विकासन्युज

अजोड इन्स्याेरेन्स र इ–बीमा बीच सम्झौता

काठमाडौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोड इन्स्याेरेन्सबीच सम्झौता भएको छ । सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार इ–बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरी सर्वसाधारणलाई बीमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँच योग्य बनाउने छ । इ–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ ।

आर्थिक संकटमा फसेपछि व्यवसायी शुदर्शनले गरे आत्महत्या

काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको रञ्जना ट्रेड सेन्टरको चौथो तलाको ‘पसल नम्बर २४’ अहिले बन्द छ । पसल न कोरोना महामारी, न लकडाउन, न नेपाल बन्द नत कुनै सार्वजनिक विदा भएर बन्द भएको हो । पसल मालिक आउने पखाईमा छ । तर, अब मालिक भने सदाका लागि सोही पसल छोडेर विदा भइसकेका छन् । त्यसैले २४ नम्बरको स्वेत वराह इन्टरप्राइजेज विगत ३/४ दिनदेखि बन्द छ । स्वेत वराह इन्टरप्राइजेज शुदर्शन घिमिरेको हो । घिमिरेले मंगलरबार अर्थात् भदौ २१ गते आत्महत्याको बाटो रोजे । न्यूरोडको राम्रो व्यापारीको छवि बनाएका शुदर्शनले गत मंगलबार आत्महत्या गरे । घिमिरे रञ्जना ट्रेडर्समै रेडिमेड कपडाको व्यापार गर्थे । काभ्रेको नाला काभ्रेबोट घर भएका घिमिरे उनको गाउँमा नै पहिलोपटक अंग्रेजीमा मास्टर्स डिग्री सम्पन्न गर्ने व्यक्ति थिए । तर, समयसँगै उनी व्यापार व्यवसायमा आवद्ध भए । व्यवसायी रामकुमार तिमिल्सिनाका अनुसार घिमिरे ०६५/६६ देखि नै ठमेल क्षेत्रमा काम गर्न शुरु गरेका थिए । शुरुको समयमा अरु व्यवसायीकोमा काम गरी अनुभव हासिल गरिसकेपछि ०६६/६७ पछि महावौद्धबाट घिमिरेले आफ्नै व्यवसायको शुरुवात गरे । आम्दानीको विस्तारसँगै घिमिरेले ०७१ सालबाट रञ्जन ट्रेड सेन्टरमा व्यवसाय गर्न शुरुवात गरे । साथै पछिल्लो समयमा उनकी श्रीमतीले पनि निर प्लाजामा व्यवसाय गर्थिन् । घिमिरेका व्यवसायी साथीहरुका अनुसार ३ भाई मध्येका जेठा सन्तान थिए उनी । उनी ४३ वर्षका थिए । उनका बुबाआमा काभ्रेमै बस्थे । घिमिरेकी श्रीमती र छोराछोरी भने उनीसँगै गौरीघाटमा बस्थे । व्यवसायी तिमिल्सिनाका अनुसार कोरोना महामारीपछि अधिकांश व्यवसायीहरु आर्थिक रुपमा अत्यन्तै ठूलो पीडाबाट गुज्रिरहेका छन् । त्यही ठूलो पीडा घिमिरेलाई पनि पर्यो । मृतक शुदर्शन घिमिरे व्यवसायीहरुलाई एकिन रुपमा थाहा नभएपनि उनको बैंकमा ठूलो ऋण छ । उनी विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेर ऋण लिइरहेका थिए । उनी मासिक ४० हजार बढी सटर भाडा नै तिर्थे । तर, पछिल्लो समय भने आम्दानी कम हुने र ऋण भार यथावत नै रहेको कारणले उनलाई आर्थिक समस्याले थप समस्यामा पार्यो । उनलाई एक बैंकले ऋणको ब्याज तिर्न ताकेता गरिरहेको थियो । तर, उनले सो बैंकलाई ५ लाख रुपैयाँ तिर्नु पर्ने भयो । उनी सँग सो रकम थिएन । उनले धेरैलाई सहयोग मागे । तर, कसैले उनलाई पत्याएन । उनको घरमा पुगेर आएका व्यवसायीहरुका अनुसार आफ्नो सर्कलमा भएका अधिकांशलाई उनले ५ लाख रुपैयाँ सहयोग मागेका थिए । कसैले सहयोग नगरेपछि उनी काठमाडौंबाट काभ्रे लागे । काभ्रेमा रहेका बुबालाई उनले आफ्नो समस्या सुनाए । बुबाले ५ लाख रुपैयाँ दिने पनि बताए । तर, समय लाग्ने भनेपछि उनी काभ्रेको घरबाट पनि निस्किए । उनी काठमाडौं पनि फर्किएनन् । मंगलबार उनी काभ्रेको उनको घरमाथिको जंगलमाा मृत भेटिए । काभ्रे प्रहरीका अनुसार उनले आत्महत्या गरिएको बुझिएको छ । उनले आत्महत्या गर्नुअघि सुसाइड नोट पनि लेखेको भेटिएको प्रहरीको भनाइ छ । तर, सुइसाइट नोट भने अहिलेसम्म सार्वजनिक भएको छैन । व्यवसायीहरुका अनुसार घिमिरेले सुइसाइट नोटमा आफुलाई श्रीमती र छोराछोरीको धेरै माया लागिरहेको तर व्यवहारिक कारणले आफू आत्महत्या गर्ने स्थितिमा पुगेको उल्लेख गरेका छन् । रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्दै आएका महेश पौडेलले व्यवसायीहरु नेपाल राष्ट्र बैंकले लिएको मौद्रिक नीतिका कारण पीडित भएको बताउँछन् । ‘हामीले तिर्नुपर्ने पैसा तिर्नको लागि वित्तीय संस्थाहरुले निकै दवाब दिन्छन्, पसल नै उठाउने धम्की दिन्छन्, तर हामीलाई थप लगानी गर्दैैनन्’, उनले भने, ‘घिमिरेलेजी ले आत्महत्या गर्नुपर्ने परिस्थिति आएकै बैंक तथा वित्तीय संस्थाहरुको कारणले हो ।’ साथै सधैँको दशैंमा व्यापारीहरुलाई चिनियाँ नाकाबाट सामान ल्याउने काममा समस्या हुने गरेको र त्यसबाट व्यवसायीमा सिर्जना भएको पीडामा राज्यले वास्ता नगरेको पौडेलको भनाइ छ । उनका अनुसार आत्महत्या गरेका व्यवसायी घिमिरे लगायत थुप्रै व्यवसायीहरुले खरिद गरेर ल्याएको सामान लामो समयदेखि नेपाल–चीन नाकामा रोकिएको छ । तर, सरकारले व्यवसायीहरुको सामान निर्णायक रुपमा छुटाउनको लागि कुनै पहल गरेको छैन । पौडेलका अनुसार व्यवसायी घिमिरे अरु कुनै कारणले नभएर वित्तीय संस्थाहरुको दबाब र राज्यको बेवास्ताले एउटा होनहार व्यापारीले आत्महत्या गर्नु परेको दुःख व्यक्त गरेका छन् ।

