विकासन्युज

स्थानीय तहका जनप्रतिनिधि राजनीतिक दलको प्रचारप्रसारमा लाग्न नपाइने

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधि कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा लाग्न नपाइने भएको छ । निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो । ‘निर्वाचन आचारसंहिता, २०७९’ परिच्छेद ३ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था गरिएको छ । सो व्यवस्थामा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय तथा सोका पदाधिकारीले देहायका आचरण पालना गर्नुपर्नेछ : क) कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने, तर निर्वाचनमा आफैं उम्मेदवार भएका मन्त्री आफू उम्मेदवार भएका मन्त्री आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न यस खण्डले बाधा पुर्याएको मानिने छैन र यसरी प्रसारप्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न पाइने छैन ।’ आयोगले ‘निर्वाचन आचारसंहिता, २०७९’ भदौको १३ गते सोमबार नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।

पूँजी वृद्धि गर्न एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीको १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । बीमा समितिले चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएपछि कम्पनीले हकपद जारी गर्ने निर्णय गरेको हो । कम्पनीलाई चुक्ता पूँजी वृद्धि गर्न बाध्यता परेकोले हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीलाई बीमा समितिबाट स्वीकृत भएर आगामी साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ ।

स्वास्थ्यमा निजी क्षेत्रको वर्चश्व बढ्दो, अन्तर्राष्ट्रिय स्तरको उपचारदेखि हेलिप्याडसम्मको सुविधा

काठमाडौं । काठमाडौंमा सरकारी र गैरसरकारी वा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरु सयौंको संख्यामा छन् । ती मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय २७ वटा विभिन्न प्रकृतिका उपचार सेवा प्रदान गर्ने अस्पतालहरु रहेका छन् । संख्यात्मक र उपचार प्रवाहको कोणबाट हेर्दा सरकारी अस्पतालको तुलनामा निजी अस्पतालको संख्या निकै नै धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपचार गर्ने संस्थाहरुलाई १६ वटा विशेषतामा वर्गिकरण गरेको छ । जसमध्ये केन्द्रीय अस्पताल र जिल्ला अस्पताल सरकारी तवरबाट सञ्चालन भएको छ । काठमाडौं उपत्यकाभित्र सरकारले ६ वटा केन्द्रीय अस्पतालको सञ्चालन गरेको छ । स्वास्थ्य मन्त्रालयले गरेको बर्गिकरणअनुसार काठमाडौं उपत्यकाभित्र २ सय ९९ वटा विशेष अस्पताल रहेका छन् । ती मध्ये २ सय ९२ वटा विशेष अस्पताल निजी क्षेत्रबाट सञ्चालनमा रहेका छन् । बाँकी मध्ये सरकारी ५ र गैरसरकारी क्षेत्रबाट २ वटा अस्पताल सञ्चालमा रहेका छन् । काठमाडौं उपत्यका भित्र सञ्चालनमा रहेका ५ वटा शिक्षण अस्पतालमध्ये ३ वटा निजी क्षेत्रबाट सञ्चालित छन भने २ वटा मात्रै सरकारी तवरबाट सञ्चालनमा रहेका छन् । त्यस्तै मन्त्रालयको वर्गिकरण