विकासन्युज

सिंहदरबारमा महाअभियोग सिफारिस समितिको बैठक जारी

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक जारी छ । बिहीवार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरु भएको महाअभियोग सिफारिस समितिको बैठक साँझसम्म जारी छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा केही अधिवक्ताहरुलाई विभिन्न आरोप लगाएपछि नाम मुछिएका अधिवक्ताहरुलाई समितिले बोलाएको हो । समितिमा बयानका लागि अधिवक्ताहरु चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायत छन् । महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले नाम लिएका राजनीतिक दलका नेताहरु तथा न्यायाधीशहरुलाई समेत समितिमा बोलाउने सोच गरेको थियो । पछि राजनीतिक दलका नेताहरुलाई नबोलाउने तर न्यायाधीशहरुलाई बोलाउने भनिएपनि न्यायाधीशहरुले समितिमा नजाने निर्णय गरेसँगै अधिवक्ताहरु भने समितिमा गएका थिए । समितिसँग बयानका क्रममा प्रधानन्यायाधीश जबराले अधिवक्ताहरुलाई आफुसँग पदको बार्गेनिङ गर्न आएको आरोप लगाएका थिए ।

रसुवागढी नाकाबाट नेपाल भित्रिए चिनिया सामग्री

काठमाडौं । गत साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट आज (बिहीबार) देखि व्यापारिक सामग्री पुनःआयात हुन थालेको छ । कोभिड-१९ नियन्त्रणका लागि भन्दै गत साउन २१ गतेदेखि चिनियाँ सुरक्षाकर्मीले बन्द गराएको रसुवागढी नाका, चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणपश्चात् भदौ ३० गते बिहान ९ बजेदेखि सामान आयात हुन थालेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार पहिलो चरणमा बिहान ठूला सात चिनियाँ कन्टेनरमा रसुवागढीस्थित नेपाली भूभागमा सामान ल्याइएको हो । थप सात कन्टेनर आज साँझसम्म रसुवागढी पुग्ने प्रजिअ जैसीले जानकारी दिए । मितेरी पुलबाट चिनियाँ मालबाहक कन्टेनर रसुवागढी इलाका भित्र्याउनुपूर्व नेपाल तथा चीनबीच सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले मोटर तथा सार्वजनिक स्थानमा औषधि छर्केका थिए । नेपाली सुरक्षाकर्मीले पहिलो चरणमा सामान पल्टी गर्ने स्थलदेखि मितेरी पुलसम्म औषधि छ्याप्ने र दोस्रो चरणमा चिनियाँ सुरक्षा अधिकारीले चीनको भूभागबाट सामान पल्टी गर्ने स्थानसम्म पुनःऔषधि छर्केको बताइएको छ । दसैँका लागि नेपाली व्यवसायीले चीनबाट झिकाएको करिब दुई अर्ब ५० करोड रुपैयाँ बराबरको माल सामग्री कोरानाका कारण केरूङ क्षेत्रमै रोकिएको अवस्थामा ढिलै भए पनि आयात हुँदा ठूलो सहयोग मिलेको व्यवसायी धर्म पौडेलले बताए । लिच्छवीकालको सातौं शताब्दीतीर नेपालकी चेली भृकुटी र तिब्बतका राजा श्रङ्चङ्गोम्पोबीच विवाहपश्चात् व्यापारिक कारोवार सुरू भएको ऐतिहासिक नाकाबाट पहिला भरियाद्वारा सामान ढुवानी गरिन्थ्यो भने पछिल्लो समय यातायातको सुविधाले अधिकांश व्यवसायी चिनिया सामग्री आयातमा केन्द्रित भएका छन् । नेपालसँगको कारोबार गर्न रसुवागढी नाकालाई चीन सरकारले २०७२ को मङ्सिर १५ गतेदेखि औपचारिकरूपमा पूर्णता दिएपश्चात् व्यापारीले काठमाडौं-रसुवागढी छोटो मार्गबाट कारोबार सुरू गरेका हुन् । व्यापारीले रसुवागढी नाकाबाट व्यापारिक कारोबार गर्दा गत आर्थिक वर्षमा रु सात अर्ब १७ करोड ६३ लाख ९० हजार भन्सार शुल्कबापतको राजस्व राज्यकोषमा दाखिला भएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । चालू आर्थिक वर्षको गत साउन २१ गतेसम्म आयात सामग्रीबाट एक अर्ब तीन करोड रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार अपरेटर अधिकृत धनबहादुर प्रजापतिले जानकारी दिए । रासस