पूर्वका विभिन्न जिल्लामा लुम्बिनी जनरल इन्स्योरेन्सले दियो वित्तिय तालिम

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले पूर्वका विभिन्न जिल्लाका नगरपालिकाहरुमा तालिम सम्पन्न गरेको छ । कम्पनीले भदौ ९ गतेदेखि १७ गतेसम्म पूर्वका विभिन्न जिल्लाका नगरपालिकाहरुमा पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम, बीमा सचेतना कार्यक्रम, कृषि बीमा सचेतना कार्यक्रम र बीमा अभिकर्ता तालिमहरु सम्पन्न गरेको हो । कम्पनीले भदौ ९ गतेदेखि ११ गतेसम्म संखुवासभाको खाँदबारीमा ३० जना सहभागीहरुलाई ३ दिने कृषि, पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम प्रदान गरेको थियो । भदौ ११ गते नै कम्पनीले खांदबारीमा नै बीमा सचेतना कार्यक्रम समेत सम्पन्न गरेको थियो । त्यसैगरी, कम्पनीले भदौ १२ गते षडानन्द नगरपालिकामा ३८ जनालाई कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम, भदौ १३ गते संखुवासभाको धर्मदेवी नगरपालिकामा ४० जना सहभागीहरुलाई कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम, भदौ १५ गतेदेखि १७ गतेसम्म झापाको दमक नगरपालिकामा ३५ जना सहभागीहरुलाई ३ दिने निर्जिवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको थियो । कार्यक्रमहरुमा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले तालिम दिएका थिए भने कार्यक्रमको व्यवस्थापन कम्पनीका स्थानिय शाखा कार्यालयहरुले गरेका थिए ।