अनुसार साधारणमा परेका अस्पतालहरु काठमाडौं उपत्यकामा १ सय १६ वटा रहेका छन् । यसरी सञ्चालनमा रहेका साधारण अस्पतालहरुमा ९१ वटा निजी क्षेत्रबाट, ११ वटा सरकारी क्षेत्रबाट, ७ वटा सहकारी क्षेत्रबाट र ७ वटा गैरसरकारी क्षेत्रबाट सञ्चालनमा रहेका छन् । मुलुकको राजधानी काठमाडौंमा अधिक मानिसको संख्यासँगै धेरै प्रकारका सेवा सुविधाहरुको पनि केन्द्रीकरण रहेको छ । निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजसहित अस्पतालहरुले ४ हजार भन्दा धेरै बेडहरु सहित उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । सामान्यतया आर्थिक दृष्टिकोणले हेर्दा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुमा आम मानिसको पहुँचमा कमी रहेको छ । तर, अहिले सम्मको सार्वजनिक स्वास्थ्य क्षेत्रलाई सरकारले सहि ढंगले व्यवस्थापन गर्न नसकिरहेको सन्दर्भमा निजी क्षेत्रका अस्पतालहरुले त्यसलाई पुर्ति गरिरहेका छन्, अर्थात आम मानिसहरुको स्वास्थ्य उपचारमा योगदान पुर्याइरहेका छन् । सरकारी स्वामित्वमा सञ्चालित अस्पतालहरुमा उपचार सेवा लिन आउने मानिसहरुको असाध्यै ठूलो भिडभाड भइरहेको देखिन्छ । सो अवस्थामा निजी क्षेत्रबाट सञ्चालित विभिन्न तहका अस्पतालहरुले उपलब्ध गराएको उपचार तथा अनुसन्धान सेवाले सरकारको स्वास्थ्य सम्बन्धी नागरिक प्रतिको दायित्वलाई पुरा गर्न सहयोग पुर्याएका छन् भन्न सकिन्छ । ठूला अस्पतालहरुमा हेलिप्याडसम्मको सुविधा छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सन् २०१० मा ‘हेरचाह सहितको उपचार’ भन्ने नारासहित निजी क्षेत्रका लगानीकर्ताहरुले ग्राण्डी  इन्टरनेशनल हस्पिटलको स्थापना गरिएको थियाे । सो अस्पतालले धेरै विषयहरुमा आकस्मिक, साधारण र गहन उपचार सेवा प्रदान गर्दै आइरहेको छ । साथै अस्पतालले द्रुत उद्दारको विषयलाई पनि सञ्चालन गर्दै आएको छ । अस्पतालले अनुसन्धान, उपचार र प्रयोगशालामा अत्याधुनिक प्रविधिको प्रयोग गर्दैै आएको छ । २ सय बेड सहित सञ्चालन भएको यो अस्पतालले वेलनेस सेन्टरको पनि सञ्चालन गर्दै आएको छ । अस्पतालका मार्केटिङ प्रमुख भास्कर दासका अनुसार अस्पतालले दैनिक रुपमा ५ सय जना बिमारीहरुलाई ओपीडी सेवा प्रदान गर्ने गरेको छ । औसत रुपमा दैनिक १५ जना बिमारीहरुले अस्पतालबाट सर्जरीको सेवा लिने गरेका छन् । मार्केटिङ प्रमुख दासका अनुसार अस्पतालले सबै रोगहरुको उपचार गराउने गरेतापनि हाडजोर्नी, युरोलोजी, स्त्रीरोग, नाक–कान–घाँटी लगायतका विमारीहरु उपचारको लागि बढी संख्यामा आउने गरेका छन् । मेडिसिटी अस्पताल निजी क्षेत्रबाट सञ्चालित ठूलो क्षेत्रफलमा फैलिएको मेडिसिटी ठुलो अस्पताल मध्येमा पर्दछ । ७ सय ५० वटा बेड भएको सो अस्पतालले उन्नत स्तरको ल्याब, अप्रेसन कक्ष, अनुसन्धान प्रविधि, ब्लड बैंक र २ हेलिकप्टर प्याड लगायतका विषयहरुको व्यवस्था गरेको छ । अस्पतालले एक संस्था एक डाक्टर, विश्वस्तरीय प्रविधि, सामुहिक बहुविषयगत उपचार पद्दती र परिणाममा आधारित व्यवस्थापन आफ्नो भिन्न विशेषता भएको बताउँदै आएको छ । अस्पतालले आफुलाई सुपर स्पेशियालिटी कन्सेप्टअनुसार अगाडि बढाएको अस्पतालकी सञ्चार अधिकृत मनिता पोखरेल बताउँछिन् । मेडिसिटीमा आगोले जलेका, सर्पको टोकाई र रेडियो अंकोलोजी बाहेकका सबै बिमारीको उपचार हुने उनको भनाइ छ । मेडिसिटीमा औसतरुपमा दैनिक १ हजार जना बिमारीले ओपीडी सेवा र २० देखि ३० जना बिमारीले अप्रेसनको सुविधा लिने गरेका छन् । ह्याम्स अस्पताल २ दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहँदै आएको निजी क्षेत्रबाट सञ्चालित ह्याम्स अस्पतालले धेरै रोगहरुको उपचारमा आधुनिक मेडिसिन र सर्जरीमा जोड दिँदै आएको बताउने गरेको छ । ह्याम्स विशेष गरेर क्रिटिकल केयरको उपचारलाई जोड दिने गरेको देखिन्छ । ह्याम्स अस्पतालमा औसत रुपमा दैनिक ५ सय जना बिमारीहरु ओपीडीमार्फत उपचारको लागि आउने गर्दछन् । अस्पतालले दैनिक रुपमा ५ जना भन्दा धेरै विमारीलाई सर्जरी सेवा प्रदान गर्ने गरेको छ । ह्याम्समा सबैजसो रोगको उपचार हुने भएपनि विशेषगरी मुटु, हाडजोर्नी, नाक–कान–घाँटी, स्त्रीरोग, न्युरो र युरोलोजी सम्बन्धी बिमारीहरुको बढी चाप हुनेगरेको अस्पतालले जनाएको छ । अस्पतालसँग १ सय ६० जना भन्दा धेरै डाक्टर रहेका छन् भने उपचारको लागि १ सय भन्दा धेरै कोठाहरुको व्यवस्था रहेको छ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बिक्रम सम्बत २०४६ सालमा ओम नर्सिङ होमको रुपमा शुरु गरेर २०५२ सालमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको रुपमा दर्ता भएर सञ्चालन हुँदै आएको छ । अस्पतालले आँफुलाई स्त्रीरोग, प्रसुती सेवा, हेमोडाइलोसिस, अंकोलोजी, क्रिटिकल केयर र जटिल सल्यक्रियाको लागि रेफरेवल सेन्टरको रुपमा बताउँदै आएको छ । आइभिएफ टेस्टट्युव बेबी र वेलनेस क्लिनिक सेवा पनि अस्पतालले उपलब्ध गराउने गरेको छ । १ सय ७५ बेड र १ सय भन्दा बढी विशेषज्ञ डाक्टरको व्यवस्था रहेको छ । साथै अस्पतालले १२ बेडको इमर्जेन्सी सेवा पनि उपलब्ध गराउँदै आएको छ । अस्पतालका सञ्चार अधिकृत विनोद अधिकारीका अनुसार अस्पतालले दैनिक रुपमा ५ सय देखि ७ सय संख्याका विमारीहरुलाई ओपीडीमार्फत सेवा दिने गरेको छ । त्यस्तै अस्पतालले सामान्यतया १० देखि १५ जना विमारीहरुलाई सर्जरी सेवा प्रदान गर्दै आएको छ । अधिकृत अधिकारीका अनुसार अस्पतालले ३६ वटा विषयमा विशेषज्ञता सेवा प्रदान गर्ने प्रयास गरिरहेको छ । जसमध्ये स्त्रीरोग, नेफ्रोलोजी, क्यान्सर र आइसियु लगायतका विषयहरु रहेका छन् । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुमध्ये सस्तो शुल्कमा आइसियु र सरकारले सञ्चालन गरेको कार्यक्रमसँग जोडिएर केमोथेरापी र हेमोडाइलोसिस सेवा उपलब्ध गराउँदै आएको अधिकृत अधिकारी बताउँछन् । नर्भिक अन्तर्राष्ट्रिय अस्पताल चौधरी ग्रुपले सन् १९९३ मा नर्भिक अन्रर्राष्ट्रिय अस्पतालको स्थापना गरेको थियो । सो अस्पतालले आफूलाई सघन उपचार र बहुविशेषताको केयर फ्यासिलिटीमा अन्तर्राष्ट्रियस्तरको अस्पतालको रुपमा बताउँदै आएको छ । नर्भिकले आफुसँग गुणस्तरीय आइएसओ प्राप्त ल्याब रहेको बताएको छ । नर्भिकले २९ वटा विषयहरुमा विशेषज्ञता सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । जसमा अडियोलोजी तथा स्पिच थेरापी, मुटु, छाला, आँखा, कान, ग्याष्ट्रिक, आइभिएफ, प्रसुती तथा स्त्रीरोग आदि लगायत रहेका छन् । सो अस्पतालले दैनिक रुपमा सयौंको संख्यामा बिमारीहरुलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।   