टेलिकमले शुक्रबारदेखि निःशुल्क ई-सिम बाड्ने

काठमाडौं । नेपाल टेलिकमले भदौ ३१ गतेदेखि ग्राहकलाई निःशुल्क ई-सिम वितरण गर्ने भएको छ । कम्पनीले सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क ई-सिम (इम्बेडेड् सिम कार्ड) वितरण गर्ने भएको हो । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी, नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेयरएबल डिभाइस) हरुमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले समेत ई-सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई-सिम लिन सक्ने टेलिकमले जानकारी गराएको छ ।

श्रमिकलाई पनि सेयर दिने माथिल्लो तमोरको योजना, ५५ अर्बको लागतसहित मंसिरदेखि निर्माण थाल्ने

काठमाडौं । ताप्लेजुङमा निर्माण हुन लागेको २५५.२८१ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजना मंसिरदेखि निर्माणको चरणमा प्रवेश गर्न लागेको हो । निजी क्षेत्रको सानिमा हाइड्रो समूहले निर्माण गर्न लागेको उक्त जलविद्युत आयोजनाले मंसिरदेखि निर्माणको प्रक्रिया थाल्ने जनाएको हो । तमोर सानिमा इनर्जीका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले मंसिरदेखि निर्माणको चरणमा जाने र समयमै निर्माण सम्पन्न गर्ने बताए । उनले विद्युत खरिदबिक्री सम्झौता (पिपिए) हुने बित्तीकै काम सुरु गर्ने बताए ।  यो आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ गाउँपालिको बीचमा रहेको छ । प्राधिकरणले यो आयोजनाबाट उत्पादित विद्युत खरिदका लागि बर्खायाममा प्रतियुनिट ४.८ रुपैयाँ, सुक्खायाममा पिकिङ अवधिका लागि प्रतियुनिट १०.५५ रुपैयाँ र ननपिकिङ अवधिका लागि प्रतियुनिट ८.४ रुपैयाँ निर्धारण गरेको छ । बिहीबार सो आयाेजनाकाे विद्युत खरिद बिक्री दर सम्बन्धमा सरोकारवालाहरुबाट सुझाव पनि लिइएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष ढुङ्गानाले यो आयोजनाबाट कुल उत्पादित विद्युतीय ऊर्जा १४७९.८८ गिगावाट घन्टा रहेको छ । आयोजनाको अनुमानित कुल लागत ५५ अर्ब १५ करोड (कर्जाको ब्याजसहित) रुपैयाँ छ । अध्यक्ष ढुङ्गानाका अनुसार आयोजना निर्माणका लागि ७५ प्रतिशत बैंकबाट ऋण लिइनेछ । ऋणका लागि विभिन्न बैंकसँग प्रस्ताव गरिएको उनको भनाइ छ । यस्तै, उनले सो आयोजनाबाट सर्वसधारणलाईसँगै श्रमिकलाई पनि सेयर दिने धारणा राखे । ‘हामीले निर्माणका लागि जुट्ने श्रमिकलाई पनि सेयर दिन्छौं, सबैलाई जलविद्युत विकासमा लाग्न अनुरोध गर्छु, स्थानीयलाई त सेयर दिन्छौं नै फिल्डमा काम गर्नेले पनि सेयर हाल्छु भन्नुभयो भने उहाँहरुको काम गरेकाे रकम अनुसारकाे सेयर पाउनुहुन्छ, उहाँहरुले चाहनु भयो भने काम गरेवाफत् पाउने रकम उहाँहरुको सेयरका रुपमा रहन्छ,’ उनले भने । उनले आगामी ५ वर्षभित्र सो आयोजनाको निर्माण सक्ने योजना रहेको बताए । आयोजनाका जनरल म्यानेजर प्रकृतिराज तिमिल्सिनाले आयोजनाको रिटर्न अन इक्विटी (आरओआर) १५.९२ प्रतिशत हुने अनुमान गरिएको बताए । पिकिङ रन अफ दि रिभरमा आधारित यो आयोजनाले स्थानीय स्तरमा विकाससँगै देशको समग्र जलविद्युत क्षेत्रमा ठूलो योगदान पुर्याउने तिमिल्सिनाको भनाइ छ । यस आयोजनामा ४ सयभन्दा बढी प्रमोटर सेयरका रुपमा आवद्ध भएका छन् । यस्तै, कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले विद्युत विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको धारणा राखे । उनले नेपाल विद्युत प्राधिकरणले मात्रै आयोजना निर्माण नगरी निजी क्षेत्रलाई पनि सक्रिय रुपमा सहभागी गराउनु पर्ने बताए । उनले छोटो अवधिमा पनि आयोगले धेरै काम गरेको बताए । उनले जनशक्तिको अभावका बिचपनि आयोगले महत्वपूर्ण काम गरेको जानकारी दिए । उनले आयोगले नियमनभन्दा पनि सकेसम्म सहजीकरणको काम गरिरहेको धारणा राखे । उनले विद्युत महसुल दुइपटक निर्धारण भइसकेको बताउँदै विद्युत खरिदबिक्री दर निर्धारण गर्ने काम पनि सक्रिय रुपमा काम गरिरहेको धारणा राखे । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब पिकिङ रन अफ दि रिभर आयोजना निर्माणमा ध्यान दिनु पर्ने बताए । उनले अहिले अधिकांश आयोजना रन अफ दि रिभरमा आधारित भएर निर्माण भएको बताउँदै मािथल्लो तमोरले पनि बिद्युत विकासमा महतवपूर्ण योगदान गर्ने बताए । यस्तै, उनले १०० मेगावाटभन्दा बढीको खरिदबिक्री दर निर्धारण विद्युत नियमन आयोगले गर्दै आएको बताउँदै ती आयोजनाहरुको आरओआर १७ प्रतिशतभन्दा बढी हुन नपाइने नीतिगत व्यवस्था रहेको धारणा राखे । यस्तै, उनले माथिल्लो तमोर अबको ६ वर्षभित्र निर्माण हुनेमा आफु विश्वस्त रहेको पनि धारणा राखे ।

