलितपूर्ण कर्जा प्रवाह गर्ने नीति राष्ट्र बैंकले लिएको छ । तर त्यसमा जाने पैसा निक्षेपकर्ताको हो भन्ने कुरालाई वित्तिय संस्थाले होस पुर्याउनु पर्छ,” राष्ट्र बैंकका उप-निर्देशक आश बहादुर थापाले भने । उनका अनुसार अहिले कृषिमा १० खर्ब रुपैयाँको माग रहेको र पुग नपुग एक खर्ब मात्र प्रवाह भएको छ । यस्तै, कृषि तथा सहकारी मन्त्रालयका सहसचिव राजेन्द्र मिश्रले विगतको तुलनामा कृषि कर्जाको प्रभावकारिता बढेर आएको बताए । कार्यक्रमका सभापति सुनिता न्हेमाफूकीले बैंकले विगतमा अन्य क्षेत्रका व्यवसायीलाई प्रेरित गरे जस्तै अब कृषि क्षेत्रमा उत्प्रेरकको भूमिका खेल्ने समय आएको बताइन् । कार्यक्रमको कृषि कर्जाबारे विज्ञहरुबीचको छलफलमा बोल्दै नबिल बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजित शाक्यले आधारभूत तहमा बैंक नपुगेको स्थिति महशुस गरेपछि नबिल बैैंकले तल्लो तहमा बैंक लैजाने गरी दीगो बैंकिङ्ग सुरु गरेको जानकारी दिए । यस अन्तर्गत देशका दुर्गम स्थानमा शाखा विस्तार, कृषि उद्यमशीलता तालिम चलाइरहेको समेत उनले जानकारी दिए ।

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले गर्यो १२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ । योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि फण्डका ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले लाभांश बाँड्ने निर्णय गरेको हो । यो भनेको १० करोड ३२ लाख रुपैयाँ हो । ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना चाँडै प्रकाशित हुने कम्पनीले जनाएको छ । फर्स्ट म्युचुअल फण्ड सनराइज बैंकले प्रवर्द्धन गरेको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरेको छ ।

पशुपतिनाथको मूल मन्दिरमा तस्बिर खिचेमा २१ सय जरिवाना

काठमाडाैं । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल फोन हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार १००, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार १०० र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु ५०० जरिवाना गर्न लागिएको हो । पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उनले दिए । कोषले तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ । दर्शनार्थी बिरामी हुन सक्ने भएकाले मूल मन्दिर क्षेत्रमै नेपाली सेनाले स्वास्थ्य शिविर राख्ने भएको छ । पशुपति क्षेत्रको सुरक्षाका लागि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयोजनमा गर्ने गरी व्यवस्था मिलाइएको छ ।

म आएपछि धेरै प्राविधिक समस्या हट्यो : सीईओ आचार्य

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्ण आचार्यले आफु आएपछि धेरै समस्याको समाधान भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै पहिले धेरै प्राविधिक समस्या आउने गरेको भएपनि आफु आएपछि ती समस्या समाधान भएको बताएका हुन् । ‘अहिले पहिलाको जस्तो समस्या हुँदैन, सिडिएससीले प्राबिधिक समस्या कम गरेको छ, हामी अझै पनि समस्याको समाधान गर्ने रणनीतिका साथ काम गरिरहेका छौं,’ उनले भने । उनले ९ अर्ब ८७ करोड सेयर सूचीकृत कम्पनीको सेयर डिम्याटमा रहेको बताउँदै यो कूल सेयको ८७ प्रतिशत भएको बताए । यस्तै, उनले ७७ वटै जिल्लामा डिम्याट खाता खोल्ने पुगेको बताएका छन् । उनका अनुसार डिम्याट खाता खोल्न आह्वान नगर्दा पनि संख्या बढ्दो छ ।

सेयर धितो कर्जामा १२ करोड सीमा तत्कालको लागि मात्रै हो : प्रकाश श्रेष्ठ

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले सेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायमै राख्ने पक्षमा राष्ट्र बैंक नभएको बताएका छन् । सोमबार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले यस्तो बताएका हुन् । उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितोकर्जामा कडाई गरेको तर ४/१२ करोडको सीमामा ४ करोड हटाएर १२ मात्रै कायम गरिएको बताए । डा. श्रेष्ठले गत वर्ष राष्ट्र बैंकलाई सेयर धितोकर्जामा ४/१२ भनेर ट्याग नै लागेकाले १२ करोडको सीमा पनि कायम राख्ने पक्षमा नभएको बताए उनले राष्ट्र बैंकको लागि सेयर मार्जिन ट्रेडिङमा ठूलो समस्या नभएको भन्दै सेयर मार्जिन ट्रेडिङमा विभिन्न स्टुमेण्टहरुको शुरुवात हुनुपर्ने बताए । यस्तै, उनले सेयर कारोबारको लागि बैंकको कर्जा शुन्य गर्न नसकिने बताए । ‘बैंकको कर्जा अन्य धेरै क्षेत्रहरुमा आवश्यक भएकाले सेयर कारोबारको लागि थोरै मात्रै बैंक कर्जा प्रयोग गर्दा अन्य क्षेत्रलाई बैंक कर्जा उपलब्ध गराउन सहज हुन्छ,’ उनले भने । डा. श्रेष्ठले समग्र पुँजीबजारको विकासको लागि राष्ट्र बैंक सकारात्मक रहेको बताए ।