अल्का अस्पताल २०५२ सालमा अल्का फार्मेसीको रुपमा स्थापित भएर २०५७ सालमा अल्का पोलिक्लिनिक र २०६२ सालमा अल्का अस्पतालको रुपमा स्थापित भएको हो । ‘हामी हेरचाह गरेर उपचार गर्छौं’ लाई अस्पतालले आफ्नो आदर्श बनाएर सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले नेफ्रोलोजी तथा हेमोडाइलासिस, प्लास्टिक सर्जरी, सर्जरी, अर्थोस्कोपी, आदि लगायत उपचारहरुमा आफ्नो मुख्य विशेषता रहेको जनाउने गरेको छ । अल्का अस्पतालमा १ सय वटा बेड सहितको अस्पताल हो । अस्पतालले दैनिक रुपमा ६ सय देखि ७ सय जना बिमारीहरुलाई ओपीडी मार्फत उपचार सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले मल्टिस्पेशियालिटी विशेषज्ञतामा सेवा उपलब्ध गराउँदै आएका अस्पताल प्रशासनका प्रमुख भगवान केसीले विकासन्यूजलाई बताए । ब्लु क्रस अस्पताल ब्लु क्रस अस्पतालले सन् १९९१ मा स्थापना गरेर स्वास्थ्य सेवा शुरुवात गर्दै आएको छ । शुरुमा सिटीस्क्यानबाट सेवा शुरु गरेको सो अस्पतालले अहिले आफुलाई विस्तार गरेर ५० बेडको अस्पतालको रुपमा विकसित गरेको छ । सो अस्पतालले विषयगत आधारमा ल्याब, रेडियोलोली अन्तर्गतका विभिन्न कार्यक्रम, मुटु, पेट, टाउको, अप्रेसन र हेमोडाइलोसिस सेवा प्र्रदान गर्दै आएको छ । साथै अस्पतालले इमर्जेन्सी सेवा पनि प्रदान गर्दै आएको छ । ब्लु क्रस अस्पतालमा दैनिकजसो १ सय ५० देखि २ सय जना सम्म विमारीहरु उपचारको लागि आउने गर्दछन् । औसतमा अस्पतालमा दैनिक ४ देखि ५ जना बिमारीको अप्रेसन हुने गरेको अस्पतालका सुपरभाइजर श्रीप्रसाद तिवारी बताउँछन् । तिवारीका अनुसार अस्पतालमा विशेष गरेर स्त्री रोग, युरोलोजी र ग्यास्ट्रोका बिमारीहरु ठुलो संख्या आउने गरेका छन् । माथि उल्लेखित बाहेक पनि काठमाडौं उपत्यकामा निजी क्षेत्रबाट सञ्चालित विभिन्न तहका सयौं अस्पतालहरु रहेका छन् । साथै निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरु रहेका छन् । निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुको छाता संगठन (अफिन) अध्यक्ष डा. पदम बहादुर खड्काले काठमाडौं उपत्यकामा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुले २ तिहाई बिमारीहरुको उपचार गर्दै आएको बताए । ‘सरकारी अस्पतालहरुको गुणस्तरमा त समस्या छैन्, तर प्रयाप्त छैनन्, जसकारणले निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुले नै उपचारको क्षेत्रमा ठुलो योगदान पुर्याइरहेका छन्,’ डा.खड्काले विकासन्युजलाई भने । स्वास्थ्य उपचारको क्षेत्रमा मात्रै नभएर जनशक्ति उत्पादनको क्षेत्रमा पनि निजी क्षेत्रको भूमिका सरकारी क्षेत्रको तुलनामा धेरै भएको उनको भनाई छ । संविधानले स्वास्थ्य क्षेत्रलाई राज्यको आधारभूत दायित्वभित्र राखेतापनि तथ्यांकहरुलाई हेर्दा राज्य आमजनताप्रतिको स्वास्थ्यको उत्तरदायित्व बहनको कुरामा संख्यात्मक रुपमा समेत असाध्यै कमजोर रहेको देखिन्छ ।