भृकुटीमण्डपमा सुरु भयो पाँच दिने फर्निचर एक्स्पो, एक लाखले अवलोकन गर्ने अपेक्षा

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ मेला २०२२ सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा आजदेखि यही भदौ २७ गतेसम्म चल्ने एक्स्पोको बिहीबार बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका थिए । मेलामा भारत, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता छ । जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको प्रायोजन गरेका छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायतका सामग्री मेलामा रहेको सङ्घका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिए । नेपालमा ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य सामग्रीको वार्षिक कारोबार हुने गरेकामा त्यसको झण्डै ५० प्रतिशत हिस्सा आयातित फर्निचर रहेको बताइन्छ । प्रदर्शनीको व्यवस्थापन इभेन्ट सोलुशन प्रालिले गरेको छ । प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासङ्घ, आइडिया नेपाल र स्पेस म्यागेजिनको विभिन्न सहयोग रहेको छ । बदलिँदो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । पाँच दिनसम्म चल्ने एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । सङ्घले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा बर्सेनि फर्निचर तथा फनिर्सिङ सामग्रीको मेला आयोजना गर्दै आएको छ । रासस

राष्ट्र बैंकले बाँड्यो नयाँ नोट, कुनलाई कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्न शुरु गरेको छ । राष्ट्र बैंकले दशैंका लागि भनेर बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती नेपालले बताए । बुधबारदेखि बैंक तथा वित्तीय संस्थार्ला नयाँ नोट उपलब्ध गराएको उनले बताए । बुधबारदेखि ‘क’ वर्गका वाणिज्य बैंकलाई १० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकलाई ५ करोड रुपैयाँ र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई ३ करोड रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराएको उनले बताए । बजारको माग अनुसार नयाँ नोट बाड्ने तयारी राष्ट्र बैंकको रहेको भएपनि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउने स्टमेट रहेको उनको भनाइ छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइसकेको भएपनि सर्वसाधारणले भने भदौ २९ गतेदेखि मात्रै पाउने उनले बताए । बैंक तथा वित्तीय संस्थाहरुले भदौ २९ गतेदेखि असोज १४ गतेसम्म सर्वसाधारण जनतालाई नयाँ नोट बाड्ने छन् । साथै राष्ट्र बैंकमा खाता रहेकालाई राष्ट्र बैंकबाट नयाँ नोट उपलब्ध गराइने उनले बताए । सर्वसाधारण एक व्यक्तिलाई भने १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको उनले बताए ।

२४ बैंकका सीईओलाई नागरिक लगानी कोषले भन्यो : बजार नियमअनुसार चल्नुहोस्, ब्याज बढ्नुपर्छ

