विकासन्युज

यसकारण हुँदैछ आज दिनभर काठमाडौंका सडक प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकाको सडक आज दिनभर प्रभावित हुने देखिएको छ । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेपालको औपचारिक भ्रमणका कारण मंगलबार दिनभर सवारीसाधन प्रभावित हुने देखिएको हो । सभामुख अग्नी सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली चान्शु नेपालको औपचारिक भ्रमणमा सोमबार काठमाडौं आइपुगेका हुन् । उनी विशेष विमानबाट सोमबार अपराह्न काठमाडौं आएका हुन् । अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरेका थिए । सोमबार सभामुख सापकोटाले अध्यक्ष चान्शुको सम्मानमा साँझ रात्रिभोजको आयोजना गरेका थिए । जसको कारण हिजो साँझ काठमाडौंको अधिकांश स्थानका सवारीसाधन प्रभावित भएका थिए । यस्तै, मंगलबार बिहान ८ बजेदेखि नै उपत्यकाको सवारी प्रभावित हुन सुरु भइसकेको छ ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अध्यक्ष लीबीच बिहान ९ बजे सङ्घीय संसद् भवनमा भेटवार्ताको कार्यक्रमको कारण उपत्यकाको विभिन्न स्थानको सवारी प्रभावित भएको हो । सङ्घीय संसद् भवनमा नै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ । यस्तै, मङ्गलबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मङ्गलबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नेछन् । अध्यक्ष लीले भक्तपुर दरबार क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष ली चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो तहका शीर्ष नेता हुन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि यहाँ आउने शीर्ष चिनियाँ नेतामध्ये उनी एक हुन् ।  

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा आज छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । सम्झौतापत्रअनुसार दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्ररूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् । यसैगरी दुवै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पु¥याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्ने सम्झौतापत्रमा उल्लेख छ । दुवै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिनेछन् । दुवै पक्षले संसदीय मैत्री समूहलाई उनीहरूको संलग्नता अभिवृद्धि गर्न प्रोत्साहन गर्ने र साथ दिनेछन् तथा दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नेछन् । दुवै पक्षले एकअर्काको विधायिकी, सुपरीवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मार्फत समेत दुई राष्ट्रहरुबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने सम्झौतापत्रमा उल्लेख छ । हस्ताक्षर गरेको मितिदेखि लागू दुवै पक्ष साझा हितको विषयमा ‘इन्टर पार्लियामेण्टरी युनियन’ लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय सङ्गठनहरूको खाकाअन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएका छन् । यसैगरी यो समझदारीपत्र दुवै पक्षले हस्ताक्षर गरेको मितिदेखि लागू हुनेछ र पाँच वर्षको समयावधिसम्म मान्य रहने सम्झौता भएको छ । साथै कुनै पक्षले यो समझदारीपत्र समाप्त हुने मितिभन्दा छ ९६० महिना अगावै लिखितरूपमा यो समझदारीपत्र अन्त्य गर्ने सम्बन्धमा सूचना दिएकोमा बाहेक अर्को क्रमिक समयावधिको लागि स्वतः नवीकरण हुने सम्झौतापत्रमा उल्लेख छ । नेपाल र जनवादी गणतन्त्र चीनबीच सहर्ष कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने तथा दुई राष्ट्र र जनताको आपसी हितका लागि दुवै राष्ट्रहरुबीच सहयोगको आदानप्रदान र आपसी विश्वासलाई अझ गहन तुल्याउने सम्झौतापत्रको उद्देश्य रहेको छ । सन् २०१९ को अक्टोबरमा भएको राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अवसरमा नेपाल सरकार र जनवादी गणतन्त्र चीन सरकारबीच विकास र समृद्धिका लागि चिरकालसम्म मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई सहयोगको रणनीतिक साझेदारीमा अभिवृद्धि गर्ने गरी भएको निर्णयलाई पुनः पुष्टि गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अन्तरसंसदीय आदानप्रदान र राज्य राज्यचीचको सहयोगात्मक सम्बन्धको महत्वपूर्ण अंशको रुपमा रहेको तथा यसले आपसी समझदारी र विश्वास अभिवृद्धि गर्न साथै दुई राष्ट्रहरुबीच सहमति विस्तार गर्न मद्दत गर्ने कुरालाई आत्मसात गर्ने सम्झौतापत्रमा उल्लेख छ । नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीचको मैत्रीपूर्ण सम्बन्ध र सहयोग सुदृढ गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिएको सचिवालयले जनाएको छ । यस समझदारीपत्रको व्याख्या वा कार्यान्वयनको क्रममा कुनै विवाद उत्पन्न भएमा आपसी समझदारीमा त्यसको समाधान गरिनेछ । यस समझदारीमा कुनै परिमार्जन वा संशोधन दुवै पक्षको लिखित सहमतिबाट ग्रहण गरिने बताइएको छ । कुनै विवाद उत्पन्न भएमा अङ्ग्रेजीप्रति मान्य हुने काठमाडौंमा नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषाको दुई दुई सक्कल प्रतिमा हस्ताक्षर गरिएको र सबैप्रति समानरूपले आधिकारिक रहेको र कुनै विवाद उत्पन्न भएमा अङ्ग्रेजी प्रति मान्य हुने सम्झौतापत्रमा उल्लेख छ । सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली चान्शु नेपालको औपचारिक भ्रमणमा साेमबार काठमाडौं आइपुगेका हुन् । रासस