सनराइज फर्स्ट म्युचुअल फण्डको १२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सनराइज क्यापिटलले आफ्नो म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो । क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत अर्थात् १० करोड ३२ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

काठमाडौं उपत्यकामा तीन हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् । कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा दुई हजार दुई सय १३ चालक रहेका छन् । कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत गरेको छ ।

बिना धितो २ लाख रुपैयाँ कर्जाले करोडौं सम्पत्तिकी मालिक बनिन् सबिता

काठमाडौं । गोरखाको पालुङटारकी सोबिता आचार्य खत्रीलाई अहिले नगरपालिकाभर नचिन्ने कोही छैनन् । गोरखा नगरपालिका वडा नं ६ शक्तिचोकमा बस्ने आचार्य आजभोली एउटा सफल महिला उद्यमीका रुपमा नगरपालिकाभर चिनिन सफल भएकी छन् । ५५ हजारबाट कस्मेटिक पसल सुरु गरेकी उनले खासै सुरुमा सोचे जस्तो प्रगति गर्न सकिनन् । वैदेशिक रोजगारीको लागि कतार गएका श्रीमान् पनि २ वर्षपछि परिवारको अवस्थामा कुनै परिवर्तन नआएपछि नेपाल नै फर्किए । त्यसपछि उनको श्रीमानले अरुको बस चलाएर गुजारा चलाउन थाले । जिन्दगी जसोतसो चल्दै गयो । लघुवित्तमा आवद्ध भएका दिदिबहिहरुको परिवर्तन देखेर सोबितालाई पनि समूहमा बसेर कर्जा लिने सोच बनाइन् । लघुबित्त बित्तिय संस्था शाखा कार्यालय हरमटारीमा गएर कारोबार गर्न थालिन् । उनले साधना लघुवित्त वित्तिय संस्थाबाट बिना धितो सुरुमा दुई लाख कर्जा लिइन् । त्यसपछि २ लाख र पुनः २ लाख ५० हजार कर्जा लिइन् । फेरि उनले ३ लाख कर्जा लिई सो कर्जाको कष्टमेटिक व्यवशायमा लगानी गरिन् । पहिला कष्टमेटिक व्यवसाय भएपनि पूँजीको अभावमा व्यवसायमा पिकअप लिन सकेको थिएन, साधनाबाट प्राप्त गरेको साधारण कर्जा र व्यवसायिक कर्जाले नै मेरो व्यवसायमा ठुलो परिवर्तन भएको छ, त्यहि फेन्सी व्यवसायलाई थप गर्दै गएको छु,’ उनले भनिन् । हाल उनले व्यवसायमा लगानी गर्दै मनग्य नाफा कमाएर बचत गर्दै र व्यवसाय र श्रीमानको आम्दानीबाट बचाएर गोरखाको सदरमुकामको गोरखा नगरपालिका वडा नं ६ मा लागी पक्की घर बनाउन सफल भएकी छिन् । त्यति मात्र नभइ उनले व्यवसायमा भएको लगानी र थप लघुवित्तबाट कर्जाको सहायाताले हाल गोरखाबाट भच्चेक हुदै बारपार्क जाने सेकेण्ड ह्याण्ड लोकल बस खरीद गरेकी छिन् । उनको श्रीमान् आफै बस चालक रहेका छन् । मालिक बनाउन साधनाको महत्वपूर्ण भूमिका रहेको उनका श्रीमान् बताउँछन् । जीवनमा वैदेशिक रोजगारमा गरेको संघर्षले परिवारलाई केही गर्न नसक्दा लघुवित्तको सहयोगमा यस्तो स्थानमा आइपुगेको उनी बताउँछन् । केही गर्न खोज्ने सीप