एनआईसी एशियामा सर्वश्रेष्ठ बचत खाता खोल्नेले पाए २० लाख रुपैयाँ बीमा भुक्तानी
काठमाडौं । एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका २ जना ग्राहकले कूल २० लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी पाएका छन् । उक्त योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्ने मध्ये दुई जनाले घातक रोग बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले कुल २० लाख रुपैयाँ पाएका हुन् । बैंकको नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेका स्व. महेश कपालीको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो बीमा रकम बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १ हजार ७३३ जना भन्दा बढी ग्राहकले घातक रोग बीमा वापत २ करोड ६० लाख रुपैयाँ, दुर्घटना बीमा वापत ७० लाख रुपैयाँ र मेडिकल बीमा वापत ३ करोड ३१ लाख रुपैयाँ गरी कुल ६ करोड ६१ लाख रुपैयाँभन्दा बढी बीमा रकम पाइसकेका छन् । बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ । यो योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । साथै, यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई-कमर्श सेवा, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।
काठमाडौंमा दोब्बरले बढ्यो मूल्यवृद्धि, कुन क्षेत्रमा कतिले बढ्यो ?
काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक महिनामा उपभोक्ता मुद्रास्फीति सो मात्राले बढेको हो । जुन अघिल्लो वर्षको सोही महिनामा ४.३५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ । २०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ साउन महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.७० प्रतिशत, ४.११ प्रतिशत, ५.६३ प्रतिशत र ३.५८ प्रतिशत मुद्रास्फीति रहेको थियो । थोक मुद्रास्फीति आर्थिक वर्ष २०७९/८० कोपहिलो महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १२.५८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.६२ प्रतिशत, १४.६८ प्रतिशत र ६.८७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३६ प्रतिशत रहेको छ । तलव तथा ज्यालादर सूचकाङ्क आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.०६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.०५ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १०.६९ प्रतिशत र ११.१८ प्रतिशतले बढेको छ । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति २०७९ साउन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । सन्२०२२ अगष्ट महिनामा भारतको यस्तो मुद्रास्फीति ७.०० प्रतिशत रहेको छ ।
लघुवित्तले गलत तरिकाले लगाएको ऋण मिनाहा गर्नुपर्छ : अध्यक्ष ज्ञवाली
काठमाडाैं । लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले सरकारसँग लघुवित्तिय संस्थाहरु खारेज गर्न माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले सरकारसँग यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्तिय संस्था र नेपाल बैंकर्स संघले आर्थिक र समाजिक रुपान्तरणको नाममा जनतालाई शोषण गरेको आरोप लगाए । उनले लघुवित्त संस्थाहरुले राष्ट्र बैंकको घ वर्गको ट्याग लगाएर नेपाली जनतालाई सुकुम्वासी बनाउन नपाउने भन्दै संघर्ष समितिले सुकुम्बासी बनाउन नदिने बताए । उनले लघुवित्त बैंकर्स संघले जनतालाई आर्थिक शोषण गरेकाले वार्ताबाट भागेको आरोप लगाए । अध्यक्ष ज्ञवालीले वित्तिय व्यवस्थाविरुद्ध नभएर वित्तिय नीति सुधार लघुवित्त संस्था खारेज हुनुपर्छ भनेर आन्दोलन गरेको बताए । उनले लघुवित्त संस्थाहरुले गलत तरिकाले लगाएको ऋण मिनाहा गर्नुपर्ने बताए । संघर्ष समितिले सरकारले लघुवित्तिय संस्थाहरुले लगाएको सामुहिक ऋण मिनाहा गर्नुपर्ने,आम गरिब किसानहरुलाई निःशुल्क ऋण दिनुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र रकमको व्यवस्था गर्नुपर्ने र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग राखेको छ ।
साउनमा विदेशी मुद्राको सञ्चिति १२ करोड डलरले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा विदेशी मुद्रा सञ्चिती १२ करोड डलर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनामा विदेशी मुद्रा सञ्चिती १२ करोड डलर घटेको हाे । २०७९ असार मसान्तसम्म ९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिती रहेकोमा साउनमा ९ अर्ब ४२ कराेड डलर कायम भएकाे हाे । यस्तै, कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा साउन मसान्तमा ०.७ प्रतिशत घटेर १० खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ छ । यसअघि असार मसान्तसम्म राष्ट्र बैंकसँग १० र्ख ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशत घटेर साउनमा १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । यसअघि असारमा बैंक तथा वित्तीय संस्थामा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । २०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।
आजसम्म चालु रहेका सबै मोबाइल सेट स्वतः एमडिएमएसमा दर्ता हुने