काठमाडाैं। बैंकहरुको पछिल्लो भूमिकाप्रति असन्तोष प्रकट गर्दै आएको नागरिक लगानी कोषले सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई खुला बजारको नियम अनुसार चल्न सुझाव दिएको छ । गत साउन ३० गते बैंकर्स संघले संस्थागत निक्षेपकर्ताको व्याज घटाएर ९.०३ प्रतिशत मात्र दिने निर्णय गरेपछि संस्थागत निक्षेपकर्ताहरु बैंकर्ससँग आक्रोसित भएका छन् । भदौ २२ गते कोषले आयोजना गरेको एक कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण कुमार नेपालले बैंकर्स संघले भदौ ३० गते गरेको निर्णयप्रति असन्तोष जनाएका थिए । कार्यकारी निर्देशकले खुल्ला बजार नीति अनुरुप माग र आपूर्तिको आधारमा व्याजदर कायम नभएकोे बताएका हुन् । ‘वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी’ छलफल कार्यक्रममा २६ वटा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निम्ता गरेपनि २४ जना सहभागी भएका थिए । बैंकर्सहरुले बैकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्युनीकरण गर्ने भूमिका खेल्नु पर्नेमा जोड दिए । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले वजारमा देखिएको तरलता समस्या समाधान गर्न कोषले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । जवाफमा कोषका कार्यकारी निर्देशक नेपालले कोषमा बचत गर्नेहरुबाटै ८० प्रतिशतसम्म ऋण सापटीको माग बढि रहेको बताए । ‘तपाईहरुले संस्थागत निक्षेपकर्तालाई कम व्याज दिने निर्णय गर्नु भयो । कोषमा बचत गर्नेहरुले ८० प्रतिशतसम्म कर्जा माग गर्न थालेका छन् । आवास तथा सरल कर्जाको मागमा उच्च बृद्धि भएको छ । बिभिन्न बँैकहरुबाट जारी गर्ने डिबेन्चर निस्काशनमा बृद्धि हुन थालेको छ । हामीसँग पनि पैसाको अभाव छ’ नेपालको भनाई उदृत गर्दै एक बैंकर्सले बताए । बैंकहरुले जारी गरेको ऋणपत्रमा ११ प्रतिशतसम्म व्याज पाएको अवस्थामा ९.०३ प्रतिशतमा मुद्दती खातामा पैसा राख्नु कोषका लागि घाटाको व्यापार उनले उनले बताएका थिए । उनले कुटनीतिक तरिकाले निक्षेपको व्याजदर वृद्धि गर्न बैंकर्ससँग आग्रह गरेका थिए । कार्यकारी निर्देशक नेपालले १५ भदौसम्मको तथ्याकं अनुसार कोषको कुल लगानीको ६५ प्रतिशत लगानी बैँकिग क्षेत्रमा रहेको जानकारी दिए । २०७९ असार मसान्तसम्म कोषको खुद कोष मौज्दात २ खर्ब १७ अर्ब रुपैँया रहेको र १ खर्ब ९४ अर्ब रुपैयाँ २६ वटा बैंकको मुद्दती खातामा लगानी रहेको जानकारी दिएका थिए । कार्यक्रममा नेपाल बैकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय, ग्लोबल आइएमई बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बजारमा देखिएको तरलता समस्याको बारेमा धारणा राखेको थिए । सो अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादर थापाले कोष र बैकहरुले आपसी सहकार्य गरी अहिले बजारमा देखिएको तरलता अभावलाई न्युनीकरण गर्नेतर्फ विशेष जोड दिनुपर्ने खाँचोे औल्याएको कोषद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यसअघि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषको कार्यकारी प्रमुखहरुले एक साताअघि अर्थसचिव कृष्णहरि पुस्करसँग भेटी व्यक्तिगत र संस्थागत भनि व्याजदरमा गरिएको विभेद अन्त्य गर्न माग गरेका थिए । साथै बीमा कम्पनीहरुले पनि संस्थागत निक्षेपकर्तालाई कम व्याज दिने बैंकर्सको नीतिको आलोचना गर्दै आएका छन् ।

आइसिटी अवार्ड २०२२ को लागि ‘इकमर्श पार्टनर’ मा दराज

काठमाडाैं ।  सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि इकमर्श क्षेत्रको कम्पनी दराजले सहकार्य गर्ने भएको छ । बुधबार दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘इकमर्श पार्टनर’को रुपमा दराज रहने तथा डिजिटल स्टार्टअप, इन्नोभभेसन र ट्यालेन्ट्सलाई विभिन्न किसिमले सहयोग तथा प्रवद्धन गर्ने उक्त समझदारीमा उल्लेख गरिएको छ । दराजमा २० हजारभन्दा बढि बिक्रेताहरु समावेश भएका छन । सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्डको सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुँदैछ । आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ ९२३ डिसेम्बर, २०२२० गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ ।

बिहीबार हिमालयन एभरेष्टको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

काठमाडौं । बिहीबारको बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको १३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा धेरै रकमको कारोबार हो । कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । बिहीबार कम्पनीको सेयर मूल्य ७.८० रुपैयाँले बढेर प्रतिकित्ता ४११.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.९३ प्रतिशतले बढी हो । समग्रमा बिहीबारको बजारमा १ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २२ करोड रुपैयाँले बढी हो । बुधबारको बजारमा ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै, सेयर मूल्य मापक नेप्से परिसूचक २.१३ अंकले घटेर १९३७.७४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.११ प्रतिशतले घटी हो । बजारमा सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । संस्थाको सेयर मूल्य ४.४९ प्रतिशतले बढेर प्रतिकित्ता १२८० रुपैयाँ पुगेको छ । सबैभन्दा बढी गुमाउने अर्थात टप लुजरको र्शीष स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य ६.४९ प्रतिशतले घटेर प्रतिकित्ता १४११.२० रुपैयाँमा झरेको छ । बिहीबार निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल एण्ड टुरिजम, हाइड्रोपावर र इन्भेष्टमेन्ट समूह उकालो लागेका छन् । बाँकी समूह भने राताम्मे देखिएका छन् ।