सुधीर बस्नेतले नविल बैंकलाई साढे ४६ करोड तिर्नुपर्ने, समय ७ दिन मात्र
काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतले नविल बैंकलाई ४६ करोड ५२ लाख रुपैयाँ बुझाउनु पर्ने भएको छ । विभिन्न बैंकको कर्जा तिर्न नसकेर कालोसूचिमा रहेका, सहकारीको बचतकर्तालाई निक्षेप रकम फिर्ता गर्न नसकेर आर्थिक संकट भोगिरहेका बस्नेतलाई ७ दिन भित्र उक्त रकम तिर्न ताकेता गरिएको छ । बस्नेतले कोहिनुर हिल हाउजिङको नाममा नविल बैंकबाट १४ करोड ६ लाख ३४ हजार ऋण लिएका थिए । त्यसको व्याजमात्र ३२ करोड ४५ लाख नाघेको छ । उक्त ऋण विवादमा ऋण असुली न्यायाधिकारणले पनि बैंकको पक्षमा फैसला गरेको छ ।
मनाङमा एक वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म बन्न सकेन
मनाङ । हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष हुँदासम्म पनि बन्न सकेको छैन । विसं २०७३ को असारमा मनाङको साविक थोंचेगाउँ विकास समितिस्थित दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो । विसं २०७४ मा एक वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो तर सात वर्ष बितिसक्दासमेत हालसम्म पुल निर्माण हुनसकेको छैन । हालसम्म नदीको दुई किनारामा पुलको पिलर मात्रै गाडिएको देख्न सकिन्छ । नदी किनारामा पिलर उठाएर निर्माण कम्पनीका ठेकेदार हालसम्म सम्पर्कविहीन छ । उक्त पुल निर्माणको ठेक्का पाएको ठेकेदारले आधाभन्दा बढी रकम लगिसकेको पूर्वाधार कार्यालयले जनाएको छ । धारापानीदेखि तिल्चे हुँदै तिब्बत जोड्ने सडकअन्तर्गत उक्त पुल अलपत्र अवस्थामा रहेको हो । समयमै पुल निर्माण हुन नसक्दा मनास्लु पदमार्गमा जाने पर्यटकलाई यात्रामा समस्या हुनाका साथै चर्को ढुवानी शुल्क तिरेर सामग्री ढुवानी गर्नुपर्ने बाध्यतामा रहेको स्थानीयवासीले गुनासो गरे । ठेकेदारले यो पुल निर्माणका लागि कहिलेकहीँ केही काम गरेजस्तो गर्ने र छोड्ने गर्दा समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए। ‘तिल्चेका बासिन्दा सानो सामग्री लिनका लागि पनि धारापानी पुग्नुपर्छ । कहीँकतै सडक बिग्रिए पनि जेसिबी ल्याएर मर्मत गरी सञ्चालनमा ल्याउनसमेत समस्या हुन्छ । पुल नबन्दा बाटो नै पूर्णरूपमा बन्द हुने गरेकाले दबाब दिइरहेका छौँ तर पनि अहिलेसम्म बनाउने चासो नै देखाउँदैन ठेकेदारले’, उनले भने ‘यहाँका बासिन्दाले लमजुङ बेँसीसहरबाट १० मा एक किलोग्राम किनेको सामान गाउँमा पु¥याउन फेरि रु १० भाडा तिर्नुपर्ने हुन्छ ।’ दूधखोला जस्तै मनाङका धेरै पुल निर्माण हुनसकेका छैनन् । मस्र्याङ्दी नदीमाथिको हुम्डेमा पुल बनाउन साविक जिल्ला विकास समितिले विसं २०७३ कै असारमा अर्को ठेक्का लगायो । उक्त पुल निर्माणका लागि पनि द क्याराभान कम्पनीले नै ठेक्का पायो । विसं २०७४ मा सम्पन्न गर्नुपर्ने गरी भ्याटसहित चार करोड ५७ लाखमा ठेक्का दिइएको यो पुल हालसम्म पनि बन्न सकेको छैन । समयमा निर्माणको काम सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप गरियो तर कामको प्रगति हुन भने सकेन । तत्कालीन जिविसले विभिन्न समयमा मनाङमा छवटा पुल निर्माणका लागि बोलपत्र निकालेकोमा सबै पुल निर्माणको ठेक्का क्याराभानले पाएको थियो । लमजुङ र म्यार्दी खोलाको निर्माण भएर सवारीसाधन सञ्चालन भएको छ तर अन्य धेरै पुल अझैसम्म अलपत्र अवस्थामा नै छन् । विसं २०७४ असार ८ मा दुई