सञ्चालनमा नआउँदै बिग्रियो नौ करोडको बसपार्क
गलकोट । आधुनिक बसपार्कको छाना हावाले उप्काएको छ भने यात्रु प्रतिक्षालयको केही भाग भासिएर चर्किएको छ । बसपार्कको टर्मिनल भवनको बीच भागबाट पानी चँुइएर अन्डरग्राउन पार्किङस्थलमा ताल परेको छ । बसपार्कको दायाँबाँया चर्किएको भाग सिमेन्टले पोतिएको छ । उक्त दृश्य कुनै जीर्ण बसपार्कको नभएर निर्माण सम्पन्न भएर सञ्चालनमा आइनसेको आधुनिक बागलुङ बसपार्कको हो । नौ करोड लागतमा निर्माण सम्पन्न गरिएको बसपार्क सञ्चालनमा नआउँदै बिग्रन थालेको छ । निर्माण व्यवसायीको लापारबाहीका कारण सञ्चालनमा नआउँदै बसपार्क मर्मत गर्नुपर्ने अवस्था आइपुगेको छ । आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएको एक वर्ष मात्रै बित्यो । बसपार्क सञ्चालनमा नआउँदै मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पुगेको बागलुङ नगरपालिकाले जनाएको छ । निर्माण व्यवसायीले बसपार्क निर्माण सम्पन्न गरे पनि बसपार्क हस्तान्तरण भने भएको छैन तर बसपार्कको संरचना भने बिग्रिएको छ । बसपार्कको टर्मिनल भवनको बीच भागबाट अन्डरग्राउन पार्किङस्थलमा पानी जमेको छ भने केही भाग प्लास्टरसमेत उप्किएको पाइएपछि नगरपालिकाले निर्माण व्यवसायीलाई पत्र नै काटेर मर्मत गर्न लगाएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । ‘बसपार्क हस्तान्तरण त भएको छैन, तर निर्माण भइसकेका संरचना कतै चर्किएको त कतै उप्किएको प्राविधिकबाट जानकारी आएपछि निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी रोकेर मर्मत गर्न भनेका छौँ’, नगर प्रमुख श्रेष्ठले भने, ‘अहिले निर्माण कम्पनीले बसपार्क मर्मत गरिरहेको छ, तर निर्माण भइसकेको संरचना कसरी बिग्रन पुग्यो, त्यो नगरपालिकाका प्राविधिकले अध्ययन गरिरहेका छन्, पूरै मर्मत नभए अन्तिम भुक्तानी रोक्छौँ ।’ बागलुङ–४ स्थित दाबगरामा स्थानीयवासीले निःशुल्क दिएको जग्गामा बसपार्क निर्माण भए पनि गुणस्तरमा भने प्रश्न चिन्ह उठेको छ । बागलुङ बजारमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पूरा भए पनि बसपार्क सञ्चालनमा नआउँदै बिग्रन थालेको हो । बसपार्कको यात्रु प्रतिक्षालयको जस्ता हावाले उडाएपछि बसपार्क टिकाउ नहुने स्थानीयवासीको आशङ्का छ । अहिले बसपार्कको बिग्रको भाग मर्मत निर्माण कम्पनीबाटै भइरहेको नगरपालिकाका इञ्जिनीयर त्रिलोचन गिरीले जानकारी दिए । ‘स्टमेट अनुसार निर्माण सम्पन्न भइसकेको संरचनामा क्षति पुगेको देखियो, तत्कालै निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी रोकेर मर्मतमा खटाएका छाँै, बसपार्क पूरै मर्मत नभएसम्म बाँकी रहेको रकम भुक्तानी रोकिनेछ’, गिरीले भने, ‘हस्तान्तरण नहुँदै बसपार्क मर्मत गर्न थालिनु दुःखद् विषय हो, हस्तान्तरणको एक वर्ष समेत निर्माण व्यवसायीले बिग्रे वा भत्केमा मर्मत गर्नुपर्दछ ।’ निर्माण व्यवसायीले अन्तिम किस्ता रु ३८ लाख रकम भुक्तानी गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । रासस
