काठमाडौं । काठमाडौं उपत्यकाको सडक आज दिनभर प्रभावित हुने देखिएको छ ।
चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेपालको औपचारिक भ्रमणका कारण मंगलबार दिनभर सवारीसाधन प्रभावित हुने देखिएको हो ।
सभामुख अग्नी सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली चान्शु नेपालको औपचारिक भ्रमणमा सोमबार काठमाडौं आइपुगेका हुन् । उनी विशेष विमानबाट सोमबार अपराह्न काठमाडौं आएका हुन् ।
अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरेका थिए ।

सोमबार सभामुख सापकोटाले अध्यक्ष चान्शुको सम्मानमा साँझ रात्रिभोजको आयोजना गरेका थिए । जसको कारण हिजो साँझ काठमाडौंको अधिकांश स्थानका सवारीसाधन प्रभावित भएका थिए ।

यस्तै, मंगलबार बिहान ८ बजेदेखि नै उपत्यकाको सवारी प्रभावित हुन सुरु भइसकेको छ ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अध्यक्ष लीबीच बिहान ९ बजे सङ्घीय संसद् भवनमा भेटवार्ताको कार्यक्रमको कारण उपत्यकाको विभिन्न स्थानको सवारी प्रभावित भएको हो ।
सङ्घीय संसद् भवनमा नै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ । यस्तै, मङ्गलबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मङ्गलबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नेछन् । अध्यक्ष लीले भक्तपुर दरबार क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
अध्यक्ष ली चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो तहका शीर्ष नेता हुन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि यहाँ आउने शीर्ष चिनियाँ नेतामध्ये उनी एक हुन् ।