भएको र केही उद्यम गर्न मन भएको व्यक्तिहरुको लागि लघुवित्त संस्थाले असाध्यै राम्रो काम गरिरहेको र यस किसिमको कार्य सरकारले आफै गर्नु पर्ने तथा सरकारले गर्न नसकेका कार्य लघुवित्त संस्थाहरुबाट हुँदै आएकोमा यस किसिमको लघुवित्त संस्था समाजमा आर्थिक क्रान्ती ल्याउन महत्पूर्ण योगदान गरेको कुरा उनी बताउँछन् । अहिले सबिताको पसलमा १० लाखदेखी २० लाखसम्मको कष्टमेटिक तथा फेन्सीको सामानहरु रहेको छ । २ लाख देखि ५ लाख जोकोहीलाई दिन सक्दैन तर लघुवित्त संस्थाले यो कार्य गर्दै आएको छ । ‘नेपालमा म जस्ता संघर्ष गर्ने लाखौ परिवार लघुवितको कारण स्वरोजगार बन्न सफल भएका छन्, परिवार चलाउन, उद्यमी बन्न, बाबुनानीलाई पढाउन, समाजमा केही गरेर उदाहारण बन्नमा समेत लघुवित्त संस्थाको महत्वपुर्ण योग्दान रहेकोले लघुवित्त संस्थालाई प्रवद्र्धन गर्न सरकार, समाज तथा सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछु,’ सबितले भनिन् ।

अपाङ्गता भएका महिलाहरुले यसरी मनाए तीज

सिन्धुली । ‘सुनको चुरा, औंठी नि सुनकै छ।।।।’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’ कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरु । श्रवण क्षमता कम भएका महिलाहरु घन्किरहेको गीतमा झुम्न सकेका थिएनन् । कारण थियो, गीत बजेको पत्तो नहुनु । हिँडाइसम्बन्धी समस्या भएका केही महिलाहरु ह्विलचियरबाट उठ्न सकेका थिएनन् । एकापट्टीको खुट्टा मात्र गुमाएकी दिपा कार्यक्रम हलको कुर्सीमा बसेर सबै साथीहरुलाई नचाउन उस्काइरहेका थिए। घन्किरहेको गीतको शब्द, सुनको चुरा औंठी नि सुनकै छ, माया जालमा परेकी क्या हो म, दिनरात झझल्को उनकै छ । ‘हे, मनको कुरा गा¥हो भो खोल्न, क्यारी भनु थाल्यो नि मन पोल्न, सुनको चुरा औंठी नि सुनकै छ । माया जालमा परेकी क्या हो म, दिनरात झझल्को उनकै छ ।’ यस गीतले तान्यो, कमलामाई नगरपालिका–७ माझिटारकी ह्विलचियर प्रयोगकर्ता गोमादेवी कार्की (चमलादेवी) लाई । गायत्री थापाको शब्द, उनकै सङ्गीत । राजमजी खाँण र देवी घर्तीको स्वर ठूलो आवाजमा बजिरहँदा उहाँलाई यो हरफले मन छोयो । आफ्नै कथा गीतमा भनिदिए झैँ लाग्यो । ‘शौचालय जाँदा लडेर मेरुदण्ड भाँचिएदेखि हास्न सकेको छैन । कम्मरमुनिको अङ्ग चल्दैन, नाच्नु कसरी ?’ आँखा आँसुले भरियो । उनी, निःशब्द भइन्। केही समयपछि तीजको रमझममा रमाउने उपाय बुन्न थालिन । दुःख, पीडालाई बेवास्ता गरेर हाँस्ने जाँगर बढाइन्। सुनको चुरा नभएपनि औँठी र रिङ सुनकै छ भनेर ठट्यौली गर्न थालिन् । ह्विलचियरमा बसेरै पाखुरा भाँचीभाँची नाच्न शुरु गरिन् । अन्य साथीसङ्गीले ताली पिटेर साथ दिए । कार्यक्रमस्थल हाँसोले भरियो । सबैको अनुहारमा उमङ्गता छायो । फराकिलो हृदय मात्र होइन् फरासिलो स्वभावले भरिपूर्ण भएकी चमलादेवीलार्ई गीतले भने झैँ मनको कुरा खोल्न गा¥हो भएपनि तीजको कुरा बोल्न केहिले छेकेन । उमेरले ६९ वर्ष पार गर्नै लाग्दा श्रीस्वस्थानीको महिनामा जन्मेको भएर आफ्नो नाम गोमा कार्की राखेदेखि ४० वर्ष कटेपछि रमाउन नपाएको