हरियाली छाएर बन्द भयो दशैंअघिको सेयर बजार, परिसूचक र कारोबार दुबैमा सुधार
काठमाडौं । दशैं अघिको सेयर बजारमा हरियाली छाएको छ । दशैंअघि अन्तिम दिन खुलेको बिहीबारको सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८९ प्रतिशतले बढी हो । बुधबारको तुलनामा बिहीबारको सेयर कारोबार पनि बढेको छ । बुधबार ४८ करोडको कारोबार भएको बजारमा बिहीबार भने ६३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा नेपाल इन्स्योरेन्सको संस्थापक सेयर रहेको छ । इन्स्योरेन्सको एकैदिन ४ करोड ४८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३६६ रुपैयाँ छ । बजारमा अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको छ । संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४३८.७० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३९.८० रुपैयाँले बढी हो । यता टप लुजरको शीर्ष स्थानमा भने साम्लिङ पावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ७.९४ प्रतिशतले घटेर प्रतिकित्ता ४६४ रुपैयाँमा झरेको छ । बिहीबार जीवन बीमा समूह बाहेक सबै समूह हरिया देखिएका छन् । जीवन बीमा समूह भने सामान्य ५.६१ अंकले घटेको छ ।
चाडपर्वमा ग्रामीण यात्रुको समस्या : एक किमीको भाडा २५ रुपैयाँ
मलेखु । ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन् । दसैँमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुलेको पाइएको छ । उकालो–ओरालो र घुम्तीमा यात्रुवाहक बस जानै सक्दैनन् । त्यसैको मौका छोपेर निजी नम्बर प्लेटका बोलेरो जिपले मनोमानी भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । चालकसहित छ जनाको सिट क्षमता भएका सवारीले १५ जनाभन्दा बढी यात्रु बोक्ने गरेका छन् । चाडपर्व नजिकिएसँगै निजी सवारी साधनले यात्रुसँग असुल्ने भाडाको त झनै कुरा गरिसक्नु छैन । यात्रुको लोड त छँदैछ, खाद्यान्न, लत्ताकपडालगायतका सामानको लोड पनि उस्तै हुन्छ । यसरी नै जोखिम मोलेर यात्रा गर्न यात्रु पनि बाध्य छन् । सदरमुकामबाट बोलेरो जिप चढेर गन्तव्यतर्फ जाँदै गरेका यात्रु शिव मगर भन्छन्, ‘बाटो अप्ठ्यारो छ, सबैलाई बोक्नैपर्छ भन्दै जिपले मनलाग्दी भाडा उठाउँछ, अरु गाडी चल्दैन, त्यसैले बाध्य भएर चर्को भाडा तिरेरै हिँड्न बाध्य छौँ ।’ एक किलोमिटरको भाडा २५ रुपैयाँ सम्म तिर्न यात्रु बाध्य छन् । प्रतिवाद गरे चालकले गाडी चढ्नै नदिने र पैदल नै हिँड्नुपर्ने यात्रुको बाध्यता छ । सदरमुकाम धादिङबेँसीबाट छ किलोमिटरको दूरीमा रहेको स्याउली गएको भाडा एक सय ५० रुपैयाँ तिर्नुपरेको मगरले सुनाए । सदरमुकाम धादिङबेँसीबाट जिल्लाको उत्तरी क्षेत्रमा जोड्ने टोड्के भन्ने ठाउँ करिब १५ किलोमिटरको दूरीमा छ । धादिङबेँसीबाट उत्तरी धादिङ जोड्ने सिमाना किन्ताङफेदीसम्मको दूरी जम्माजम्मी २७ किलोमिटर छ । यी सडकमा गुड्ने बोलेरो र मुस्ताङ जिपले १५ देखि ३० किलोमिटरसम्मको भाडा रु पाँच सयदेखि सात सय असुल्दै आएका छन् । त्यो पनि सामानको भाडा छुट्टै तिर्नुपर्छ । नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीबाट नेत्रावती–५ जाँदै गरेका तुलबहादुर तामाङ भन्छन्, ‘अघिल्ला वर्षहरूमा दुई सय रुपैयाँ भाडा थियो, अहिले पाँच सय रुपैयाँ लिन्छन् ।’ यातायात व्यवस्था विभागको भाडादर हेर्ने हो भने कच्ची, हिलेधुले र पहाडी बाटोमा प्रतिकिलोमिटर पाँच रुपैयाँ ५० पैसा भाडादर छ । सदरमुकामबाट जिल्लाको खरी, मैदी, धुवाकोट, खाल्टेलगायतका बस्तीमा पुग्ने सवारी साधनले यसरी मनोमानी भाडा असुलिरहेका छन् । पछाडि र छतमा समेत टनक्कै सामान कोचेर हिँड्ने सवारी साधनका कारण जोखिमपूर्ण त छँदैछ चर्को भाडा तिर्नु यात्रुको बाध्यता पनि छ । ‘कच्ची सडकमा यात्रुबाहक बस जान सक्दैनन्, साना गाडी नचढे हिँड्नुको विकल्प छैन’, मैदीबाट सदरमुकाम आउनुभएका यात्रु कृष्ण अधिकारीले भने, ‘बाटो राम्रो नभएकाले बस हिँड्दैनन्, बाध्यताले बोलेरो चढेर हिँड्नुपर्छ ।’ यस्ता बोलेरोसँग बाटो इजाजतपत्र हुँदैन । क्षमताभन्दा तेब्बरसम्म लोड बोक्छन् । टनक्कै सामानमाथि छतमा र पछाडिको भागमा समेत मान्छे झुण्ड्याएर यात्रा गराइरहेका छन् । सदरमुकामबाट ग्रामीण बस्तीमा जाने बोलेरो जिपले जोखिमपूर्ण यात्रा गराइरहँदा ट्राफिक प्रहरी निरीह छन् । दुर्घटना भइहाल्यो भने आउने समस्याको चालकले ख्यालै गरेका हुँदैनन् । चालक भने कच्ची सडकमा जोखिम मोल्न परेकै कारण भाडादर महँगो लिनुपरेको बताउँछन् । ‘एकपटक गाउँ गएर फर्किँदा तेल खर्च र मर्मत खर्च छुट्याउँदा उल्टै घाटा लाग्छ, बाटो सजिलो भइदिए त भाडा पनि सस्तोमा बोक्न सकिन्थ्यो’, चालक दीपक श्रेष्ठले भने । एउटा जिपले १५ देखि १७ जनासम्म यात्रु बोक्छ । त्यसमा खाद्यान्न, लत्ताकपडा लगायतका सामान पनि उत्तिकै हुन्छ । जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गरेर चर्को भाडा उठाएको विषयमा आधिकारिक यातायात व्यवसायी प्रालि पनि अनभिज्ञ नै छन् । निजी सवारीले चर्को भाडा उठाएर जोखिमपूर्ण यात्रा गराइरहेको देखे पनि कसैले बोल्न सकेका छैनन् । महँगो भाडा असुलेर गुडिरहेका निजी सवारीलाई प्रशासनले नियन्त्रणमा ल्याउनुपर्ने संयुक्त यातायात बस तथा जिप व्यवसायी सङ्घ धादिङका अध्यक्ष राम थापाले बताए । हुन त संयुक्त यातायात बस तथा जिप व्यवसायी सङ्घमार्फत उत्तरी धादिङ चल्ने जिपले पनि निजी बोलेरोले जत्तिकै भाडा उठाइरहेका छन् । छतमा र पछाडिको भागमा पनि यात्रु कोचेर जोखिमपूर्ण यात्रा गरिरहेको प्रति स्थानीय प्रशासन पनि मौन छ । स्थानीय सरकारले पनि बिग्रिएका कच्ची सडक स्तरोन्नति गरेर ठूला बस सञ्चालनमा ल्याउनेतर्फ ध्यान दिएको देखिँदैन । दसैँ सुरु भएदेखि झनै यस्ता साना सवारीको मनोमानी बढेको छ । बर्खाको बेला बाटो खराब छ भन्दै महँगो भाडा उठाउँदै आएका सवारी साधनले चाडपर्वमा यात्रुको चाप बढेसँगै अनेकन बहानामा भाडा बढाएको गुनासो यात्रुले गरेका छन् । रासस
पठाओको दशैं महोत्सवमा आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक
काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै सन्चालन गरिएको ‘दशैं महोत्सव २०७९’ अन्तर्गत दुई जनाले लक्की ड्र मार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन् । पठाओ राइडर, फुडम्यान र क्याप्टेन सबैका लागि गरिएको बम्पर उपहारमा आदित्य मोक्तानले पल्सर २२० र तारापति बिसीले डिस्कभर १२५ मोटरसाइकल जितेका छन् । मोक्तान र बिसि दुवैजना राइडर हुन् । राइडर, क्याप्टेन र फुडम्यानमध्ये पठाओले बिहीबार लक्की ड्र मार्फत दुई जना विजेता छनोट गरेकाे हो । पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै महोत्सव आयोजना गरिएको पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए । उपहार हस्तान्तरण कार्यक्रममा बोल्दै पठाओ राइडर र डेलिभरीम्यानले इएआईमार्फत बजाजको कुनै पनि बाइक किन्दा ६ हजार क्यासब्याक पाउने बजाज नेपालका हेड अफ सेल्स बासु श्रेष्ठले जानकारी दिए । भदौ २३ गतेदेखि असोज १२ सम्मका महोत्सव आयोजना गरिएको महोत्सवअन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने ९ जना राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट तीन सातासम्म हरेक हप्ता टिभी, रेफ्रिजरेटर जितेका छन् । पहिलो साता राइडर राजु गुरुङ, क्याप्टेन प्रेमबहादुर बराम र फुडम्यान सुकलाल स्याङ्तानले ३२ इन्चको स्मार्ट टेलिभिजन, दोस्रो साताका विजेता राइडर बुद्धवीर तामाङ, क्याप्टेन सुनिलकुमार चौधरी र फुडम्यान सुर्यबहादुर श्रेष्ठले सामसुङको फ्रिज जितेका छन् । त्यस्तै तेस्रो साताको विजेता अन्तर्गत ३२ इन्चको स्मार्ट टेलिभिजन राइडर सन्जय श्रेष्ठ, क्याप्टेन सोनाम श्रेष्ठ र फुडम्यान गोविन्द माझीले प्राप्त गरेका छन् । पठाओको दशै महोत्सवअन्तर्गत तीन सातामा ९ जना र बम्पर पुरस्कारमा २ जना गरि कुल ११ जना विजेता बनेका छन् ।
इसेवाले ल्यायो दशैं योजना, हरेक दिन उपहार जित्न सकिने
काठमाडौं । इसेवाले दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैँको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले इसेवाले यस्तो योजना सार्वजनिक गरेको जनाएकाे छ । यो योजना असोज १० गते देखि असोज २४ गतेसम्म सञ्चालन हुनेछ । यस योजना अन्तरगत इसेवा एपमा रहेको एक स्किममा भाग लिएर विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिनेछ । इसेवा दशैं स्पेशलमा गइ १ रुपैयाँमा भाग लिँदा एक जना भाग्यशाली विजेताले काठमाडौंदेखि नयाँ दिल्लीसम्मको हवाइ टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरी १ मै दुईजना भाग्यशाली विजेताले रियलमी नाइन आई फाइभ जि मोबाईल प्राप्त गर्न सक्नेछन् भने २० जनाले इसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स प्याकेज प्राप्त गर्न सक्नेछन् । १ अफरमा सहभागी भइ विजेता बन्न नसकेका व्यक्तिहरुको एक रुपैयाँ फिर्ता हुने इसेवाले जनाएकाे छ । यसैगरि प्रयोगकर्ताले इसेवामा दशैं अफर सेग्मेन्टमा गइ विशेष छुटमा टप ब्राण्डहरु सिजि, आइएनए सेन्टर, आइटिटिआइ लगायतका ब्राण्डका मनपर्ने वस्तुहरु खरिद गर्न सकिन्छ । विशेष छुटमा