भाइरल ज्वरोका बिरामी बढेपछि बागलुङमा विद्यालय बन्द

बलेवा । बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उनको भनाइ छ । ‘बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ’, उनले भने । गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकीले डेङ्गुको पनि परीक्षण गर्ने तयारी गरेको छ । विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । गलकोट–११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले बताए । गत हप्ता केही विद्यार्थी र शिक्षकमात्रै बिरामी रहेको र आइतबार २४ विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको उनले जानकारी दिए । शिक्षक भोजेन्द्र नेपालीका अनुसार स्वास्थ्य समस्या देखिएकाले नै विद्यार्थी अनुपस्थित भएका हुन् । रासस

वीर अस्पतालले भन्याे : घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौं

काठमाडौं । वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ । काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्नु हुँदै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको बताए । ‘स्थानीय तह सञ्चालन ऐन आउनुअघिदेखि वीर अस्पतालले राजस्व कार्यालयमा कर दाखिला गर्दै आएकामा अहिले पनि त्यसै गरिरहेका छौँ, राजस्व कार्यालयमा बुझाउने कर महानगरपालिकामा परिवर्तन गर्न पत्र नआएका कारण पहिले जसरी नै तिरेको देखिन्छ’, उनले भने । दैनिक करिब दुई हजार पाँच सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ । धेरै बिरामी चापका कारण त्यसको व्यवस्थापनमै कर्मचारी व्यस्त हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी मिश्रले स्थानीय केन्द्र सरकारलाई बुझाइरहेको कर स्थानीय सरकारलाई बुझाउने विषयमा अस्पष्टताका कारण यस्तो भएको हुनसक्ने सुनाए । वीर अस्पतालको भवनमा विसं २०७२ देखि फार्मेसी सञ्चालन गर्दै आएका नवराज खनाल घरबहाल कर अस्पताललाई नै बुझाउने गरेको बताउँछन् । महानगरपालिकाले घरबहाल कर नपाएको सूचना सार्वजनिक गरेपछि आफूहरूले पनि यस विषयमा अस्पताल प्रशासनलाई जानकारी गराएको उनले सुनाए । अस्पतालसँग वार्षिक सम्झौता गरी भाडा र कर बुझाउने गरेको व्यवसायी बताउँछन् । रासस