करोड २६ लाखको लागतमा निर्माण सम्झौता भएको तिमाङ खोलाको पुल निर्माणको अन्तिम चरणमा रहेको अवस्थामा गत वर्षको बाढीले बगायो । विसं २०७५ पुस ८ मा निर्माणको समय सकिए पनि हालसम्म यसको म्यादसमेत थप भएको छैन । उक्त पुलका लागि तीन करोड ६९ लाख लागत अनुमानसहित डेढ वर्षमा सम्पन्न गर्न विसं २०७४ जेठमा सम्झौता भएको थियो । त्यस्तै विसं २०७४ पुस २६ मा सम्झौता भएको मुङ्जी खोलामाथिको पुल निर्माणको म्याद दुई वर्ष थपिएको थियो । रु नौ करोडको लागतमा निर्माण गरिने पुल बल्ल सुरु भएको छ । मनाङको विकास निर्माणको काम गर्न भौगोलिक समस्याका कारण काम गर्न नसकेको कम्पनीले जनाउँदै आएको छ । आफूहरुले काम गर्न छाडेको भन्दा पनि मौसम प्रतिकूलताले गर्दा काम गर्न नसकिएको कम्पनीका प्रतिनिधि सोम गौचनले बताए । ‘कहिले बाढी, कहिले हिउँ त, कहिले कोरोनाको समस्याले पनि निर्माणको काम ढिलो भएको हो । हिउँदमा हिउँले काम गर्न सकिदैन । वर्षामा बाटो राम्रो हुँदैन । अब चालु वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेका छौं’, उनले भने । तात्कालीन जिविसबाट ठेक्का लगाएर बजेट समेत निकासा भइसकेका मनाङका आधा दर्जनभन्दा बढी पुल आठ वर्ष हुँदासम्म निर्माण हुन सकेका छैनन् । ठेकेदार कम्पनीले ठेक्का मात्रै ओगटेर काम नगरेपछि सबैजसो निर्माणको काम हुन नसक्दा समस्या भएको स्थानीयवासीको गुनासो थियो । ठेकेदार कम्पनीले समयमा काम गर्न नगरिदिदा मुख्य सडकमा नै कतै काठको पुल बनाएर सवारी साधन सञ्चालन भएका छन् भने कतै खोलाबाट नै तर्न बाध्य भएका छन् । पुरानै ठेक्कामा अल्झाइरहेको क्याराभानलाई नै पछिल्लो समय घोप्टेखोलाको बेलीब्रिज पुल निर्माणको काम दिइएको छ तर तोकिएको समयभन्दा केही ढिला गरी निर्माण सम्पन्न भएको छ । निरन्तरको प्रयास पछि बल्ल निर्माण कम्पनी सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । सम्पर्कमा आएर बाँकी पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको उनले बताए । ‘लामो समयदेखि काम नगरी सम्पर्कविहीन रहेको निर्माण कम्पनीको गुनासो आइरहन्थ्यो । हामी फिल्डमा जाँदासमेत काम हुने अवस्था नदेखिएपछि कम्पनीका प्रतिनिधिलाई बोलायौँ’, प्रजिअ आचार्यले भने, ‘भदौ २५ गतेभित्र सामग्री र कामदार ल्याउने तथा तुरुन्तै काम थाल्ने सहमति भएको छ । अब काम हुने अपेक्षा गरिएको छ । सहमतिअनुसार काम भएन भने कानुनबमोजिम कारबाही अगाडि बढ्नेछौँ । ठेकेदार कम्पनीले काम नगरेपछि मनाङवासीले पटक–पटक सम्बन्धित निकायमा उजुरीसमेत दिँदै आए पनि कसैको चासो नपुगेको उनीहरूको गुनासो थियो । ठेक्का लागिसकेको स्थानमा पुल निर्माण नहुँदा गत हिउँदमा स्थानीयवासीले एकजुट भएर काठको पुल निर्माण गरी सहज बनाएका छन् । मनाङको यात्रा काठे पुलकै भरमा यात्रा हुने भएकाले जोखिम बढिरहेको छ । डुम्रे–बेँसीसहर–चामे सडकखण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिए पनि बजेट भने विनियोजन भएको छैन ।
विद्यार्थी सुरक्षा लक्षित चेकिङ गर्दा काठमाडौंमा ७ जना बिधार्थी सहित २ सय ४८ जना चालकहरू कारवाहीमा
काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज मंगलबार २ सय ४८ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । बिहान ५ बजे देखी ८ बजे सम्म गरिएको चेकिङका क्रममा कागजपत्र साथमा नभएका ७ जना विद्यार्थी चालकहरु कारवाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् । चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २ सय ४१ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ । जसमा बिहानै मदिरा सेवन गरि सवारी साधन चलाउने ३ जना चालक रहेका छन् । नयाँबसपार्क क्षेत्रबाट बा ३ ख १००३ नम्बरको बस चालक बा १ ज ८१ ८१ नम्बरको माईक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा ४ ख ८० ५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
त्रिशुली रिभरसाइड रिसोर्टमा रहेको स्काइरोप साइकलिङ र जिपलाइनलाई पर्यटन विभागबाट मान्यता
काठमाडौं । रिभरसाइड स्पा एण्ड रिट्रिट प्रा।लि द्वारा सञ्चालित त्रिशुली रिभरसाइड रिसोर्टमा रहेको स्काइरोप साइकलिङ र जिपलाइनले पर्यटन विभागबाट मान्यता प्राप्त गरेको छ । हालै रिसोर्टले जिपलाइन र स्काइरोप साइकलिङको इजाजतपत्र (लाइसेन्स) पाएको रिसार्टका सञ्चालक उद्धव कँडेलले जानकारी दिए । यस अगाडि पर्यटन बिभागको निरीक्षण भ्रमण पछाडी पर्यटकहरुलाई सेवा दिँदै आएको कँडेलले बताए । ‘एक दशकभन्दा लामो समयदेखि र्याफ्टिङ, क्यानोइङ, कायाकिङ सञ्चालन गर्दै आएका थियौँ । पछि जिपलाइन र स्काइरोप साइक्लिङ पनि सुरु गर्यौँ,’ कक्डेल भन्छन्, ‘नदी माथी नै स्काइरोप साइकलिङ गर्न मिल्ने यो नै नेपालको पहिलो स्काइरोप साइकलिङ हो । सञ्चालनमा आएको केही समयमै यी दुई साहसिक खेल हाम्रो रिसोर्टमा सञ्चालन गर्न पर्यटन विभागबाट इजाजतपत्र पाइसकेका छौँ ।’ काठमाडौँबाट सत्तरी किलोमिटर दुरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको यस रिसोर्टको स्काइरोप साइक्लिङमा २ वटा ट्रयाक छन् । एउटा ट्रयाकमा एक जना खेल्न मिल्छ भने अर्कोमा जोडी नै एकैसाथ खेल्न मिल्ने व्यवस्था गरिएको छ । दुई तर्फी दुरी तीन सय पचास मिटर रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ति सात सय रुपैयाँ र फोटो भिडियोको लागि थप पाँच सय लाग्ने कँडेलले जानकारी दिए । रिसोर्टमा जिपलाइन पनि नदी पार गर्ने गरी नै बनाइएको छ । रिसोर्ट परिसरबाट जिपलाइन नदी पारी तर्फ ल्यान्डिङ हुन्छ । दुई सय मिटर लामो जिपलाइन खेल्न एक हजार रुपैयाँ र फोटो भिडियो बनाउन पाँच सय लाग्ने कँडेलले बताए । जिपलाइन गरेर नदी पार गर्ने पर्यटक स्काइ साइक्लिङ गरेर फर्कन सक्छन् । यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुट समेत पाउने उनी बताउँछन् । यस्तै, पर्यटकलाई थप सुविधा दिन जिपलाइनको ल्यान्डिङ तर्फ २५ वटा भिल्ला, टेन्टेड क्याम्प, स्पा, साउना, स्टिम, स्विमिङ पुल निर्माण भइरहेको छ । जिपलाइन र स्काइरोप साइक्लिङको लागत करिब २ करोड रहेको र आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै जाने उनी बताउँछन् ।
अग्नि ग्रुपद्वारा कुरिनटारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना
काठमाडौं । अग्नि ग्रुपले बागमती प्रदेश अन्तर्गत कुरिनटारमा महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुबिधा सम्पन्न शोरूम स्थापना गरेको छ । कम्पनीका अनुसार सो शोरुम यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक हो । महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार, सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक प्रमुख अन्जनी कुमारी पोखरेल, काली वहादुर गण भरतपुर का गणपति अच्युत घिमिरे, सशस्त्र प्रहरी बल १६ नम्बर गण आपँटारीका सशस्त्र प्रहरी उपरिक्षक मनोज थापा, राष्ट्रिय अनुसन्धाना कार्यालय चितवनका अनुसन्धान उपनिर्देशक शेरजङ्ग चन्द, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले र अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा द्वारा १३ भाद्र २०२९, विहिबारका दिन अन्य स्थानीय प्रतिनिधिहरु सहित संयुक्त रुपमा उद्घाटन गरेका थिए । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ । उनका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरूले यो थ्री एस सेटअप अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप सहितका सबै उत्पादनहरू मात्रै नभइ महिन्द्रा ट्रयाक्टर मोडलहरु जस्तै नयाँ ‘एसपी प्लस’, युभो, नोभो, जिभो र युभराज ट्रयाक्टर श्रृंखला आदिका बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्टस् को लाभ उपलब्ध गराउनमा समर्पित हुने जानकारी दिएका थिए । शोरुमको उद्घाटनमा बोल्दै उनले भने, ‘महिन्द्रासँगको हाम्रो सम्बन्धको ३० वर्ष पूरा गरिरहँदा यसरी देशका विभिन्न स्थानहरुमा सुविधाले सुसज्जित आधिकारिक शोरुम खोल्नु अग्नि ग्रुपका लागि गर्वको क्षण पनि हो, जुन एक किसिमले हाम्रा ग्राहकहरुप्रति हाम्रो प्रतिवद्धता, वर्गमा उत्कृष्टभन्दा कम केही नपाउने सुनिश्चित गर्ने थप जिम्मेवारी पनि हो ।” कुरिन्टार र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम, सर्भिस र स्पेयर पार्टस् सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक÷कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ । कम्पनीका अनुसार यो थ्रीएस सेटअप सहितको शोरुम अग्नी इन्कर्पोरेटेड प्रा.लि.अन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वक्र्स लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर पनि हो ।
सीजीको ‘मेघौली सराई’ एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनित
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी हस्पिटालिटीले सञ्चालन गरेको चितवनको मेघौलीस्थित लक्जरी जंगल सफारी रिसोर्ट ‘मेघौली सराई’ एकैपटक दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनयनमा परेको छ । आतिथ्य सत्कार उद्योगमा अन्तराष्ट्रियस्तरमै प्रतिष्ठित मानिने ‘डेस्टिनेसन डिलक्स अवार्ड’ र ‘साउथ एसियन ट्राभल अवार्ड’मा मनोनित भएको हो । डेस्टिनेसन डिलक्स अवार्ड अन्तर्गत मेघौली सराई ‘वेस्ट इको होटल अफ दि एयर २०२२’का लागि छनौटमा परेको छ । यस अवार्ड जित्नका लागि मेघौली सराईले ओमानको अलिला जबल अख्दार, माल्दिभ्सको अमिल्ला माल्दिभ्स रिसोर्ट एन्ड रेसिडेन्सेस, इन्डोनेसियाको बुअहन्–अ बनियान ट्री एस्केप एट बालि, मेक्सिकोको चब्ले युकतान, क्यालिफोर्नियाको निउ ट्री रन्च लगायतसँग प्रतिस्पर्धा गर्नेछ । मेघौली सराईसहित यि सबै विश्वका उच्च गुणस्तरीय पर्यटकको रोजाईमा रहेका रिसोर्ट हुन् । डेस्टिनेसन डिलक्स अवार्डले लक्जरी रिसोर्टहरू जसले स्पा, स्किन केयर, एवं नेचुरल ट्रिटमेन्टमा उल्लेखनीय योगदान पु¥याउनेहरुलाई यस्तो अवार्डवाट सम्मान गर्दै आएको छ । त्यसैगरि साउथ एसिया ट्राभल अवार्ड अन्तर्गत मेघौली सराई ‘लिडिङ वाईल्डलाईफ लज’ र ‘रिभर फ्रन्ट होटल–रिसोर्ट अवार्ड’मा मेघौली सराई मनोनयनमा परेको हो । विश्वभरका लक्जरी पर्यटकीय गन्तव्यका