रेफ्रिजेरेटर,ल्यापटप,वाशिङ्ग मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुम क्लिनर, परफ्युम लगायत विभिन्न वस्तुहरु खरिद गरी मौकाको फाइदा उठाउन सकिनेछ । यसका साथै अफर अवधिभर अन्तराष्ट्रिय गन्तव्यको टिकट काट्दा एक जनाले काठमाडौ कतारको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरि इन्टरनेटको बिल तिर्ने प्रयोगकर्तामध्ये मध्ये हरेक दिन एक जनाले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । यस्तै, दराज डिस्काउन्ट भौचरमार्फत एक सय देखि एक हजार एकसयसम्मको खरिद गर्दा २५० रिवार्ड पोइन्ट, २०० देखि २१ सय सम्म ५ सय, ५ सय देखि ५१ सयसम्मको खरिदमा १२५० रिवार्डपोइन्ट पाउन सकिन्छ । यस अफर अन्तरगत इसेवा मार्फत क्यूआर गर्दा गोकर्ण रिसोर्टमा ५ प्रतिशत,क्लव हिमालयमा १० प्रतिशत,हाम्रो श्रृंगारमा ५ प्रतिशत,टिएस आरमाोराईमा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
बीमाका सीईओलाई अध्यक्ष सिलवालले भने : बैंकमा मात्रै होइन ठूला व्यवसायमा लगानी गर्नुस्
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई राम्रो प्रतिफल दिने व्यवसायमा लगानी गर्न आग्रह गरेका छन् । उनले कम्पनीहरुलाई बैंकहरुमा मात्र केन्द्रित नभई लगानीको क्षेत्र प्रतिवर्तन गर्न आग्रह गरेका हुन् । विजया दशमी, शुभ दीपावली र छठ लगायतका पर्वहरूको उपलक्ष्यमा बीमा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले सो बताएका हुन् । उनले कम्पनीहरुले लगानीका क्षेत्र परिवर्तन गरी दीर्घकालीनरूपमा राम्रो प्रतिफल प्राप्त हुने ठूला व्यवसायमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । साथै, उनले बीमा क्षेत्रको विकास, विस्तार र बीमामा पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूसँग सहकार्य गर्न बीमा समिति तयार रहेको बताएका छन् । समितिले समस्याहरू समाधान गरिसकेपछि पुनः समस्या नदोहोरिने गरीे कम्पनीहरूले काम गर्नुपर्ने समेत उनको भनाई छ । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले नागरिकको आवश्यकता र मुलुकको भौगोलिक अवस्था अनुसार बीमालेख ल्याउनुपर्ने र कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नुपर्ने बताए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूले गाउँ गाउँमा पुगेर कृषि तथा पशुपन्छी बीमा, स्वास्थ्य बीमा लगायतका बीमा गर्नुपर्ने बताए । कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
पोखरा महानगरले सुरु गर्यो अन्डरग्राउण्ड पार्किङ
अन्नपूर्ण । पोखरा महानगरपालिकाले भूमिगत तला अन्डरग्राउण्ड पार्किङ सुरुआत गरेको छ । पोखरा महानगर–८ सिर्जनाचोकको महानगरकै स्वामित्व रहेको भवनबाट यसको सुरु गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नै निजी कार पार्किङ गरी अन्डरग्राउण्ड पार्किङको थालनी गर्नथालेका हुन् । पहिले आंशिकरूपमा अन्डरग्राउण्डमा पार्किङ भए पनि अब पूरैमा पार्किङ गरिने उनले जानकारी दिए । ‘पहिले यहाँ सिलाइ मेसिनलगायत गोदामका सामान