खुसी जीवन जिउँन चाहनुहुन्छ ? समस्या बाँड्नुहोस्

कैलाली । कैलालीको टीकापुरका निर्मला चौधरीको जीवनमा विभिन्न खाले समस्या आइरहन्छन् । उनी समस्या पर्दा श्रीमानलाई सबैभन्दा पहिले सम्झिन्छिन् । आर्थिकलगायतका समस्या हुँदा उनी श्रीमानसँग सल्लाह गर्ने र मनलाई बलियो बनाउने गर्छिन् । ‘समस्याबिनाको जीवन हुँदैन, आर्थिकलगायतका विभिन्न समस्या झेल्नुपर्छ, मलाई पनि विभिन्न समस्या पर्दै आएका छन्,’ उनी भन्छिन्, ‘आर्थिक समस्या पर्दा श्रीमानसँग सल्लाह गर्छु, अन्य समस्या पनि पर्छन्, तिनको समाधानका लागि अरुलाई सहयोग माग्ने गर्छु तर समाधान छैन भन्दै पीर मानेर बस्दिनँ ।’ जुन्नी चौधरी पनि आर्थिक अभावजस्ता समस्या हुँदा श्रीमानसँग माग्ने, गाउँमा भएको समूहबाट ऋण लिने गर्नुहुन्छ । अन्य खाले समस्या परेमा गाउँकै बडघर र भल्मन्साको सहयोग लिनेजस्ता कार्य गर्छिन । ‘हाम्रो समाजमा बडघर, भल्मन्सा र जनप्रतिनिधि छन्, हामी उनीहरुको सहयोगमा समस्या समाधान गर्छौं,’ जुन्नी भन्छिन्, ‘बच्चा बिरामी हुन्छन्, गाइभैँसी बिरामी हुन्छन्, आर्थिक अभाव हुन्छ, खेतीपाती गर्दा सहयोगी चाहिन्छन् । यी सबै समस्यामा साथ र सहयोग लिन्छु, तनावमा बसेर फाइदा छैन ।’ मानिसको जीवनमा समस्या आइरहन्छन् । समस्या, अभाव, दुःख, खुसी जीवन चलाउने माध्यम हुन् । खुसीले उमङ्ग दिन्छ भने समस्याले समाधानको खोजी गर्न र हिम्मतिलो बनाउँछ । समस्याले नै मानिसलाई सङ्घर्ष गर्न सिकाउनुका साथै हिम्मतिलो बनाउने गर्छ । जो मानिस समस्यासँग डराउँछ ऊ कमजोर हुन्छ भने जसले समस्यासँग जुध्ने कोसिस गर्छ ऊ सफल हुनुका साथै मानसिकरूपमा समेत बलियो बन्छ । धेरैजसो महिलाको जीवनमा आर्थिकलगायतका समस्या बढी हुन्छन् । ललिता थारूले समस्या पर्दा सासुलाई सबैभन्दा पहिला बाँड्छिन् । अन्य समस्या पर्दा छिमेकी तथा आफन्तलाई भन्नुहुन्छ र समस्यामा हिम्मत हार्नुहुन्न । ‘कस्ता अप्ठ्याराहरू झेल्नुपर्छ, म हिम्मत हार्दिनँ, हिम्मत हारेमा मन कमजोर हुन्छ,’ उनी भन्छिन्, ‘कति कठिन दिन सहनुपरेको छ, समस्या निम्तनेबित्तिकै सासु-बुहारी छलफल गर्छौं, उपाय सोच्छौँ र सहयोगी पहिचान गरेर सहयोग लिन्छौँ ।’ टीकापुरकी कविता चौधरीका घरमा घरमुली सासु-ससुरा छन् । घरका सबै समस्या उनीहरूले नै समाधान गर्नुहुन्छ । घरमा आइपर्ने समस्या उनीहरूलाई कविताले राम्रो साथ दिन्छिन् । ‘आजभोलि सामान्य समस्या छिमेकीसँग सहयोग लिने, थप जटिल भएमा जनप्रतिनिधि, बडघरलाई गुहार्ने चलन छ,’ कविताले भनिन्, ‘समाज सरसापट र सहयोगमा चलेको छ ।’ अधिकांश महिलाले समस्या पर्दा श्रीमान्, सासुससुरालाई गुहार्छिन् । बाँकी समस्या हुँदा आजभोलि वडामा रहेका जनप्रतिनिधिसँग सहयोग लिनेहरू पनि बढेका छन् । समस्या पर्दा नआत्तिने गरेको उनीहरू बताउँछन् । कैलालीकै सुनिता धामी समस्या समाधान गर्न नसक्दा आफैँ समस्यामा परेकी छिन् । ‘सुनिताको परिवारले गत वर्ष कोरोना महामारीका कारण धेरै पीडा झेल्यो, भारतमा कमाउने सुनिताका श्रीमानको रोजगारी गुमेपछि आर्थिक सङ्कटसँगै थप सङ्कट झेल्नुपर्यो ।’ ‘गत वर्ष निकै कठिन समय चल्यो, कोरोना महामारीले ठूलो मर्का पर्यो, श्रीमानको कमाइ नभएपछि घर चलाउन धौँधौँ भयो,’ उनले भनिन्, ‘त्यसैमाथि सासु र मलाई कोभिड सङ्क्रमण भयो । अभाव र रोगले च्यापेपछि मलाई तवान भयो, म त निद्रा नलाग्ने समस्याले जेलिए ।’ लामो समय यस्तै चलेपछि आजभोलि सुनिताले मनोपरामर्श सेवा र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरिरहेकी छिन् । समस्याको समयमै समाधान गर्न नसकेमा मानिसमा मनोसमस्या हुने, काम गर्न नसक्दा आर्थिकरूपले कमजोर हुनसक्ने, गलत निर्णय लिनसक्ने भएकाले मानिस संयमित हुन आवश्यक रहेको टीकापुर अस्पतालका डा लालसिंह टमट्टा बताउँछन् । ‘समस्या नभएको मानिस हुन्न तर समस्या समाधान गर्न पहल गर्नुपर्छ, नत्र समस्याले मानिसलाई खान्छ,’ उनी भन्छिन्, ‘समस्याका कारण तनावमा बस्नु हुँदैन, एकोहोरो भएर बस्नु, मनमा कुरा राख्नुभन्दा योग, ध्यान गर्ने, मनका कुरा अरुलाई बाँड्ने, समस्याको पहिचान गरेर समाधानको बाटो खोजेमा जीवन सहज हुन्छ, समस्या आइपर्दा मन शान्त राख्न ध्यान दिनुपर्छ यसले स्वास्थ्य जोगाइराख्छ ।’ रासस