रुपमा यस रिसोर्टले अन्तर्राष्टियस्तरमा नेपाललाई चिनाउदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जको सामिप्यमा राप्ती नदिको वहावको अनुभव गर्न सकिने यो रिसोर्ट विश्वभरका जंगल सफारीमा रमाउने पर्यटकवीच निकै लोकप्रिय रहेको छ । यी दुबै श्रेणीहरूमा पनि मेघौली सराईले विश्वका उत्कृष्ट लक्जरी रिसोर्टहरुसँग प्रतिस्पर्धा गर्नेछ । कोभिडले थला परेको विश्व पर्यटन बजार सामान्यिकरणतर्फ उन्मुख बनिरहदा नेपालस्थित आफ्नो वल्र्डक्लास रिसोर्ट प्रतिष्ठित अवार्डहरुमा मनोनयनको खबरले सीजी हस्पिटालिटीका मुख्य कार्यकारी अधिकृत राहुल चौधरी उत्साहित छन् । ‘कोभिडपछि खुल्न थालेको बिश्व पर्यटन बजारमा यी प्रतिष्ठित अवार्डका लागि मनोनयन हुनु मेघौली सराई ग्रीन लक्जरी रिसोर्ट्स विधामा मार्केट लिडर रहेको प्रमाण हो, चौधरीले भने । सिजि हस्पिटालिटीको एउटा महत्वपूर्ण प्रोपर्टीकारूपमा रहेको मेघौली सराई राप्ती नदीको किनारमा अवस्थित एक लक्जरीयस जंगल सफारी लज हो । यस रिसोर्टबाट चितवन राष्ट्रिय निकुञ्जका दृष्यहरु निर्वाध अवलोकन गर्न सकिन्छ । निजि स्विमिङ पुल रहेका यस रिसोर्टका सबै भिल्लाहरुबाट गैंडा, हात्ती, गोही र बाघ लगायतका वन्यजन्तुहरू दृष्यावलोकन गर्न पाईन्छ ।
अर्को सातादेखि नयाँ नोट साट्न पाइने, एक जनालाई कति पाइन्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सातादेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी बताएको हो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले आगामी सातादेखि नयाँ नोट सटही सुरु गर्ने बताए । उनले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने बताए । उनका अनुसार अहिले राष्ट्र बैंकसँग १० अर्बभन्दा बढी नयाँ नोट मौज्दात छ । राष्ट्र बैंकले गत वर्ष ८ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो । यो वर्ष १० अर्ब रुपैयाँ सटही हुन सक्ने राष्ट्र बैंकको अनुमान छ । बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत् नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने उनले बताए । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने उनको भनाइ छ ।
नेपाल मर्चेन्ट बैंकर संघको आयोजना ‘एमबान स्पोर्टस मिट २०२२’ हुने
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्दी लाइफस्टाइल’ भन्ने नारासहित पहिलो पहिलोपटक ‘एमबान स्पोर्टस मिट २०२२’ आयोजना हुने भएको छ । ‘एमबान स्पोर्टस मिट २०२२’ अन्तर्गत विभिन्न विधामा धेरै प्रकारका खेलकुद प्रतियोगिताको आयोजना हुने र सो प्रतियोगितामा नेपाल मर्चेन्ट बैंकर संघका सदस्य संस्थाहरु, नियामक निकाय र सरोकारवालाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धाहरु हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । आयोजकका अनुसार सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नियमहरुको अधिनमा रहेर सञ्चालन हुनेछन् । कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु यहि मिति २०७९ भाद्र १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुने आयोजकले बताएको छ । त्यस्तै फुटसलका प्रतिस्र्पधाहरु प्रतियोगिता समापन सहित मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डौल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुने आयोजकले जनाएको छ ।