राखिने गरिएको रहेछ’, उनले भने, ‘केही सवारी पार्किङ गरिने यस ठाउँमा अबदेखि सबै क्षेत्रमा पार्किङ गरिन्छ’, महानगरले ३५ दिने सूचना जारी गरेको समय समाप्त हुन लागेकाले अरुलाई सन्देश दिन आफैँले यो कामको सुरुआत गरेको महानगर प्रमुख आचार्यले जानकारी दिए । महानगरले गत भदौ १३ गते पोखरा बजार क्षेत्रभित्रका घरहरूको अन्डरग्राउण्ड खाली गर्न आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । पोखरामा जनघनत्व र सवारी चापका कारण पार्किङ अभाव बढ्दै गएपछि अन्डरग्राउण्डलाई पार्किङ बनाउनका लागि सो तला खाली गर्न सूचना जारी गरेको हो । सोही सूचनाअनुसार नै महानगरले आफ्नै भवनबाट यसको सुरुआत गरेको हो । महानगरको स्वामित्वमा रहेको भवनको अन्डरग्राउण्डमा सिलाइका मेसिनसँगै गोदामका सामान राखिएको थियो । त्यहाँ आंशिकरूपमा मात्र दुई–तीनवटा सवारी राख्ने गरिएको थियो । पोखराको बजार क्षेत्रमा घर बनाउँदा अन्डरग्राउण्ड पार्किङ अनिवार्य बनाउनुपर्ने प्रावधान रहेको छ । नत्र महानगरले नक्सा पास नै गरिदिन्न । अन्डरग्राउण्ड पार्किङ बनाएमा सो तलाको ५० प्रतिशत राजस्वसमेत घरधनीले छुट पाउँछन् । महानगरको प्रावधानमै रहेर कतिपय घर बनेका छन् । उनीहरूले राजस्वमा छुट पनि लिएकै छन्, तर अधिकांशले अन्डरग्राउण्डलाई पार्किङका रूपमा प्रयोग गरेका छैनन् । त्यसरी पार्किङ गर्नुपर्ने ठाउँमा मोटरसाइकल ग्यारेज, मोबाइल पसल, खाजाघर, दोहोरी साँझ, कपडा पसललगायतका व्यवसाय गरिएको छ । पोखरामा करिब दुई सय ५० घरधुरीले अन्डरग्राण्डमा पार्किङ बनाउने भनेर नक्सापास गराउँदै ५० प्रतिशत छुट लिए पनि व्यवहारमा उतारेका छैनन् । दुई सय ५० मध्ये करिब ६० घरले मात्रै महानगरको मापदण्डमा रहेर अन्डरग्राउण्डलाई पार्किङका रूपमा गरेको पोखरा महानगरपालिकाका इञ्जीनियर सुरेन्द्र पौडेलले बताए । महानगरपालिकाले अटेर गरेर अन्डरग्राउण्ड खाली गरेर पार्किङस्थल नबनाए महानगरको कानुनबमोजिम कारबाही गरिने जानकारी दिएको छ । ‘हामीले ३५ दिने सूचना जारी गरिसकेका छौँ, केहीले खाली गरिसकेका छन् । केहीमा ठूलो समस्या भएकाले दुई–तीन दिनको समय मागेका छन्’, महानगरप्रमुख आचार्यले भने, ‘३६ दिन पुगेको दिनमा हामी अनुगमनमा निस्कन्छौँ, त्यसभन्दा अघि हामीले आफ्नै भवनबाट सुरु गरौँ भनेर अघि बढेका हौँ ।’ रासस
गज्रयाङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न, करिब २०० मेगावाट विद्युत प्रवाह गर्ने
काठमाडौं । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गज्रयाङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिकाको गज्र्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा टुंगिने प्रसारण लाइनको लम्बाइ ३१ किलोमिटर छ । प्रसारण लाइनका लागि १०५ वटा टावर निर्माण गरिएको छ । आयोजना अन्तर्गत गज्रयाङमा १३२ केभीको नयाँ सबस्टेसन र नयाँ खिम्ती सबस्टेसनमा १३२ केभीको निर्माण गरिएको छ । गज्रयाङ सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी ६/८ एमभिए क्षमताका थ्री