नबिल बैंकले शुरु गर्यो भिसा डाइरेक्ट सेवा, झन्झट बिनै रेमिटेन्स पठाउन सकिने

काठमाडौं । नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा शुरु गरेको छ । बैंकले भिसा इन्टरनेशनलको सहकार्यमा उक्त सेवा सुरु गरेको हो । यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् । यो सेवा लागु भएसँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट नेट-बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने भएको हो । नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो सेवा समावेश भएसँगै नबिल भिसाका कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड/खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्नेछन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना ग्राहकहरूलाई भिसा डाइरेक्ट सेवा सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ‘यो सेवाको शुरुवातसँगै स्वदेशी र विश्वभरबाट सहज र सुरक्षित तरिकाले रेमिट्यान्स प्राप्त गर्न अर्को एउटा च्यानल खोलेको छ,’ उनले जानकारी दिए ।

५० किलोमिटर सम्मको सडकको चौडाई वृद्धि गर्दा रुख काट्न पाइने

काठमाडौं । ५० किलोमिटर सम्म लम्बाई भएको राष्ट्रिय राजमार्ग वा सहायक सडकको चौडाई विस्तार गर्दा रुख काट्न पाइने भएको छ । वातावरण संरक्षण नियमावली, २०७७ को अनुुसुचीमा हेरफेर गर्दै सो व्यवस्था गरिएको वन तथा वातावरण मन्त्रालय द्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । वातावरण संरक्षण नियमावली, २०७७ को नियम ४९ ले दिएको अधिकार प्रयोग गरी नियमावलीको अनुसूची १ को खण्ड (क) को उपखण्ड ८ पछि (८क) थप गरेर नयाँ व्यवस्था गरिएको छ । नयाँ थपिएको व्यवस्थामा भनिएको छ, ‘‘(८क) ५० किलोमिटरम्म लम्बाइको राष्ट्रिय राजमार्ग वा सहायक सडकको चौडाइ वृद्धि हुने गरी स्तरवृद्धि, पुनस्र्थापना वा पुननिर्माण गर्न ५ हेक्टरम्मको वन क्षेत्र, वन संरक्षण क्षेत्र, संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र तथा वातावरण क्षेत्रको वनको जग्गा प्रयोग गर्ने ।’’

ग्लोबल आईएमई बैंकले ल्यायो हालसमकै ठूलो क्यासब्याक अफर, असोजदेखि लागू हुने

काठमाडौं । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । बैंकले ल्याएको स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटी) सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित “एससीटी तथा यूपीआई कार्डको दमदार दशैं धमाका थ्री-डि अफर” अन्तर्गत ग्राहकहरुले क्यासब्याक पाउन सक्ने छन् । यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (पस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात १ हजार रुपैयाँ (अधिकतम) सम्म क्यासब्याक पाउने छन् । यस योजनापश्चात एससीटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ । असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई ५०० सय रुपैयाँ तथा कम्तिमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई १ हजार रुपैयाँ क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० सय रुपैयाँको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ७७ जिल्लामा २९० शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

हुण्डाईको गाडी किन्नेलाई डेढ लाखसम्म नगद छुट, बीमा सुविधा निःशुल्क

काठमाडौं । हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ल्याएको छ । कम्पनीले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै भदौ ३० गतेदेखि लागू हुने गरी उक्त योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र स्क्र्याच कार्ड मार्फत् थप १ लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै, यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुमहरु तथा १९सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । ग्राहकको आवाश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्तो ग्राहकमुखि योजना ल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसालै मात्र पछिल्लो सालको योजनाको विजेता घोषणा गरेको छ ।