विदेशमा रहेका नेपालीलाई १० प्रतिशत आईपीओ, रेमिट्यान्स बचत खातामार्फत् मात्रै भुक्तानी गर्नु पर्ने

काठमाडौं । आईपीओ निष्काशन गर्ने कम्पनीले १० प्रतिशत सेयर नेपाल सरकारको सम्वन्धीत निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याउनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दर्ता तथा निष्काशन (छैठौं संशोधन) नियमावली २०७९ सार्वजनिक गर्दै श्रम स्वीकृति प्राप्त गरि वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्र आईपीओमा आवेदन दिन पाउने व्यवस्था गरेको हो । ‘संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नु पर्नेछ,’ संशोधन गरेको नियमावलीमा उल्लेख गरिएको छ । यस्तै, निष्काशित सेयरमा सम्बन्धित व्यक्तिले आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खातामार्फत् मात्र भुक्तानी गर्नु पर्ने भएको हो । सेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नु पर्ने ब्यबस्था नियमावलीले गरेको हो । [pdf id=351468]

नयाँ स्टकको पूँजी ३ अर्ब हुनुपर्ने, सर्वसाधारणले ३० प्रतिशत सेयर पाउने (यस्तो छ नियमावली)

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाहेक नयाँ स्टक एक्सचेन्ज स्थापना गर्दा चुक्ता पूँजी ३ अर्ब रुपैयाँ हुने गरी धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको संशोधनमा नयाँ स्टक एक्सचेञ्ज चुक्ता पूँजी ३ अर्ब हुनु पर्ने व्यवस्था मिलाएको हो । यसअघि स्टक एक्सचेञ्जको पूँजी ५ करोड रुपैयाँ मात्रै थियो । नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आएको २ वर्ष भित्र ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था मिलाएको छ । अब आउने नयाँ स्टकको सेयर सर्वसाधारणले पनि पाउने भएका हुन् । नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरेका कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्ने व्यवस्था गरिएको छ । यस्तै, पछिल्लो १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गर्दै आएका तथा नेपालमा लगानी गर्न स्वीकृति पाएका कम्पनीले नेपाली स्टक एक्सचेन्जमा लगानी गर्न पाउने व्यवस्था पनि नियमावलीमा गरेको छ । [pdf id=351459]

सुपारी, केराउ र मरिचको आयात खुला, भदौ २१ गते छापिएको राजपत्र सोमबार सार्वजनिक

काठमाडौं । सरकारले सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । सोमबार राजपत्रमा प्रकाशित गर्दै सरकारले यी वस्तुको आयात खुला गरेको जनाएको हो । तर, भदौ २१ गते प्रकाशित राजपत्र सोमबार मात्रै सार्वजनिक गरेर आयात खुला गरेको जनाएको हो । सरकारले अघिल्लो आर्थिक वर्षबाटै आयातमा रोक लगाएको केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रुपमा ल्याउन सकिने गरी खुला गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एचएसकोड ०७१३.१०.०० (केराउ), एचएसकोड ०८०२.८०.०० र एचएसकोड ०९०४.११.३० (कालोमरिच) को पैठारी गर्न अनुमति दिने निर्णय सरकारले गरेको हो । सूचना अनुसार उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यी वस्तु आयात गर्न सकिने भएको छ । [pdf id=351463]