फेज पावर ट्रान्सफर्मरहरु जडान गरिएको छ । गज्रयाङ सबस्टेसनबाटै स्थानीय रुपमा विद्युत दिइने भएकोले त्यस क्षेत्रको विद्युत आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुने छ । प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न भएपछि करिब २ सय मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार बनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘स्थानीयको अवरोध लगायतका कारणले समस्यामा परेको प्रसारण लाइनको निर्माण सम्पन्न गरी परीक्षण भइरहेको छ, अब केही दिनमै सञ्चालन (चार्ज)मा ल्याउन परीक्षणका कामहरु भइरहेका छन्’, कार्यकारी निर्देशक घिसिङले भने, ‘अहिले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत वैकल्पिक व्यवस्था गरी जोडिएको छ, अब ती आयोजनाहरुको विद्युत गज्र्याङ– खिम्ती प्रसारण लाइनमा जोडिन्छ, अब प्रसारण पूर्वाधार अभावमा विद्युत खेर जाने अवस्थाको अन्त्य भएको छ ।’ स्थानीयको अवरोधका कारण गज्र्याङ– खिम्ती निर्माणमा केही ढिला हुने देखिएपछि १५ वैशाखबाट वैकल्पिक व्यवस्थामार्फत उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत गज्र्याङ सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा जोडिएको छ । जिरी सबस्टेसनबाट चरिकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिंगटी सबस्टेसनमार्फत विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ । गज्रयाङ– खिम्ती प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगंगा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका थिए । केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दे प्रसारण लाइनको तार तान्न दिएका थिएनन् । स्थानीयसँगको छलफल, स्थानीय तह तथा प्रशासन, प्राधिकरणको उच्च व्यवस्थापन लगायतको निरन्तर पहल, प्रयास र सहयोगमा प्रसारण लाइन निर्माणमा रहेको अवरोध हटाइएको आयोजना प्रमुख अनुप गौतले बताए । आयोजना प्रारम्भिक काम आर्थिक वर्ष २०६७/६८बाट सुरु भएको थियो भने निर्माण लागि पिङगाओ ग्रुप कम्पनी, चीनसँग माघ २०७३ मा ठेक्का सम्झौता भएको थियो । उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो आयोजनाका प्रवद्र्धक हिमालय ऊर्जा विकास कम्पनीका प्रवद्र्धकहरु सम्बद्ध फ्रेण्डसीप इन्जिनियरिङले सब कन्ट्रयाकमा काम लिएको थियो । तर, कोभिड–१९को महामारी, समयमा निर्माण उपकरणहरु आयोजनास्थलमा ल्याउन समस्या र स्थानीयको अवरोधका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । अनुमानित लागत २ करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो । आयोजना अन्तर्गत नयाँ खिम्ती सबस्टेसनमा २२०/१३२/३३, २०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिने छ । नयाँ खिम्ती सबस्टेसनको क्षमता अपुग हुने भएकोले क्षमता विस्तार गर्न लागिएको हो । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले निर्माण गरेको २२० केभी सबस्टेसनमा अहिले १०० एमभिएको पावर ट्रान्सफर्मर रहेको छ ।