तीजका कुरा खुलेर सुनाइन्। ‘नारी जातिको पर्व हो तीज । साथीसङ्गी जम्मा भएर रातो सारी लर्खाउँदै बारुले कम्मर मर्काएर पाउजु बजाउँदै छमछमी नाचिन्थ्यो,’ अपाङ्गता हुनुअघिको तीजलाई सम्झिनु भयो । झन्डै २५ वर्षपछि सार्थीसङ्गीसँग तीज मनाउन पाएको खुशियालीले उहाँलाई फेरी एक्छिन भावुक बनायो । ‘तीजको व्रत बस्ने अघिल्लो दिन रातको १२ बजेसम्म दर खाएर बस्थ्यौँ । भोलिपल्ट तीन सय जना महिला जम्मा भएर खोलामा नुहाउन जान्थ्यौ । बाटोबाटो नाँच्दै शिव मन्दिर पूजा गर्न पुग्थ्यौँ । नाच्दैनाच्दै घर फर्किन्थ्यौँ । गाउँमा सबैभन्दा फराकिलो आँगन जसको घरमा छ, उसैकोमा दिउँसो सामूहिक पूजा लगाइन्थ्यो । रातभर जाग्राम बस्थ्यौँ । त्यो बेलाको जस्तो रमाइलो अहिलेको तीजमा कहाँ छ र छोरी ?,’ उनले सुनाइन् । उबेला मनाइने तीज र यो बेला बनाउँदै गरिएको तीजबीचको फरक तुलना गर्दाका क्रममा चमलादेवीको अगाडि खीर, अचारलगायतका परिकार आयो । पहिलो चम्चा खीर निल्दै उहाँले भन्नुभयो, ‘मीठो रहेछ । यसरी पार्टी प्यालेसमा आएर दर खाएको आजै हो ।’ उनी मात्र कहाँ हो र ? उनकै छेउमा रहेका तथा अपाङ्गता भएका महिलाहले पनि आफूहरुको पहिलो अनुभव भएको सुनाए । यसरी, उस्तैउस्ता र पीडा मिल्दाजुल्दा भएका साथीसङ्गीसँग बसेर सुविधायुक्त ठाउँमा तीज मनाउन पाउनु आफूहरुका लागि हर्षको कुरा भएको सुस्त श्रवण शक्ति भएकी सुनिता दाहालले बताइन् । अपाङ्गता भएका महिलाको लागि शुभकामना आदाप्रदान तथा दर खाने कार्यक्रम सिन्धुली जिल्लामै पहिलोपटक भएको सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीकी अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) बताउछिन्। ‘महिलालाई वर्षेनी दर खान स्थानीय सरकारले सरकारी सम्पति छुट्याउने गर्दछ । अपाङ्गगता भएका महिलाहरुलाई समेटिँदैन । सपाङ्गता भएका महिलाहरु कार्यालय, गाउँ तथा पार्टी प्यालेसमा मनाउँछन्,’ उनले भनिन्, ‘सपाङ्गता भएका महिलालाई जस्तै अपाङ्गगता भएका महिलाहलाई पनि तीज मनाउने रहर हुन्छ । त्यसैले यस वर्ष अपाङ्गगता भएका महिलाका लागि छुट्टै कार्यक्रमको आयोजना गर्नु परेको हो ।’ अपाङ्गगता भएका महिलालाई सरकारी कार्यालयलेसम्म अपाङ्गगतासम्बन्धी बाहेकका कार्यक्रममा नसमेटेको उनको दुखेसो छ । कमलामाई नगरपालिकाले भने तीज मनाउन आर्थिक सहयोग गरेको आयोजकसमेत रहेका सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीले जनाएको छ । रासस ।

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सोमबार आएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । जालेबगर, मालुमेला र बगडगाउँमा आएको पहिरोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। उनका अनुसार जालेबगरमा माथिबाट आएको लेदोले सडक पूर्णरुपमा अवरुद्ध भएको छ । अन्य ठाउँमा भने स–साना पहिरो खसेको उनले बताए। जिल्ला सदरमुकाम चैनपुरबाट धनगढी र धनगढीबाट बझाङका लागि छुटेका बस तथा जीप जालेबगरकै पहिरोले रोकिएका छन् । अहिले जेसीबीले सडक खुलाउने काम भइरहेको प्रनाउ भण्डारीले जानकारी दिए ।