काठमाडाैं । आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने भएकाे छ । प्राधिकरणले एमडिएमएस प्रणाली सुरु गरेसँगै विदेशबाट व्यक्तिगत तवरले ल्याइएका सबै मोबाइल सेटलगायत स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने भएकाे हाे ।ऽ नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले बिहीबारबाट लागु हुने गरी एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सो प्रणालीको सुरुआत गरे । प्राधिकरणले आजदेखि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए÷नभएको यकिन गरी मात्र खरिद गर्नुहुन अनुरोध गरेको छ । सोही अवसरमा मन्त्री कार्कीले एमडिएमएस प्रणालीले अवैधरूपमा खरिद बिक्रीको कार्यलाई रोक्ने र मुलुकको अर्थतन्त्र र मोबाइलको व्यापारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकार नीति क्षेत्रलाई प्रोत्साहित गर्न चाहेको र निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउने नेपालीको अभिलाषा पूरा हुने उनको भनाइ थियो । उनले केही समयअघि नेपालको अर्थतन्त्रको अवस्था श्रीलङ्काको जस्तो हुन लागेको भनी भ्रम सिर्जना गर्न खोजिएको भन्दै मुलुकको अर्थतन्त्रप्रति सरकार सचेत रहेको प्रष्ट पारे । उनले भने, ‘सचेत हुन जरुरी थियो, तर नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो हुँदैन थियो र श्रीलङ्काको जस्तो हुन पनि दिनुहुन्न, हामीसँग धेरै सम्भावना छन्, यी सम्भावनालाई अवसरका रूपमा परिणत गरेर अब हामीसँग अगाडि बढ्नुको विकल्प छैन ।’ मन्त्री कार्कीले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा समुन्नत नेपाल, समृद्ध नेपाली र आगामी १० वर्षभित्रमा कम्तीमा दक्षिण एसियामा सम्पन्न मुलुकमध्येका नेपाली चिनाउने अभियान लिएर जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गरे । सूचना, सञ्चार र प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भ उल्लेख गर्दै एमडिएमएस प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिए । ‘सञ्चार प्रविधिको विकासले अहिले संसार नै गाउँमा परिणत भएको छ, त्यसका जति फाइदा छन्, त्यति नै बेफाइदा पनि छन्, त्यसतर्फ पनि सचेत गराउँदै जलस्रोत र पर्यटनको विकास भए जसरी आगामी दिनमा नेपाललाई आइटी हबका रूपमा परिणत गर्न सकेको खण्डमा विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना उत्तिकै छ’, मन्त्री कार्कीले भने । सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले एमडिएमएस प्रणाली सुरु गरेसँगै आउने विविध समस्यालाई पनि सँगै समाधान गर्दै लैजानुपर्नेमा जोड दिए । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइल आयातकर्ता/विक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्यरूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न अपिल गरे । सामसुङ मोबाइलको व्यापार गर्दै आएको आइएमस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले एमडिएमएस प्रणालीले मोबाइल बिक्री वितरण क्षेत्रलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।
बैंकहरुको निक्षेप र कर्जा दुबै घट्यो
काठमाडौं । साउनमा बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा दुबै घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप २ प्रतिशतले र कर्जा ०.०५ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.६ प्रतिशतले बढेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३४.३ प्रतिशत र ४९.५ प्रतिशत रहेको थियो । २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.४ प्रतिशत रहेको छ । २०७८ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४१.४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.०१ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.७ प्रतिशतले घटेको छ । २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्र र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ प्रवाह भएको कर्जा क्रमशः २.१ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ०.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ०.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३ प्रतिशतले र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ४.६ प्रतिशतले घटेको छ ।
साउनमा निर्यात २८.७ प्रतिशत र आयात १२.९ प्रतिशतले घट्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै साउन महिनामा कुल वस्तु निर्यात घटेको जनाएको हो । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिकोमा कुल वस्तु निर्यात ११५.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३६.५ प्रतिशत र २४.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.७ प्रतिशतले वद्धि भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । वस्तुगत आधारमा पाम तेल, जिंक शिट, तयारी पोशाक, औषधी (आयुर्वेदिक), पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पिना, जुटका सामान, जुस, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै, चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा कुल वस्तु आयात घटेर १३१ अर्ब २९ करोडमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु आयात ७५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ प्रतिशत, १०.५ प्रतिशत र १५.९ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधी, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, एम.एस.विलेट, दूरसंचार उपकरण तथा पार्टस्, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm कृष्णनगर, कैलाली, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको हो भने आयाततर्पm तातोपानी, जलेश्वर, सुख्खा बन्दरगाह, कैलाली, रसुवा बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको हो । यस्तै, आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशत घटेर ११६ अर्ब ४८ करोड रुपैयाँ सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो आयात १८ अर्ब ८६ करोड रुपैयाँ बराबरको भएको थियो
२० प्रतिशतले बढ्यो रेमिट्यान्स, वैदेशिक रोजगारीमा जाने पनि ह्वात्तै बढे
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २०.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २० प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड रुपैयाँ पुगेकोे छ । जुन अघिल्लो वर्षको साउनमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो । त्यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर १८.४ प्रतिशतले वृद्धि भई १०१ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।